मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २३ बुधबार
  • Saturday, 23 November, 2024
जिल्ला ब्युरो नयाँ पत्रिका
२o७९ कार्तिक २३ बुधबार o८:o४:oo
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रमुख दलका शीर्ष नेता को कति सुरक्षित ?

Read Time : > 5 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
नयाँ पत्रिका
२o७९ कार्तिक २३ बुधबार o८:o४:oo

स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवार र गठबन्धनको मतका आधारमा कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, समाजवादीका अध्यक्ष नेपाल ‘सेफ जोन’मा देखिन्छन्, जसपा अध्यक्ष यादव, लोसपा अध्यक्ष ठाकुर र राप्रपा अध्यक्ष लिङ्देन कडा प्रतिस्पर्धामा

सातौँपटक जितको प्रयासमा देउवा
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट सातौँपटक संसदीय चुनाव लड्दै छन् । यसअघिका ६ वटै निर्वाचनमा विजयी भएका देउवा यसपालि केन्द्रको गठबन्धनअनुसार जिल्लामा जनमतका हिसाबले कांग्रेसपछि दोस्रो ठूलो दल माओवादी केन्द्रको समेत समर्थन चुनाव लड्दै छन् । देउवालाई उनकै पूर्वकार्यकर्ता कर्ण मल्लले टक्कर दिँदै छन् ।

देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा आएका युवा सागर ढकालले पनि आक्रामक रूपमा चुनावी प्रचार गरिरहेका छन् । भ्रष्टाचार अन्त्य गर्ने, रोजगारी सिर्जना गर्ने भन्दै उनले युवालाई अवसर दिन मतदातालाई आग्रह गरिरहेका छन् ।    

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका सात पालिकामध्ये पाँचमा कांग्रेस र दुईमा माओवादीले जित हासिल गरेको थियो । वडाध्यक्षमा कांग्रेसले सबैभन्दा बढी २१ हजार चार सय ६२ मत पाएको थियो । माओवादीले १२ हजार ६ सय २३, एमालेले १० हजार पाँच सय नौ, एकीकृत समाजवादीले चार हजार सात सय १९ र कांग्रेस (बिपी)ले तीन हजार सात सय ९९ मत प्राप्त गरेका थिए ।

डडेल्धुरामा ९२ हजार दुई सय मतदाता छन् । जिल्लामा गठबन्धन कायम हुन नसके पनि देउवाको विगतदेखिको ‘विरासत’ र गत स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादीले पाएको मत हेर्दा उनको अपराजित यात्रामा विराम लगाउन सहज छैन ।

ओली सेफ जोनमा तर पुरानै प्रतिस्पर्धी 
यसपटक पनि झापा ५ मा एमाले अध्यक्ष केपी ओली र कांग्रेसका डा. खगेन्द्र अधिकारीबीच प्रतिस्पर्धा हुँदै छ । ०७४ को निर्वाचनमा ओली विजयी भएका थिए । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले पाएको मतको अंकगणितअनुसार ओली सेफ जोन (सुरक्षित क्षेत्र)मा छन्, तर प्रतिस्पर्धा भने पेचिलो छ ।

अघिल्लो निर्वाचनमा ओली माओवादीसहितको गठबन्धनका साझा उम्मेदवार थिए । यसपटक कांग्रेसका अधिकारीलाई माओवादी र एकीकृत समाजवादीको समर्थन छ । ०७४ मा ओलीले ५७ हजार एक सय ३९ र अधिकारीले २८ हजार दुई सय ९७ मत पाएका थिए । यसपटक माओवादी साथमा नरहेको र एमाले विभाजन भई एकीकृत समाजवादी गठन भएकाले ओली चुनौतीरहित भने छैनन् ।

झापा ५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको १, २, ३, ४, ५, ६, ७ र ८ नम्बर वडा र गौरीगन्ज गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ पर्छ । स्थानीय निर्वाचनमा एमालेले एउटामा मात्र नगरपालिकामा मेयर जितेको छ भने एउटामा राप्रपा र दुईवटामा कांग्रेसले जितेको छ । एमालेका वडाध्यक्ष उम्मेदवारहरूले ४१ हजार ६ सय १९ मत पाएका छन् ।

सत्तागठबन्धन कांग्रेस, माओवादी र एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले ३४ हजार ६ सय ६९ मत पाएका छन् । यो निर्वाचन क्षेत्रको निर्णायक मानिएको राप्रपाका वडाध्यक्षका उम्मेदवारले आठ हजार तीन सय ५३ मत ल्याएका थिए । दमकको वडा नम्बर १ र ७ मा राप्रपाका वडाध्यक्षले गठबन्धनको मत पनि पाएका छन् । ०७४ को निर्वाचनमा झापा ५ एक लाख ३७ हजार पाँच सय १४ मतदाता थिए भने यसपटक एक लाख ५४ हजार दुई सय ८९ पुगेको छ । 

निश्चिन्त प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा २ बाट उम्मेदवार बनेका छन् । सत्तागठबन्धनका साझा उम्मेदवार प्रचण्डसहित यो क्षेत्रमा १३ जना उम्मेदवार बनेका छन् । उनीसँग एमालेबाट उम्मेदवारी दिएका अब्दुस मियाँको प्रतिस्पर्धा हुँदै छ ।

गोरखा २ मा एक लाख पाँच हजार दुई सय ४० मतदाता छन् । स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्षको मत जोड्दा माओवादी सबैभन्दा अगाडि छ । वडाध्यक्षहरूको मत जोड्दा भने कांग्रेस अगाडि छ । ११ पालिका अध्यक्षहरूको मत जोड्दा माओवादीको ५२,४६६, कांग्रेसको ४८,७३७ छ र एमालेको २०,७८५ छ । वडाध्यक्षहरूको कुल मतमध्ये कांग्रेसको ४८,२२८, माओवादीको ४७,६१७ र एमालेको १७,०१३ मत छ ।

स्थानीय निर्वाचनमा प्राप्त गरेको मत आधारमा सत्तागठबन्धन र एमालेबीच धेरै मतान्तर देखिन्छ । गोरखा २ मा सत्तागठबन्धनसँग करिब ५२ हजार मत छ । एमालेसँग भने ६ हजार पाँच सय मत मात्र छ । गोरखामा एमालेको संगठन कमजोर भएका कारण गठबन्धनका उम्मेदवारलाई पराजित गर्न मुस्किल पर्ने देखिन्छ । एमालेभन्दा झन्डै आठ गुणा बढी मत भएकाले पनि प्रचण्ड सजिलै चुनाव जित्नेमा ढुक्क देखिएका छन् ।

सहज अवस्थामा माधव नेपाल
रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहज अवस्थामा देखिन्छन् । उनी सत्तागठबन्धनका साझा उम्मेदवार पनि हुन् । उनीसँग एमालेका अजय गुप्ता प्रतिस्पर्धा गर्दै छन् । गुप्तालाई जसपाको समर्थन छ । रौतहट १ का गौर र राजदेवी नगरपालिका एकीकृत समाजवादी, यमुनामाई गाउँपालिकामा लोसपा, दुर्गाभगवती गाउँपालिका माओवादी र माधवनारायण नगरपालिका कांग्रेसले जितेको छ । 

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतअनुसार नेपाल बलियो अवस्थामा छन् । यो क्षेत्रमा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले १९ हजार ६ सय ९८, कांग्रेसले १६ हजार नौ सय २८, लोसपाले १२ हजार ६२, जसपाले ८२४१, माओवादीले आठ हजार १९१ र एमालेले सात हजार ३८५ मत पाएका थिए ।

सत्तागठबन्धनमा आबद्ध सबै दलको मत जोड्दा ५६ हजार ८७९ पुग्छ । निर्वाचनमा तालमेल गरेका एमाले र जसपाको मत जोड्दा १५ हजार ६२६ हुन्छ । गठबन्धनको यही मतका आधारमा नेपाललाई जित निकाल्न सहज हुने गौर नगरपालिकाका प्रमुख शम्भु साहले बताए । ०७० मा पनि नेपालले चुनाव जितेका थिए । उनले त्यसवेला पनि अहिलेका प्रतिस्पर्धी गुप्तालाई तीन सय मतले पराजित गरेका थिए । ०७४ मा भने उनी काठमाडौं २ बाट निर्वाचित भएका थिए ।

यादवलाई ठाकुरको टक्कर
सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपाका जयप्रकाश ठाकुरबीच प्रतिस्पर्धा हुँदै छ । स्थानीय तहको मतपरिणामअनुसार ठाकुर सहज अवस्थामा छन् । मधेस आन्दोलनको विरासत बोकेका यादवलाई एमालेको समर्थन छ । ठाकुरलाई भने सत्तारूढ कांग्रेस र माओवादीको समर्थन छ । यो निर्वाचन क्षेत्रमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पनि उम्मेदवार छन् ।

वडाको मतअनुसार जसपाले १४ हजार ४०३ र एमालेले पाँच हजार ९५१ मत पाएको छ । कांग्रेसले १० हजार ८०७, लोसपाले १० हजार २५४, माओवादीले नौ हजार ५३१, एकीकृत समाजवादीले दुई हजार ४०८ र जनमत पार्टीले चार हजार ५४४ मत पाएका छन् । जसअनुसार सत्तागठबन्धनको मत ३२ हजार ९८८ छ भने एमाले–जसपा गठबन्धनसँग २० हजार ३५४ मत छ । 

जसपा अध्यक्ष यादव ०७४ को निर्वाचन जितेपछि आफूले यस क्षेत्रको विकासका लागि गरेको कामका आधारमा यसपटक पनि विजयी हुने विश्वास व्यक्त गर्छन् । ठाकुर भने कांग्रेस, माओवादी र एकीकृत समाजवादीको साथ पाएकाले आफू बलियो रहेको बताउँछन् ।

पुराना राजनीतिज्ञ खुसीलाल मण्डल स्थानीय निर्वाचनको मतका आधारमा प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई कमजोर वा बलियो रूपमा आकलन गर्न नहुने बताउँछन् । मधेस विद्रोहको लिगेसीलगायत अन्य विषयले पनि चुनावमा प्रभावित पार्ने उनको आकलन छ । 

महन्थलाई गठबन्धनको भर
०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट महोत्तरी ३ मा विजयी भएका महन्थ ठाकुर यसपटक लोसपाबाट उम्मेदवार बनेका छन् । उनलाई सत्तागठबन्धनका कांग्रेस, माओवादी, एकीकृत समाजवादीको समर्थन छ । उनीसँग जसपाका हरिनारायण यादव प्रतिस्पर्धामा छन् । यादवलाई एमालेको समर्थन छ । अघिल्लो निर्वाचनमा ठाकुरले २६ हजार ८४५ र निकटतम प्रतिद्वन्द्वी एमालेका विजयकुमार चौधरीले आठ हजार ६७७ मत ल्याएका थिए । ठाकुरले १८ हजार १६९ मतले जितेका थिए । 

महोत्तरी ३ मा ३६ वडा छन् । तीमध्ये जसपाले १४ र एमालेले नौ गरी कुल २३ वडा जितेका छन् । जलेश्वर नगरपालिका, पिपरा गाउँपालिका र एकडारा गाउँपालिका प्रमुख तथा अध्यक्ष जसपाले जितेको छ । मटिहानी नगरपालिका लोसपाले जितेको छ । त्यहाँका नौमध्ये ६ वडामा लोसपा र कांग्रेसले अध्यक्ष जितेको छ । तर, मनरा सिसवाको तीनवटा वडामध्ये दुई वडामा सत्तागठबन्धनले जितेको छ । स्थानीय निर्वाचनमा वडाध्यक्षहरूको मतमरिणाम हेर्दा जसपा बलियो देखिन्छ । जसपाले १४ हजार ३५७, लोसपाले १२ हजार ७३५, एमालेले १० हजार ८२०, कांग्रेसले नौ हजार ४३, माओवादीले पाँच हजार १९५ र एकीकृत समाजवादीले दुई हजार ५७० मत पाएको थियो । ठाकुरलाई गठबन्धनको मत जोगाउनुपर्ने चुनौती छ । 

एमालेका ‘बागी’ लिङ्देनलाई चुनौती 
झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच प्रतिस्पर्धा हुँदै छ । लिङ्देनलाई एमालेको साथ छ भने सिटौलालाई माओवादी र एकीकृत समाजवादीको साथ छ ।

०७४ मा एमाले–माओवादीको साथ पाएका लिङ्देनले सिटौलालाई पराजित गरेका थिए । लिङ्देनले ४४ हजार ६१४ र सिटौलाले ३१ हजार १७१ मत ल्याएका थिए । स्थानीय तहको निर्वाचनको मतपरिणाम र ०७४ मा कांग्रेसले ल्याएको समानुपातिक मतपरिणामलाई हेर्दा झापा ३ मा पहिलो दल कांग्रेस हो । स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारलाई आएको मतअनुसार सत्तारूढ गठबन्धनका वडाध्यक्षले ३३ हजार ६०९ मत पाएका थिए ।

यो क्षेत्रमा राप्रपाका वडाध्यक्षहरूका उम्मेदवारहरूले २१ हजार १५९ मत पाएका थिए । एमालेका वडाध्यक्षका उम्मेदवारले २० हजार ११३ मत प्राप्त गरेका थिए । ०७४ को निर्वाचनमा झापा ३ मा एक लाख १४ हजार ५८६ मतदाता थिए भने यसपटक बढेर एक लाख ३१ हजार २३४ पुगेको छ । एमालेबाट बागी उम्मेदवार भएका कारण यसपटक लिङ्देनलाई सोचेजस्तो सहज छैन । झापा ३ मा एमालेका डम्बर गिरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी पाँच वर्ष हल्दिबारी गाउँपालिकाको अध्यक्ष भएका थिए । 

धनगढीमा तेजराज भट्ट, झापामा चिरञ्जीवी घिमिरे, गोरखामा केशव गुरुङ, रौतहटमा अशोक पहाडी,राजविराजमा सौरभ यादव र महोत्तरीमा रञ्जन भण्डारी