१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १५ सोमबार
  • Saturday, 10 May, 2025
दीपक अधिकारी दार्चुला
२o७८ कार्तिक १५ सोमबार १३:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडक नखुल्दा अपी हिमालमा ढुवानी भाडामा मनपरी, महँगियो खाद्यान्न

Read Time : < 1 मिनेट
दीपक अधिकारी, दार्चुला
नयाँ पत्रिका
२o७८ कार्तिक १५ सोमबार १३:१o:oo

अपी हिमाल गाउँपालिका जोड्ने पारिबगर–मकरीगागड सडकखण्ड गत असारदेखि अवरुद्व हुँदा अपी हिमाल गाउँपालिकामा दैनिक उपभोग्य वस्तुदेखि हरेक समानमा महँगी बढेको छ। चार महिनादेखि अहिले अपी हिमालको ओखलसम्म मात्रै गाडी चल्दा सामानको मूल्य निरन्तर रूपमा बढेको हो। 

अपी हिमाल गाउँपालिका– १ का वडाध्यक्ष धनसिंह जागरीले सर्वसाधारणले अहिले महँगाे मूल्यमा खाद्यान्न खानुपरेका बताए। सडक अवरुद्व भएकै कारण दसैँका लागि खाद्य संस्थानको चामल पनि ढुवानी हुन नसकेको र तिहारमा पनि चामल ढुवानी गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ। ‘नेपाल खाद्य संस्थानको चामल, पिठो आइसकेको छ,’ जागरी भन्छन्, ‘तर, मकरीगाडसम्म ढुवानी गर्न पनि सडक छैन ।’ अहिले ओखलबाटै मकरीगाडसम्म खच्चड भरियामार्फत ढुवानी गर्दा भाडादर बढी लिन गरेका छन्। हिँडेरै आधा घन्टा पनि समय लाग्दैन। तर, यो क्षेत्रमा भरियाले प्रतिकिलो पाँच रुपैयाँ लिन्छन्। यति महँगो मूल्यमा ढुवानी गराउँदा जनता झन् मारमा पर्ने गरेको उनले बताए।

सडक अवरुद्व भएकै कारण यो क्षेत्रमा विद्यालय निर्माणमा प्रयोग हुने जस्तापाता, सिमेन्टलगायतका सामान पनि ढुवानी गर्न समस्या भएको अध्यक्ष जागरीले बताए। 

नेपाल खाद्य संस्थान अपी हिमाल गाउँपालिका खण्डेश्वरीका कर्मचारी नरभानसिह ठेकरेले सडककै कारण दसैँ–तिहारमा सर्वसाधारणले खाद्य संस्थानको सस्तो चामलसमेत खान नपाएको बताए।  अहिले गाउँमै मोटो चामल प्रतिकिलो ५५ रुपैयाँ पनि पाउन सकिने अवस्था छैन। 

सडक सञ्चालनका सम्बन्धमा गत असोज २३ गते सडक डिभिजन, अपी हिमाल गाउँपालिका, दार्चुलाका प्रमुख जिल्ला अधिकारीलगायतको टोलीले स्थानीय र निर्माण व्यवसायीसँग छलफल गरेर असोज मसान्तभित्रै सडक सञ्चालन गर्ने सहमति गरेका थिए।  तर, अहिले पनि निर्माण व्यवसायी यो क्षेत्रमा काम गर्न नआएको अपी हिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए। ‘हामीले पटक–पटक ताकेता गरेका गर्‍यै छौँ,’ अध्यक्ष मन्यालले भने, ‘अहिले हाम्रो फोनसमेत उठ्न छोडेको छ।’