१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण १० मंगलबार २१:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

युक्रेनमा नेपाली सुरक्षित छन् : नेपाली राजदूत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण १० मंगलबार २१:५५:००

हाल तनावग्रस्त रहेको युक्रेनका लागि नेपाली गैरआवासीय राजदूत रामकाजी खड्काले  युक्रेनमा नेपालीहरू सुरक्षित रहेको र तत्कालै उद्धार गर्नुपर्ने अवस्था नभएको बताएका छन् । युक्रेनको समेत जिम्मेवारी पाएका जर्मनीका लागि आवासीय नेपाली राजदूत खड्काले तनावपूर्ण रहेका क्षेत्रमा नेपाली नागरिक नभएको र अन्य क्षेत्रमा जनजीवन सामान्य भएको बताएका छन् । 

‘पूर्वी युक्रेनमा नेपालीहरू छैनन् भन्ने सूचना आएको छ । त्यहाँबाट कम्तीमा पनि २७० किलोमिटर वर रहेका खार्कोभ, ओडेसोलगायतका क्षेत्रमा केही नेपालीहरू छन्, त्यहाँको अवस्था शान्तिपूर्ण छ,’ राजदूत खड्काले बर्लिनबाट मंगलबार टेलिफोनमा नयाँ पत्रिकासँग भने । राजदूत खड्काले गैरआवासीय नेपाली संघमार्फत नेपालीहरूसँग सम्पर्क भइरहेको जानकारी दिए । 

युक्रेनमा ३८ जना नेपालीहरू लामो समयदेखि बसोबास गर्दै आएका छन् । उनीहरूमध्ये अधिकांशले युक्रेनकै नागरिकता लिएका छन् भने केही नागरिक बन्ने प्रक्रियामा रहेको जानकारी पाएको पनि खड्काले बताए । उनका अनुसार अर्को मुलुकमा जाने सिलसिलामा पुगेका र अध्ययन तथा रोजगारीका सिलसिलामा पुगेका नेपालीहरूको संख्या १५० भन्दा कम छ । ‘एक सयदेखि डेढ सयको बीचमा नेपालीहरू छन् भन्ने आएको छ, हामी यकिन गर्दै छौँ,’ राजदूत खड्काले भने । 

भारतलगायतका मुलुकले ट्राभल एड्भाइजरी जारी गरेर नागरिकलाई स्वदेश फर्किन वा सुरक्षित भएर बस्न आग्रह गरे पनि नेपालले अहिलेसम्म ट्राभल एड्भाइजरी जारी गरेको छैन । परराष्ट्र स्रोतले केही दिनभित्रै ट्राभल एड्भाइजरी जारी गरेर नेपालीहरूलाई सम्पर्कमा आउन अनुरोधसहितको अपिल सार्वजनिक गर्ने जनाएको छ । 

रुसी बाहुल्य पूर्वी युक्रेनका  डोनेट्स्क र लुह्यान्स क्षेत्रलाई रुसले अलग देशको मान्यता दिँदै त्यस क्षेत्रमा सेना परिचालन गर्न आदेश दिएपछि त्यस क्षेत्रमा रुस र युक्रेनबीच तनाव बढेको छ । ‘हामी परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ । परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको छ,’ राजदूत खड्काले भने ।