Skip This
विवादबीच कतार विश्वकप
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
सिमोन च्याडविक
Invalid date format १o:३o:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विवादबीच कतार विश्वकप

Read Time : > 2 मिनेट
सिमोन च्याडविक
नयाँ पत्रिका
Invalid date format १o:३o:oo

कतारमा हुने फिफा पुरुष विश्वकप फुटबलमा डेनमार्कको जर्सीमा प्रायोजक खेल ब्रान्ड हमलले आफ्नो नाम र लोगोलाई मलिन बनाउने भएको छ । जर्सीको एकातिर पूर्णतया कालो हुनेछ, जसलाई हमलले ‘शोकको रंग’ बताएको छ । हमलले कतारका रंगशाला निर्माणमा मृत्यु भएकाको सम्झना र खस्कँदो मानव अधिकार अवस्थालाई झल्काउन जर्सीको अस्वाभाविक डिजाइन गरिएको जनाएको छ । सामाजिक सञ्जालमा रखिएको पोस्टमा ‘हामी हजारौँको मृत्युको मूल्यमा आयोजना भइरहेको प्रतियोगितामा देखिन चाहदैनौँ’ लेखिएको थियो । पोस्टमा ‘हामी डेनमार्क राष्ट्रिय टोलीलाई पूरा समर्थन गर्छौँ, तर आयोजक कतारलाई समर्थन गर्दैनौँ लेखिएको थियो । यस खेललाई लिएर हमलले मात्रै आलोचना गरेको छैन र आयोजना नजिकिँदै गर्दा आलोचना थपिँदै जानेछन् । म्यानचेस्टर युनाइटेड पूर्वस्टार खेलाडी एरिक क्यान्टोनाले प्रतियोगिता नहेर्ने घोषणा गरेका छन् र केही फ्रान्सेली सहरले सार्वजनिकस्थलमा विश्वकपका खेल प्रदर्शन गर्न प्रतिबन्ध लगाएका छन् ।    

हमलको आलोचनामा कतारले दिएको जवाफमा नयाँ रणनीति झल्किन्थ्यो । हमलको आलोचनाभन्दा अगाडि कतार आफूमाथिका आलोचनाको जवाफ तुरुन्तै दिँदैनथ्यो । तर, हमलको आलोचनाको केही घन्टामै आयोजकले कडा बयान जारी गर्‍यो । बयानमा आयोजक कतारले श्रम बजारमा महत्वपूर्ण सुधार ल्याएको र डेनमार्कलगायत सबै मुलुकले मानव अधिकार रक्षालाई प्रोत्साहन गर्नुपर्ने बतायो । यस्तो कडा प्रतिक्रिया उल्लेखनीय नै थियो, किनभने यसबाट कतारी सञ्चारको शैली, ताल एवं गतिमा परिवर्तनको संकेत देखिन्छ । गहन छानबिन र चरणबद्ध आन्दोलनपछि भइरहेको प्रतियोगिता इतिहासको सबैभन्दा विवादास्पद फुटबल विश्वकप बन्न गइरहेको छ र यसका लागि आयोजक अधिकारी तयार हुन खोजिरहेको स्पष्ट हुन्छ । अधिकारीहरू प्रतियोगितामा अवरोध नआओस् भनेर मोरक्कन प्रहरीलाई समेत खटाउनेदेखि, अमेरिकी निगरानी उपकरण, तुर्की ड्रोन र इटलीका युद्धपोतसमेत खरिद गरेका छन् । यी स्रोत कसरी परिचालित हुन्छन् भनेर हेर्न भने बाँकी नै छ ।  

गहन छानबिन र चरणबद्ध आन्दोलनपछि भइरहेको प्रतियोगिता इतिहासको सबैभन्दा विवादास्पद फुटबल विश्वकप बन्न गइरहेको छ

बन्दोबस्तीका मामिलामा पनि कतार अभ्यस्त देखिन्छ । तयार छौँ भनेर देखाउन कतारले ठूलो संख्यामा दर्शक उतार्ने सन् २०१९ को फिफा क्लब विश्वकप र सन् २०२१ को फिफा अरब कप आयोजना गरेको छ । दुवै आयोजना शान्तिपूर्ण ढंगले सम्पन्न भएका थिए । यद्यपि, लुसेल आइकोनिक स्टेडियममा भएको हालैको परीक्षण भने उत्साहजनक देखिएन, अर्थात् पानीको अभाव, समस्याग्रस्त वातानुकूलित व्यवस्था र ३५ डिग्री सेल्सियस गर्मी तापक्रममा घन्टौँ यात्रा तय गरेर रंगशाला पुग्नुपर्ने अवस्था थियो । कतार र इक्वेडरले नोभेम्बरमा आफ्नो उद्घाटन खेलअघि यी चुनौती पार गरिहाल्न सकिने अवस्था नभएको भने होइन । तर, यस्ता आयोजनामा त्रुटिको सम्भावना निकै कम हुनुपर्छ । उदाहरण हुथी ड्रोन आक्रमणले मार्चमा साउदी अरेबियामा झन्डै एफ वान कार रेस रद्द गर्नुपरेको थियो । त्यसैगरी, भिड नियन्त्रणको प्रमुख समस्याले मेमा फ्रान्समा भएको युइएफए च्याम्पियन्स लिग फाइनलमा गम्भीर समस्या उत्पन्न गराएको थियो ।

नोभेम्बर र डिसेम्बरबीच १२ लाखभन्दा बढीले कतार भ्रमण गर्ने अनुमान गरिएको छ जुन प्रमुख चुनौती साबित हुन सक्छ । करिब ३० लाख जनसंख्या भएको कतारमा आगन्तुकको विशाल प्रवाहले सडक, सार्वजनिक यातायात, खानेपानी आपूर्ति र ढल निकासलगायत पूर्वाधारका परीक्षण गर्नेछ । कतिपय आप्रवासी श्रमिकलाई कतार छोडेर प्रतियोगिता सकिएपछि मात्रै फर्कन निर्देशन दिइएको छ । सरकारी कर्मचारीलाई विश्वकपका दौरान घरबाटै काम गर्न निर्देशन दिइएको छ भने विद्यालय, कलेज र विश्वविद्यालय बन्द गरिने भएको छ ।

कतारी सरकारले सम्भावित यातायात समस्या समाधान गर्न करिब सात सय विश्वकप ब्रान्डका विद्युतीय बसको परीक्षण गरिरहेको छ र सम्भावित जामको डरले शुक्रबारका दिन सवारीसाधनलाई दोहा प्रवेश गर्न प्रतिबन्ध लगाइँदै छ । यसबाहेक मैले सेप्टेम्बरमा दोहा भ्रमण गर्दा सहरका सडकहरूको ठूलो हिस्सालाई विश्वकपअगाडिका केही साता पहुँचयोग्य नहुने जानकारी पाएको थिएँ । त्यो समय कतार आफ्नो पानी र ढल निकास पूर्वाधारलाई अद्यावधिक गर्ने प्रयासमा छ । सोही भ्रमणमा ठूलो स्तरको पूर्वाधार विकासले म चकित परेको थिएँ किनभने पछिल्लोपटक महामारीअघि ती पूर्वाधार थिएनन् । सहर धेरै शान्त देखिन्थ्यो ।

आप्रवासी मजदुरसँग कुरा गर्दा बढी समय काम गर्नुपर्ने र न्यून ज्यालाको समस्या रहेको बताएका थिए । तर, यी मजदुर विश्वकपका लागि उत्साहित नै थिए । कतारको १२ वर्षको विश्वकप तयारी राष्ट्र निर्माण, सौम्य शक्ति प्रक्षेपण र अन्तर्राष्ट्रिय धारणा परिवर्तन गर्ने आकांक्षामा केन्द्रित छ । अन्तिम तयारी द्रुतगतिमा अघि बढ्दै गर्दा दोहा सरकारले विश्वकप सञ्चालन गर्न मोलेको जोखिम सफल भइसकेको भन्ने अवस्था छैन । 
(च्याडविक खेल एवं भूराजनीतिक अर्थतन्त्रका प्राध्यापक हुन्) द कन्भर्सेसनबाट