
कर्णाली स्पोर्टस् क्लबमा नियमित प्रशिक्षण लिने २५ जना छन् । उनीहरू बर्खाको झरी होस् या हिउँदको हिमपात, बाह्रै महिना प्रशिक्षणमा सहभागी हुन्छन् । यो क्लबका उत्पादनले जिल्ला, क्षेत्रीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा आफ्नो बलियो उपस्थिति पनि देखाउँदै आएका छन् ।
क्लब प्रशिक्षक एवं धावक हरिबहादुर रोकायाका अनुसार प्रशिक्षण लिन आउने कोही पनि सम्पन्न परिवारका छैनन् । उनी भन्छन्, ‘सबैजसो सामान्य परिवारका छन् । बाक्लो हिउँमा समेत फाटेका जुत्तामा प्रशिक्षण गराउनुपरेको छ । चाहेर पनि क्लबले सबै लजेस्टिक व्यवस्थापन गर्न सकेको छैन । क्लबको पनि आम्दानी छैन ।’ करिब १४ वर्षदेखि यो क्लबमा हरिबहादुर प्रशिक्षकका रूपमा कार्यरत छन् । उनकै प्रयत्नमा जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ गर्न आउने प्रशिक्षार्थी बढिरहेका छन् । जिल्लाभित्रबाट मात्रै होइन, भारत र नेपालका विभिन्न जिल्लाबाट समेत आउने गरेको उनले बताए । खेलाडीको खुराक र मौसमअनुसारका लत्ताकपडा अभावमा समेत उनीहरूले निरन्तर अभ्यास गरिरहेको म्याराथन धावक तथा एथ्लेटिक्स प्रशिक्षक रोकायाले बताए ।
राममाया बुढा, धाविका
अन्य ठाउँका खेलाडीले जस्तै सुविधा पाए अझ राम्रो गर्न सक्थ्यौँ । हिउँ परेको समयमा लगाउने राम्रोे जुत्ता हुँदैन । घरभन्दा टाढा आएर तालिम लिनुपर्ने भएकाले खान र बस्नसमेत समस्या छ ।
प्रशिक्षणमा आबद्ध धाविका राममाया बुढा अन्य ठाउँका खेलाडीले जस्तै सुविधा पाए अझ राम्रो गर्न सक्ने बताउँछिन् । उनी भन्छिन्, ‘हिउँ परेको समयमा लगाउने राम्रोे जुत्ता हुँदैन । घरभन्दा टाढा आएर तालिम लिनुपर्ने भएकाले खान र बस्नसमेत समस्या छ ।’ तालिम गर्ने यस्ता ठाउँमा खेलाडीलाई आवश्यक वास र खानाको व्यवस्था सरकारले गरिदिए सजिलो हुने उनको भनाइ छ । कठ्यांग्रिँदो जाडोमा समेत खेलाडीहरू सामान्य अवस्थामा लगाउने जुत्ता लगाएर दौडिने गरेको प्रशिक्षक रोकाया बताउँछन् ।
उनले जुम्लाका उच्च क्षेत्र चिमारामालिका, चेरेलेक, डाँफेलेकमा लगेर अभ्यास गराउने गर्छन् । अन्य ठाउँको भन्दा यहाँको हावापानी खेलाडीका लागि उपयुक्त रहेको उनको भनाइ छ । उनले भने, ‘यहाँ अभ्यास गरेका खेलाडीले स्वदेश तथा विदेशमा सहजै प्रतिस्पर्धा गर्न सक्छन् ।’
यहाँ प्रशिक्षण लिएका खेलाडीले थाइल्यान्ड, सिंगापुर, भारत र हङकङलगायतका देशमा गएर उपाधि हात पारेका छन् । देशको शिर उँचो बनाउन खेलाडीले भरमग्दुर प्रयास गरे पनि उनीहरूका लागि राम्रो खाना, बस्ने ठाउँको व्यवस्था नहुँदा दुःख लागेको कर्णाली स्पोर्टस् क्लबका अध्यक्ष सरोज शाहीले बताए ।
जोखिमपूर्ण प्रशिक्षण, तर बिमा छैन
हाई अल्टिच्युड ट्रेनिङ निकै जोखिमपूर्ण हुन्छ । तर, यहाँका प्रशिक्षार्थीहरूको जीवन बिमासमेत नभएको प्रशिक्षक रोकाया बताउँछन् । ‘जुम्लाजस्तो हिमाली जिल्लामा हिउँ, पानी र अग्ला डाँडामा अभ्यास गर्नुपर्छ, कति वेला के हुन्छ, थाहा हुँदैन । जीवन बिमा अनिवार्य हुनुपर्ने हो, तर छैन । हामीले गरिदिन पनि सक्दैनौँ,’ उनले दुखेसो गरे ।
क्लबका अधिकांश उत्पादन कीर्तिमानी
एथ्लेटिक्सकी प्रतिभावान् धाविका विश्वरूपा बुढाले छैटौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् । जुम्लाकै धाविका सुनमाया बुढाले सन् २०१८ मा सोलुखुम्बुको कालापत्थरदेखि स्याङ्बोचे म्याराथनमा प्रथम, सन् २०१८ मा चाइना रेसमा प्रथम, सन् २०१६ मा ५० किलोमिटर रेसमा प्रथम, सन् २०१७ मा वल्र्ड च्याम्पियन्स, थाइल्यान्डमा सम्पन्न ११० किलोमिटर दूरीको दौडसमेत जितिन् ।
यस्तै, हङकङमा ५० किलोमिटर लामो ‘एमएसआइजी ट्रेल रनिङ प्रतियोगिता’मा पनि सुनमायाले पदक जितिन् । उनले १०–११ वटा प्रतियोगितामा कीर्तिमान कायम गरेकी छन् । यस्तै, धाविका पूर्णलक्ष्मी न्यौपानेले पनि धेरै प्रतियोगितामा उपाधि उचालिसकेकी छन् । जुम्लाकै सीता न्यौपानेले पनि जिल्ला, क्षेत्रीय र राष्ट्रिय स्तरका प्रतियोगिता जित्न सफल भइसकेकी छन् । राममाया बुढा, मञ्जु रावत, गोविन्दप्रसाद अधिकारी, प्रकाश कठायत, अमृता भण्डारीसहित उत्कृष्ट खेलाडीले दर्जनौँ प्रतियोगितामा कीर्तिमान कायम गरिसकेको प्रशिक्षक रोकायाले बताए ।
दुर्ग बुढा पनि कर्णाली स्पोर्टस् क्लबले उत्पादन गरेका खेलाडी हुन् । उनी अहिले इन्डियन आर्मी क्लबमा आबद्ध छन् । अन्तर्राष्ट्रिय धाविका विश्वरूपा बुढा पनि क्लबकै उत्पादन हुन् । उनी त्रिभुवन आर्मी क्लबमा छिन् । रोजिना भण्डारी, पूर्णलक्ष्मी न्यौपाने, विष्णु बुढा, राजन रोकाया सबै कर्णाली स्पोर्टस् क्लबले नै उत्पादन गरेका खेलाडी हुन् । उनीहरू अहिले नेपाली सेनामा जागिर खाएर त्रिभुवन आर्मी क्लबमा आबद्ध छन् । गोविन्द्रप्रसाद भण्डारी र लोकबहादुर भण्डारी पनि कर्णाली स्पोर्टस् क्लबले उत्पादन गरेका खेलाडी हुन् । उनीहरू गेम स्काउटमा आबद्ध छन् ।