किसानका छोराको बिहेमा दुईवटा प्लेन चार्टर

२०७५ चैत १ शुक्रबार ०७:५६:०० | धनकुटा

सामान्यतः बिहेमा जन्तीका लागि बस र कार रिजर्भ गरेर लैजाने चलन छ । आर्थिक रूपले सम्पन्न मानिसले पनि जन्ती लैजान त्यति धेरै खर्च गर्दैनन् । तर, एक किसान परिवारले भने आफ्नो छोराको बिहेमा प्लेन चार्टर गरेका छन् । धनकुटा महालक्ष्मी नगरपालिका–८ मूर्तिढुंगाका नगेन्द्र थापाले आफ्नो एक मात्र छोरा दिनेशको बिहेमा दुईवटा प्लेन चार्टर गरेका हुन् ।

दिनेशले काठमाडौं ठमेलकी प्रज्ञा सुवेदीसँग बिहे गर्दा विराटनगरबाट काठमाडौंसम्म सीता र बुद्ध एयरका दुई विमान चार्टर गरेका हुन् । २९ फागुनमा सम्पन्न उनको बिहेमा ७१ जना जन्ती काठमाडौं आएका थिए । धनकुटाबाट विराटनगरसम्म बस र विराटनगरबाट काठमाडौंसम्म प्लेनमा जाँदा आउँदा सात लाख ५० हजार रुपैयाँ खर्च भएको दिनेशका बाबु नगेन्द्रले जानकारी दिए ।

दिनेश थापा फार्मेसीमा पूर्वाञ्चल टपर
नगेन्द्र कृषि र व्यापार व्यवसायमा संलग्न छन् । उनी अलैँची किसानका रूपमा परिचित छन् । धनकुटाको सिँधुवा बजारनजिक रहेको मूर्तिढुंगा तरकारीको राजधानी नामले चिनिन्छ । थापाको अहिले सिँधुवा, हिले, धरानलगायतका विभिन्न सहरमा निजी घर छन् । 

‘छोराको विवाहमा काठमाडौं जन्ती जाँदा–आउँदा सीता एयर र बुद्ध एयर चार्टर गरेर ७१ जना जन्ती गएका हुन्,’ बेहुलाका बुबा नगेन्द्रले भने, ‘त्यसका लागि सात लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।’ गाउँका इष्टमित्रलाई कहीँकतै भ्रमणमा लैजाने आफ्नो इच्छा पहिलेदेखि नै भएकाले छोराको विवाहको अवसर पारेर प्लेन चार्टर गरेर काठमाडौं लगेर ल्याएको थापाले बताए । उनले भने, ‘मैले जन्ती लैजाँदा समाजका सबै उमेर समूह समेटेर समावेशी हिसाबले लगेको थिएँ ।’

साइन्समा बिएस्सी गरेका दिनेश अहिले सुनसरी टेक्निकल कलेजमा फार्मेसीमा एमएस्सी गर्दै छन् । उनी फार्मेसीमा पूर्वाञ्चल टपर पनि हुन् । नगेन्द्रकी बुहारी प्रज्ञा सुवेदी भने काठमाडौंको लक्ष्मी बैंकमा जागिरे छिन् ।

प्रतिकृया दिनुहोस