मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ भदौ १३ सोमबार १०:३३:००
Read Time : > 1 मिनेट
प्रवास प्रिन्ट संस्करण

अधिकारसहितको परिचयपत्रलगायतका माग गर्दै सकियो एनआरएनए सम्मेलन

Read Time : > 1 मिनेट
२०७९ भदौ १३ सोमबार १०:३३:००

थाइल्यान्डको राजधानी बैंककमा भइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवाैं एसिया प्रशान्त क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । संघभित्र देखिएका विभिन्न असन्तुष्टि र विग्रहको सम्भावनाबीच मेलमिलापलाई प्राथमिकता दिँदै ‘मिलाप’ नामकरण गर्दै सम्मेलन आयोजना गरिएको हो । सम्मेलनले विभिन्न मुलुकमा रहेका नेपाली मूलका नागरिकलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली परिचयपत्रको व्यवस्था गर्न आग्रह गरेको छ । त्यस्तै, एनआरएनको लगानीलाई सुनिश्चित गर्न संघले सरकारसँग आग्रह गरेको छ । यसका लागि सरकारले आवश्यक कानुनहरूलाई समयानुकूल परिमार्जित गर्नुपर्ने संघको माग छ । यसका साथै गैरआवासीय नेपालीको लगानीलाई नेपालको धितोपत्र विनिमय बजारमा प्रवेश गराउन आवश्यक पहलका लागि सरकार तथा सम्बन्धित निकायसँग संघले अनुरोध गरेको छ । 

त्यस्तै, वैदेशिक रोजगारमा रहेका स–साना लगानी गर्न सक्ने नेपालीलाई सामूहिक लगानीमा आबद्ध गराउन १० अर्ब रुपैयाँबराबरको कोष सञ्चालन गर्न लागिएको संघले जनाएको छ । यसमा सरकारको पनि संलग्नताका साथै यसलाई कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण गर्नसमेत संघले आग्रह गरेको छ । हाल वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि आवश्यक संयन्त्र बनाई सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्ने तथा गन्तव्य देशसँग श्रम सम्झौता गर्दा अनिवार्य रूपमा सामाजिक सुरक्षामा आबद्ध गराउन संघले अनुरोध गरेको छ । सम्मेलनले    विदेशमा भएका तथा वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरूको ज्ञान, सीप, प्रविधि र अनुभव नेपालको सर्वांगिण विकासमा योगदान हुने गरी संयन्त्र निर्माण गरिदिन आग्रह गरेको छ । 

सम्मेलनले रेमिट्यान्सको केही अंशलाई उत्पादनको क्षेत्रमा लगानी गर्ने वातावरण बनाइदिन तथा औपचारिक माध्यमबाट पठाउने वातावरण बनाउनसमेत आग्रह गरेको छ । आगामी निर्वाचनमा विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारका लागि आवश्यक ऐन–कानुन निर्माण गर्न संघले सरकारसँग अनुरोध गरेको छ ।साथै, समस्त गैरआवासीय नेपालीहरूलाई नेपालमा डलर खाता खोली नेपालमा देखिएको वैदेशिक मुद्राको न्यूनतालाई परिपूर्ति गरी सहयोग गर्न सम्मेलनले अपिल गरेको छ । संघले उद्यमशीलताको विकास गर्न विद्यालयस्तरबाटै पढ्दै कमाउँदैजस्ता मौलिक कार्यक्रमहरू सञ्चालनमा ल्याउने योजनाको घोषणा गरेको छ । साथै, युवा तथा महिलाहरूको उद्यमशीलता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवाहरूको सक्रियतामा सुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिला तथा युवाहरूको सहभागिता सुनिश्चित गराउन सम्मेलनले प्रतिबद्धता जनाएको छ । 

सम्मेलनले मिलाप एसिया भेन्चरको स्थापना गरी नेपाली कोसेली उद्योगको स्थापना गरी नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने प्रतिबद्धता गरेको छ । साथै, एसिया प्रशान्त क्षेत्रमा बसोवास गर्ने दोस्रो पुस्तालाई संघको मूलधारमा समाहित गर्न नेपाली भाषा, लिपि, संस्कार र संस्कृति सिकाउने कार्य गर्न संघका सबै राष्ट्रिय समन्वय परिषद्हरूले प्रतिबद्धता जनाएका छन् । त्यस्तै, एनआरएनएले स्थापनाकालदेखि उठाउँदै आएको गैरआवासीय नेपालीले नेपाली नागरिकसरह सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता हालै संसद्बाट पारित भएकोमा नेपाल सरकारले गरेको उक्त निर्णयलाई संघले खुसी व्यक्त गरेको छ ।

 आइसिसी नेतृत्वप्रति एनसिसीको असन्तुष्टि
गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसी) नेतृत्वप्रति राष्ट्रिय समन्वय समिति (एनसिसी)ले असन्तुष्टि पोखेको छ । संघभित्रै भएको राजनीतिक गुटबन्दीले संघलाई भित्रैबाट खोक्रो बनाएको विभिन्न मुलुकबाट आएका एनसिसी अध्यक्षहरूले गुनासो गरे । 

सम्मेलनमा सहभागी आइसिसी प्रतिनिधिहरूले केन्द्रीय नेतृत्वको इमानदारिताप्रति प्रश्न उठाएका छन् । संघमा तीनजना अध्यक्षको चयन हुनु, एउटा पदाधिकारीले अर्को पदाधिकारीलाई पदच्युत गर्न पाउने, आइसिसीको निर्वाचनमा आइसिसीको हस्तक्षेप हुनेलगायत विषयलाई लिएर आइसिसी प्रतिनिधिले आफ्नो असन्तुष्टि पोखेका छन् । संघका केन्द्रीय पदाधिकारीहरू नेपाली राजनीतिक दलको पछि–पछि लाग्ने गरेको गैरआवासीय नेपाली संघ थाइल्यान्डका प्रतिनिधिको भनाइ छ । संघभित्रको कुनै पनि गतिविधिमा नेपालका राजनीतिक दलहरूको सहभागी हुनु नै दुर्भाग्य भएको उनीहरूले बताए ।