०७२ को भूकम्पपछि बढ्यो पहिरो : भूकम्पले धाँजा फाटेको पहाडी र चुरे क्षेत्रमा विकासका नाममा स्थानीय सरकारहरूले अन्धाधुन्ध चलाएका डोजरले पहिरोको जोखिम अझ धेरै बढाएको छ, पूर्वानुमान नै नगरिने हुँदा पहिरोबाट हुने मानवीय क्षति झन्झन् बढ्दै छ
०६८ यता बाढीका १७८२ घटना, ८८० को मृत्यु, पहिरोका २५९५ घटनामा १४१४ ले गुमाए ज्यान
मौसम पूर्वानुमानमा भएको प्रगतिका कारण पछिल्ला वर्ष बाढीबाट हुने क्षतिमा केही न्यूनीकरण भए पनि पहिरोका घटनासँगै मानवीय क्षति भने बढेको छ । बाढीको पूर्वानुमान गरी खोला तथा नदीतट क्षेत्रमा बसोवास गर्ने मानिससम्म वेलैमा सूचना पुर्याउँदा क्षति कम भएको छ । तर, पहिरोको पूर्वानुमान पनि नहुँदा र ०७२ को भूकम्पपछि कैयौँ ठाउँको जमिन कमजोर भएकाले पहिरोका घटना र त्यसमा परेर हुने मानवीय क्षति बढेको हो ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक हेर्दा ०७२ को भूकम्पपछि पहिरोका घटना विगतको तुलनामा बढेका छन् । त्यसयता मानवीय क्षति पनि बाढीबाट भन्दा पहिरोबाटै बढी भएको छ । ०७२ देखि १७ साउन ०७९ सम्म पहिरोमा परी नौ सय ६३ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा बाढीबाट चार सय ६२ जनाको मृत्यु भएको छ ।
पछिल्ला १२ वर्षमा देशभर दुई हजार पाँच सय ९५ पहिरोका घटना रेकर्ड भएकोमा एक हजार चार सय १४ जनाको ज्यान गएको छ । यही अवधिमा एक हजार सात सय ८२ बाढीका घटनामा आठ सय ८० को मृत्यु भएको प्राधिकरणको तथ्यांक छ । ०६८ देखि ०७१ सम्म पहिरोका चार सय तीन घटना हुँदा तीन सय ७६ जनाको ज्यान गएको छ । तर, ०७२ मा भने एकै वर्षमा ६२ घटनामा एक सय ६५ जनाले ज्यान गुमाएका छन् । भूकम्पको दोस्रो वर्ष ०७३ मा भने पहिरोका घटना ह्वात्तै बढेर दुई सय ३६ पुग्यो, जसमा परेर एक सय ४७ जनाको मृत्यु भयो । भूकम्पपछिका चार वर्ष अर्थात् ०७३ देखि ०७६ सम्म एक हजार एक सय ६७ पहिरोका घटना भए । यी घटनामा तीन सय ९३ को मृत्यु भयो । ‘०७२ को भूकम्पका कारण जमिनमा धाँजा फाट्दा पहिरोका घटना अझ बढेको छ,’ प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले भने ।
बाढी पूर्वानुमान तथा सचेतनाका कारण बाढीबाट हुने मानवीय क्षति भने न्यूनीकरण भएको छ । ०६८ देखि ०७२ सम्म पाँच वर्षमा बाढीका ६ सय ५० घटनामा तीन सय ९५ जनाको ज्यान गएकोमा ०७३ देखि ०७८ सम्म ६ वर्षमा एक हजार एक सय ६ बाढीका घटना हुँदा चार सय ६२ को मृत्यु भएको छ । यस वर्ष वैशाखयता मंगलबारसम्म पहिरोका एक सय ३० घटना भएका छन् भने २७ जनाको मृत्यु भएको छ । यही अवधिमा बाढीका २६ घटना हुँदा पाँचजनाको ज्यान गएको छ ।
जल तथा मौसम विज्ञान विभागले सन् २०१३ बाट बाढीको पूर्वानुमान गर्न थालेकोमा पछिल्ला वर्षमा तटीय क्षेत्रका नागरिकको मोबाइलमा एसएमएस पठाएसँगै बाढीबाट हुने क्षति न्यूनीकरण भएको छ । ‘बाढीको सूचना प्रवाह गर्न थालेपछि क्षति न्यूनीकरणमा सहयोग पुगेको छ, सूचना पाएपछि मान्छे अग्लो स्थानमा जाँदा क्षति हुनबाट जोगिन्छ,’ विभागका महानिर्देशक कमलराम जोशीले भने, ‘तर, पहिरोको पूर्वानुमान गर्न सकिएको छैन । तर, धेरै पानी पर्दा पहिरो जान्छ भन्ने मात्रै हो ।’
पछिल्ला वर्ष धेरै पहिरो जानेमध्ये जिल्लामा पर्छ सिन्धुपाल्चोक । गत वर्ष बाढीले मेलम्ची बजार नै बगाएको थियो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले ०७२ को भूकम्पपछि भौगर्भिक अध्ययन गर्दा भूकम्प प्रभावित १४ जिल्लाका करिब एक लाख ५५ हजार घर पहिरोजन्य जोखिममा रहेको औँल्याएको थियो । त्यतिखेर अध्ययन टोलीको नेतृत्व गरेका भूगोलविद् प्रा.डा. नरेन्द्रराज खनालका अनुसार सिन्धुपाल्चोकको सुनकोसी र भोटेकोसी जलाधार क्षेत्रमा पहिरोको जोखिम अझ बढी छ । ‘भूकम्पपछि हरेक वर्ष परकम्प गइरहेका छन् । यसले जमिनमा धाँजा फाटेको छ । बर्खामा पानी पर्दा पहिरो खस्छ,’ उनले भने ।
नेपाल भूगोल समाजका पूर्वअध्यक्षसमेत रहेका खनालका अनुसार १९९० को भूकम्पपछि पनि ८–१० वर्ष पहाडी क्षेत्रमा पहिरो बढेको थियो । ‘त्यतिखेर सरकारले पहिरोबाट बचाउन त्यहाँका नागरिकलाई तराईमा जग्गा दिएर व्यवस्थापन गरेको थियो । यसले तराईमा वन विनाशसँगै खोला, नदी अतिक्रमणमा परेपछि निकै बाढी गयो,’ उनले भने, ‘अब सरकारले पहिरोको सम्भावित जोखिम क्षेत्रको विस्तृत अध्ययन गर्नुपर्छ । सोही आधारमा बस्ती बसाउन सकिन्छ ।’
जलवायु परिवर्तनका कारण पनि क्षति बढ्यो
पछिल्ला वर्षमा उच्च पहाडी र हिमाली क्षेत्रमा पनि ठूलो वर्षा हुन थालेको छ । जसकारण ती क्षेत्रमा बाढी–पहिरोका घटना बढेका छन् । मंगलबार म्याग्दीको मालिका गाउँपालिका– २ घाङ्लेपानीमा भीषण वर्षापछिको पहिरोका कारण एकै परिवारका पाँचजनाको मृत्यु भएको छ ।
गत वर्ष मनाङ र मुस्ताङमा मुसलधारे वर्षा हुँदा व्यापक क्षति पुर्याएको थियो । प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिस्टसमेत रहेका उपसचिव राजेन्द्र शर्मा भन्छन्, ‘उच्च पहाडी र हिमाली भेगमा पनि ठूलो पानी पर्न थालेको छ । वर्षाको चरित्र पनि फेरिएको छ । एकैपटक ठूलो पानी पर्ने र धेरै दिनसम्म सुक्खा हुने समस्या छ, यसले पहिरो जाने सम्भावना रहन्छ ।’
विश्व मौसम संगठनले गत वर्ष भदौमा सार्वजनिक गरेको प्रतिवेदनले पछिल्लो ५० वर्षमा (सन् १९७०–२०१९) अतिजन्य मौसम, जलवायु तथा जलका कारण सिर्जित विपत्का घटना वृद्धि भएको औँल्याएको छ । ५० वर्षमा एसियामा तीन हजार चार सय ५४ विपत्का घटना भएकामा नौ लाख ७५ हजार ६ सय २२ ले ज्यान गुमाएका छन् । १.२ ट्रिलियन अमेरिकी डलरबराबरको आर्थिक क्षति भएको छ । विश्वमा भएका अतिजन्य मौसम, जलवायु तथा जलका कारण सिर्जित विपत्का घटनामध्ये ३१ प्रतिशत एसियामा हुने गरेका छन् ।
भूगर्भविद् डा. सुबोध ढकाल डोजरे विकासका कारण पनि पहाडी र चुरे क्षेत्रमा पहिरोका घटना बढेको बताउँछन् । ‘अध्ययनविना नै डोजरले सडक खन्ने प्रवृत्ति छ । जसरी पनि सडक पुर्याउने होडका कारण पनि पहिरो जाने गरेको छ,’ उनले भने ।
उनी नेतृत्वको टोलीले ०७४ मा सप्तरीदेखि डडेल्धुरासम्मको चुरे क्षेत्रमा पहिरोको अध्ययन गरेको थियो । जसमा १० हजार आठ सय ३३ पहिरो पहिचान भएका थिए ।
प्रभावमा आधारित पहिरोको पूर्वानुमान परीक्षण हुँदै
जल तथा मौसम विज्ञान विभागले विपत् प्राधिकरणसँगको सहकार्यमा प्रभावमा आधारित मौसम पूर्वानुमानको सुरुवात गरेको छ । सिन्धुपाल्चोक, म्याग्दी, बाग्लुङ र रसुवाका १६ पालिकामा पहिरो र कैलाली, बाँकेमा बाढीको प्रभावमा आधारित पूर्वानुमानको परीक्षण भइरहेको छ । नेपालमा पहिरोको पूर्वानुमान गर्ने गरिएको छैन । प्राधिकरणका सिनियर हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले यी क्षेत्रमा ठूलो पानी पर्दा कहाँ–कहाँ बाढीपहिरोको जोखिम छ भनेर विश्लेषणसहितको जानकारी विभागलाई दिइएको बताए । ‘यी क्षेत्रमा पाइलटिङ भइरहेको हो, त्यहाँ सफल भएमा अन्यत्र पनि विस्तार गर्ने लक्ष्य छ,’ उनले भने ।
यसबाहेक हाल विभागले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ भने ठूला नदीमा २४ घन्टाअघि बाढीको पूर्वानुमान गर्छ । तटीय क्षेत्रमा एसएमएस पठाउने गरिएको छ ।