मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तनहुँको व्यास नगरपालिका– ४ स्थित भूपाल हार्डवेयरमा भएको आगलागी । आगो नियन्त्रणमा लिन काठमाडौंबाट ल्याइएको हेलिकोप्टर मादी खोलामा पानी भर्दै
२०७८ फाल्गुण २३ सोमबार ०६:५४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हार्डवेयरमा आगलागी हुँदा ११ घर जलेर नष्ट, पाँच घन्टापछि आगो नियन्त्रणमा

दमौली बजारमा लागेको आगो निभाउन हेलिकोप्टर प्रयोग

Read Time : > 2 मिनेट
२०७८ फाल्गुण २३ सोमबार ०६:५४:००

प्रहरी भन्छ– सानो बजार र साँघुरो ठाउँ भएकाले तत्कालै उद्धार गर्न सकिएन, क्षतिको विवरण संकलन गरिँदै

तनहुँको व्यास नगरपालिका– ४ स्थित भूपाल हार्डवेयरमा आगलागी हुँदा ११ वटा घर जलेर नष्ट भएको छ । नौवटा पक्की घर र दुईवटा टिनको टहरामा आगोले क्षति पुर्‍याएको हो । आगोले हार्डवेयर पसलमा भएका अधिकांश सामग्री जलेर नष्ट भएको छ । आगोले भूपाल आलेको हार्डवेयर, ज्योतिकुमार श्रेष्ठ, बलराम राना, कृष्णबहादुर थापा, होमबहादुर गुरुङ, राममाया गुरुङ, लालबहादुर गुरुङ, लीलबहादुर बिक, नवीन गुरुङ, दीपककुमार श्रेष्ठ र वीरदेव धमेलको घर नष्ट भएको छ । 

अकस्मात् विद्युत् सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए । आइतबार बिहान अकस्मात् विद्युत् सर्ट हुन पुग्दा आगलागी भएको हो । ‘हार्डवेयरमा लागेको आगो बिस्तारै अन्य घरमा पनि फैलिँदै गयो । तत्काल आगो नियन्त्रणका लागि दमकलको प्रयोग गरिए पनि नियन्त्रण नहुँदा समस्या भएको हो,’ उनले भने । बिहानैदेखि लागेको आगो निभाउन नेपाली सेना, प्रहरी तथा स्थानीय खटिएका थिए । तर, नियन्त्रणमा आउन भने समय लागेको थियो । सानो बजार र साँघुरो ठाउँ भएकाले पनि तत्कालै उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि व्यास नगरपालिका र आसपासका जिल्लाबाट दमकल मगाएर प्रयोग गरिएको थियो । पोखरा, चितवन र लमजुङबाट गरी ६ वटा दमकल झिकाइएको प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए । ‘दमकलबाट पनि आगो नियन्त्रणमा आएन,’ उनले भने । आगो नियन्त्रणमा लिन तीनवटा डोजर पनि प्रयोग गरिएको थियो । पानी हाल्न समस्या भएपछि डोजर ल्याएर टहरा भत्काई आगो निभाउने प्रयास भएको हो । नगरपालिकाले आगो निभाउन आफूसँग भएको स्रोत र साधन प्रयोग गरेको थियो । दमकल, खानेपानीका ट्यांकर, डोजरलगायतका सहयोगी साधन प्रयोग गरेको थियो ।

 दमकलले पनि आगो ननिभेपछि  हेलिकोप्टर मगाइयो
दमकलले पनि आगो नियन्त्रणमा नआएपछि हेलिकोप्टर परिचालन गरिएको थियो । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विकले आगो नियन्त्रणका लागि हेलिकोप्टर झिकाइएको बताए । ‘विपत्मा परेकालाई राज्यले सहयोग गर्नुपर्छ, । दमौलीमा आगलागी भएर कैयौँ घरमा क्षति भएको थाहा पाएँ । त्यसपछि तत्कालै पोखराबाट दमकल परिचालन गरियो, तर दमकलबाट पनि आगो नियन्त्रणमा आउँदैन भन्ने थाहा पाएपछि काठमाडौंबाट हेलिकोप्टर मगाइएको हो,’ उनले भने, ‘गृहमन्त्रीसँग कुरा भएपछि आगो निभाउन हेलिकोप्टर तनहुँ आएको हो ।’ 

मादीनदीबाट हेलिकोप्टरले पानी लगेर आगो निभाएको थियो । एउटा घरबाट सल्केको आगो अन्य घरमा समेत लागेर फैलिएको थियो । आगलागीबाट भएको क्षतिको विवरण भने आइनसकेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए । ‘क्षतिको विवरण अहिलेसम्म आएको छैन । एक–दुई दिन लाग्न सक्छ,’ उनले भने ।

 पृथ्वी राजमार्ग दुई घन्टा अवरुद्ध 
राजमार्गनजिकैको घरमा आगो सल्केपछि पृथ्वी राजमार्गसमेत अवरुद्ध भएको थियो । एकपछि अर्को घरमा आगो फैलिँदै गएपछि राजमार्गमा गुड्ने सवारीलाई समेत खतरा हुने ठानेर केहीबेर राजमार्ग बन्द भएको हो । राजमार्ग बन्द हुँदा छोटो तथा लामो दूरीमा जाने यात्रुहरू घन्टौँ जाममा परेका थिए । ट्राफिक व्यवस्थापन प्रभावकारी नहुँदा बजारमा भिड बढेको थियो, जसले गर्दा आगलागी नियन्त्रणमा समेत समस्या भयो । प्रहरीले पृथ्वी राजमार्गका विभिन्न ठाउँमा सवारीसाधन रोक्न लगाए पनि बजार क्षेत्रमा भने व्यवस्थापन फितलो भएको थियो । बजारमै सवारीसाधन रोकिँदा यात्रुहरू आगलागी भएको ठाउँमा हेर्न जम्मा भएका थिए । जसकारण दमकललाई काम गर्न समस्या भएको प्रहरीको भनाइ छ ।

प्रज्ज्वलनशील वस्तु आवास क्षेत्रभन्दा बाहिर राख्ने मापदण्ड बनाउँछौँ : नगरप्रमुख न्यौपाने
प्रज्वलनशील वस्तुहरू आवास क्षेत्रभन्दा बाहिर राख्ने मापदण्ड बनाउने व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनका अनुसार विद्युत्का तार पनि व्यवस्थित तरिकाले राखिएको छैन । ‘असावधानीपूर्वक आज जुन घटना भयो, त्यो दुःखद छ । अब एउटा पाठ सिकिएको छ । प्रज्वलनशील वस्तुहरू जति पनि छन्, तिनलाई आवास क्षेत्रभन्दा बाहिर राख्ने गरी नगरपालिकाले मापदण्ड बनाउँछ,’ बजार साँघुरो भएकाले पनि दमकल छिर्न नसक्दा धेरै घरमा क्षति पुगेको हो । मानवीय क्षति नभए पनि खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायतका वस्तुहरू जलेर नष्ट भएका छन् ।