नेपाली सिनेमाको पहिलो दृश्य चोभारको ढुंगोमा

२०७५ फाल्गुण ३० बिहीबार ०७:५९:०० | काठमाडाैं

नेपालमा बनेको पहिलो फिल्म ‘आमा’ (२०२१)को सुटिङ सुरुवात गीतबाट भयो । सुटिङ चोभारमा थियो । भुवन चन्दलाई अझै याद छ, त्यो दिन मंगलबार थियो । गीत थियो, ‘गरौँला हामी सिर्जना अर्को प्रितीको जगतमा’ । शिवशंकर मानन्धर र तारादेवीले गाएका थिए । शिवशंकर आफैँ फिल्मको नायक थिए । 

निर्देशक थिए, हीरा सिंह । उनलाई तत्कालीन राजा महेन्द्रले भारतबाट झिकाएका थिए । हीरा सिंहले नायिका भुवन चन्दलाई अभिनय सिकाए, ‘भुवनजी, ऊ त्यो ठूलो ढुंगाबाट यस्तो गरेर आएर यसरी बस्नुस्, हात होल्ड गर्नुस्, मैले कट नभनीकन तपाईं चल्दै नचल्नुस् ।’ नेपालमा सुटिङ गरिएको पहिलो फिल्मको छायांकन त्यही चोभारको ढुंगोबाट सुरु भयो । गीतमा देखिएको सो ढुंगा चोभारमा अझै साक्षी बकिरहेको छ । निर्देशक हीरा सिंहले तीन÷चारपटक आफैँ त्यो ढुंगामा बसेर भुवनलाई अभिनय गरी देखाए । भुवनले पनि हीराले भनेजस्तै गरिन् ।

त्यो वेलासम्म भुवनलाई थाहा नै थिएन कि फिल्मको नायक शिवशंकर हुन् । उनी भन्छिन्, ‘शिवशंकर मेरो बुबाको साथी हुनुहुन्थ्यो, कहिले बहिनी र कहिले छोरी भनेर बोलाउनुहुन्थ्यो ।’ उनी स्वयंलाई पनि थाहा थिएन कि आफू नै फिल्मको मुख्य अभिनेत्री हो भन्ने । ‘फिल्ममा चान्स पाएको थिएँ, त्यही नै खुसीको कुरा थियो, बाँकी केही सोधिनँ,’ उनी भन्छिन् । 

उनी त्यो वेलामा जम्मा १५ वर्षकी मात्र थिइन् । नाचघरमा नाटक गर्थिन् । नाटकमै आफूलाई तिखारेकी थिइन् । फिल्म त कहिलेकाहीँ टिभीमा हेर्ने गरेकी थिइन् ।

फिल्ममा मौका पाएर उनी खुसी भएकी थिइन् । गीत सुटिङको क्रममा जब शिवशंकर नायक भएको थाहा पाइन्, लाजले उनका गाला रातोपिरो भए । नर्भस भइन् । अर्कोतिर उनी आफूभन्दा वरिष्ठ कलाकारसँग काम गर्न पाउँदा खुसी पनि थिइन् । शिवशंकरको नायिका भएर काम गर्न पाएकोमा गर्व लागेको थियो । 

गीतको सुटिङ सकियो । भुवनलाई कुनै पनि दृश्य ‘रिटेक’ लिनुपरेन । भुवन सम्झन्छिन्, ‘मजस्तो क्यामेराको केही कुरा थाहा नभएकी केटीले पहिलो सुटमै रिटेक लिन नपर्दा आफैँलाई गर्व महसुस भएको थियो ।’ आफ्नो अभिनयका कारण निर्देशकले खुसी भएर ‘भुवनले अभिनयमा गरिखान्छ’ भनेको वाक्य उनको कानमा अहिले पनि झुन्डिरहन्छ ।

फिल्मको सुटिङ चोभार, नुवाकोटको ककनी, त्रिशूलीलगायत स्थानमा भयो । लगभग ४५ दिनमा सकियो । टिभीमा माला सिन्हा, साधना, वैजयन्ती मालालगायतलाई हेरेर त्यस्तै बन्न पाए हुन्थ्यो भन्ने चाहना पालेकी भुवनले बल्ल थाहा पाइन्, फिल्म त टुक्रा टुक्रा दृश्य जोडेर बन्दोरहेछ । सुटिङ सकिएपछि सबैले ताली बजाए । भुवनको अभिनयको सबैले प्रशंसा गरे । ४० जना जतिको फिल्म युनिटमा आधाजसो त सबै भारतबाट नै आएका थिए । सबैको प्रशंसाले १५ वर्षे किशोरी मख्ख परिन् ।

सुटिङ सुरु हुँदादेखि सकिँदासम्म पनि उनलाई कुनै गाह्रो अनुभव भएन । किनभने उनीसँग रंगमञ्चको अनुभव थियो । त्यतिवेला माइक थिएन । रंगमञ्चमा टाढाका दर्शकले पनि सुन्ने गरी पनि बोल्नुपथ्र्यो । भुवन भन्छिन्, ‘अभिनय निकै हेवी हुन्थ्यो नाटकमा ।’ तर, जस्तै भए पनि फिल्म नाटकभन्दा फरक विधा हो । उनले पहिलोपटक क्यामेरामा अभिनय गरेकी थिइन् । त्यसैले सुरुमा नर्भस भइन् । अनि क्यामराको एउटै फ्रेममा ‘सुट’ गर्नुपर्दा थोरै असहज भयो । 

उनका ठूला आँखाको कारण फिल्म सम्पादनमा समस्या भएपछि निर्देशकले केही दृश्य ‘रिटेक’ गरे । ठूला आँखामा गाजल लगाउनुपर्ने । हिरोइनलाई भनेपछि अलि मजाले नै मिलाएर लगाउनुपर्ने हुन्छ । तर, अहिलेजस्तो हिरोइनको छुट्टै मेकअप भने हुँदैनथियो । पछि भिडियो सम्पादन गर्ने वेलामा निर्देशकले फुटेज हेरेर भने, ‘क्लोज अपमा आँखा ठूलो आयो, रि–सर्ट गरौँ ।’ अनि भुवनले थाहा पाइन् कि कुनै दृश्य नमिलेपछि पनि ‘रिटेक’ गर्न मिल्दोरहेछ । त्यसपछि त उनको आत्मविश्वास झनै बढ्यो ।

फिल्म खेल्नुअघि भुवन हिन्दी सिनेमा खुब हेर्थिन् । उनको सम्झनामा अझै ताजै छ, बलिउड नायिका साधनाको उनी फ्यान थिइन् । साधनाको त कपालको ‘स्टाइल’ नै कपी गरेकी थिइन् । 

२०/२१ सालतिर कलाकार सीमित हुन्थे । सेक्सपियरको पालाका नाटकमाजस्तो केटीको भूमिका केटाले नै गर्थे । भुवन स्मरण गर्छिन्, ‘कलाकार बन्न गाह्रो थियो, समाजले हेर्ने नजर पनि अर्कै थियो ।’ तर, राजा महेन्द्रले सरकारी तवरबाट फिल्म बनाउने भएपछि भने कलाकारको खोजी भयो । भुवन स्टेज कलाकारको रूपमा नाचघरमा काम गर्थिन्, कन्ट्रयाक्टमा । हल्ला चल्यो, ‘सरकारले फिल्म बनाउने भएको छ, निर्देशक आएका छन्, अडिसन दिन गए हुन्छ ।’ भुवन पनि गइन् । पास भइन् । भन्छिन्, ‘त्यही भएर मैले चान्स पाएको हुँ ।’ 

भुवनको अडिसन स्मृति पनि रोचक छ । अडिसनमा हिरो हमाल थरका एक जना थिए । नाम भने उनले बिर्सिइन् । ह्वाइट ड्रेस लगाएर निर्देशक छेउमा उभिएका उनै हीरोसँग डाइलग बोल्नुपर्ने । निर्देशकले डाइलग दिए । ‘डाइलग त के थियो थाहा छैन, तर निर्देशकले बोल्नुस् भनेपछि बोलेँ,’ उनी भन्छिन् । हमालले पनि बोलेको भुवनको स्मृतिमा धमिलो–धमिलो सम्झना छ । अडिसन दिएको तीनचार महिनापछि सुटिङ सुरु भयो । भुवन भन्छिन्, ‘हीरोमा शिवशंकर दाइ हुनुहुन्थ्यो, मसँगै अडिसन दिने हीरोको के भयो, थाहा छैन ।’ 

नेपालमा सुटिङ गरिएको पहिलो फिल्मको छायांकन त्यही चोभारको ढुंगोबाट सुरु भयो । गीतमा देखिएको सो ढुंगा चोभारमा अझै साक्षी बकिरहेको छ । निर्देशक हीरा सिंहले तीन–चारपटक आफैँ त्यो ढुंगामा बसेर भुवनलाई अभिनय गरी देखाए । भुवनले पनि हीराले भनेजस्तै गरिन् ।
 

‘आमा’ फिल्मको सुटिङ सकियो । त्यो वेला प्रमोसनको कुरै थिएन । फिल्म रिलिज हुँदा भुवन नेपालमा थिइनन् । चीनमा सांस्कृतिक कार्यक्रम लिएर गएकी थिइन् । त्यो वेला अन्य देशसँग खुब सांस्कृतिक आदानप्रदान हुन्थ्यो । फिल्म आर्मी क्लबमा प्रदर्शन भएछ । राजा महेन्द्रले उद्घाटन गरेका थिए रे । पछि निर्देशक हीरा सिंहसँग बम्बईमा फेरि भेट भयो । ‘हाम्रो भुवनले पनि इन्डियन कलाकारले भन्दा कम त गरेको रहेनछ नि !’ भनेर राजाले प्रशंसा गरेको हीरा सिंहले सुनाए । खुसीले भुवनको भूइँमा खुट्टा थिएन । पछि उनले महेन्द्र आभूषण पनि पाइन् । भन्छिन्, ‘बक्सिस स्वरूप केही नगद पनि पाएँ ।’ 

नेपाल फिरेपछि जय नेपाल हलमा फिल्म लाग्यो । उनले दर्शक भएर हेरिन् । पर्दामा आफैँ उभिएको दर्शकको सिटमा बसेर हेर्दा अनौठो लाग्यो । हल मालिकले डिनरसहित उनी, शिवशंकरलगायतलाई बोलाएका थिए । कलाकारको टिमलाई स्पेसल सिटमा राखिएको थियो । त्यो वेलासम्म अरूकै मात्र फिल्म हेरेकी भुवन भन्छिन्, ‘आफ्नै फिल्म आफैँ दर्शक बनेर हेर्दा आफूलाई खुब भाग्यमानी सम्झिएकी थिएँ ।’ 

फिल्म हेर्दै जाँदा आफूलाई ‘म त राम्री रहेछु’ भन्ने लागेको थियो रे । यसो भनिरहँदा भुवन मजाले हाँसिन् । त्यतिवेला उनले चौबन्दी लगाएकी थिइन् । कपाल बाटिएको थियो । चौबन्दीको बाहुला पनि कुइनोसम्म मात्र छोटिएको थियो । भुवन फेरि हाँस्दै भन्छिन्, ‘तर पनि म आफैँलाई राम्री लाग्यो ।’

त्यतिवेला अहिलेजस्तो मिडिया पनि थिएन । सरकारी तवरबाट निस्कने केही पत्रिका थिए र निजी तवरबाट पनि केही निस्कन्थे । उनको सम्झनामा ताजै छ, ‘त्यो वेला खै कुन पत्रिकाले हो मेरो अभिनयको प्रशंसा गरेर सम्पादकीय नै लेखेको थियो ।’ 

‘आमा’मा अभिनय गर्नुअघि उनलाई ‘माइतीघर’मा पनि अफर आएको थियो । भुवन सम्झिन्छिन्, ‘मलाई बिएस थापाले बोलाउनुभएको थियो । म बच्चाको रूपमा स्टेज कलाकार थिएँ ।’ उनलाई बिएस.थापाले भने, ‘भुवन मैले फिल्म बनाउन लागेको छु, माला सिन्हाको छोरीको रोलमा खेल्छौ ?’ माला सिन्हा ! उनैको फिल्म हेरेर आएकी । उनले हुन्छ भनेकी थिइन् । 

बिएस थापालाई उनले आफ्नो कपाल बाटेको, कोट लगाएको  ब्ल्याक एन्ड ह्वाइट फोटो दिइन् । थापाले बम्बईमा भएकी मालालाई पठाइदिए । फिल्म खेल्ने कुरा पक्का पनि भयो । तर, त्यसको तीन÷चार वर्षसम्म पनि फिल्म बनेन । बरु उनले ‘आमा’ खेलिसकेर पनि ‘हिजो आज र भोलि’ (२०२४) खेलिसकेकी थिइन् । त्यसपछि सुटिङ हुने भयो । उनले नखेल्ने जानकारी दिएपछि सिपी लोहनीले खेलिन् । 

बीचमा अन्य फिल्ममा फाट्टफुट्ट चरित्र पात्रको रूपमा देखा परिन् । अहिले भने उनी ‘साइनो’ फिल्म बनाएर फिल्म निर्माणमै होमिएकी छिन् । कुराकानीको अन्तिममा भनिन्, ‘मलाई थाहा थिएन कि म नेपाली फिल्मको पहिलो नायिका हुँ, पछि किताबमा लेखिएपछि मात्र थाहा पाएको हुँ ।’ 
 

प्रतिकृया दिनुहोस