मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहनाथ सराफ, सञ्चालक, विश्वज्योति सिनेप्लेक्स
२०७९ जेठ २३ सोमबार ०९:०५:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

पशुपति दर्शनमा आउनुभएको बुबाले विश्वज्योति चलाउनु भयो - मोहनाथ सराफ

Read Time : > 2 मिनेट
२०७९ जेठ २३ सोमबार ०९:०५:००

दर्शकहरूको सिनेमा हेर्ने तरिका बदलिएको छ । यही कारण सिनेमाको कथाजस्तै र सिनेमा प्रस्तुतिकरणको शैली पनि बदलिन बाध्य भएका छन् । दर्शककै चाहनाअनुरूप नै सिनेमा छोटिएका छन्, परम्परागत फर्मुलायुक्त सिनेमा बन्न छाडेका छन, प्रविधि बदलिएको छ, सिनेमा हलभित्रको डेकोरेसनदेखि सबै कुरा दर्शककै्र रुचिअनुसार बनिरहेका छन् । हामी पनि सोहीअनुसार बदलिरहेका छौँ । महँगो भए पनि ‘मल्टिप्लेक्स’ हलमै सिनेमा हेर्ने रुचि बढेपछि विश्वज्योतिलाई सिंगल थिएटरबाट ‘मल्टिप्लेक्स’मा रूपान्तरण गरेका हौँ । कोरोना महामारीबीच विश्वज्योति हल करिब तीन वर्ष बन्द रह्यो । यसबीचमा हामीले आफूलाई बजारको मागअनुसार रूपान्तरण पनि गर्‍यौ । 

 विश्वज्योति हल सँगसँगै हुर्किएँ 
०१३ साल तिरको कुरा हो । म त्यतिवेला आठ वर्षको थिएँ । मेरो बुबा (गरिबनाथ सराफ) त्यतिवेला भारतमा सिनेमा वितरण गर्नुहुन्थ्यो । भारतमा नयाँ बजार खोज्ने क्रममा उहाँ रक्सौलसम्म आउनुभएछ । रक्सौल आएपुगेपछि पशुपतिनाथको दर्शन गर्न नेपाल पनि आउनुभएछ । उहाँले मलाई पनि सँगै नेपाल ल्याउनुभएको थियो । त्यसैवेला नेपालमा रहेको विश्वज्योति हल बन्द हुने अवस्था पुगेको थाहा पाउनुभएछ ।

उहाँले बन्द हुने अवस्थाको यो हललाई भाडामा लिएर सञ्चालन गर्ने सोच बनाउनुभएछ । तर, दरबारमातहातमा सञ्चालनमा रहेको विश्वज्योति हल भाडामा चलाउन दरबारको आदेश चाहिन्थ्यो । दरबारमा निवेदन दिएपछि उहाँकै अध्यक्षतामा विश्वज्योति भवन सञ्चालन गर्न अञ्चलाधीशमार्फत आदेश भएछ । र उहाँले व्यावसायिक रूपमा सञ्चालन गर्न थाल्नुभएछ । मलाई अझै याद छ विश्वज्योतिमा पहिलो दिन बलिउड अभिनेता सम्मी कपुरको सिनेमा ‘वसन्त’ देखाइएको थियो । त्यसवेला सर्वसाधारणको मनोरञ्जनका लागि नेवारी वस्तीमा नाटक, जात्र पर्व र लाखेनाच देखाइन्थ्यो ।

राजपरिवार, राणापरिवार तथा उच्चवर्गका मानिस भने सिनेमा हेर्न हल जान्थे । विश्वज्योति पनि दरबारका मानिसलाई मनोरञ्जन दिन खोलिएको रहेछ । भारतमा आएको सामाजिक र राजनीतिक परिवर्तनको प्रभाव नेपाली मनोरञ्जन क्षेत्रमा पनि पर्दै गयो । नेपालको आन्तरिक राजनीतिक परिवर्तनपछि सर्वसाधारणको पहुँच पनि सिनेमा हलसम्म हुन थाल्यो ।

०१७ सालमा बुबा (गरिबनाथ)ले विश्वज्योतिलाई आफ्नै स्वामित्वमा लिने सोच बनाउनुभयो । यही वेला नेपालमा राजनीतिक परिवर्तन भयो । यद्यपि, उहाँले विश्वज्योतिलाई आफैँ चलाउनु थाल्नुभयो । काठमाडौंमा रहेको अर्को सिनेमा हल जनसेवा पनि बन्द भएपछि विश्वज्योतिले एकछत्र राज गर्‍यो । नेपालमै पनि ‘आमा’ र ‘माइतीघर’जस्ता सिनेमा बने । नेपाली सिनेमा बन्ने क्रम बढ्दै गयो । भारतमा सिनेमा निर्माण तीव्र रूपमा बढेसँगै नेपालमा पनि प्रत्यक्ष प्रभाव पर्‍यो । दरबारले आफ्नो सत्ताको प्रचार गर्न बनाएको ‘आमा’ र ‘परिवर्तन’जस्ता सिनेमा हेर्न विश्वज्योतिमा भिड नै लाग्यो । 

भारतीय सिनेमाभन्दा नेपाली सिनेमा हेर्न दर्शक बढेपछि नेपाली सिनेमालाई प्राथमिकतामा राखेर देखाउन थाल्यौँ । नेपालमा सिनेमा निर्माण, वितरण र प्रदर्शनको माहोल बनेपछि विश्वज्योतिमा पनि दर्शकको संख्या बढ्दै गयो । तत्कालीन शाही नेपाली चलचित्र संस्थानले बनाएको ‘मनको बाँध’ (२०३०), ‘कुमारी’ (२०३४) ‘सिन्दुर’(२०३६) ‘जीवन रेखा’ (२०३८)लगायतका सिनेमा महिनौँसम्म चले । पछि निजी क्षेत्रबाट निर्माण भएका सिनेमाको रोजाइमै विश्वज्योति पर्न थाल्यो । विश्वज्योतिमा दर्शकको उपस्थिति थेगिनसक्नु भयो । 

०३३ सालमा सूचना तथा सञ्चार मन्त्रालय गठनपछि सिनेमा हललाई पनि लाइसेन्स दिने प्रक्रिया खुकुलो गर्‍यो । त्यसवेलासम्म काठमाडौंमा विश्वज्योतिसँगै रञ्जना र जय नेपाल हल मात्रै थिए । सरकारले सिनेमा हललाई लाइसेन्स दिन थालेपछि हलको संख्या बढ्दै गयो । हल सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले ऋणसमेत दिन थाल्यो । ०४२ सालमा विश्वज्योतिले नयाँ स्वरूपसहित करिब १२ सय सिट क्षमताको ‘सिंगल थिएटर’ निर्माण गर्‍यो । त्यसपछि नेपाली निर्माताहरू विश्वज्योतिमा सिनेमा रिलिज गर्न महिनौँसम्म कुर्न थाले ।

ब्ल्याकमा टिकट बेच्नेको बिगबिगी हुन्थ्यो
हलमा दर्शकको भिड बढ्न थालेपछि ब्ल्याकमा टिकट बेच्नेको बिगबिगी हुन थाल्यो । बुबा र म हल सञ्चालनमै व्यस्त हुन्थ्यौँ । म सिनेमा हलको छाता संगठन नेपाल चलचित्र संघको उपसचिव बनेँ । विश्वज्योतिमा प्रदर्शन भएका सिनेमा एकपछि अर्काे सफल हुँदै गए । त्यसपछि हामी (विश्वज्योति ग्रुप) आफैँ सिनेमा निर्माणमा लाग्यौँ । म निर्माता भएको पहिलो सिनेमा हो, ‘चिनो’ । जसको तुलसी घिमिरे निर्देशक हुनुहुन्थ्यो । ‘चिनो’ निर्माणपछि ‘राँको’ बनाएँ । तर, व्यावसायिक रूपमा सफल भएन । विश्वज्योतिमा ‘चिनो’ ३२ हप्ता चल्यो ।

चिनो’ले नसोचेको सफलता पायो । त्यसवेला चिनोले सिल्भर जुब्ली मनाएको हो । विश्वज्योतिमा ‘कन्यादान’, ‘लाउरे’, ‘सन्तान’, ‘सम्झना’ ठुल्दाइ, दर्पण छायाँ, कन्यादानजस्ता दर्जनौँ सिनेमाले ‘सिल्भर जुब्ली’ मनाएको इतिहास छ । नेपाली सिनेमाको विकासमा विश्वज्योतिको योगदान अतुलनीय छ । विश्वज्योतिमा फरक–फरक कीर्तिमानी राखेका सिनेमा धेरै छन् । ती सबै कुरा सम्झँदा आज कथाजस्तो लाग्छ । बुबा गरिबनाथबाट मैले हल सञ्चालनको जिम्मा पाएँ, त्यसरी मैले मेरा छोराहरू रोहन सराफ र रियाज सराफलाई जिम्मेवारी सुम्पिएको छु । आज, हिजोको पुरानो विश्वज्योति छैन । सेवा–सुविधा थपिएका छन् ।