१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १ बिहीबार १७:११:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डपथको कार्यदिशालाई छोड्नु गम्भीर गल्ती : जनार्दन शर्मा (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १ बिहीबार १७:११:००

अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीले प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा शर्माले पार्टीले तत्कालीन अवस्थामा लिएको प्रचण्डपथ र २१औँ शताब्दीको जनवादलाई छोड्नु गम्भीर गल्ती भएको बताएका हुन्।

प्रचण्डपथभित्र सबै वर्ग, जाति, लिंग र समुदायको भावनाको संश्लेषण रहनुका साथै सामाजिक अन्तरविरोधहरूलाई समाधान गर्ने वैचारिक संश्लेषण रहेको उनको भनाइ छ। प्रचण्डपथ केही पनि होइन जस्तो गर्दा अहिलेको अवस्थामा पार्टीमा निराशा पैदा भएको उनले बताए। अर्थमन्त्री शर्माले माओवादीले आफ्नो नेतृत्वमा भएको परिवर्तनको स्वामित्व लिन नसकेको उल्लेख गर्दै विद्रोह वा चुनावको सम्बन्धमा पनि दोधारे कुरा गरेका कारण पार्टी वैचारिक रूपमा अस्पष्ट भएको उनले टिप्पणी गरे।

‘हामीसँग भएको विचार, हामीले प्रचण्डपथ, २१औँ शताब्दीको जनवादको जो संश्लेषण गरेका थियौँ, त्यसको सही सदुपयोग र कार्यान्वयन गर्ने कुरामा, नयाँ सन्दर्भमा त्यसलाई विकसित गरेर जानुपर्ने आवश्यकतालाई छाडेर हामीले त्यसलाई हापिदियौँ। मानौँ, त्यो केही पनि थिएन। त्योभित्र बलिदानीको संश्लेषण, सबै वर्ग, जाति, लिंग, समुदायको भावनाको संश्लेषण, हजारौँ घाइते योद्धाहरूको त्याग र वीरताको संश्लेषण, सामाजिक अन्तरविरोधहरूलाई समाधान गर्ने वैचारिक संश्लेषणलाई केही पनि होइन जस्तो गरेर फ्याँकी दियौँ। पार्टी केन्द्रीय समितिले गम्भीर गल्ती गर्यो। त्यसलाई नयाँ संश्लेषण गरेर जानुको सट्टा फ्याँक्नुको कारण आज निराशा पैदा भएको हो। त्यसले विकेन्द्रीकरण गर्यो, पार्टीमा फुट, विभाजन भयो,’ शर्माले भने, ‘हाम्रो सकारात्मक पक्षहरूलाई हामीले छोड्यौँ र हाम्रा उपलब्धिप्रति गर्जिएर यो हामीले गरेको परिवर्तन भन्न सकेनौँ। सांस्कृतिक रूपमा कमजोर भयौँ। कार्यदिशा पनि स्पष्ट गर्न सकेनौँ। विद्रोह, चुनावलाई जोडेर यो, त्यो दोधारे कुरा गर्यौँ। आफैँ कन्फ्युजको अवस्था सिर्जना गर्यौँ।’