समाचारको मृत्यु

२०७५ फाल्गुण २५ शनिबार १०:२४:०० | काठमाडौं

पत्रकारिता लोपोन्मुख पेसाको सूचीमा चढेको छ । पत्रकारिता गर्नुभन्दा पत्रकारिता पढाउनु बढी लाभदायक देखिन्छ । अझै पनि विश्वभर हरेक दिन उत्कृष्ट र गुणस्तरीय पत्रकारिताको खोजी गरिन्छ । तर, समाचार उद्योग लगातार खुम्चिरहेको छ । यस्तो किन भयो त ? 

एकपटक पत्रकारिता र समाचारलाई छुट्याएर हेरौँ । पत्रकारिताको थुप्रै उत्पादनमध्ये एक हो समाचार । समाचार निश्चित मानकमा आधारित रहेर आविष्कार गरिएको गैरआख्यानात्मक साहित्यको एउटा रूप थियो । २ सय वर्षभन्दा पहिले अत्यन्त खास सामाजिक र सांस्कृतिक अवस्थामा समाचार जन्मेको थियो । त्यसवेलाको नयाँ प्रविधि टेलिग्राफले यसलाई फैलायो । १८३० को दशकमा विद्युतीय टेलिग्राफको आविष्कारले सूचनाहरूलाई छोटो सन्देशका रूपमा अत्यन्त चाँडो गन्तव्यसम्म पुर्‍याउन सम्भव बनायो । 

टेलिग्राफले चुनाव, युद्ध, विपत्ति, अपराध, विवाह र मृत्युको खबर मानिसको भान्सासम्म ल्याइपु¥यायो । मानिसहरूले यसैमार्फत् १८६५ मा अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको हत्या भएको खबर थाहा पाए । तात्तातो खबर आउन थालेपछि स्थानीयतामा रमाउने मध्यमवर्गको दृष्टिकोण विश्वव्यापी बन्न पुग्यो । संसारलाई हेर्ने उनीहरूको सामान्य दृष्टिकोण विशिष्टीकृत हुँदै गयो । कथ्यमा केन्द्रित उनीहरू तथ्यमा आधारित हुन थाले । दृष्टिकोण बदलिदियो । झन्–झन् विस्तार भइरहेको संसारमा मध्यमवर्गले आफ्नो स्थिति पहिल्याउने माध्यम बन्यो समाचार । यसले आफ्नै सांस्कृतिक पहिचानसमेत बनायो । समाचारप्रतिको यो भोक त्यसवेलाको सामाजिक–राजनीतिक वातावरणप्रतिको सांस्कृतिक प्रतिक्रिया थियो । 

आज लगभग ती सबै सांस्कृतिक अवस्था परिवर्तन भइसकेका छन् । त्यसैले हामीले दुई शताब्दीसम्म जेलाई ‘समाचार’ भनेको थियौँ, त्यसको सन्दर्भ नै परिवर्तन भइसकेको छ । यस्तो अवस्थामा समाचारले जसरी काम गर्नुपर्ने थियो, त्यो गरिरहेको छ त ? समाचारको भूमिका के हुनुपर्छ ? यसले कुन उद्देश्य पूरा गरिरहेको छ ? के समाचार अझै सान्दर्भिक छ ? 

हामी सबैलाई थाहा छ, आज समाचार उद्योग संकटमा छ । पिउ रिसर्च सेन्टरका अनुसार २०१६ मा शनिबार र आइतबारबाहेक अमेरिकाका प्रिन्ट र डिजिटल दैनिक पत्रिकाहरूको सर्कुलेसन ३ करोड ५० लाखमा झरेको छ । यो १९४५ यताकै सबैभन्दा कम हो । जबकि गत ७० वर्षमा जनसंख्या भने तीन गुणा बढेको छ । यस वर्षको सुरुवातमै डिजिटल पत्रकारितामा नाम कमाएका र तीव्र विकास गरेका बजफिड तथा हफिङ्टन पोस्टले एक हजारभन्दा बढी रोजगारी कटौती गरे । एक दशकभन्दा लामो समयदेखि समाचार व्यवसाय व्यापारको मोडेललाई लिएर संघर्ष गरिरहेको छ । इन्टरनेट प्रविधिले गुगल र फेसबुकजस्ता नयाँ खेलाडीलाई शक्तिशाली बनाएको छ । तिनले वितरण र विज्ञापनबाट हुने आयमाथि नियन्त्रण गरेका छन् । 

एकातिर, डोनाल्ड ट्रम्पबाट प्रेरणा लिएर म्यानमारदेखि लिबियासम्म र सिरियादेखि स्पेनसम्मका राजनीतिकर्मीले पत्रकारमाथि खुलमखुला आक्रमण गरेका छन् । तिनलाई ‘झुटा’ र ‘पक्षपाती’ भन्दै तथ्य बंग्याएको आरोप लगाएका छन् । अर्कोतर्फ, आममानिसले पनि पत्रकार सत्ताप्रति बढी नै नरम र धनाढ्य वर्गसँग नजिक देख्छन् । त्यसैले तिनले स्वार्थको टकरावको कुरा गर्दा आममानिसले पत्याउँदैनन् । 

हालै केही गम्भीर समाचार संस्थानको सब्स्क्रिप्सन आय बढेको साँचो हो । न्युयोर्क टाइम्सले आफ्ना सब्स्क्राइबर बढेर ३५ लाख पुगेको दाबी गरेको छ । पाठकबाट सहयोग उठाउने शैलीका कारण गार्जियनले विश्वभरका १० लाखभन्दा बढी पाठकबाट सहयोग पाएको छ । 

सब्स्क्रिप्सन नियमित आम्दानीको स्रोत हो । तर, सब्स्क्राइब गर्नेजतिले पढ्छन् नै भन्ने छैन । समाचारको शीर्षकबाहेक कतिले पूरै स्टोरी पढ्छन् ? कतिले आफ्नो सब्स्क्रिप्सन नवीकरण गर्छन् ? अमेरिकामा त समाचारप्रतिको यो लगाव अस्थायी देखिन्छ । के मानिसहरू ट्रम्पविरोधी प्रतिरोधको मूल्य मानेर सब्स्क्रिप्सनको पैसा तिरिरहेका छन् ? 

ट्रम्पको ‘अमेरिका पहिले’ नारा र विश्वव्यापीकरणको ओरालो यात्रा सँगसँगै सुरु भयो । विश्वव्यापी संस्थाहरू कमजोर बन्दै जाँदा भूराजनीतिक महत्वाकांक्षा, सिमानामा बन्देज बढ्दै गयो र राष्ट्रवाद प्रबल बन्दै गयो । 

दुई सय वर्षअघि सुरु भएको समाचार उद्योगले संसारलाई तथ्यको खुट्टा टेकाएको थियो । विश्वास, स्थानीयता र मनोरञ्जन हाबी भएको यो वेला पत्रकारिता र लोकतन्त्र दुवै खतरामा परेका छन् । 

समाचार उपभोगको वस्तु हो । यो एउटा सांस्कृतिक आविष्कार पनि हो । दुवै अर्थमा समाचार विश्वव्यापीकरणविरोधी पछिल्लो लहरबाट प्रभावित भएको छ । अन्तर्राष्ट्रिय समाचारको प्रसारण, प्रकाशन घटेबाट यो पुष्टि हुन्छ । २०१० सम्ममा ३० वर्षको अवधिमा बेलायतका चार पत्रिकामा तथा अमेरिकामा अन्तर्राष्ट्रिय समाचारको संख्या घटेर झन्डै आधा भएको छ । राष्ट्रिय स्वार्थसँग सीधा जोडिएका युद्ध वा आतंकवादसँग सम्बन्धित विषयमा मात्र रिपोर्टिङ हुने प्रवृत्ति छ ।

‘बर्लिन पर्खाल ढलेको वर्ष (१९८९) अमेरिकामा एबिसी, सिबिएस र एनबिसी टेलिभिजनले संयुक्त रूपमा अन्तर्राष्ट्रिय समाचारका लागि ४ हजार ८२८ मिनेट खर्चेका थिए,’ अमेरिकन जर्नालिज्म रिभ्युले २०११ मा जनाएको थियो, ‘तर २००० सम्ममा यी तीन नेटवर्कले अन्तर्राष्ट्रिय समाचारमा मात्र २ हजार १२७ मिनेट खर्चिए ।’ शीतयुद्धपछि अन्तर्राष्ट्रिय समाचार प्रसारण कम भएको थियो । यो क्रम सेप्टेम्बर ११ को आक्रमण र आतंकवादविरुद्धको विश्वव्यापी युद्धपछि पनि जारी रह्यो

समाचारमा मात्र होइन, भूराजनीति र समाजमा विश्वव्यापी दृष्टिकोण छोडेर स्थानीयतातर्फ जाने प्रवृत्ति हाबी भइरहेको देखिन्छ । यो आफैँतर्फको यात्रा थुप्रै तरिकाले अभिव्यक्त भइरहेको छ । हामी सांस्कृतिक रूपमा बाहिरबाट भित्रतर्फ, विश्वबाट स्थानीयतातर्फ गइरहेका छौँ । 

सबैथोक स्थानीयतातर्फ गइरहे पनि स्थानीय राजनीति र पत्रपत्रिकाप्रतिको समर्थन भने बढेको देखिँदैन । बेलायत सरकारको एक प्रतिवेदनअनुसार आमनागरिकको लगानी नहुने हो भने आगामी दिनमा स्थानीय समाचार समाप्त हुनेछ । ‘मानिसले सधैं पढ्नलायक स्टोरी नै पढ्न चाहन्छन् भन्ने छैन,’ केयरनक्रसले भनेको छ । अमेरिकाका स्थानीय समाचारपत्र निरन्तर घट्दै छन् । स्थानीय निर्वाचनमा मानिसको चासो हराएको बताउँदै मार्गरेट सुलिभानले २०१७ मा वासिंटन पोस्टमा लेखेकी छन्– स्थानीय पत्रिका लोप हुने अवस्थामा छन् । समावेशी लोकतन्त्रमै मानिसको चासो घटेको उनको ठम्याइ छ।

‘स्थानीयता’को भोक समाचारमा किन देखिइरहेको छ त ? यसको आश्चर्यजनक उत्तर हो– साथीभाइ र परिवार । ‘फेक न्युज’ फैलाएको आरोप र राजनीतिक दबाबपछि फेसबुकले न्युजफिडमा साथी र परिवारको अपडेटलाई प्राथमिकता दिने निर्णय गरेको छ । फेसबुकले त्यसो गर्नु संसारभरका असंख्य दर्शकले सबैभन्दा महत्वपूर्ण समाचार केलाई मान्छन् भन्ने तथ्यको संकेत पनि हो । 

थुप्रै मानिसका लागि स्थानीय समाचार भनेको जन्म, मृत्यु, विवाह, बच्चाको जन्म र अन्य पारिवारिक घटनाको खबर हो । यिनै व्यक्तिको जीवनका क्षण अडियो–भिडियोमा देखाउने हुनाले इन्स्टाग्राम र स्न्यापच्याट लोकप्रिय भएका छन् । ‘स्थानीयता’प्रतिको यो चासो अर्को तरिकाले पनि अभिव्यक्त हुन्छ । त्यो हो, सेलिब्रेटीसम्बन्धी समाचार । सायद हामी सेलिब्रेटीलाई भेटघाट हुन छाडेका आफन्त ठान्ने गर्छौं ।  समाचार कहिल्यै पनि सूचना प्रेषण मात्र थिएन । जलवायु परिवर्तन वा भ्रष्ट नेताबारे समाचार पढ्दा हामी वास्तवमा के भएको थियो, त्यसबारे सचेत मात्र हुँदैनौँ, हामी आफैँ त्यो नाटकीयतामा फसेको महसुस गर्छौं । हामी पक्ष लिन्छौँ र आफ्नो पक्षले जितोस् भन्ने कामना गर्छौं । 

माइकल सुडसन र जोन फिस्कजस्ता विद्वान्ले पत्ता लगाएअनुसार समाचारको प्रकृति नाटकीय हुन्छ । यसको सुरुवात शान्त हुन्छ, बीचमा क्रमभंग हुन्छ र अन्त्यमा समाधानको सम्भावना हुन्छ । पत्रकारहरू चाहन्छन्, तिनका पाठकले आफ्ना जीवनसाथीसँग सोधून्, ‘तिमीले थाहा पायौ...?’ मानिसहरूको संवादको कारण बन्न चाहन्छन् पत्रकार । 

तर, पत्रकारिताको यो काम अहिले नाजुक अवस्थामा छ । खल्तीमा अटाउने उपकरणहरूका कारण सूचनाको उपभोग एकदमै व्यक्तिगत क्रिया बन्न पुगेको छ । थुप्रै मानिसका लागि बिहान उठेर पत्रिका पढ्ने वा बेलुका बसेर टेलिभिजनमा समाचार हेर्ने जमाना बितिसकेको छ । सिनेमा, टिभी र पछिल्लो समय नेटफ्लिक्स, हुलु र अमेजन हाबी हुन थालेका छन् । मानिसको नाटकीयताको माग तिनले पूरा गर्छन् । 

१८३० को दशकमा टेलिग्राफले रिपोर्टिङलाई देश र कालबाट मुक्त गरेको थियो । समाचार जहाँसुकैबाट उत्पादन गर्न सम्भव बनाएको थियो । ठिक त्यसैगरी इन्टरनेट र स्मार्टफोनले समाचारको वितरणलाई स्थान र समयको पाबन्दीबाट मुक्त गरेको छ । अहिले जोसुकैले जुनसुकै समय र लगभग जुनसुकै स्थानमा समाचार प्राप्त गर्न सक्छ । 

यसले समाचारलाई दुई भागमा विभाजन गरिदिएको छ । एकातिर नोटिफिकेसन छ । अर्थात्, न्युजमेकरबाट सोझै तपाईंको हातसम्म सूचना आइपुग्छ । प्रहरी, अग्निनियन्त्रक, नेता वा ठूला कम्पनीले गर्ने ट्विट सम्झिनुस् । तिनले समाचार संस्थाहरूलाई छलेर तपाईंसम्म सूचना पठाइरहेका छन् । अर्कोतिर छ, लामा, धेरैजनाको सहकार्य आवश्य पर्ने, विस्तृत र धेरै खर्च गरेर उत्पादन गरिएको रिपोर्टिङ । कतिपय अनुसन्धानात्मक रिपोर्ट तयार गर्न महिनौँ र वर्षौं पनि लाग्न सक्छ । यस्तो पत्रकारिता अत्यधिक खर्चिलो र गहन हुन्छ । पत्रकारितामा लामो समयदेखि छोटा समाचार हाबी छन् । 

यी दुईबाहेकका समाचार लेख्नु अव्यावहारिक बन्दै गएको छ । थुप्रै न्युजरुमले गत दशकमा आफ्नो समय र स्रोत अन्यत्रै प्रकाशित भइसकेका, अन्य न्युज साइटमा उपलब्ध ८ सय शब्दका रिपोर्टको नक्कल गर्नमा खर्चेका छन् । रणनीतिक र वित्तीय रूपमा यो कार्य अर्थहीन छ । केही प्रकाशकले मध्यम आकारका आलेखबाट पैसा कमाइरहेका छन् । तर, ती पनि समाचार होइनन्, विचार हुन् । मनोरञ्जन र प्रोपोगान्डाको जुम्ल्याहा शक्तिले समाचारको घाँटी दबाइरहेको छ । यदि समाचारको मृत्यु भयो भने पत्रकारिता र लोकतन्त्र कसरी बाँच्ला त ? 

तीनवटा माध्यमले समाचारलाई जीवित राख्ने मेरो आशा छ । अडियो, भिडियो र गैरआख्यानात्मक ‘साहित्य ।’रेडियो र खासगरी पडकास्ट मिश्रित माध्यम हुन् । यिनीहरू शब्दमा आधारित हुन्छन् । त्यसैले युक्तिसंगत तर्कलाई बल पुर्‍याउँछन् र गम्भीर संवादमा पनि भावको गहिराइलाई सम्प्रेषण गर्न सक्छन् । स्पटिफाइले हालै दुईवटा पडकस्ट कम्पनी किन्यो र थप किन्न ५० करोड डलर खर्चिने तयारी गरिरहेको छ । न्युयोर्क टाइम्सको ‘द डेली पडकास्ट’ले मासिक ६५ लाख स्रोता पाएको छ । त्यसैले नाटकीय संरचनामा सामग्री पस्किरहेको छ । गार्जियनले पनि पूर्वबिबिसी डकुमेन्ट्री निर्माताले बनाएको पडकास्ट ‘टुडे इन फोकस’ आरम्भ गरेको छ । गम्भीर, विस्तृत पडकास्ट र अडियोबुक लोकप्रिय बन्दै गएका छन् । 

भिडियो डकुमेन्ट्रीले पनि लोकप्रियता कमाइरहेको छ । पत्रकारिताको भविष्यका लागि गम्भीर अनुसन्धानात्मक रिपोर्टिङ, विचार र नाटकीय संरचनाको सम्मिलन आवश्यक देखिन्छ । वर्तमान प्रवृत्तिले त्यस्तै संकेत गर्छ । भिडियो स्ट्रिमिङ सर्भिसहरूले कति धेरै डकुमेन्ट्री किनिरहेका वा बनाउन लगाइरहेका छन्, त्यसलाई हेर्दा यो थाहा हुन्छ । विश्वभरमै गैरआख्यानात्मक साहित्य पनि फस्टाउँदै छ । अमेरिकामा मात्रै गैरआख्यानको कमाइ २०१३ यता खुब बढेको छ र आख्यानलाई उछिनेको छ । 

समाचारको समग्र अवस्था भने निराशाजनक छ । मानव सभ्यता नयाँ चरणमा प्रवेश गर्दै गरेको देखिन्छ । जसलाई हामी ‘उत्तरप्रबोधनकाल’ (पोस्ट इटलाइटमेन्ट) भन्न सक्छौँ । यो युगमा तर्कशक्ति र लिखित शब्दलाई संरचनागत रूपमै तस्बिर र भावुकताले विस्थापित गरेको छ । विश्वासले तथ्यलाई विस्थापित गरिरहेको छ भने लाइक बटनले बहसलाई । टेलिभिजनको पुनरागमन भइरहेको छ । टेलिभिजन हाम्रो जीवनको हरेक पक्षमा हाबी भएको छ र यसले हरेक कुरालाई मनोरञ्जनमा सीमित पारिदिएको छ । 

पत्रकारिता समाचार मात्र होइन । तर, जब लोकतन्त्रलाई मनोरञ्जनले हराइदिन्छ, तब पत्रकारिताले आफ्नो समग्र उद्देश्य नै गुमाउने खतरा हुन्छ । सञ्चार माध्यमबारेका अध्येता जेम्स डब्लु केरीको भनाइ सम्झिनु उपयुक्त हुन्छ –‘लोकतान्त्रिक संस्थाहरूविना पत्रकार या त प्रचारक या मनोरञ्जक बन्न पुग्छन् ।’ केरीको भनाइमा लोकतन्त्रलाई मात्र पत्रकारिता चाहिने होइन, पत्रकारितालाई पनि लोकतन्त्र आवश्यक छ । यदि यो सत्य हो भने यसवेला यी दुवै गम्भीर संकटमा छन् । हामी पत्रकारितालाई बचाएर मात्र लोकतन्त्रको रक्षा गर्न सक्छौँ । त्यस्तै, लोकतन्त्रलाई बचाएर मात्र पत्रकारिता जोगाउन सक्छौँ। 

द गार्जियनमा प्रकाशित आलेखको अनुवाद खगेन्द्र गिरीले गरेका हुन् । 

प्रतिकृया दिनुहोस