Skip This
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १६ बिहीबार
  • Tuesday, 13 May, 2025
२o७९ भदौ १६ बिहीबार १२:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ १६ बिहीबार १२:२o:oo

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बाग्लुङखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण बाग्लुङ नगरपालिका– १० दबल्याङमा सडक अवरुद्ध भएको छ भने करिडोरकै फुस्रेखोलामा निरन्तर रूपमा सडकमाथिबाट ढुंगा खसिरहेका छन् ।  बाग्लुङमा लगातारको वर्षाका कारण दक्षिण भेग जोड्ने सडक सम्बन्धविच्छेद भएको हो । 

दब्ल्याङ हुँदै बलेवा–कुश्मिसेरा जाने सडक केही दिनदेखि बन्द भएपछि कालीगण्डकी करिडोरमार्फत सवारीसाधन सञ्चालनमा आएका थिए । निरन्तरको वर्षापछि करिडोर अवरुद्ध भए पनि वर्षा नरोकिएका कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । 

करिडोरको दब्ल्याङमा बुधबारदेखि लगातार लेदो बगिरहेका कारण सवारी चल्न सकेका छैनन् भने बाग्लुङ– १३ फुस्रेखोलामा निरन्तर सडक माथिबाट ढुंगा खसिरहेकाले वर्षा रोकिएपछि मात्रै सडक खुलाउने योजनामा रहेको नगर उपप्रमुख राजु खड्काले बताए। 

‘बुधबार दब्ल्याङमा समस्या थिएन, सडकमाथिबाट फुस्रेखोलामा ढुंगा खसिरहेकाले दुर्घटना रोक्न बुधबार (हिजो) देखि नै सवारी सञ्चालनमा रोक लगाएका छौँ,’ उपप्रमुख खड्काले भने, ‘पानी नरोकिँदासम्म दब्ल्याङको पहिरो पन्छाउन त सकिएला, तर फुस्रेखोलामा ढुंगा खसिरहेकाले समस्या भयो, ढुंगा हटाउन नेपाली सेनालाई सहयोग मागिएको छ ।’

सडक अवरुद्ध हुँदा दुई दिनदेखि बाग्लुङको दक्षिण भेग जोड्ने बलेवा र जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिकाको जिल्ला सदरमुकामसँगको सडक सञ्जाल टुटेको छ । दब्ल्याङको पहाड गहिरिएर पहिरो गएका कारण एक महिनादेखि बलेवा, भकुण्डे, कुश्मिसेरा र बरेङ जाने सवारीसाधन करिडोरको सडक प्रयोग गरेर सञ्चालनमा आइरहेका थिए ।