१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १o:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वार्षिक ३५ लाख पर्यटक ल्याउने लक्ष्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:२४:oo

सरकारले आगामी एक दशकभित्र वार्षिक ३५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यसका लागि सन् २०२३ देखि २०३२ सम्म ‘पर्यटन दशक’ घोषणा गरेर दिगो पर्यटन विकासमा अगाडि बढ्ने पर्यटन मन्त्रालयको तयारी छ । देशको पर्यटन क्षेत्रको विकासका लागि पर्यटन दशक अवधारणा अगाडि बढाएको पर्यटनमन्त्री जीवनराम श्रेष्ठले बताए । पर्यटन दशक अवधारणाका विषयमा नेपाल पर्यटन बोर्डले आइतबार आयोजना गरेको अन्तक्र्रियामा उनले समग्र पर्यटन क्षेत्रको विकासका लागि सरकारसँगै निजी क्षेत्र पनि अग्रसर हुनुपर्ने बताए । एक दशकमा पर्यटन क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा १० प्रतिशत योगदान पुर्‍याउने लक्ष्य राखिएको छ । 

कार्यक्रममा पर्यटन दशकको अवधारणापत्र प्रस्तुत गर्दै पर्यटनसचिव सुरेश अधिकारीले पर्यटकको बसाइ २० दिन र प्रतिपर्यटक प्रतिदिन औसत खर्च पनि एक सय २५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य रहेको बताए । सन् २०२१ मा पर्यटकको औसत बसाइदर १५.५ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ४८ डलर रहेको आर्थिक सवेक्षण ०७८/७९ मा उल्लेख छ । 

भ्रमण दशकको अवधारणापत्रमा कोभिडले खस्किएको पर्यटक संख्यालाई सन् २०२५ सम्म पहिलेकै अवस्थामा पुर्‍याउने उल्लेख छ । कोभिडअघि सन् २०१८ मा ११ लाख ७३ हजार र २०१९ मा ११ लाख ९७ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए । कोभिडसँगै पर्यटकको संख्या घटेर सन् २०२० मा दुई लाख ३० हजार र सन् २०२१ मा एक लाख ५१ हजारमा सीमित भयो । यो संख्या सन् १९७७ पछिकै सबैभन्दा न्यून रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

कोभिड कम हुँदै गएसँगै सन् २०२२ को पहिलो आठ महिना (जनवरी–अगस्ट)मा सवा तीन लाख पर्यटक नेपाल भित्रिसकेका छन् । नेपाललाई युरोपियन युनियनको सेफ्टिलिस्टबाट ‘कालो सूची’ हटाउन मन्त्रालयले पहल गरिरहेको जानकारी दिँदै उनले यसबारे छिट्टै सकारात्मक नतिजा आउने बताए । पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले कोभिडपछि पर्यटनमा थुप्रै समस्या देखिए पनि समन्वय गर्दै अगाडि बढ्न सके नेपालले लाभ लिन सक्ने बताए ।

कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रले पर्यटन दशक घोषणासँगै यसको विस्तृत कार्यक्रम र बजेटको सुनिश्चिचता आवश्यक भएको औँल्याए । उनले देशको पर्यटन क्षेत्र फस्टाउन ‘एभिएसन’ क्षेत्र पनि फस्टाउनुपर्ने बताए । 

ad
ad