अघिल्लोपल्ट प्रधानमन्त्री हुँदा ओलीले मलाई हेप्नुभयो : ओनसरी घर्ती

२०७५ चैत २ शनिबार ०८:०३:००

अभियाेग १ : पदको भोको हुनुहुन्छ । तीनपटक सांसद बन्नुभयो, उपसभामुख, सभामुख र मन्त्री खानुभयो । सभामुख भइसकेको मान्छे अहिले फेरि नेकपाको प्रदेश ५ को अध्यक्ष बन्नुभयो ।

पदको भोकोचाहिँ होइन, तर मैले पटक–पटक अवसर पाएकोचाहिँ साँचो हो । लाभका पदहरूमा सबैले अवसर पाउनुपर्छ भन्ने मेरो पनि मान्यता हो । किनभने, आन्दोलनमा त्याग, तपस्या, बलिदान सबैले गरेका छन् । ०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक सभासद् भएँ, ०७० मा रोल्पाबाट निर्वाचित भएँ र अहिले फेरि समानुपातिकबाट सांसद भएकी छु । यसपालि मलाई सांसद हुन इच्छा थिएन । पार्टीले ‘समानुपातिकमा हेरफेर हुन सक्छ’ भनेपछि म उम्मेदवार बन्नुपरेको हो । पछि पनि म छाड्न सक्थेँ, त्यो मनपस्थितिमा पनि थिएँ । सायद, यो कुरा मिडियामा पनि आयो । तर, त्यो पनि विविध कारणले छाड्नुनपर्ने भयो । मलाई ‘सभामुखका लागि पनि तयार हुनू’ भनिएको थियो । मैले आफैँले ‘यसपटक म जान्नँ’ भनेँ । किनभने, धेरै नेताको व्यवस्थापन गर्नुपर्ने थियो । उहाँहरूले मभन्दा राम्रो काम गर्नुहुन्छ भन्ने विश्वास मलाई थियो । नेताहरूले मेरो इच्छा पनि सोध्नुभएको थियो । राष्ट्रपति र उपराष्ट्रपतिज्यू दुवैजना दोहोरिरहेको अवस्थामा नेताहरूले मलाई ‘सभामुख के गर्ने ?’ भनेर सोध्नुभएको थियो । तर, मैले नै ‘हुन्नँ’ भनेँ ।

मैले सभामुख पद पूरै कार्यकाल खाएको होइन, जम्मा दुई वर्ष चलाएकी हुँ । दुई वर्ष उपसभामुख खाएँ । मन्त्री त भवितव्यजस्तै भयो । १३ दिने मन्त्री हुँ म । आफूले चाहेका काम गरेर देखाउन त्यहाँनिर सम्भव नै थिएन । १३ दिनमा के पो गर्न सकिन्थ्यो र ! जे भए पनि मैले अवसरहरू पाएकै हुँ । सभामुख, उपसभामुख भएँ । र, मन्त्री भन्ने पद के हुन्छ भनेर देख्नसम्म पाएँ । यो अवसर भन्ने कुरा परिस्थितिले जुराउँदो रहेछ । म फलानो पदमा जान्छु, जानैपर्छ भन्ने कुरा मैले कहिले पनि गरिनँ । तर, परिस्थितिले जुराउँदै ल्यायो । 

पार्टीको जिम्मेवारीमा पनि त्यस्तै भएको हो । पार्टीमा थुप्रै जिम्मेवारी सम्हालेँ । जनयुद्धका वेलामा जनमुक्ति सेना पनि भएँ । आफ्नै जिल्लादेखि पूर्वी जिल्लाहरूसम्म पार्टीको काममा खटिएँ । लामो समय जिल्ला इन्चार्जका रूपमा काम गरेँ । अहिले पार्टीले प्रदेश ५ को अध्यक्षमा मनोनयन गरेको छ । तर, मलाई मनोनयन गरेको थाहा पनि थिएन । त्यतिखेर म रुस भ्रमणमा थिएँ । पार्टीले एकाएक ‘यो अध्यक्ष पदको जिम्मेवारी तपाईंलाई सुम्पिएको छ’ भनेपछि म दुई दिन भ्रमण छोट्याएर काठमाडौं फर्किएँ । के गर्ने भन्ने दोधारमै थिएँ म । महिला साथीहरूले ‘सातवटा प्रदेशमध्ये एउटा मात्रै महिला अध्यक्ष सिफारिस हुनुभएको छ, त्यही पनि छाड्नुभयो भने हामी त निल हुन्छौँ’ भन्नुभयो । उहाँहरूको कुरा ठिकै लागेर मैले त्यो जिम्मेवारी सम्हालेकी हुँ । त्यसकारण मैले पाएका अवसरहरू मेरो रहर र करले प्राप्त भएका होइनन्, परिस्थितिले जुराउँदै ल्याएको हो । 

अभियाेग २ : हठी हुनुहुन्छ, आफूलाई लागेको विषयमा पार्टी अध्यक्षले सम्झाउँदासमेत मान्नुहुन्न । तपाईं सभामुख हुँदा संवैधानिक परिषद्बाट सुशीला कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्न तत्कालीन प्रधानमन्त्री केपी ओली माइन्युट बोकेर तपाईं उपचाररत अस्पतालमै पुग्नुभयो । तर पनि तपाईंले हस्ताक्षर गर्नुभएन । ‘सभामुखलाई कसले चलाउँछ ?’ भनेर ओलीले आलोचना नै गरे ।

यो कुरा सत्य हो । सुशीला कार्की आजको दिनमा जेजस्तो भए पनि त्यसवेला मैले शतप्रतिशत सकारात्मक रूपमा बुझ्थेँ । किनभने, एकजना महिला पढेलेखेर, बहुत दुःख गरेर प्रधानन्यायाधीश हुने लाइनमा पुग्नुभयो । उहाँलाई म आफैँ सहभागी भएको संवैधानिक परिषद्को बैठकबाट प्रधानन्यायाधीशमा सिफारिस भएको हेर्न चाहन्थेँ । यो कुरा मैले धेरैपटक प्रधानमन्त्री केपी ओलीजीलाई पनि भनेको थिएँ । त्यतिवेला म अलि अस्वस्थ भएँ, अस्पताल नै भर्ना हुनुपर्‍यो । पछि अप्रेसन नै गर्नुपर्‍यो । तर, कतै प्रचण्डजीले दोहोरो रोल खेल्नुभयो कि भन्ने आशंकाहरू उहाँलाई परेछ । कतै सुशीला कार्कीलाई प्रधानन्यायाधीश नबनाउन खोजेको त होइन भन्ने ढंगबाट पनि शंका गर्नुभएछ । म त एकदमै सोझो मान्छे । मैले बोलेका कुराहरू सोझो ढंगले नै बुझ्नुहुन्छ होला जस्तो लाग्थ्यो, तर त्यस्तो भएन । प्रधानमन्त्रीले नै मलाई हस्ताक्षर गर भनेर त भनेजस्तो लाग्दैन, तर उहाँका कर्मचारीहरूले चाहिँ भनेका हुन् । अध्यक्ष प्रचण्डले पनि अस्पतालमै आएर ‘हस्ताक्षर गरिदिनुस्’ भन्नुभएको हो । 

तर, तपाईंले भनेजस्तै मेरो स्वभावका कारण कतिपय कुरा मलाई पच्दैन, त्यो कुरा पनि एकदमै पचेन । किनभने, एक त म बिरामी भएर अस्पताल भर्ना भएकी छु । त्यसमाथि ओलीजीहरूले ‘बिरामी नै छैन, नाटक गरेको हो’ भनेर हल्ला चलाइरहनुभएको थियो । अर्को ‘यो सुशीलाको विरोधी हो’ भनेर पनि प्रचार गरिरहनुभएको थियो । मलाई हेप्न खोजे । मैले त्यस्तै महसुस गरेँ । आफ्नो कुरा भनिरहेकी छु । मलाई ठूलो रोग लागेको छैन । डाक्टरहरूले ‘दुई दिनमा डिस्चार्ज गर्छौं’ भनेका छन् । फेरि पनि अनेकथरि शंका गर्ने र कुप्रचार गर्ने काम भइरहेको थियो । त्यसैले मैले अस्पतालबाटै हस्ताक्षर गर्ने काम नमानेकी हुँ । तत्कालीन प्रधानमन्त्रीसँग यस्ता घटना धेरै छन् । उहाँले कतिपय कुरामा मलाई बुझ्नै सक्नुभएन । त्यतिखेर म उहाँको कार्यकर्ता नभएका कारण त्यो ग्याप थियो । म जसरी उहाँले भनेका कुराहरू लिन्थेँ, जति इमानदार थिएँ, त्यो इमानदारीचाहिँ उहाँले नबुझेकै ठान्छु ।

अभियाेग ३ : आफ्नो क्षमता र योग्यताले नभएर पार्टीमा प्रभावशाली नेतासमेत रहेका पति वर्षमान पुन अनन्तका कारण तपाईंले समकक्षी र सिनयिर नेत्रीहरूलाई उछिनेर लाभका पद प्राप्त गर्नुका साथै राजनीतिक उचाइ हासिल गर्नुभयो । उहाँकै काँधमा चढेर तपाईंले क्षमताभन्दा बढी जिम्मेवारी प्राप्त गरेको चर्चा पार्टीभित्रै हुन्छ ।

यो आरोपको म एकदमै कडा प्रतिवाद गर्न चाहन्छु । यस्तो आरोप लाग्नुको पछाडि एउटा मात्रै कारण छ, हाम्रो समाजमा रहेको पितृसत्तात्मक सोच र मनस्थिति । यसलाई मान्छेहरूले हतियारका रूपमा जानी–जानी पनि प्रयोग गर्छन् । कसै–कसैले नबुझेर ‘यस्ती महिलाले सभामुख कसरी चलाउली, यसको श्रीमान्ले पर्दापछाडिबाट चलायो होला’ भन्नु स्वाभाविक हो । तर, मान्छेहरूले नियोजित रूपमै पनि यस्ता आरोप लगाउने गरेका छन् । युद्धका वेला पनि ममाथि यस्तै आरोप लाग्ने गर्थे । त्यतिखेरै त्यसको खण्डन गर्ने र जवाफ दिने काम मैले गरेकी थिएँ । एकपटक मलाई पार्टीले पूर्वी कमान्डमा पठाउन लागेको थियो । त्यहाँ अनन्त कमरेड हुनुहुन्थ्यो । तर, मैले पश्चिम कमान्डमै बसेर काम गरेर आफ्नो क्षमता देखाउँछु भनेर दुई वर्ष पूर्वी कमान्डमा गइनँ । ती दुई वर्ष मैले दाङको इन्चार्ज भएर काम गरेँ । पार्टीले दिएका सबै जिम्मेवारी कुशलतापूर्वक पूरा गरेँ । दिवाकर कमरेड अहिले हुनुहुन्न, विप्लव अहिले हाम्रो पार्टीमा हुनुहुन्न । उहाँहरू त्यतिवेला मेरा इन्चार्ज हुनुहुन्थ्यो ।

योचाहिँ सधैँभरि मलाई लगाइने आरोप हो । सभामुख पद पनि मकहाँ अकस्मात् आएको हो । त्यतिखेर वर्षमानजी निकै बिरामी हुनुहुन्थ्यो । उपचारका लागि पहिला भारत र पछि थाइल्यान्ड बस्नुभयो । उहाँ मलाई सहयोग गर्ने अवस्थामै हुनुहुन्नथ्यो । तर, संसद् त चलिरह्यो नि ! मैले नचलाएर कसले चलायो त ? वर्षमानजीले मलाई पद दिलाउन कतै वातावरण बनाइदिएजस्तो पनि मलाई लाग्दैन । त्यसकारण यस्ता आरोप प्रतिस्पर्धामा उत्रिन नसक्नेहरूले मनगढन्ते ढंगले लगाएका हुन् । यसमा कुनै सत्यता छैन ।

अभियाेग ४ : तपाईंमा दम्भ पनि छ । सहकर्मीहरूभन्दा चाँडो राजनीतिक उचाइ बनाएका कारण पम्फा भुसाल, जयपुरी घर्तीलगायत सिनियर नेत्रीहरूलाई समेत टेर्नुहुन्न । त्यही कारणले उहाँहरूसँग तपाईंको सुमधुर सम्बन्ध छैन ।

यो त गलत आरोप हो । उहाँहरूले नै त्यस्तो सोच्नुभएको छ भने त मैले जिम्मा लिन सक्दिनँ, तर मेरो तर्फबाट तपाईंले भनेजस्तो केही छैन ।


हाम्रो समाजमा रहेको पितृसत्तात्मक सोच र मनस्थितिबाट मलाई ‘श्रीमान्का कारण पद पाई, सभामुख चलाई’ भन्ने आरोप लाग्छन् । तर, सभामुख पद मकहाँ अकस्मात् आएको हो । त्यतिखेर वर्षमानजी निकै बिरामी हुनुहुन्थ्यो । उपचारका लागि पहिला भारत र पछि थाइल्यान्ड बस्नुभयो । उहाँ मलाई सहयोग गर्ने अवस्थामै हुनुहुन्नथ्यो । तर, संसद् त चलिरह्यो नि ! मैले नचलाएर कसले चलायो त ?

पहिला पम्फा भुसालको पार्टीभित्र कसैले प्रतिवाद गथ्र्यो भने त्यो मैले नै गर्थें, महिलामा । त्यसैले पुरानो कुरालाई नै सोचेर यस्तो आरोप लगाइएको होला । जयपुरीजीसँग त मेरो कहिल्यै नराम्रो थिएन । उहाँ अर्को पार्टीमा हुँदासमेत राम्रो सम्बन्ध थियो । अहिले पनि अत्यन्त राम्रो छ । अहिले त पम्फा भुसालसँग पनि एकदमै राम्रो छ । पहिला बरु पद–प्रतिष्ठामा उहाँभन्दा अगाडि नजाँदासम्मचाहिँ एक प्रकारले नराम्रो थियो भनूँ न । बाहिरबाट हेर्दा पनि त्यस्तै लाग्थ्यो । त्यसलाई पनि म स्वाभाविक मान्छु । किनभने, दुई महिला प्रतिस्पर्धी ढंगले अगाडि बढ्नु पनि राम्रो कुरा हो नि ! मेरो स्वभाव के छ भने चित्त नबुझेका कुराहरूमा प्रतिवाद गरिहाल्छु, सहेर बस्दिनँ । मलाई सीधा–सीधा भन्नुपर्छ, छलकपट गरेको मलाई मन पर्दैन । सायद, त्यस्तै छलकपटहरू देख्दा पम्फा भुसाललाई प्रतिवाद गर्नेमा म मात्रै हुन्थेँ, महिलामा । त्यसैले पनि यी आरोप लागेका होलान् । 

अहिले त म सभामुख भइसकेँ । उहाँहरूसँग मेरो प्रतिस्पर्धा नै छैन । उहाँहरूलाई सम्मान गर्छु । उहाँहरूले त्याग, तपस्या गरेका कारण म सभामुख भएकी हुँ । त्यसैले मैले उहाँहरूलाई अवगुण गर्नुपर्ने कुनै कारण छैन । अस्ति भर्खर पनि म पम्फा भुसाललाई सचिवालयमा लैजानुपर्छ भनेर लबिङ गर्दै हिँडेकी हुँ । मैले सामाजिक प्रतिष्ठा जति कमाएँ, योभन्दा धेरै चाहिँदैन । जनताको सेवामा लागिरहन पाए पुग्यो । 

अभियाेग ५ : सरकारी सुविधाको दुरुपयोग गर्नुहुन्छ । ऊर्जामन्त्री पति वर्षमान पुनसँग पुल्चोकस्थित मन्त्रीनिवासमा बस्नुहुन्छ । तर, पूर्वसभामुखका हैसियतमा राज्यबाट छुट्टै घरभाडा सुविधा पनि लिइरहनुभएको छ ।

योचाहिँ गलत कुरा हो । किनभने, मैले आफ्नो डेरा आफैँ लिएकी छु । यो –अन्तर्वार्ता लिइररहेको ठाउँ) मन्त्रीज्यूको सरकारी क्वार्टर हो । यसमा दुईजना भिआइपीलाई म्यानेज नै हुन सक्दैन । मसँग पनि राज्यले दिएको सेक्युरिटी छ, काम गर्ने स्टापहरू छन् । यस विषयमा त आवासको व्यवस्थापन गर्ने सरकारको निकायले पनि बोल्नुपर्ने हो । व्यवस्थापन गरिदिए त दुई ठाउँमा बस्नु पनि छैन हामीलाई । अहिले पनि मैले बालुवाटारमा ४५ हजार भाडा तिर्ने गरेर घर लिएकी छु । परिवारका अन्य सदस्य पनि त्यसमा मिलेका छौँ । दुईजना देवर पनि बस्नुहुन्छ । राज्यबाट पाउने सुविधाभन्दा बढी रकम तिरेर भाडामा बसिरहेकी छु । यो समस्या मेरो मात्रै होइन, अरू पूर्वसभामुखज्यूहरूको पनि होला । त्यसकारण यो आरोपमा कुनै सत्यता छैन ।

अभियाेग ६ : मौका पाउँदा पदीय दुरुपयोग गर्न पनि पछि पर्नुहुन्न । सभामुखका हैसियतमा तपाईंले संसद्को सचिव नियुक्त गरेको फाइल राष्ट्रपतिले संविधानविपरीत रहेको भन्दै एक वर्षसम्म शीतलनिवासमै अड्काएर राख्नुपर्ने अवस्था आयो ।

मैले गरेको सिफारिस असंवैधानिक थिएन । त्यसो भएको भए राष्ट्रपतिले ‘असंवैधानिक छ’ भनेर जवाफ दिनुहुन्थ्यो होला । तर, उहाँले कुनै जवाफ नै नदिईकन लगभग एक वर्ष बिताइदिनुभयो । हाम्रो संविधानले संघीय संसद्मा प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी दुईवटा सदन रहने व्यवस्था गरेको छ । ती दुवै सदनको काम व्यवस्थापिका संसद्ले गर्ने व्यवस्था थियो । काम गर्न, कर्मचारी व्यवस्थापन गर्न गाह्रो नै भइरहेको थियो । आज त दुई सदनमा दुई सचिव नियुक्त गरिएका छन् । त्यतिखेर मैले एकजना मात्रै सिफारिस गरेकी थिएँ । संवैधानिक रूपले नमिल्ने त कहीँबाट पनि देख्दिनँ म । राष्ट्रपतिजीले पनि असंवैधानिक भनेर भन्नुभएन । तर, अड्काएर राखिदिनुभयो । 

राष्ट्रपतिज्यूलाई सायद जुन पार्टीबाट प्रतिनिधित्व गरेर उहाँ त्यहाँ पुग्नुभएको थियो, त्यो पार्टीको दबाब हुनुपर्छ भन्ने मलाई लाग्छ । उहाँ पार्टीको प्रभावमा पर्नुभयो । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख जे भए पनि हामीलाई पार्टीले नै सिफारिस गरेको हो । पार्टीले नै त्यहाँ पुर्‍याएपछि पार्टीको कुरा त सुन्नु नै पर्छ । राष्ट्रपतिले पनि सायद सुन्नुभयो । किनभने, उहाँ पनि भर्खर–भर्खर मात्रै राष्ट्रपति हुनुभएको थियो । अहिले त सायद नसुन्नुहोला । त्यो विषयमा पछि मैले रिभ्यु गर्दा यदि दुवै पदमा थोरै राजनीतिक दलहरूको समझदारी बनाएर सिफारिस गरेको भए त्यो नियुक्ति हुन्थ्यो । 

अभियाेग ७ : पार्टीभित्र श्रीमान्/श्रीमती नै पदका लागि बार्गेनिङ गर्नुहुन्छ । श्रीमान् वर्षमान पुनले मन्त्री नपाएपछि तपाईंले सभामुख बन्न बार्गेनिङ गर्नुभयो । पछिल्लोपटक तपाईं चुप लाग्नुभयो, उहाँ मन्त्री हुनुभयो । नेकपाकै केही कार्यकर्ता तपाईंहरूको जोडीलाई एउटा नहुँदा अर्को भनेर बिहारको नेता दम्पती लालु यादव र रावडी देवीसँग तुलना गर्छन् नि !

त्यो बिल्कुल निराधार आरोप मात्रै हो । त्यस्तो लाग्ने एकाध अनलाइनलाई मात्र हो । हामी विवाह गर्दा नै नेता थियौँ । बिहे पनि हामीले पार्टीकै व्यवस्थापनमा गरेका हौँ । पार्टीको काममा लगातार हामी फिल्डमा खटियौँ । मैले दुईवटा बच्चा जन्माएँ, त्यतिखेर पनि म फिल्डमै छु । छोरी भइसकेपछि म बटालियन कमिसार भएकी हुँ । मेरो घरको स्कुलिङ र वरिपरिको वातावरणले पनि होला, पहिलेदेखि नै आफ्नो काम आफैं सोचेर आफैं गर्ने प्रकृतिको व्यक्ति हुँ । विवाह गर्दा नै हाम्रो सर्त नेता बन्नुपर्छ भन्ने थियो । किनभने, त्यसवेला राम्रा नेत्रीहरू, जसले आन्दोलनमा योगदान गर्नुभएको थियो, उहाँहरू बिहेपश्चात् घरेलु काममा मात्रै सीमित हुनुभएको थियो । रोल्पामा जयपुरी घर्ती, तारा घर्तीलगायत लगभग सबै नेत्री संयुक्त रूपमा बसेर त्यो बिरासतलाई तोड्नुपर्छ, नत्र महिला नेत्री आउँदैनन् भनेर माइन्युट नै गरेका थियौँ । नेत्रीहरू बिहेपछि घरेलु मैदान बन्ने परम्पराको यो बिरासतलाई हामी तोड्छौँ भनेर कसम नै खाएका थियौँ । ती सबै साथी अहिले पनि फिल्डमै छौँ । 

हामी दुवैजना वेलावेलामा लाभको पदमा पुगेका हुनाले धेरैलाई तपाईंले भनेजस्तै हो कि भन्ने पनि लाग्दो हो । तर, मैले कहिल्यै पनि लाभको पदमा बार्गेनिङ गरेकी छैन । अन्तरिम विधायक हुने वेला अन्तिमसम्म मेरो नाम थियो, अहिले पनि कमरेड बादललाई सोध्नुभए हुन्छ, अन्य साथीहरूलाई ल्याउनुपर्ने भएपछि म आफैं गएर मेरो नाम काटेकी हुँ । अहिलेसम्म मैले पाएका पद विभिन्न कारणवश आइरहेका छन्, कहिल्यै पनि मलाई चाहिन्छ भनेर भनेकै छैन । बरु युद्धमा मर्न जाने कुरामा भने मैले रोजेकी थिएँ । जनमुक्ति सेना रोजेकी थिएँ, पार्टीले मलाई त्यहाँ पठाएको पनि थियो । थुप्रै लडाइँमा ‘म जान पाऊँ’ भनेर भनेकी थिएँ, गएँ पनि । त्यहाँ मर्न पनि सकिन्थ्यो, तर बाँचेर यहाँसम्म आइयो । मलाई के लाग्छ भने यो पद, प्रतिष्ठा कसैले चाहेर मात्र हुन्न, परिस्थितिले के सिर्जना गर्छ र त्यतिवेला यो जिम्मेवारी कसले पूरा गर्न सक्छ भनेर सबैको मनमा लाग्छ, त्यतिवेला जिम्मेवारी पाउने हो । मैले पनि त्यसरी नै पाउँदै आएकी हुँ । 

वर्षमान पुनले युद्धदेखि अहिलेसम्म हेर्दा थुप्रै मोर्चाहरू सम्हाल्नुभयो र सबैभन्दा बढी रिस्की काम गर्नुभयो । जब हामी मोर्चा सम्हाल्थ्यौँ, अलग–अलग हुन्थ्यौँ । कहिलेकाहीँ सँगै पनि हुन्थ्यौँ । रोल्पालाई आधार बनाउँदा पनि धेरै रिस्क लिनुपथ्र्यो । त्यसवेला अहिले आउनुभएका कति नेताहरू इन्डियामै हुनुहुन्थ्यो । हामीले लडेर, भिडेर त्यसलाई आधार इलाका बनायौँ । त्यसपछि ‘पूर्वमा खाली भयौँ, हामी कमजोर भयौँ’ भनेपछि पूरै पार्टी र सेनाको जिम्मा लिएर पूर्वी भूमिमा हामीले योगदान गर्‍यौँ । त्यहाँ हामीले क्याडरहरू उत्पादन गर्‍यौँ । त्यसपछि भ्याली हाम्रो पूरै निल भयो, सबैजना पक्राउ पर्नुभयो, कोही मारिनुभयो, कोही बेपत्ता पारिनुभयो । हामीले त्यसपछि यहीँ आएर कमान्ड सम्हालेका थियौँ । म अहिले सम्झिन्छु– ०६२/६३ को आन्दोलनमा मास पठाउने नेतृत्व मैले नै गरेकी थिएँ । किनभने, काभ्रे र रामेछापको इन्चार्ज म थिएँ । जनआन्दोलनमा सबैभन्दा बढी काभ्रेबाट उपस्थिति छ । पनौतीको डाँडामा बसेर मैले त्यसको नेतृत्व गर्थेँ । जनआन्दोलनमा मास बढाउनका लागि मैले प्रत्येक दिन मिहिनेत गरेकी थिएँ । त्यसैले मलाई के लाग्छ भने यो प्रतिस्पर्धीहरूले लगाउने आरोप मात्रै हो । जनताले पनि त्यस्तो महसुस गर्छन् भन्ने मलाई लाग्दैन । अहिले पनि म कुनै पद पाउनुपर्छ भन्ने पक्षमै छैन । अध्यक्ष कमरेड प्रचण्डलाई पनि मैले ‘म सभामुख भइसकेँ, अब अरू साथीलाई पठाउनुस्, म बरु समाजसेवा गर्छु’ भनेकी छु ।

अभियाेग ८:  सभामुख हुँदा पनि तपाईंले पदीय मर्यादा कायम राख्न सक्नुभएन । बालुवाटारस्थित सभामुखको सरकारी निवासलाई तत्कालीन माओवादी नेता तथा तपाईंका श्रीमान् वर्षमान पुनले कार्यकर्ता भेटघाट गर्ने थलो बनाउनुभयो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले त सभामुखको निवास सरकार ढाल्ने बैठक गर्ने अखाडा भएको आरोप नै लगाउनुभयो । 

त्यो आरोप मात्रै हो । सभामुखनिवासमा कार्यकर्ता भेटघाट वा भेला कहिल्यै पनि गरिएकै थिएन । म सभामुख हुँदा वर्षमानजी अधिकांश समय बिरामी पर्नुभयो । त्यसैले बिरामी भेट्नका लागि धेरै साथीहरू आउनुहुन्थ्यो । एउटा मात्रै होइन, धेरै पार्टीका साथीहरू आउनुहुन्थ्यो । म खेद प्रकट गर्छु, तत्कालीन प्रधानमन्त्री केपी ओलीले सत्तारूढ पुरानो गठबन्धन भत्काउन सभामुखनिवासमा बसेर नयाँ गठबन्धन गरियो भनेर संसद्मै आरोप लगाउनुभयो । त्यो एकदमै झुटो कुरा थियो । मैले त्यो कुरा संसद्को रेकर्डबाट पनि मेटाएकी छैन । कुनै एकजना पुरुष, प्रधानमन्त्रीले बोलेको कुरा म रेकर्ड राख्न चाहन्थेँ । त्यसैले त्यो मेट्न पनि आदेश दिइनँ । पितृसत्तालाई भर्खर मात्रै परिवर्तन गरेको देशको पुरुष मानसिकता कस्तो हुन्छ भन्ने कुराको अभिव्यक्ति पनि हो त्यो । 

त्यो कुराको म आज पनि प्रतिवाद गर्छु । म सभामुख थिएँ, रिसाउन पाइँदैनथ्यो । म आफ्नो पदीय दायित्वमा थिएँ । त्यसैले त्यसवेला मैले केही भनिनँ, तर रेकर्डका लागि राखिएको छ । त्यो एकदमै झुटो कुरा हो । किनकि, म सभामुख हुँदा वर्षमानजी अधिकांश समय त बिरामी नै हुनुभयो नि ! लास्टसम्मै बिरामी हुनुहुन्थ्यो, बिरामी भेट्न धेरै मान्छे आइरहनुभएको थियो । मान्छेहरू आए भन्दैमा त्यसलाई नै अड्कलबाजी गरे । सभामुखको गेटबाट को–को छिरे भनेर सिआइडीहरू राखेर उनीहरूको रिपोर्टका आधारमा निष्कर्ष निकाल्न त पाइँदैन नि ! त्यो अन्याय हो । केपी ओलीले त्यो ममाथि अन्याय गर्नुभएको हो । 

अभियाेग ९ : श्रीमान् ऊर्जामन्त्री वर्षमान पुनका काममा समेत अनावश्यक हस्तक्षेप गर्ने गरेको आरोप तपाईंमाथि लाग्छ । 

यो झुटो आरोप हो । मेरो खरो स्वभावका कारण साथीहरूले त्यस्तो बुझ्नुहुन्छ होला । मलाई बीचका कुरा मन पर्दैन, हो भने हो, होइन भने होइन । कहिलेकाहीँ त्यस्तो हुँदा त्यसैलाई ‘हस्तक्षेप गरेकी छे’ भनेका होलान् । हामी दुईको आपसी समझदारी नै के छ भने उहाँको जिम्मा र उहाँको कामबारे मैले हस्तक्षेप नगर्ने, मेरो उहाँले हस्तक्षेप नगर्ने । कतिपय कुरा सल्लाहले पनि चलाउनुपर्छ । व्यावहारिक कुरा पनि हुन्छन् । त्यसबाहेक पार्टीको जिम्मा, राष्ट्रको जिम्मा भनौँ न, ती कुरामा हाम्रो कहिल्यै पनि हस्तक्षेप हुँदैन । उहाँले अहिले मन्त्रालय चलाइरहनुभएको छ, साथीहरूले कहिलेकाहीँ कारणवश त्यहाँ जानैपर्ने वातावरण बनाएबाहेक म गएकी छैन । म सभामुख हुँदाखेरि साथीहरूले बोलाएर मेरोमा आउनुभयो होला, नत्र उहाँ पनि आउनुहुन्नथ्यो । कुनै पनि काम नसकेको दिन, अप्ठ्यारै परेको दिन हेल्प गर्ने एउटा कुरा, तर साधारण कुराहरू जुन अगाडि बढिरहेका छन्, त्यसमा हस्तक्षेप गर्न पाइँदैन भन्छु म । अन्य जातिका समुदायमा महिलाले जति दबिनुपर्छ, त्यो हाम्रोमा छैन । त्यही भएर पनि यसले अलिकति दमनै गर्छ कि, हस्तक्षेप गरेरै चलाउँछ कि भन्ने लाग्छ होला मान्छेहरूलाई ।

अभियाेग १० : सभामुखका रूपमा व्यवस्थित ढंगले संसद् पनि चलाउन सक्नुभएन । छापामार शैलीमा संसद् चलाएको आरोप तपाईंमाथि लाग्यो । विद्यादेवी भण्डारी राष्ट्रपतिमा पहिलोपटक निर्वाचित हुँदा तपाईंले मत परिणाम नै गलत घोषणा गर्नुभयो । 

त्यस्ता आरोप जुनै सभामुखलाई पनि लाग्छन् । किनभने, सभामुख भनेको निर्णायक कुरा हो । आफूलाई चाहिँ निर्णय जनताको पक्षमा हुनुपर्‍यो, राष्ट्रको पक्षमा हुनुपर्‍यो भन्ने लाग्छ । एउटा निर्णय गर्नैपर्छ । अर्को सत्य के पनि हो भने संसद् भनेको बहुमतले चलाउने हो ।

सुशीला कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने वेला म बिरामी भएर अस्पताल भर्ना थिएँ । तर, तत्कालीन प्रधानमन्त्री केपी ओलीजीलगायतले ‘बिरामी नै छैन, नाटक गरेको हो’ भनेर हल्ला चलाउनुभयो । अर्को ‘यो सुशीलाको विरोधी हो’ भनेर पनि प्रचार गरिरहनुभएको थियो । उहाँले मलाई हेप्नुुभयो । मैले त्यस्तै महसुस गरेँ । आफ्नो कुरा भनिरहेकी छु । मलाई ठूलो रोग लागेको छैन । डाक्टरहरूले ‘दुई दिनमा डिस्चार्ज गर्छौं’ भनेका छन् । फेरि पनि अनेकथरी शंका गर्ने र कुप्रचार गर्ने काम भए । तत्कालीन प्रधानमन्त्रीसँग यस्ता घटना धेरै भएका छन् ।

अब बहुमत जुटिसकेपछि एउटा सभामुखले के गर्न सक्छ र ? बहुमतले गर्ने निर्णय त प्रक्रियामा लैजानै पर्‍यो नि ! पक्षपात गरेर सभामुखले निर्णय सुनाउने कहीँ पनि रेकर्ड छैन होला नि ! सभामुख भनेको त प्रक्रिया चलाउने हो, प्रक्रिया चलाउँदा अरूलाई नराम्रो लाग्न गयो होला । त्यसैले केही साथीले त्यो आरोप लगाउनुभयो होला । कुनै एउटा विधेयकका सन्दर्भमा छापामार शैलीमा संसद् चलायो भन्ने आरोप लगाएका हुन् । प्रतिपक्षले त्यो विधेयक रोक्न चाहनुहुन्थ्यो । प्रक्रियामा लैजाने भनेर मैले पहिले नै भनेको थिएँ, उहाँहरूले बुझ्ने/नबुझ्ने त्यो अर्को कुरा हो । प्रक्रिया अगाडि बढाउनुपर्छ भन्दा उहाँहरूले आफूलाई जानकारी नदिई प्रक्रिया अगाडि चलायो भन्नुभयो । त्यहाँ खास गरेर समझदारी हुन्छन्, तर त्यसवेला अलिकति समझदारीबेगर प्रक्रिया चलाइएको थियो । त्यसैले छापामार शैलीमा भन्नुभएको होला ।

राष्ट्रपतिको मत परिणाम घोषणा गर्दा त चिप्लिएको हो । वाच्य हो, कहिलेकाहीँ तलमाथि हुन सक्छ । त्यो भएको थियो । जसको पनि त्यस्तो हुन्छ । त्यतिखेर रिडिङ पेपरमा गलत नै लेखिएको रहेछ । स्वविवेकले मैले नै त्यहाँ सच्याउनुपर्ने थियो । तर, कहिलेकाहीँ मान्छे एउटा तालमा बगिरहेको हुन्छ नि, त्यस्तै भयो । म फेरि भर्खर सभामुख भएकी थिएँ । जे थियो, मैले त्यही पढिदिएँ । 

अभियाेग ११ :  जनजाति र महिलाका मुद्दामा बढी नै पूर्वाग्रही देखिनुहुन्छ । पार्टीभित्र पनि उनीहरूलाई नै संरक्षण गर्न जोडबल गर्नुहुन्छ ।

अहिले त म सबैकी भएकी छु होला । तर, मेरो पृष्ठभूमि हेर्दा त्यो कुरा सत्य हो । किनभने, म महिला भएकै कारणले आन्दोलनमा आएकी हुँ । म महिला हुँदैनथेँ भने आन्दोलनमा आउँथेँ कि आउँदिनथेँ, त्यो भन्न सक्दिनँ । समाजमा भएको अन्याय, अत्याचार, विभेद, सारा जे थिए, छोरी भएकै कारणले, समुदाय भएकै कारणले मैले भोगेकी हुँ नि त ! त्यसमा विद्रोह गर्नका लागि आएको मान्छेले आफ्नो कुरा त भन्छ नै । दोस्रो कुरा कम्युनिस्ट पार्टी भनेको अन्यायको विरुद्धमा लड्ने हो । उपेक्षित, अपहेलित मान्छेको मुक्तिका लागि बोल्ने हो नि ! सबैभन्दा बढी उत्पीडित को छ र अपहेलित को छ भन्दाखेरि त दलित होला । त्यसपछि कमैया, कमलरीहरू होलान्, मजदुरहरू होलान्, जसले आफ्नो श्रम बेचेर खानुपर्छ । स्वाभाविक रूपमा त्यसभित्र पनि महिला नै होलान् र जनजाति नै होलान् । परिस्थिति र परिवेशले त्यो अन्याय भएको छ । मैले पहिलेदेखि भन्दै आएकी छु, मेरो स्वभाव कुनै पनि कुरा वार–पार नै गरेर छाड्नेखालको छ । त्यसैले पनि मलाई यो आरोप लागेको होला । तर, सधैँभरि जहाँ जाँदा पनि मैले वर्गपक्षधरताको कुरा हेर्छु ।

 

प्रतिकृया दिनुहोस