मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ६ मंगलबार
  • Thursday, 19 December, 2024
विदुर कटुवाल उदयपुर
२o७९ बैशाख ६ मंगलबार ११:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा साढे ६ हजार हेक्टर वन क्षेत्रमा डढेलो, जंगलछेउका बस्ती जोखिममा

Read Time : > 1 मिनेट
विदुर कटुवाल उदयपुर
नयाँ पत्रिका उदयपुर
२o७९ बैशाख ६ मंगलबार ११:३९:oo

गर्मी र हावाहुरी चल्ने मौसम सुरु भएसँगै उदयपुरमा चुरे तथा महाभारत वन क्षेत्रमा डढेलो लाग्न सुरु भएको छ। जिल्लाका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रमा डढेलो लाग्न सुरु भएको हो।

जिल्लाको बेलका, चौदण्डीगढी, त्रियुगा नगरपालिका क्षेत्रमा डढेलोबाट करिब पाँच हजार हेक्टर वन क्षेत्र जलेको डिभिजन वन कार्यालय उदयपुरका सूचना अधिकारी जागेश्वर साहले बताए। ‘गत वर्षहरूमा भन्दा यस वर्ष कम डढेलाे लागेको छ,’ उनले भने, ‘हालसम्म विभिन्न सामुदायिक वनबाट संकलन गरिएको तथ्यंकअनुसार डिभिजन वन कार्यालयअन्तर्गत पाँच हजार हेक्टरमा डढेलो लागेको छ।’

यसैगरी डिभिजन वन कार्यालय त्रिवेणी कटारीअन्तर्गत रहेका वन क्षेत्रमा पनि डढेलाे लाग्न सुरु भएको छ। कार्यालयका प्रमुख डिभिजन वन अधिकृत विष्णुलाल घिमिरले एक हजार सात सय हेक्टरजतिमा डढेलाे लाग्न सुरु भएको बताए। ‘सामुदायिक वनमा डढेलाे धेरै लाग्ने गरेको छ। आज पनि एउटा सामुदायिक वनमा लागेको डढेलाे उपभोक्ता र हामी मिलेर नियन्त्रणमा लिएका छौँ,’ उनले भने।

डिभिजन वन कार्यालय उदयपुर र डिभिजन वन कार्यालय त्रिवेणी कटारीको तथ्यंकअनुसार ६ हजार सात सय हेक्टर वन क्षेत्र डढेलाेले सखाप भइसकेको छ। अन्य वनहरूमा पनि डढेलाे लागिरहेको छ। डिभिजन वन अधिकृत घिमिरे भन्छन्, ‘केही दिनअघि परेको पानीका कारण धेरै डढेलाे नियन्त्रणमा आयो। अब पनि एकपटक पानी पर्दिए धेरै राम्रो हुने थियो।’

डढेलाेबाट बचाउन उपभोक्ता समूहमार्फत जनचेतना फैलाउने, अग्नि नियन्त्रण रेखा कोर्ने तथा नियमित अनुमगन गर्ने गरिरहेको वन कार्यालयहरूले जनाएका छन्। स्थानीय तहसँग समन्वय गर्दै डढेलाे लाग्न नदिन, लागे तत्काल नियन्त्रण गर्न वन कर्मचारी र उपक्ताहरूलाई परिचालन गर्ने गरिएको छ।

घाँस उमार्न डढेलो
नयाँ घाँस उर्मान धेरै वन क्षेत्रमा डढेलाे लगाउने गरिएको पाइएको डिभिजन वन कार्यालयका सूचना अधिकारी जागेश्वर साह बताउँछन्। ‘वनमा डढेलाे लगाउने मान्छे पत्ता लगाए पक्राउ गर्ने र कानुनअनुसार कारबाही गर्ने गरिएको छ,’ उनले भने।

कतै सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र ठेकेदारसमेतको मिलेमतोमा डढेलाे लगाउने गरेको स्थानीयहरूको आरोप छ। ‘वनमा डढेलाे लगाएपछि वनका रूख मर्ने भएकाले त्यसलाई बिक्री गर्न पाइन्छ,’ कटारी रिस्कुका गौरी रायाले भने, ‘ठेकेदार र वनका पदाधिकारी मिलेर ढडेलो लगाउँछन्। तर, डढेलाे लगाउनेको पहिचान गरी कारबाही गरेको अहिलेसम्म सुनिएको छैन।’ 

जंगलछेउका बस्ती जोेखिममा
चुरे जंगलभित्र रहेका बस्तीहरूमा आगलागीको खतरा बढेको छ। जिल्लाको त्रियुगा, कटारी, चौदण्डी नगरपालिका, उदयपुरगढी गाउँपालिकाका वन क्षेत्रमा रहेका बस्तीहरू जोखिममा परेका डिभिजन वन कार्यालय उदयपुरका सूचना अधिकारी साह बताउँछन्। उनी भन्छन्, ‘जंगलछेउमा वनकै जग्गा अतिक्रमण गरेर बसेका बस्ती धेरै छन्। वनमा डढेलाे लाग्दा ती बस्तीहरू जोखिममा परेका छन्।’

उदयपुरगढी गाउँपालिका– ६ सोलीढुंगाकी यकुमाया मगरले भनिन्, ‘वनका रूख काटेर बेच्ने वेलामा हानथाप गर्ने वन समूहका पदाधिकारीहरू डढेलाे नियन्त्रण गर्ने वेला वास्ता गर्दैनन्। घरवरिपरि भएका बस्तीमा डढेलाेको कारण आगलागीको डर छ।’