Skip This
कञ्चनपुरको दोदा नदीमा ४६० मिटर लामो झोलुंगे पुल निर्माण 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १२ आइतबार
  • Tuesday, 13 May, 2025
तस्बिर : कञ्चनपुरको लालझाडी गाँउपालिका-४, सिकपट्टी र डाँगाजाई जोड्ने झोलुङ्गे पुल । 
मोहन विष्ट कञ्चनपुर
२o७९ असार १२ आइतबार १७:४५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरको दोदा नदीमा ४६० मिटर लामो झोलुंगे पुल निर्माण 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ असार १२ आइतबार १७:४५:oo

कञ्चनपुरको दोदा नदीमा ४६० मिटर लामो झोलुंगे पुल निर्माण भएको छ । जिल्लाको लालझाडी गाँउपालिकालाई सीधै जिल्ला सदरमुकाम महेन्द्रनगर जोड्ने उद्देश्यका साथ चार वर्षअघि सुरु गरिएको पुल निर्माण कार्य सम्पन्न भएको हो । स्थानीयको माग एवं आवश्यकताअनुसार पूर्वाधार विकास कार्यालयमार्फत पुल निर्माण कार्य अघि बढेको थियो ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका इन्जिनियर तथा सूचना अधिकारी हेमराज भट्टले दोदा नदीस्थित सिकलपट्टी र डाँगाजाई जोड्ने गरी झोलुंगे पुल निर्माण गरिएको बताए । ‘वारि र पारिका स्थानीयको आवश्यकताअनुरूप पुल निर्माण भएको हो’, प्रवक्ता भट्टले भने, ‘पारितर्फका स्थानीयलाई बेलौरी–कलुवापुर हुँदै सीधै सदरमुकाम आउन अब थप सहज हुनेछ ।’

पुल निर्माण कार्य सम्पन्न भइसकेको भए पनि निर्माण कम्पनीले कार्यालयलाई औपचारिक हस्तान्तरण गर्न भने बाँकी रहेको उनले बताए । झन्डै ५ करोड ४० लाख ७१ हजार लागतमा पुल निर्माण भएको हो । पुलको चौडाइ १.२० मिटर छ भने २ स्पान(टावर) निर्माण गरिएको छ । 

६ जेठ ०७५ देखि सुरु भएको निर्माण कार्य  भएर ५ जेठ ०७९ मा आएर निर्माण सम्पन्न भएको सूचना अधिकारी भट्टले बताए । यसअघि महाकाली नदीमा १४५२.९६ मिटर लम्बाइको दोधारा-चाँदनी जोड्ने पुल निर्माण भएको थियो । दोदासहित कञ्चनपुरका अन्य साना ठूला खोलानालाहरूमा निर्माण भएका दर्जनौँ झोलुंगे पुल पनि ३० मिटरदेखि दुई सय मिटरसम्मका मात्र भएका पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

दोदा नदीका कारण हरेक वर्ष बर्षातमा बढी जोखिम र अन्य समयमा समेत स्थानीयले जोखिम मोलेर नदी वारपार गर्दै आएका थिए । स्थानीय पदम रानाले पुल निर्माणले आवतजावतमा सहजता मात्रै नभएर थप सुविधा ल्याएको बताए। ‘दोदामा विभिन्न स्थानमा झोलुंगे पुल यसअघि पनि बनेका थिए,’ उनले भने, ‘तर हाम्रो गाउँ भएर सीधै अर्को गाउँ जोड्ने यो पहिलो पुल हो, हामी खुसी छौँ ।’ 

अर्की स्थानीय हरिना रानाले पुल नहुँदा ज्यान जोखिममा राखेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको बताइन् । ‘बर्षातमा त झनै जोखिम हुन्थ्यो,’ उनले भनिन्, ‘अन्य समयमा समेत नदीमा पूरै बालुवा भएकाले जोखिम हुन्थ्यो, तैपनि हामीहरू दैनिक आफ्ना सामाजिक कामकाज गर्नका लागि नदी तर्दै अर्को गाउँ जान बाध्य थियौँ ।’ उनले पुल निर्माण भएसँगै आफूहरूलाई सुविधा भएको बताइन् । 
 
निर्माण सम्पन्न भएपछि उक्त पुलको सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तुलसी भट्टराई, पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख दीपक नेगीसहितका सम्बन्धित कार्यालय प्रमुख एवं कर्मचारी टोलीले स्थलगत अनुगमनसमेत गरिसकेका छन् । उक्त पुल दोधारा–चाँदनी जोड्ने पुलपछिको सबैभन्दा लामो झोलुंगे पुल हो ।