आगलागीबाट माईपोखरीमा चार घर नष्ट

२०७५ चैत १ शुक्रबार ११:२८:००

इलामको सन्दकपुर गाउँपालिका–२ माईपोखरीमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । आगलागीमा निमदोर्जे शेर्पा, कमल मुखिया, चक्र मुखिया र लाक्पा शेर्पाका घर जलेर नष्ट भएका हुन् । 

आगलागी सुरु भएको ४५ मिनेटमा चारवटै घर सखाप भएका थिए । आगलागिबाट गरगहना, नगद, पसल तथा होटेलका सामग्री नष्ट भएका छन् । प्रहरीले झन्डै ३ करोडबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । आगलागी पीडितहरूलाई तत्कालका लागि नजिकैको माइपोखरी सूचना केन्द्र, वनस्पतिको कार्यालय  र मन्दिर परिसरमा राखिएको छ । पीडितहरूलाई सन्दकपुर गाउँपालिकाले खाने–बस्ने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष उदय राईले बताए ।

चक्र मुखियाको घरको भान्साबाट आगो फैलिएको स्थानीयले बताएका छन् । सबै काठका घर भएकाले आगो तीव्र रूपमा फैलिएको थियो । इलाम नगरपालिकाको दमकल घटनास्थलमा पुग्दासम्म घरहरू जलिसकेका थिए । आगो नजिकैको जंगलमा फैलन सक्ने सम्भावना भएकाले सुरक्षाकर्मी र स्थानीयले रूख ढाल्ने र आगो निभाउने काम गरेका थिए । बिहीबार साँझसम्म जलेको घरको आगो जंगलमा फैलन नदिनका लागि आगो निभाउने काम भइरहेको अध्यक्ष राईले बताए । 

धरानमा १० लाखभन्दा बढीको क्षति 
धरान
धरान उपमहानगरपालिका–१५ स्थित मदन–आश्रित मार्गको एक कुखुरा फार्ममा आगलागी हुँदा झन्डै १० लाखको क्षति भएको छ । बमबहादुर खड्काको कुखुराको फर्ममा बिहीबार दिउँसो आगलागी भएको हो । 

खड्काका अनुसार आगलागीबाट काठले बारेको र टिनले छाएको फार्म पूर्ण रूपमा जलेर नष्ट भएको छ । करिब १२ सय कुखुरा अटाउने खोर तथा त्यहाँ रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । १५ वटा कुखुरा जलेका छन् । 

धरान उपमहानगरकाका तीनवटा दमकल, इटहरी उपमहानगरको एउटा दमकल, स्थानीयवासी, प्रहरीलगायतले डेढ घन्टामा आगो नियन्त्रणमा लिएका थिए । समयमै दमकल आएका कारण आगो अन्य घरमा भने जान नपाएको स्थानीयले बताए । खड्का र उनकी श्रीमती घरबाहिर थिए । आगलागी कसरी लाग्यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शी कृष्ण विष्टका अनुसार फार्मको उत्तरपट्टिको भागबाट आगो लाग्न सुरु भएको थियो ।

३ लाखभन्दा बढी नोक्सान
संखुवासभा
संखुवासभाको चैनपुर नगरपालिका–११ ओडारेमा एकघर आगलागी हँुदा तीन लाखभन्दा बढिको क्षति भएको छ ।  बिहीबार साढे १ बजेको आगलागी हुँदा स्थानीय मीनबहदुर जिमीको ढुंगा–माटोको गारो र फुसको छानो भएको एकतले घर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले बताए । उनका अनुसार घरनजिकै रहेको खरबारीमा आगो लगाउने क्रममा घरमा आगो सल्किएको थियो । आगलागीबाट घरभित्र रहेका २ वटा खाट, १ वटा -याक र अन्य काठपातसमेत गरी तीन लाखबराबरको क्षति भए पनि कुनै मानवीय क्षति नभएको प्रहरी निरीक्षक राईले बताए । प्रहरी र स्थानीयको सहयोगमा चार घन्टापछि आगो नियन्त्रणमा आएको थियो ।

प्रतिकृया दिनुहोस