मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ७ शनिबार २०:१२:००
Read Time : > 1 मिनेट
समाचार

के हो प्रधानमन्त्री ओलीले भनेको 'बुटिक एयरपोर्ट'

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ७ शनिबार २०:१२:००

नेपाल टेलिभिजनको कार्यक्रम 'जनतासँग प्रधानमन्त्री'मा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थललाई 'बुटिक एयरपोर्ट' बनाउने योजना सुनाए ।

कस्तो हुन्छ त 'बुटिक एयरपोर्ट ?'

प्रधानमन्त्री ओली भन्छन्, 'असाधारण, अनौठो र नयाँपन र नेपालीपनका साथ जहाँ नेपालको इतिहास झल्किन्छ, आधुनिकता झल्किन्छ ।'

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले आफैं अग्रसरता लिएर विमानस्थललाई 'बुटिक एयरपोर्ट' बनाउने योजना तय गरेको हो । 

अहिले कहाँ छ त बुटिक एयरपोर्ट ? भन्ने प्रश्न उड्डयन क्षेत्रका विभिन्न व्यक्तिलाई सोध्दा संसारमा कही नभएकाे बताए ।

संसारका कुनै पनि विमानस्थलले आफ्नो नाममा बुटिक जोडेका छैनन् । बुटिक एयरपोर्ट भन्ने अहिलेसम्म आफूले नसुनेको बताउँछन् क्याप्टेन विजय लामा । भर्खरै वायु सेवा निगमका प्रवक्तामा जिम्मेवारी पाएका लामा भन्छन्, 'नाममै बुटिक जोडेको एयरपोर्ट मैले सुनेको छैन ।'

नेपाल एयरलाइन्सका महाप्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले पनि यस्तो एयरपोर्ट बारे थाहा नभएको बताए । त्रिभूवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पनि आफूले यसअघि बुटिक एयरपोर्ट बारे नसुनेको बताए ।

बुटिक एयरपोर्ट नभए पनि संसारमा बुटिक होटलको भने प्रचलन छ । यस्ता होटलहरु साना हुन्छन्, जहाँ १० देखि सयसम्म कोठा हुन्छ । ग्राहकलाई पारिवारिक व्यवहार गरिन्छ । यी होटलहरु 'चेन'मा जोडिएका हुँदैनन् ।

बुटिक होटलको मुख्य विशेषता मौलिकता हो । यस्ता होटलको बनावट र सेवा दुवैमा स्थानीय मौलिकता, इतिहास र संस्कृतिको झल्काइएको हुन्छ ।

प्रधानमन्त्री ओलीको भनाइबाट यो विमानस्थललाई बुटिक होटलजस्तै, मौलिकता, इतिहास र संस्कृति झल्कने तथा यात्रीलाई राम्रो सुविधा दिइने विमानस्थल बनाउने भन्ने बुझिन्छ ।

'काठमाडौं विमानस्थल सानो छ, विस्तार गर्ने ठाउँ पनि छैन,' क्याप्टेन लामा भन्छन्, 'यसैमा यात्रीलाई राम्रो सेवा दिने र इतिहास तथा संस्कृति झल्कने किसिमको एयरपोर्ट बनाउने भनेको हुनुपर्छ ।'

महाप्रबन्धक क्षेत्रीका अनुसार अहिले विमानस्थल सुधार गरी नेपाली मौलिकता झल्कने विमानस्थल बनाउने काम भइरहेको छ । स्वागत गेटमा घडा र फूल राख्ने, विज्ञापन हटाएर नेपाली सांस्कृतिक र प्राकृतिक सम्पदा राख्ने लगायतका काम भइरहेको उनी बताउँछन् ।

तर,  यो सबै काम 'बुटिक एयरपोर्ट' बनाउने योजनाअन्तर्गत भएको भने होइन । 'बुटिक एयरपोर्ट कस्तो बनाउने भन्ने डिटेल योजना मसम्म आइपुगेको छैन,' क्षेत्री भन्छन्, 'सरकारले तयारी गरिरहेको हुनसक्छ ।'

उनले अहिले विमानस्थलको अवस्था सुधार्ने काम भने तिब्र गतिमा भइरहेको जानकारी दिए ।

पर्यटन मन्त्री रविन्द्र अधिकारीले भने आउने बैशाख १ गते त्रिभूवन विमानस्थललाई 'बुटिक एयरपोर्ट' घोषणा गर्ने तयारी भएको बताएका छन् । उनका अनुसार अहिले 'डिजाइन'को काम भइरहेको छ ।