
एमालेकी संघीय सांसद विद्या भट्टराईले आफ्ना दिवंगत पति एवं तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई निर्दोष वा दोषी प्रमाणित गर्न आग्रह गरेकी छिन् । स्व. अधिकारीको तेस्रो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो आग्रह गरेकी हुन् ।
नेपालमा निराधार आरोप लगाउने र यत्तिकै छोडेर त्यसैमाथि राजनीति गर्ने डरलाग्दो प्रवृत्ति रहेकाले त्यसको अन्त्य गर्नुपर्नेमा उनले जोड दिइन् । उनले यदि, स्व. अधिकारी दोषी भए त्यसलाई प्रमाणित गर्नसमेत चुनौती दिएकी छिन् । स्व. अधिकारी दोषी देखिए त्यसका साझेदार कोको हुन् भन्ने पनि आउनुपर्नेमा उनले जोड दिइन् ।
आफू स्व. अधिकारीको परिवारको नाताले दोषी प्रमाणित भए कानुनबमोजिमको कारबाही भोग्न तयार भएको पनि उनले बताइन् । ‘स्व. अधिकारी मन्त्री हुँदा उहाँलाई निराधार आरोप लगाइएको छ । उहाँ निर्दोष हो भन्ने प्रमाणित नगर्दासम्म हामीमाथि पनि विभिन्न ढंगले प्रश्न उठ्ने गरेका छन् । म भन्छु उहाँ निर्दोष हुनुहुन्छ । यदि, उहाँ दोषी नै हुनुहुन्छ भने पनि दोषी प्रमाणित गर्ने आधार आरोप लगाउनेहरूले दिनुपर्छ । दोषी प्रमाणित भए परिवारको हिसाबले त्यसको सजाय भोग्न हामी तयार छाैँ ।’ उनले भनिन्, ‘होइन भने निर्दोष मानिसलाई यत्तिकै दोषी करार गर्ने, त्यसलाई प्रमाणित गर्न नपर्ने अनि त्यसलाई देखाएर राजनीति गर्ने डरलाग्दो प्रवृत्तिको अन्त्य गरिनुपर्छ ।’
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका स्व. रवीन्द्र अधिकारीले वाइडबढी विमान खरिदमा अनियमितता गरेको आरोप लागेको छ । नेतृ भट्टराईले स्व. अधिकारी राजनीतिज्ञ मात्र नभई एक सकारात्मक उर्जाको स्रोत र विकासका अभियन्ता रहेकोे स्मरण गरिन् ।
रवीन्द्र स्मृति प्रतिष्ठानको अध्यक्षसमेत रहेकी भट्टराईले प्रतिष्ठानले युवा राजनीतिज्ञलाई प्रशिक्षण दिने र राजनीतिलाई आर्थिक विकाससँग कसरी जोड्न सकिन्छ भनेर मोडेल प्रस्तुत गर्ने धारणा राखिन् ।
तीन दिनसम्म विभिन्न कार्यक्रम
स्व. रवीन्द्र अधिकारीको तेस्रो स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइने भएको छ । शनिबार पोखरामा पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम गरेको छ । आइतबार स्मृति दिवसकै दिन बिहान स्मृति पार्कमा माल्यार्पण तथा श्रद्धाञ्जली सभा, दिउँसो पोखरा उद्योग वाणिज्य संघमा समृद्धि र रवीन्द्र अधिकारी विषयक अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ । सोमबार पृथ्वीनारायण क्याम्पसमा रवीन्द्र अधिकारी र विद्यार्थी शीर्षकमा अन्तर्क्रिया कार्यक्रम राखिएको प्रतिष्ठानका महासचिव धनराज आचार्यले जानकारी दिए ।
ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि पुगेका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकाेप्टर दुर्घटनामा परी १५ फागुन २०७५ मा निधन भएको थियो ।