मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रेम गौतम काठमाडाैं
२०७९ कार्तिक २७ आइतबार ०६:३३:००
Read Time : > 9 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

०७४ मा १५ हजारभन्दा बढी मतान्तर भएका  क्षेत्रमा स्थानीय चुनावमा कति बदलियो अंकगणित?

Read Time : > 9 मिनेट
प्रेम गौतम, काठमाडाैं
२०७९ कार्तिक २७ आइतबार ०६:३३:००

- १६५ निर्वाचन क्षेत्रमध्ये २० मा १५ हजारभन्दा बढी मतले भएको थियो जितहार
- २६ निर्वाचन क्षेत्रमा पाँच हजारभन्दा कम मतले र ११९ क्षेत्रमा थियो पाँचदेखि १५ हजारसम्मको मतान्तर

०७४ को निर्वाचनमा २० क्षेत्र यस्ता थिए, जहा“ १५ हजारभन्दा धेरै मतान्तरले जितहार भएको थियो । गत स्थानीय निर्वाचनमा दलीय समीकरण उल्टिएपछि यी क्षेत्रको मतको अंकगणितमा पनि निकै फेरबदल आएको छ । त्यसलाई आधार मान्दा ०७४ मा ठूलो मतान्तरले हारजित भएका धेरै क्षेत्रमा यसपटक नतिजा हेरफेर हुने सम्भावना देखिन्छ । यद्यपि, साना दल र स्वतन्त्र उम्मेदवारहरूले पनि नतिजा केही प्रभावित पार्ने विश्लेषकहरूको अनुमान छ । 

एक सय ६५ निर्वाचन क्षेत्रमध्ये १५ हजारभन्दा बढी भोटले जित निकाल्ने २० उम्मेदवारमा तत्कालीन वाम गठबन्धनबाट एमालेका ११, माओवादीका चार र जनमोर्चाका एकजना थिए । उनीहरूबाहेक तत्कालीन राजपाका तीन र नेमकिपा एक उम्मेदवारले पनि १५ हजारभन्दा बढी मतले जित निकालेका थिए । अहिले तत्कालीन वाम गठबन्धन भत्किएको छ । कांग्रेस नेतृत्वमा सत्ता र एमाले नेतृत्वमा विपक्षी गठबन्धन छ । 

गत वैशाखको स्थानीय निर्वाचनको परिणामलाई आधार मान्दा ०७४ मा धेरै मतान्तरले जितेका एमाले अध्यक्ष केपी ओली, एमालेकै कृष्णभक्त पोखरेल र एलपी साँवा मात्रै अहिले सत्तागठबन्धनभन्दा अगाडि देखिन्छन् । माओवादी तीन क्षेत्रमा अगाडि देखिन्छ । ०७४ मा माओवादीबाटै फराकिलो मतान्तरले जितेका नेता टोपबहादुर रायमाझी अहिले एमालेमा छन् । उनीसहित एमालेका नौ उम्मेदवार सत्तागठबन्धनभन्दा पछाडि छन् । ०७४ सबैभन्दा धेरै मतान्तरले जितेको एमाले दोलखामा पनि पछाडि छ । 

अघिल्लोपटक सानदार जित निकालेका रेशम चौधरीको क्षेत्र कैलाली १ मा सत्तागठबन्धन स्थानीय निर्वाचनको परिणामले अगाडि देखिएको छ । ०७४ मा तत्कालीन राजपाबाट चुनाव लडेका चौधरी अहिले जेलमा छन्, उनले अहिले नागरिक उन्मुक्ति पार्टी बनाएका छन् । कैलाली १ मा चौधरीकी पत्नी रंजिता श्रेष्ठ उम्मेदवार बनेकी छिन् । 

नेमकिपाले जितेको भक्तपुर १ मा स्थानीय तहमा पनि उसको अग्रता छ । जनमोर्चा जितेको एक र राजपा (हालको लोसपा)ले जितेका दुई क्षेत्रमा सत्तागठबन्धन अगाडि देखिन्छ । 

दोलखा
दोलखामा एमालेका पार्वत गुरुङले कांग्रेसका रुद्र खड्कालाई ३० हजार ६४४ मतान्तरले पराजित गरेका थिए । गुरुङले ५५ हजार ४५७ र खड्काले २४ हजार ८१३ मत ल्याएका थिए । दोलखामा गठबन्धनबाट माओवादीका गंगा कार्की उम्मेदवार छन् । एमालेबाट बालकृष्ण सिवाकोटी उम्मेदवार छन् । 

गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार दोलखामा एमाले नै ठूलो दल देखिन्छ । तर, गठबन्धनको मत एमालेको भन्दा धेरै हुन्छ । एमालेको ३९ हजार ५०, कांग्रेसको ३३ हजार ४३९, माओवादीको १७ हजार ३७५, एकीकृत समाजवादीको तीन हजार १५१, राप्रपाको एक हजार ५११ र जसपाको २०९ मत छ ।

झापा ५
एमाले अध्यक्ष केपी ओलीले अघिल्लो निर्वाचनमा झापा ५ बाट सबैभन्दा बढी मत ल्याएर विजयी भएका थिए । मतान्तरमा भने एमालेकै पार्वत गुरुङले ओलीलाई पछि पारेका थिए । ओलीले कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई २८ हजार ८४२ मतान्तरले पराजित गरेका थिए । ओलीले ५७ हजार १३९ र अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए ।

यसपटककोे निर्वाचनमा पनि ओली र अधिकारी प्रतिस्पर्धामा छन् । गत स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार एमालेकै धेरै छ । यहाँ एमाले र राप्रपाले तालमेल गरेका छन् । एमालेको ४१ हजार ६१९, कांग्रेसको २२ हजार २२, माओवादीको १० हजार ७८८, राप्रपाको आठ हजार ३५३ र एकीकृत समाजवादीको एक हजार ९८८ मत छ । सत्तागठबन्धनका दलहरूको भन्दा एमाले एक्लैको धेरै मत छ ।

धादिङ १
धादिङ १ बाट एमालेका भूमिप्रसाद त्रिपाठीले कांग्रेसका विश्वप्रसाद अर्याललाई २७ हजार १५३ मतान्तरले पराजित गरेका थिए । त्रिपाठीले ४९ हजार १२१ र अर्यालले २१ हजार ९६८ मत ल्याएका थिए । स्थानीय निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार यो क्षेत्रमा एमाले नै ठूलो देखिन्छ । एमालेको ३७ हजार ७७८, माओवादीको २४ हजार ९२५, कांग्रेसको १९ हजार ४२३, एकीकृत समाजवादीको आठ हजार ८३६ र राप्रपाको एक हजार २२२ मत छ । यो क्षेत्रमा पनि गठबन्धनकै बहुमत देखिन्छ । सत्तागठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डे चुनावी मैदानमा छन् ।

सुनसरी १
सुनसरी १ बाट एमालेका जयकुमार राईले संघीय फोरमका अशोक राईलाई २२ हजार १२३ मतान्तरले पराजित गरेका थिए । जयकुमारले ४४ हजार ५२८ मत ल्याउँदा अशोकले २२ हजार १२३ मत ल्याएका थिए । एमाले–जसपा गठबन्धनका कारण जयकुमारले यसपटक अशोकलाई छाड्नुपरेको छ । सत्तागठबन्धनबाट माओवादीका मुक्सामहाङ सुब्बा उम्मेदवार छन् ।

गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार एमाले सबैभन्दा ठूलो दल छ । एमालेको ३३ हजार ४५३, कांग्रेसको २६ हजार ६६४, माओवादीको सात हजार १८, राप्रपाको चार हजार ७४ र जसपाको २२२ मत छ । 

रुपन्देही २
रुपन्देही २ अघिल्लो पटक एमालेका विष्णु पौडेलले अघिल्लो निर्वाचनमा कांग्रेसका युवराज गिरीलाई २२ हजार ६३ मतान्तरले पराजित गरेका थिए । पौडेलले ४४ हजार २ र गिरीले २१ हजार ९४६ मत ल्याएका थिए ।

एमालेले पौडेललाई नै अघि सारेको छ भने सत्तागठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापामगरलाई समर्थन गरेको छ । गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि गठबन्धनले थापामगरलाई समर्थन गरेको हो । 

स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार यो क्षेत्रमा कांग्रेस सबैभन्दा ठूलो दल छ । एमाले र राप्रपाले तालमेल गरेका छन् । तैपनि सत्तागठबन्धनकै बहुमत देखिन्छ । कांग्रेसको ३४ हजार ९५९, एमालेको ३३ हजार १८७, राप्रपाको तीन हजार ९२०, माओवादीको तीन हजार १८८, जनमुक्ति पार्टीको दुई हजार ८७, एकीकृत समाजवादीको एक हजार ३८२ र जसपाको १८३ मत छ ।

रोल्पा
माओवादीका वर्षमान पुनले रोल्पाबाट कांग्रेसका अमरसिंह पुनलाई २१ हजार ७४७ मतान्तरले पराजित गरेका थिए । वर्षमानले ४० हजार ६४७ र अमरसिंहले १९ हजार ९०६ मत ल्याएका थिए । यो निर्वाचनमा गठबन्धनका तर्फबाट माओवादीले वर्षमानलाई अघि सारेको छ । अमरसिंहको समर्थन पनि वर्षमानलाई नै छ । एमालेले पूर्ण बुढामगरलाई उम्मेदवार बनाएको छ । 

स्थानीय तहमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार यहाँ माओवादी ठूलो दल देखिन्छ । माओवादीको ४० हजार ७९१, कांग्रेसको २४ हजार ६६४, एमालेको १५ हजार ३०१, राप्रपाको एक हजार २१८ र एकीकृत समाजवादीकोे ९५० मत छ । 

कैलाली १
कैलाली १ बाट तत्कालीन राजपाका रेशमलाल चौधरी एमालेकी मदनकुमारी शाहलाई २० हजार ९३५ मतान्तरले पराजित गरेका थिए । वारेसनामामार्फत उम्मेदवारी दिएका चौधरीले ३४ हजार ३४१ र शाहले १३ हजार ४०६ मत ल्याएका थिए । चौधरीले श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर नागरिक उन्मुक्ति पार्टी गठन गरेका छन् । उक्त पार्टीबाट सोही क्षेत्रमा रञ्जिता उम्मेदवार छिन् । यो क्षेत्रमा सत्तागठबन्धनबाट कांग्रेसका रामजनम चौधरी र एमालेका तपेन्द्र रावल उम्मेदवार छन् ।

गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी नै सबैभन्दा ठूलो दल छ । तर, सत्तागठबन्धन दलहरूको मत जोड्दा उन्मुक्तिको भन्दा बढी हुन्छ । नागरिक उन्मुक्ति पार्टीको १७ हजार १९३, कांग्रेसको ११ हजार ६७८, एमालेको १० हजार ३२२, माओवादीको ६ हजार ९३०, राप्रपाको तीन हजार ५६१, जसपाको दुई हजार ३०२, एकीकृत समाजवादी दुई हजार २३२ मत छ ।

कञ्चनपुर १
कञ्चनपुर १ बाट माओवादीकी विना मगरले कांग्रेसका दिवानसिंह विष्टलाई १९ हजार २४८ मतान्तरले पराजित गरिन् । मगरले ३८ हजार ४७६ र विष्टले १९ हजार २१९ मत ल्याएका थिए । माओवादीले मगरलाई नै उम्मेदवार बनाएको छ । एमालेले तारा लामालाई टिकट दिएको छ । 

गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार एमाले ठूलो दल छ । तर, गठबन्धन दलहरूको मत जोड्दा मगर अगाडि देखिन्छन् । एमालेको १८ हजार ७७३, कांग्रेसको १८ हजार ७३२, माओवादीको १५ हजार २८९, एकीकृत समाजवादीको तीन हजार ५२१ र राप्रपाको दुई हजार ६९२ मत छ । 

काभ्रे २
एमालेका गोकुल बाँस्कोटाले काभ्रे २ मा कांग्रेसका मधु आचार्यलाई १८ हजार सात सय ७३ मतान्तरले पराजित गरेका थिए । बाँस्कोटाले ५४ हजार ४२७ र आचार्यले ३६ हजार ५६९ मत ल्याएका थिए । यो क्षेत्रमा एमालेले बाँस्कोटालाई नै अघि सारेको छ भने कांग्रेसले शिव हुमागाईंलाई उम्मेदवार बनाएको छ । 

गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मत एमालेकै बढी छ । एमाले र कांग्रेसको मत हाराहारीमै छ । तर, गठबन्धनको मत जोड्दा एमालेको भन्दा धेरै हुन आउँछ । एमालेको ४५ हजार ५१४, कांग्रेसको ४५ हजार ४५६, एकीकृत समाजवादीको आठ हजार ६७६, माओवादीको ६ हजार ३७० र राप्रपाको दुई हजार ३५४ मत छ । 

रुकुम पश्चिम
एक निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट अघिल्लो पटक माओवादीका जनार्दन शर्माले कांग्रेसका गोपालजीजंग शाहलाई १८ हजार ७४३ मतान्तरले पराजित गरेका थिए । शर्माले ३४ हजार ४०२ र शाहले १५ हजार ६५९ मत ल्याएका थिए । शर्मा अहिले गठबन्धनका उम्मेदवार छन् भने एमालेले नन्दराम देवकोटालाई उम्मेदवार बनाएको छ । 

गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार पहिलो माओवादी, दोस्रो कांग्रेस र एमाले तेस्रो छन् । माओवादीको ३७ हजार १०२, कांग्रेसको २६ हजार ६२०, एमालेको ६ हजार १२४, एकीकृत समाजवादीले १३० र राप्रपाको १०८ मत छ । 

अर्घाखाँची
एक मात्रै निर्वाचन क्षेत्र रहेको अर्र्घाखाँचीमा माओवादीबाट टोपबहादुर रायमाझीले कांग्रेसका डा. रामबहादुर बिसीलाई १८ हजार दुई सय ९३ मतान्तरले पराजित गरेका थिए । रायमाझीले ५० हजार तीन सय ८५ र बिसीले ३१ हजार ९४१ मत ल्याएका थिए । ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सुरुमा विरोधमा लागेका रायमाझी पछि ओली सरकारमा मन्त्री बनेका थिए । यो क्षेत्रमा एमालेले रायमाझीलाई नै अगाडि सारेको छ भने कांग्रेसले निवर्तमान उपसभामुख पुष्पा भुसाललाई उठाएको छ । 

स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मत हेर्दा यो क्षेत्रमा एमाले ठूलो दल देखिन्छ । तर, एमालेको भन्दा सत्तागठबन्धनको मत धेरै हुन्छ । एमालेको ४८ हजार २६०, कांग्रेसको ३७ हजार ९२५, माओवादीको सात हजार ७९०, राष्ट्रिय जनमोर्चाको चार हजार २९४ र एकीकृत समाजवादीको तीन हजार ७६३ मत छ । 

महोत्तरी ३
महोत्तरी ३ बाट लोसपाका अध्यक्ष महन्थ ठाकुरले एमालेका विजयकुमार चौधरीलाई १८ हजार १६९ मतान्तरले पराजित गरेका थिए । ठाकुरले २६ हजार ८४५ र चौधरीले आठ हजार ६७६ मत ल्याएका थिए । यो क्षेत्रमा सत्तागठबन्धनबाट ठाकुर फेरि चुनावी मैदानमा छन् । यसपटक ठाकुरसँग जसपाका हरिनारायण यादव प्रतिस्पर्धामा छन् । यादवलाई एमालेको समर्थन छ । 

स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार यो क्षेत्रमा जसपा सबैभन्दा ठूलो दल छ । दोस्रोमा लोसपा छ । सत्तागठबन्धनले समर्थन गरेका कारण ठाकुरको पक्षमा बढी मत देखिन्छ । जसपाको १४ हजार ३५७, लोसपाको १२ हजार ७३५, एमालेको १० हजार ८२०, कांग्रेसको नौ हजार ४३, माओवादीको पाँच हजार १९५, एकीकृत समाजवादीको दुई हजार ५७० र राप्रपाको ६ हजार १८ मत छ ।

इलाम–१
०७४ मा एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल इलाम १ बाट कांग्रेसका भूपेन्द्र कट्टेललाई १७ हजार १६७ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । खनालले ३६ हजार ८०५ र कट्टेलले १९ हजार ६३८ मत ल्याएका थिए । खनाल अहिले एमालेबाट विद्रोह गरेर गठन भएको एकीकृत समाजवादीको सम्मानित नेता छन् । उनी सत्तागठबन्धनको उम्मेदवार हुन् । एमालेबाट महेश बस्नेत प्रतिष्पर्धामा छन् । 

गत स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार एमाले ठूलो दल छ । कांग्रेसको मत पनि एमालेकै हाराहारीमा छ । कांग्रेस, एकीकृत समाजवादी र माओवादीको मत जोड्दा खनालको पक्षमा बहुमत देखिन्छ । एमालेको २६ हजार २३३, कांग्रेसको २५ हजार ७७२, एकीकृत समाजवादीको नौ हजार ४८१, जसपाको एक हजार ८२९, माओवादीको एक हजार २३५ र राप्रपाको एक हजार १६९ मत छ । 

चितवन २
चितवन २ बाट एमालेका कृष्णभक्त पोखरेलले कांग्रेसका शेषनाथ अधिकारीलाई १७ हजार ३५६ मतान्तरले पराजित गरेका थिए । पोखरेलले ४४ हजार ६७० र अधिकारीले २७ हजार ३१४ मत ल्याएका थिए । एमालेले पोखरेललाई नै अघि सारेको छ भने सत्तागठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि दाबेदार छन् । 

गत स्थानीय निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार एमाले नै ठूलो दल छ । गठबन्धन दलहरूको मतभन्दा एमाले एक्लैको मत बढी देखिन्छ । एमालेको ३५ हजार ५४३, कांग्रेसको २४ हजार ५३१, माओवादीको सात हजार ३७४, एकीकृत समाजवादीको तीन हजार ५६९, राप्रपाको दुई हजार ११३ र जसपाको ५८ मत छ । 

भक्तपुर २
भक्तपुर २ मा एमालेका महेश बस्नेतले कांग्रेसका दमननाथ ढुंगानालाई १७ हजार ७२५ मतान्तरले पराजित गरेका थिए । बस्नेतले ३६ हजार ४१२ र ढुंगानाले १८ हजार ६८७ मत ल्याएका थिए । 

यसपटकको निर्वाचनमा पनि एमालेले बस्नेतलाई नै अघि सारेको छ । कांग्रेसबाट दुर्लभ थापा चुनावी मैदानमा छन् । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार कांग्रेस ठूलो दल देखिन्छ । कांग्रेसको २५ हजार ७६४, एमालेको २४ हजार २८६, नेमकिपाको चार हजार ९२५, राप्रपाको चार हजार १७२, एकीकृत समाजवादीको एक हजार २०२ र माओवादीको एक हजार ४५ मत छ । 

महोत्तरी २
महोत्तरी २ बाट लोसपाका शरत्सिंह भण्डारीले कांग्रेसकी किरण यादवलाई १६ हजार, ७४८ मतान्तरले पराजित गरेका थिए । भण्डारीले ३० हजार ७२२ र यादवले १३ हजार ९७४ मत पाएका थिए । भण्डारी लोसपाबाट यसपटक पनि उम्मेदवार बनेका छन् । उनलाई सत्तागठबन्धनको साथ छ । एमालेबाट रामपरीक्षण यादव उम्मेदवार छन् । उनलाई जसपाले समर्थन गरेको छ । 

गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार लोसपा सबैभन्दा ठूलो दल देखिन्छ । लोसपाको १७ हजार ५७७, कांग्रेसको १६ हजार ९३८, जसपाको आठ हजार ५३२, एमालेको सात हजार ५७, माओवादीको ६ हजार ५०६, एकीकृत समाजवादीको एक हजार १९६ र राप्रपाको १२९ मत देखिन्छ ।

झापा ४
झापा ४ बाट एमालेका एलपी साँवा लिम्बूले कांग्रेसका देउकुमार थेबेलाई १६ हजार ६९३ मतान्तरले पराजित गरेका थिए । साँवाले ४३ हजार ५१५ र थेबेले २६ हजार ८२२ मत ल्याएका थिए । 

यसपटक पनि साँवा र थेबे नै चुनावी प्रतिस्पर्धामा छन् । सत्तागठबन्धन एकातिर छ भने एमाले–राप्रपा गठबन्धन अर्कोतिर छ । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार एमालेको ३१ हजार २७२, कांग्रेसको २८ हजार १६५, माओवादीको ६ हजार ३८२, राप्रपाको चार हजार ५५६, एकीकृत समाजवादीको ७०२, लोसपाको २४८ र जसपाको ११० मत छ ।

प्युठान
प्युठानबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले कांग्रेसका डा. गोविन्दराज पोखरेललाई १६ हजार २२८ मतान्तरले पराजित गरिन् । पौडेलले ४७ हजार ५१४ र पोखरेलले ३१ हजार २८६ मत ल्याएका थिए । यसपटकको निर्वाचनमा पनि जनमोर्चाले पौडेललाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा वाम गठबन्धनबाट निर्वाचन लडेकी पौडेल यसपटक सत्तागठबन्धनबाट उम्मेदवार बनेकी छिन् । एमालेबाट सूर्य थापा उम्मेदवार छन् । 

यहाँ वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार एमाले सबैभन्दा ठूलो दल देखिन्छ । तर, गठबन्धन दलहरूको मत जोड्दा धेरै हुन्छ । एमालेको ३९ हजार ८७७, कांग्रेस २१ हजार ५६४, माओवादीको १७ हजार १६३, जनमोर्चाको १० हजार ६५८, एकीकृत समाजवादीको एक हजार ४१७ र राप्रपाका ४३३ मत छ । 

चितवन १
चितवन १ बाट एमालेका सुरेन्द्र पाण्डेले कांग्रेसका राजेन्द्र बुर्लाकोटीलाई १५ हजार ७२० मतान्तरले पराजित गरेका थिए । पाण्डेले ५१ हजार ८० र बुर्लाकोटीले ३५ हजार ३६० मत ल्याएका थिए । एमालेले यसपटक पनि पाण्डेलाई नै उम्मेदवार बनाएको छ । कांग्रेसबाट विश्व पौडेल सत्तागठबन्धनका उम्मेदवार छन् ।

गत स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार एमाले नै ठूलो दल छ । तर, गठबन्धनमा आबद्ध दलहरूको मत जोड्दा एमालेको भन्दा धेरै हुन्छ । एमालेको ३९ हजार ६०६, कांग्रेसको ३६ हजार ७८३, माओवादीको पाँच हजार ५०८, राप्रपाको चार हजार ५९० र एकीकृत समाजवादीको चार हजार ५ मत छ । 

भक्तपुर १
०७४ मा भक्तपुर १ बाट नेमकिपाका प्रेम सुवालले कांग्रेसका बाबुराजा जोशीलाई १५ हजार २५८ मतान्तरले पराजित गरेका थिए । नेमकिपाको गढका रूपमा परिचित यो क्षेत्रबाट सुवालले ३३ हजार ७६ र जोशीले १७ हजार ८१८ मत ल्याएका थिए । यो क्षेत्रमा यसपटक पनि नेमकिपाले सुवाललाई नै अघि सारेको छ । सत्तागठबन्धनबाट माओवादीका सुनील गोठे र एमालेका नवराज गेलाल उम्मेदवार छन् ।

गत स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार पनि यो क्षेत्रमा नेमकिपा नै ठूलो दल हो । दोस्रो स्थानमा आएको एमालेको भन्दा दोब्बरभन्दा बढी मत नेमकिपाका वडाध्यक्षका उम्मेदवारले ल्याएका थिए । नेमकिपाको ३३ हजार ८९५, एमालेको १४ हजार ११९, कांग्रेसको १३ हजार १३, राप्रपाको ६ हजार २८६ र माओवादीको एक हजार ३८८ मत छ ।