Skip This
तीर्थयात्रा जान पाउँदा ज्येष्ठ नागरिक दंग
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
धनगढी उपमहानगरपालिकाबाट तीर्थयात्राका लागि मुक्तिनाथ जाँदै ज्येष्ठ नागरिक
Invalid date format o९:१५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तीर्थयात्रा जान पाउँदा ज्येष्ठ नागरिक दंग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१५:oo

धनगढी उपमहानगरले पठायाे एक सय २२  ज्येष्ठ नागरिकलाई तीर्थयात्राकाे लागि मुक्तिनाथ

धनगढी उपमहानगरपालिका– ११, बेलाकी ७६ वर्षीया गंगादेवी कठायतले जीवनभर तीर्थयात्रामा जिल्लाबाहिर जान पाइनन् । बुढेसकाल लागेपछि तीर्थयात्रामा जाने उनको इच्छा नभएको होइन, तर आर्थिक अवस्थाका कारण उनको इच्छा पूरा हुन सकेन । यो उमेरमा त झन् तीर्थयात्रामा जाउँला भन्ने उनले सोचेकी पनि थिइनन् । तर, धनगढी उपमहानगरपालिकाले तीर्थयात्राका लागि मनाङको मुक्तिनाथ पठाएपछि उनको खुसीको सीमा छैन । 

ज्येष्ठ नागरिकलाई तीर्थयात्राका लागि बिदाइ गर्दै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललगायतका जनप्रतिनिधि

‘खानलाउनकै लागि काम गरेर जीवन बित्यो । कहिले घुम्न जान सकिएन । सौभाग्यले मर्ने वेलामा भए पनि मुक्तिनाथ जान पाउँदा निकै  खुसी लागेको छ,’ उनले भनिन्, ‘यो उमेरमा यसरी जान पाइएला भन्ने सोचेकी पनि थिइनँ ।’ आफ्नी आमालाई धार्मिक यात्राको लागि बिदाइ गर्न उनका छोरा हर्क उपमहानगरपालिका पुगेका थिए । धनगढीमा रिक्सा चलाउने उनले कामविशेषले केही दिनअघि उपमहानगरपालिका पुग्दा ज्येष्ठ नागरिकलाई उपमहानगरले तीर्थयात्रामा लैजान लागेकोबारे थाहा पाएको बताए ।

पछि वडामा कुरा गरेर धार्मिक यात्राका लागि आफ्नी आमाको नाम टिपाएको उनले बताए । ‘रिक्सा चलाएर गुजारा गर्ने मैले आमालाई कतै तीर्थयात्राका लागि न एक्लै पठाउन सक्थेँ, न सँगै लिएर जान सक्थेँ,’ उनले भने, ‘सौभाग्यले आमाले यो अवसर पाउनुभो ।’

धनगढी– १४, बगपुरका ७९ वर्षीय लक्ष्मीकान्त ओझा पनि मुक्तिनाथ जान पाउँदा खुसी छन् । आफू २१ वर्षपछि यसरी धार्मिक यात्रामा जान लागेको उनले सुनाए । ‘२०–२१ वर्षअघि हरिद्वार गएको थिएँ, त्यसपछि आर्थिक अभावले पनि तीर्थयात्रामा कतै गइएन । उनले भने, ‘जीवनको ऊर्जावान समय गुजाराका लागि संघर्षमै बित्यो । अहिले उपमहानगरपालिकाले यो अवसर दिनु हाम्रा लागि खुसीको कुरा हो ।’ यो कार्यलाई हरेक वर्ष निरन्तरता दिन पनि उपमहानगरपालिकालाई उनको आग्रह छ । 

धनगढी उपमहानगरपालिकाले नगरका एक सय २२ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्राकाा लागि मुक्तिनाथमा पठाएको हो । नगर प्रमुख गोपाल हमाललगायत जनप्रतिनिधिले टीका र खादा लगाएर वृद्धवृद्धालाई बिहीबार तीर्थयात्राका लागि धनगढी उपमहानगरपालिकाको कार्यालय प्रांगणबाट बिदाइ गरेका छन् । उनीहरू मुक्तिनाथको दर्शन गरेर एक सातापछि घर फर्कनेछन् ।

नगर प्रमुख हमालले ज्येष्ठ नागरिकको सम्मानका लागि उनीहरूलाई तीर्थयात्रामा पठाइएको बताए । ज्येष्ठ नागरिकलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छ भन्ने भावनाको विकास गर्नका लागि पनि तीर्थयात्रामा पठाइएको उनले बताए । ‘यो स्थानीय तहले ज्येष्ठ नागरिकलाई दिएको एकप्रकारको सम्मान हो,’ मेयर हमालले भने, ‘उहाँहरूलाई पनि आफ्नो जीवनको उत्तरार्द्धमा स्थानीय सरकारले हेर्‍यो भन्ने हुन्छ । यसले धार्मिक पर्यटन प्रवर्द्धनमा पनि टेपा पुग्ने गर्छ ।’

मेयर हमालले उपमहानगरले आफ्नो वार्षिक नीति तथा कार्यक्रममै ‘ज्येष्ठ नागरिकलाई तीर्थयात्रा’ कार्यक्रम समावेश गरेको बताए । आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए । उपमहानगरले चारवटा बस भाडामा लिएर वृद्धवृद्धालाई धार्मिक यात्रामा पठाएको हो । यात्राको व्यवस्थापनका लागि उपमहानगरपालिकाका केही कर्मचारी पनि सँगै गएका छन् ।