१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
जोइल जिभोट
२०७९ भदौ ९ बिहीबार ०६:५७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकी मृत्युदण्ड : पारदर्शिताको खाँचो

औषधिलाई राज्यसत्ताको हतियार बनाउनु वा यातना दिन प्रयोग गरिनु चिकित्सा पेसाका लागि अभिशाप हो

Read Time : > 2 मिनेट
जोइल जिभोट
२०७९ भदौ ९ बिहीबार ०६:५७:००

एक अभ्यासरत डाक्टरका रूपमा घातक इन्जेक्सनले मानिसलाई कसरी मार्छ भन्नेबारे बुझ्न मैले मृत्युदण्ड दिइएका कैदीको पोस्टमार्टम अनुसन्धान गरेको थिएँ । अमेरिकाको अलबामा राज्यले जुलाईमा जो न्याथन जेम्स जुनियर नामक कैदीलाई मृत्युदण्ड दिएको थियो । जेम्सको मृत्युको परिस्थितिका सन्दर्भमा सिर्जित प्रश्नले अहिले ठूलो विवाद निम्त्याएको छ । यसबारे म सचेत छु किनभने मैले गरेको पोस्टमार्टमले राज्यले के गरेको छैन भनेर स्पष्ट पारेको छ ।

मानिसलाई मृत्युदण्ड सही वा गलत जे लागे पनि मृत्युदण्ड कानुनसम्मत हुनुपर्छ र ‘क्रूर एवं असामान्य सजाय’ रोक्ने व्यवस्था भएको अमेरिकाको संविधानको आठौँ संशोधनलाई उल्लंघन गर्नु हुँदैन । यद्यपि यदि खबर साँचो हो भने अलबामा राज्यका अधिकारीले जेम्सलाई साक्षीविनै घातक सुई लगाएका थिए र जेम्सले मृत्युअघि तीन घन्टाको यातना व्यहोरेका थिए । जेम्सलाई तपाईंलाई कसरी मृत्युदण्ड दिइयो भनेर प्रश्न गर्न असम्भव छ, तर जेम्सको शवले वारदातबारे बताउन सक्छ र सत्य अवगत गराउन सक्छ ।  

एक व्यक्तिलाई मृत्युदण्ड दिनु भनेको उसको हत्या गर्नु हो र अलबामाले सबै मृत्युदण्डलाई हत्याका रूपमा वर्गीकरण गर्छ । र, यसलाई प्रत्येक मृत्युदण्ड दिइएका कैदीको पोस्टमार्टम गर्नुले पुष्टि गर्छ । यद्यपि जेम्स मामिलामा पोस्टमार्टम परिणाम धेरै महिनासम्म सार्वजनिक गरिनेछैन । यसका पछाडिको कारण शव परीक्षणको नतिजा प्रशोधन गर्न लामो समय लाग्ने नभई अलबामाले नतिजा साझा गर्न अनिच्छुक हुनु हो । जेम्सको पोस्टमार्टम नतिजा सार्वजनिक गर्नुअगाडि अलबामा राज्यले थप मृत्युदण्ड दिने योजना बनाएको छ ।परिवारको सहमति र गैरनाफामुखी नागरिक अधिकार संस्था रिप्राइभमा फोरेन्सिक जस्टिस इनिसिएटिभको सहयोगमा मैले जेम्सको दोस्रो पोस्टमार्टम गरेको थिएँ । जनताको जानकारीको आवश्यकतालाई पूरा गर्न र कानुनका नाममा कानुन उल्लंघन गर्ने जोसुकैलाई जवाफदेही बनाइन्छ भन्ने सुनिश्चित गर्न म बर्मिङ्घम गएको थिएँ ।

जेम्सको शरीर जाँच गरेर मृत्युको विवरण पत्ता लगाउने क्रममा क्रूरताको वृत्तान्त सतहमा आएको छ । मैले जेम्सका पाखुरामा सुई लगाउने कैयौँ असफल प्रयास भएको देखेँ । त्यसैगरी बायाँ हातमा दुइटा लम्बवत् तरिकाले छाला (इन्सिजन गरेको) चिरिएको पनि पाएँ । यसले मृत्युदण्ड दिने टोलीले ‘कट डाउन प्रोसिज्युर’ विधि प्रयोग गरेको देखिन्छ । यस विधिमा नसा देखिने गरी ब्लेडले छाला चिरिन्छ ।   

जेम्सका शरीरमा मैले दुई चिरा भेटेको थिएँ, जहाँ पहिलो चिरा असफल प्रयोग थियो । दोस्रो चिरामा पनि नसा फेला परेको थियो वा थिएन भनेर भन्न असमर्थ छु किनभने क्याथेटर यदि प्रयोग गरिएको हो भने बाहिर निकालिएको थियो । यदि मृत्युदण्ड टोलीमा दक्ष अधिकारी हुन्थे भने सुई लगाउन दुई चिरा बनाउँदा बढीमा १० मिनेट लाग्थ्यो । तर, शव हेर्दा अलबामा राज्यले जेम्सलाई तीन घन्टामा घोचपेच गरेर मारेको देखिन्छ ।

औषधिलाई राज्यसत्ताको हतियार बनाउनु वा यातना दिन प्रयोग गरिनु चिकित्सा पेसाका लागि अभिशाप हो 
 

 जेम्सलाई मृत्युदण्डका लागि जब साक्षीसामु लगियो, जेम्सका आँखा बन्द थिए र उनी असाधारण ढंगले अचेत देखिन्थे । द डिपार्टमेन्ट अफ करेक्सनले पछि जेम्स चेत अवस्थामा थिए वा थिएनन् भनेर ‘पुष्टि गर्न नसक्ने’ बतायो । मैले शरीर जाँच्दा उनका छालामा अनौठा छिद्र फेला पारेको थिएँ, जुन सम्भवतः अचेत बनाउन मांशपेसीमा लगाइने सुईबाट बनेको हुन सक्छ । र, यदि भएको हो भने मृत्युदण्डका लागि अलबामामा बनाइएको आचारसंहिता र चिकित्सा ऐनले यसलाई अवैध ठहर्‍याउँछ । 

राज्यको शव परीक्षणबाट विष–विज्ञान प्रतिवेदन चाँडै नै प्राप्त हुनेछ, जसले हामीलाई जेम्सको हत्या हुँदा उनका शरीरमा के औषधि प्रयोग गरिएका थिए भन्ने पत्ता लाग्नेछ । लाटो पार्ने र अन्ततः मार्ने औषधिबारे अनुसन्धान गर्न मैले जेम्सको शारीरको तरल पदार्थको नमुना संकलन गरेको छु । र, अहिले नतिजाको पर्खाइमा छु ।एक ग्रिक मिथक र अलबामाले जेम्सलाई जे व्यवहार गरेको छ, त्यो मोटामोटी मिल्दोजुल्दो छ, जहाँ आधुनिक शव परीक्षणको इतिहासको जरामा पुरातनपन छ भन्ने जानकारी पाइन्छ ।

किंवदन्तीअनुसार प्रोमेथियस टाइटनले मानिसलाई आगो प्रयोग गर्ने क्षमता र धातुको काम गर्ने वरदान दिएका थिए, जसले प्रगति र सभ्यताका लागि मार्ग प्रशस्त गरेको मानिन्छ । तर, देवताका शासक ज्युस क्रोधित भए र प्रोमेथियसलाई चट्टानमा बाँधे र अनन्तकालसम्म चिलले उनको कलेजो खान सकोस् भनेर छोडे, जहाँ हरेक दिन प्रोमेथियसको शरीरमा नयाँ कलेजोको विकास हुन्थ्यो । अर्थात्, पीडा कहिल्यै नटुंगिने भएको थियो । जसले यो पौराणिक मिथक लेखेको हो, उसलाई कलेजो वास्तवमा अन्य आन्तरिक (भिसेरल) अंगभन्दा फरक छ अर्थात् कलेजोमा पुनः उत्पन्न हुने क्षमता छ भन्ने थाहा थियो । यो तथ्य थाहा पाउन ध्यानपूर्वक गरिएका कैयौँ पोस्टमार्टम अनुभव हुनुपर्छ । 

मैले जेम्सको दोस्रो पोस्टमार्टम गर्नुको एक मात्रै कारण अलबामा राज्यको मौनता र सूचना लुकाउने प्रयास हो । जनतालाई सत्यको जानकारी पाउने अधिकार छ । एक सभ्य समाजमा दिनानुदिन चिलबाट कलेजो लुछाउने वा पाखुरा चिर्नेजस्ता क्रूर सजायको साटो न्यायपूर्ण सजायको आवश्यकता हुन्छ । औषधिलाई राज्यसत्ताको हतियार बनाउनु वा यातना दिन प्रयोग गरिनु चिकित्सा पेसाका लागि अभिशाप हो । यसले कुनै कोणबाट राम्रो नतिजा दिनेछैन ।
(जिभोट एनेस्थेसिओलोजी र इन्टेन्सिभ केयर मेडिसिनका चिकित्सक हुन्)  अल जजिराबाट