द्रुत गतिमा नयाँ भेरियन्ट पत्ता लगाएर उत्साह एवं साहससाथ त्यसबारे विश्वलाई तुरुन्तै जानकारी गराउने कामका कारण विकसित मुलुक दक्षिण अफ्रिकी वैज्ञानिक टोलीलाई ‘दण्ड’ दिइरहेका छन्
गत साता कोभिडको ओमिक्रोन भेरियन्ट पत्ता लगाउने दक्षिण अफ्रिकी वैज्ञानिक टोलीका अगुवा वैज्ञानिक टुलियो डी ओलिभिएरा निकै तनावमा थिए । उनीसँग नयाँ भेरियन्टका संक्रमित मामिला (पोजेटिभ) पत्ता लगाउन आवश्यक रिएजेन्ट तीव्र रूपमा कम हुँदै गइरहेको थियो । आफ्नो मुलुकमा नयाँ भेरियन्ट फैलिने डरले दक्षिण अफ्रिकी देशहरूमा लगाइएका धेरै पश्चिमी सरकारको यात्रा प्रतिबन्धका कारण डी ओलिभिएरालाई आवश्यक पर्ने उपकरण एवं रसायनको हाहाकार मच्चिँदै छ । वैज्ञानिकको यस टोलीले विश्वलाई महत्वपूर्ण जिनोमिक निगरानी तथ्यांक प्रदान गर्दै आइरहेको थियो, तर अहिले उनीहरूका हात बाँधिएका छन् । द्रुत गतिमा नयाँ भेरियन्ट पत्ता लगाएर उत्साह एवं साहससाथ त्यसबारे विश्वलाई तुरुन्तै जानकारी गराउने कामका कारण विकसित मुलुक यो वैज्ञानिक टोलीलाई दण्ड दिइरहेका छन् ।
अमेरिका, बेलायत, फ्रान्स, क्यानडा, नेदरल्यान्ड, बेल्जियम, नर्वे र अन्य ओमिक्रोन पहिचान गरिएका धनी राष्ट्रले एक–अर्कामाथि कुनै किसिमको यात्रा प्रतिबन्ध लगाएका छैनन् । उल्लिखित केही मुलुकमा देखिएको ओमिक्रोन संक्रमण अफ्रिकासँग सम्बन्धित पनि छैनन् । तर, अफ्रिकाले मात्र यात्रा प्रतिबन्धको सामना गरिरहेको छ । दक्षिण अफ्रिका सरकार, वैज्ञानिक एवं विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) जस्ता अन्तर्राष्ट्रिय संस्थाले भेदभावपूर्ण यात्रा प्रतिबन्ध नश्लभेदी, अवैज्ञानिक एवं प्रत्युत्पादक छ भन्ने बताउँदासमेत कुनै पनि उच्च आय भएका मुलुकले प्रतिबन्ध फुकुवा गरेका छैनन् ।
यति मात्रै होइन, दक्षिण अफ्रिकाका वैज्ञानिकलाई नै चकित बनाउने गरी क्यानडालगायत सरकारहरूले दक्षिण अफ्रिकाको कोभिड परीक्षणमा विश्वास नगर्ने बताएका छन् । विशेष छुटबाहेक क्यानडा सरकारले तेस्रो मुलुकबाट कोभिड–१९ मलिक्युलर टेस्ट गरेकाले मात्रै क्यानडा फर्किन पाउने उर्दी जारी गरेको छ । विडम्बना, दक्षिण अफ्रिकामा हुने मलिक्युलर वा पिसिआर टेस्ट संसारकै उत्कृष्टमध्ये एकमा मानिन्छ, जुन सम्भवतः क्यानडाभन्दा पनि गुणस्तरीय छ । दक्षिण अफ्रिकाले एचआइभीको उच्च खतराका कारण असाधारण पूर्वाधार विकास गरेको छ ।
कोभिड–१९ महामारीको सुरुमा अन्य मुलुकका तुलनामा दक्षिण अफ्रिका छिटो परीक्षण सुरु गर्न सक्षम भएको थियो । त्यसैगरी फ्रान्सले दक्षिण अफ्रिकी क्षेत्रका मुलुक हुँदै आउने फ्रान्स एवं युरोपियन युनियनका बासिन्दा, कूटनीतिज्ञ र चालक दलका सदस्यलाई मात्र फ्रान्स आउन दिने निर्णय गरेको छ । यसरी आउने व्यक्तिहरू संक्रमित होऊन् वा नहोऊन्, त्यसले यी यात्रुलाई कुनै रोक लगाउँदैन, अर्थात् फ्रान्स पस्न तपाईंलाई आवश्यक पासपोर्ट भए पुग्छ । गत साता बिबिसी वल्र्डले एक सीधा प्रसारण कार्यक्रममा ओमिक्रोनलाई ‘दक्षिण अफ्रिकी क्षेत्रका भेरियन्ट’ भनेको थियो भने जर्मन पत्रिका डी राइनफाल्जले ‘हामीमाझ अफ्रिकाबाट आएको भाइरस’ लेखेको थियो भने स्पेनिस प्रकाशन ट्रिबुना अल्बासेटाले २८ नोभेम्बरमा युरोपेली समुद्री तटतर्फ आइरहेको ओमिक्रोन नामक ‘दक्षिण अफ्रिकी’ डुंगामा कालो वर्णका मानिसलाई भाइरसका रूपमा देखाएको थियो ।
चाखलाग्दो विषय के छ भने नेचर जर्नलमा प्रकाशित दक्षिण अफ्रिकाको सिक्वेन्सिङ तथ्यांकअनुसार दक्षिण अफ्रिकामा ८० प्रतिशतभन्दा बढी सार्स–कोभ–२ को प्रारम्भिक संक्रमणका लागि युरोप जिम्मेवार थियो । तैपनि, युरोपमा हाम्रा तर्फबाट कुनै भेदभावजन्य यात्रा प्रतिबन्ध गरिएको थिएन । विडम्बना क्यानडा, फ्रान्सलगायत मुलुकले प्रचार गरिरहेको रंगभेदले नश्लीयकरण र प्रताडनाको खतरनाक अवस्था निम्त्याएको छ । लाञ्छना र भेदभावले कोभिड परीक्षण, खोप र उपलब्ध उपचारजस्ता रोकथामका विधिमा अवरोध पु¥याउँछ । कोभिडको मामिलामा यस्तो खतरा बढ्ने सम्भावना अधिक देखिन्छ । भेदभाव र प्रताडनाको जीवन्त उदाहरण हामीमाझ एचआइभी महामारीले देखाइसकेको छ । यौनकर्मी, लागुऔषध लिन सुई लगाउने व्यक्ति, समलिंगी पुरुष र पुरुषसँग यौनसम्पर्क गर्ने अन्य पुरुष, पारलैंगिक व्यक्ति र कैदीमाझ एचआइभी संक्रमण दर उच्च रहेको छ । यी व्यक्ति सबैभन्दा बढी प्रताडित र स्वास्थ्य सेवामा सबैभन्दा कम पहुँच भएका व्यक्ति हुन् ।
अफ्रिकाविरुद्ध पूर्वाग्रह पक्कै पनि ओमिक्रोन वा कोभिडबाट सुरु भएको थिएन । कोभिडले सयौँ वर्षदेखि उपनिवेश र उपनिवेशपश्चातको शक्ति सन्तुलन एवं भेदभावलाई छर्लंग पारिदिएको छ । सन् २००१ मा जब एचआइभीले अफ्रिकालाई तहसनहस गरिरहेको थियो र महाद्वीपका देशहरूसँग जीवन जोगाउने एन्टिरेट्रोभाइरल औषधि (एआरभी) किन्न सक्ने क्षमता थिएन । स्मरण रहोस्, एआरभी पश्चिमा मुलुकले दशकौँ अगाडिदेखि प्रयोग गर्दै आएका थिए । अफ्रिकी मुलुकलाई सहयोग किन नगरेको भन्ने सन्दर्भमा अमेरिकी सरकारको सहयोग निकायका तत्कालीन प्रमुखले ‘घडी हेर्न नजान्ने अफ्रिकीले’ एकै दिनमा दुईपटक लिनुपर्ने औषधीको महत्व बुझ्न सक्दैनन् भनेका थिए । पछि थुप्रै अध्ययनले अमेरिकाको तुलनामा अफ्रिकाका बिरामीले औषधीको महत्व बढी बुझेका छन् भन्ने देखाएको छ ।
उपचारमा ढिलो पहुँच र यात्रा प्रतिबन्धजस्ता दण्डात्मक उपायले असमानतालाई नै बल पु¥याउँछ र धनी मुलुकले नै महामारी अन्त्यका लागि भन्ने गरेको ‘सबैका लागि समान उपचार र खोप’को लक्ष्यविरुद्ध हुन जान्छ । असमानताले प्रगतिलाई रोक्छ र जबसम्म हामीले एकअर्कालाई समान अधिकार र मूल्य भएका मानिसका रूपमा हेर्दैनौँ, उत्तरी गोलाद्र्धले सचेत रूपमा आफ्नो व्यवहार परिवर्तन गर्दैन र दक्षिणी गोलाद्र्धले अधिकार दाबी गर्दैन, तबसम्म कोभिड वा अन्य महामारी नियन्त्रण गर्न सकिँदैन । नयाँ भेरियन्ट जुनसुकै क्षेत्रमा देखिए पनि यदि त्यसका लागि सो क्षेत्रलाई जिम्मेवार बनाइन्छ भने यसले कसैको भलो गर्नेछैन । भेकिसिसाबाट