मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
बाबुराम गोपाली
डिबी नेपाली ‘दमु’
Invalid date format o९:o२:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

हात्ती-मानव द्वन्द्व न्यूनीकरणका उपाय 

Read Time : > 5 मिनेट
बाबुराम गोपाली
डिबी नेपाली ‘दमु’
नयाँ पत्रिका
Invalid date format o९:o२:oo

हात्ती–मानव द्वन्द्वबाट बर्सेनि औसतमा तीनदेखि चार हात्ती र १० देखि १५ मानिसको मृत्यु हुने गरेको छ 


हात्ती स्थल प्राणीमा सबभन्दा ठूलो शरीर भएको जनावर हो । संसारमा विगतमा ११ प्रकारका हात्ती थिए । प्रोबोसिडियनअन्तर्गतका प्रजातिहरूमध्ये हाल एसियाली हात्ती र अफ्रिकी हात्ती मात्रै यो धर्तीमा जीवित छन् । एसियाली हात्ती एसियाका १३ देश– नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार, चीन, थाइल्यान्ड, मलेसिया, लाओस, कम्बोडिया, भियतनाम र इन्डोनेसियामा पाइन्छन् । संसारमा एसियाली हात्ती ४० हजारजति र अफ्रिकी जंगली हात्ती चार लाख १५ हजार आसपास रहेको आकलन छ ।

एउटा वयस्क हात्तीले दैनिक भोजनमा १५० केजीसम्म ताजा घाँसपात खान्छ । करिब दुई सय लिटर पानी पिउँछ । तसर्थ, हात्तीलाई प्रशस्त चरन क्षेत्र र पानीका स्रोतको आवश्यकता पर्छ । मानिसले हात्तीको वासस्थान अतिक्रमण गरेर बस्तीहरू बसालेकाले उनीहरूको आहारविहारमा गम्भीर समस्या भएको छ । चरन क्षेत्रको अभावमा हात्तीले कृषिबाली र मानव बस्तीमा पसेर नोक्सानी गर्ने गरेका छन् । बालीनाली जोगाउने प्रयास गर्दा नै मानिसहरू हात्तीबाट बढी मारिने गरेका छन् । वयस्क भाले हात्तीले पोथीको तुलनामा बढी नोक्सान गर्छ ।

यहीक्रममा मानिसले जंगली हात्तीमाथि आगो फाल्ने, छर्रावाला बन्दुकले घाइते बनाइदिने र मार्नेसम्म पनि गरेका छन् । खेतबारीमा विद्युतीय करेन्ट प्रयोग गर्दा करेन्ट लागेर पनि हात्ती मारिन्छन् । हात्ती अरू जनावरको तुलनामा बुद्धिमान् हुने भएकाले आफ्नो दुस्मन पहिचान गर्छ र बदला लिन खोज्छ । जुन घरको मानिसले सताउँछ, त्यसैको बालीनाली नोक्सान गर्ने, घरसमेत भत्काउने गरेको अनुसन्धानबाट देखिएको छ । 

पछिल्ला दशकमा हात्तीको जैविक मार्ग तथा वासस्थानमा लाखौँ मानिसको बस्ती बस्दा तीनको दैनिक जीवनमा अड्चन बढेको छ । वासस्थानको कमीले नै जंगली हात्ती गाउँबस्तीमा पसेर बालीनाली नोक्सान गर्ने, मानिस मार्नेसमेतका घटनाहरू हुने गरेको छ । मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न जंगल किनाराका बस्तीहरूमा हात्तीले नरुचाउने किसिमका बालीनाली लगाउनु उचित हुन्छ । वनभित्र नै हात्तीले रुचाउने बालीनाली (उखु, केरा, धान, कोदो आदि) को व्यवस्था गरिदिँदा पनि समस्या न्यूनीकरणमा सहयोग हुन सक्छ । मानव–वन्यजन्तु द्वन्द्वमा बाघको समस्या रौतहटदेखि पूर्वतर्फ उतिसारो छैन । गैँडाको समस्या पनि चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया निकुञ्ज र शुक्लाफाँटा निकुञ्जको वरपर मात्रै छ । तर, जंगली हात्तीको समस्या भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै छ । तसर्थ, सरकारले यसलाई राष्ट्रिय समस्या मानेर समाधानको अल्पकालीन तथा दीर्घकालीन समाधान खोज्नु श्रेयष्कर हुन्छ । 

नेपालमा जंगली हात्तीको स्थिति : एसियाली जंगली हात्तीमा विद्यावारिधि गरिरहेका अशोककुमार रामका अनुसार (२०२१) नेपालमा १६०–२२७ जंगली हात्ती छन् । नेपालमा आवासीय जंगली हात्तीहरू चारवटा जीवपरिवृत्तीय क्षेत्र (इकोलोजिकल जोन) र ६ प्रदेशको तराई भूभागमा वितरित छन् । प्रदेश १ र २ मा, झापा जिल्लादेखि सिराहा जिल्लासम्म (पूर्वी क्षेत्र) २७–३५ हात्ती रहेका छन् । तर, पश्चिम बंगालबाट बालीनाली खान बर्सेनि आगन्तुक एक सयजति जंगली हात्ती झापा जिल्लाको केही भागमा विचरण गर्छन् । ठूलो समस्या यिनै आगन्तुक हात्ती हुने गरेका छन् । प्रदेश २ र बागमतीमा धनुषादेखि चितवन र नवलपरासी जिल्लासम्म (मध्य क्षेत्र) ४५–५३ जति हात्ती छन् । लुम्बिनी प्रदेशको नवलपरासीदेखि दाङसम्म (पश्चिमी क्षेत्र) ८–१२ हात्ती रहेको अनुमान छ । बाँकेदेखि कञ्चनपुर जिल्लासम्म (सुदूर पश्चिम क्षेत्र) ८०–१२५ हात्ती रहेको आकलन छ । यो क्षेत्रमा भारतको उत्तर प्रदेश र उत्तराखण्डबाट बालीनाली खानलाई बर्सेनि ४५ जति जंगली हात्ती विचरण गर्न आउँछन् । 

हात्ती–मानव द्वन्द्वको अवस्था : माथि उल्लेखित ६ प्रदेशमा जंगली हात्तीहरू घुमफिर गर्छन् । नेपालका करिब १४० साबिकका गाउँ विकास समितिमा जंगली हात्तीको विचरण छ । साबिक पूर्वाञ्चलका ६ जिल्लाको साबिकका ३९ गाविसमा आंशिक र पूरै क्षेत्रमा जंगली हात्तीको प्रभाव पाइन्छ । साबिकको मध्यमाञ्चलको सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर र चितवनका साबिक ३७ गाविसमा जंगली हात्तीहरूको विचरण छ । त्यसैगरी, साबिकको मध्यपश्चिमाञ्चलको बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका साबिकका गाविस र बाँके, बर्दिया र दाङ जिल्लाका ३६ गाविस, सुदूरपश्चिमाञ्चलको कैलाली र कञ्चनपुर जिल्लाका २८ गाविसमा पनि जंगली हात्तीको विचरण हुन्छ (यादव र चालिसे/२०२१) ।

यसरी नेपालभर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म करिब ७–१० लाख स्थानीय जनता र २२७ जंगली हात्तीका बीचमा प्रत्यक्ष र दोहोरो द्वन्द्वको स्थिति छ । जंगली हात्तीले उल्लिखित स्थानहरूमा बसोवास गरिरहेका मानिसका हजारौँ घर, टहरा तथा सरसामान नष्ट गरेका छन् । बर्सेनि कृषिबाली– धान, मकै, गहुँ, कोदोलगायत गरी करोडौंको धनमाल नोक्सान हात्तीबाट हुने गरेको छ । हात्तीबाट बर्सेनि औसतमा १०–१५ जनाको मृत्यु हुने गरेको देखिन्छ । हात्ती आक्रमणबाट सन् १९९४ देखि हालसम्म करिब २७४ जति मानिसको ज्यान गइसकेको छ । एक हजारभन्दा बढी मानिस घाइते तथा एक सयजना अंगभंग भई अपांग जीवन बिताउन बाध्य भएको तथ्यांकले देखाउँछ (यादव २००२, मादेन २००२) । 

नेपालमा हात्तीको वासस्थानको विखण्डन र ह्रास भएकाले मानव–हात्तीबीच गम्भीर समस्या उत्पन्न भएको हो । तिनको वासस्थान रहेको वनजंगलभित्रका घाँसपात स्थानीय जनताले आफ्ना वस्तुभाउका लागि संकलन गर्ने हुनाले जंगली हात्तीको आहारामा कमी आएको छ । वनजंगल क्षेत्रको निरन्तर फँडानी, आगलागी र बाढीपहिरोले वन्यजन्तुको वासस्थान विनाश र आहारामा संकट पैदा गरेको छ । जंगली हात्तीले पुर्खाैंदेखि प्रयोग गरिरहेको जैविक मार्गहरूमा घर, खेत, बारी बनेकाले हात्तीले आफ्नो पुख्र्यौली जैविक मार्गबाट घुमफिर, आवतजावत गर्दा मानिसका घर, छाप्रो भत्काउने, मानिसलाई मार्नेसमेतका घटना बढ्दोे छ ।

एक अध्ययनअनुसार नेपालमा हात्तीबाट सन् २०००–२०२० बीचमा २७४ जनाको मृत्यु भएको छ । जंगली हात्तीले बर्सेनि करोडौँको धनमाल नोक्सान गर्ने गरेका छन् । यसले गर्दा स्थानीय कृषकहरूले प्रतिशोधको भावनाबाट विभिन्न तरिका बिजुलीको करेन्ट, खानामा विष हालेर, हात्ती हिँड्ने बाटोमा खाल्डो खनेर, पासो थापेर तथा बन्दुक हानेर औसतमा वार्षिक तीनदेखि चार हात्ती मार्ने गरेको तथ्यांकले देखाउँछ । मानव प्रतिशोधबाट सन् १९९४ देखि हालसम्म ७० जति जंगली हात्ती मारिएको अनुमान छ ।

मानव–वन्यजन्तु द्वन्द्वमा बाघको समस्या रौतहटदेखि पूर्वतर्फ उतिसारो छैन । गैँडाको समस्या पनि चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया निकुञ्ज र शुक्लाफाँटा निकुञ्जको वरपर मात्रै छ । तर, जंगली हात्तीको समस्या भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै छ । 

नेपाल सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार हात्ती मार्नेलाई ५–१५ वर्षको कैद र ५–१० लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार जारी ‘वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोगसम्बन्धी निर्देशिका, २०६९ (तेस्रो संशोधन २०७५)’ अनुसार वन्यजन्तुबाट हुने क्षतिमा क) मानिस सामान्य घाइते ख) मानिस सख्त घाइते र ग) मानिसको मृत्यु भएमा औषधोपचार राहतबापत क्रमशः २० हजार, २ लाख र १० लाखसम्म रकम उपलव्ध गराउँदै आइएको छ । ०६६–०७० सालसम्म राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जंगली हात्तीबाट पीडित परिवार (६० मृत्यु र २१ सख्त घाइते)लाई राहतस्वरूप एक करोड २८ लाख ११ हजार उपलब्ध गराइएको देखिन्छ । ०६९–०७८ को बीचमा बालीनाली, पशुधन, भण्डारण अन्नसमेतको क्षतिपूर्ति तथा राहतमा १४ करोडभन्दा बढी रकम वितरण भएको छ । 

राजमार्ग समस्याका मूल कारक : नेपालमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म राजमार्ग बनेकाले चुरे पहाडतलका भावर तथा तराई क्षेत्रका हजारौँहजार हेक्टर वन विनाश भएको छ । राजमार्गहरूले हात्तीको वासस्थान क्षतविक्षत बनाउन ठूलै योगदान गरेका छन् । भारतीय सीमा क्षेत्रमा दुवैतर्पm सहरीकरण हुँदा र राजमार्गवरपर लाखौँ मानिस बसोवास गर्न आउने क्रममा जंगलहरू फडानी गरिएकाले वन्यजन्तुको वासस्थान उजाडिन पुग्यो । कथित सुकुमबासीहरूको नाममा हुकुमबासीहरूले गाउँ बसालेर पनि वन्यजन्तुको वासस्थान विनाश गरे । प्रायोजित सुकुमबासी सधैँ मालामाल हुने, तर वास्तविक सुकुमबासी सधैँ लखेटिँदै आदिम कबिला समाजजस्तो एक ठाउँबाट अर्को क्षेत्रमा सरिरहनुपर्ने स्थिति पनि वनविनाशको अर्को कारण हो ।

तराईबाट औलो उन्मूलनपश्चात् पहाडबाट सोख गर्न र भोक मेटाउन मानिसहरू तराई क्षेत्रमा अनियन्त्रित ओइरिए । चितवनमा ६०–७० वर्ष पहिले ३० हजारआसपास जनसंख्या थियो, जसमध्ये अधिकांश थारू थिए । त्यस ताकासम्म गैँडा, हात्ती र बाघलगायतका वन्यजन्तुका लागि यहाँ पर्याप्त वासस्थान थियो । तर, अहिले चितवनमा लगभग ६ लाख मानिस बसोवास गरिरहेका छन्, ठूलो वन क्षेत्र नासिएको छ । दाङ र झापा जिल्लामा पनि व्यापक जंगल नोक्सान भएको छ । झापा जिल्लामा हात्तीको वासस्थानयोग्य जंगल पर्याप्त थियो । तर, अहिले तराईका अन्य जिल्लाको तुलनामा झापामा सबैभन्दा कम जंगल रहेको छ (यादव २००२) । बारा, पर्सा र रौतहट जिल्लाका घना जंगल नासिएर ठाउँ–ठाउँमा झाडी मात्र बाँकी छन् ।

नेपालमा सन् २०११ मा तराईको जनसंख्या एक करोड ३३ लाख थियो । अहिले एक करोड ५१ लाखआसपास पुगेको आकलन छ । जनसंख्या बढेपछि स्वाभाविक रूपमा गाँस, वास र कपासको आवश्यकता पनि बढी हुने नै भयो । बढेको जनसंख्याले वन्यजन्तुको वासस्थान विनाशमा ठूलो भूमिका खेलेको छ । एसियाली जंगली हात्तीको संख्यात्मक स्थिति र वासस्थानका कारण संकटापन्न अवस्थामा पुगेकाले नै यसलाई साइटिसको अनुसूची १ मा राखिएको हो ।

समाधानका उपाय

१. जंगलछेउछाउ रहेका बस्तीमा हात्तीले नरुचाउने किसिमको बालीनाली लगाउन सुरुवात गर्ने । जस्तै, चियाखेती (यादव २००२) । 
२. जंगली हात्तीले रुचाउने कृषिबालीहरू, जस्तै– उखु, केरा, मकै, कोदो वनभित्रै व्यवस्थापन गर्न अनुसन्धान गर्ने । 
३. जंगली हात्ती तथा वन्यजन्तुको हालको वासस्थानको संरक्षण तथा व्यवस्थापन गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र स्थानीय तह एवं राजनीतिक दलका राजनीतिकर्मीहरू गम्भीरताका साथ लाग्नुपर्छ । 
४. जंगली हात्तीलाई ढुंगा हान्ने, जिउमाथि आगो फाल्ने, बन्दुकको छर्राबाट घाइते बनाउने, भालाले हान्ने र दाह्रा काट्नेजस्ता काम गरेर दुःख दिने कार्यलाई निरुत्साहित र नियन्त्रण गर्ने । 
५.वन–जंगलमाथिको घाँस, दाउरा तथा काठको चाप घटाउन नेपाल सकारले सहुलियत दरमा वैकल्पिक ऊर्जाको व्यवस्थापन गर्ने ।
६. नयाँ निर्माण हुने घरमा अत्यधिक काठको प्रयोग गर्दा पनि हात्ती तथा वन्यजन्तुको वासस्थान विनाश भई गम्भीर प्रतिकूल प्रभाव पारिरहेकोे छ । तसर्थ, सहरी क्षेत्रहरूमा घर निर्माण गर्दा काठको सट्टा आल्मुनियम, फलाम आदिको प्रयोगमा प्रोत्साहित गर्ने । 
७. प्राकृतिक स्रोत साधनहरूको संरक्षण गर्न जनचेतना अभिवृद्धि गर्ने । 

विकासका नाममा बढ्दो विनाशलाई तत्कालै रोकिनु हात्ती संरक्षणको पहिलो कदम हो । अनियन्त्रित जंगल फँडानी र बस्ती विकासलाई नियन्त्रण गरिनुपर्छ । राष्ट्रिय योजना आयोगको पुनर्संरचना गरी साँच्चिकै देशको विकास योजनाको दृष्टिकोण दिन सक्ने विज्ञ नियुक्त गरिनुपर्छ । कहाँ बस्ती बसाउने, कहाँ वनजंगल संरक्षण गर्ने, कुन–कुन ठाउँ वन्यजन्तुको वासस्थान हो, कस्तो ठाउँमा राजमार्ग बनाउने वा नबनाउने, घरबारविहीन नागरिकलाई कसरी व्यवस्थित गर्ने, खुला सीमाको दीर्घकालीन समाधान कसरी गर्ने जस्ता राष्ट्रिय मुद्दामा विज्ञको सुझावविनाको भद्रगोल विकास नै नेपालको बहुआयामिक समस्याको कारण हो ।

रोचक त के भने उत्तर–दक्षिण सरदर चौडाइ दुई सय किलोमिटर पनि नभएको नेपालमा पूर्व–पश्चिम छिचोल्ने चार–चार राजमार्ग (हुलाकी, महेन्द्र, भण्डारी र मध्यपहाडी) बनाइएको छ । हाम्रा अल्पदृष्टि र योजनाविहीन विकासले वन्यजन्तु, जैविक विविधता र पर्यावरणलाई सखापै पारेको छ । भावी पुस्ता ठूलो जोखिममा छन् । (गोपाली पर्यावरणविज्ञ र दमु अध्येता हुन्)