
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले नेपाली शासकहरूले झुकेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौता गर्न सक्ने आशंका व्यक्त गरेका छन्। सोमबार काठमाडौंमा भएको ३१औँ किसान संघर्ष दिवसमा आयोजित कार्यक्रममा प्रवक्ता महराले यस्तो आशंका व्यक्त गरेका हुन्।
सरकार, प्रतिपक्ष र विभिन्न राजनीतिक दलहरूले एसपिपी राष्ट्रहितविपरीत छ भनेपछि तत्कालका लागि सम्झौता रोकिए पनि पछि शासक वर्ग झुकेर सम्झौतामा हस्ताक्षर गर्न सक्ने भन्दै उनले नागरिकहरु सचेत रहनुपर्ने बताए।
‘एसपिपी नेपालको राष्ट्रिय स्वाधीनताविपरीत छ भन्ने कुरा भएपछि तत्काल यो सम्झौता रोकियो। तर, मलाई शंका छ। कतै नेपाली शासकहरू झुक्ने त होइनन् ! फेरि झुकेर भित्रभित्र सम्झौता गर्ने त होइनन् ? यही कुरा चार–पाँच महिनापछि सेलाएपछि, अब सिद्धियो–सिद्धियो भन्ने वेलामा गर्ने त होइनन् भन्ने शंका छ,’ उनले भने।
एसपिपी सम्झौताका लागि एमसिसीले ढोका खोलेको उनको दाबी छ। एमसिसीसँग जोडिएको आइपिएसको अर्को रूपमा एसपिपीले नेपालमा स्थान पाएको भन्दै उनले देश साम्राज्यवादको नियन्त्रणमा जान सक्ने बताए।
‘अहिले सबै पार्टी एसपिपीको विरुद्धमा छन् । एमसिसीले ढोका खोल्यो, त्योसँग अभिन्न रपले अंग जोडिएको आइपिएसको अर्को रूपमा देखिएको एसपिपी यहाँ आयो। नेपालको राज्यमा सत्तासीन रहेका केही शासकहरूले यसलाई सम्झौता गर्नको निमित्त बोलाए,’ महराले भने।