Skip This
कोरोनाले आहत दिएको बन्दीपुरलाई दसैँको राहत, होटेल अकुपेन्सी ७० प्रतिशत
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ३१ आइतबार
  • Thursday, 07 August, 2025
२o७८ असोज ३१ आइतबार १७:२५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

कोरोनाले आहत दिएको बन्दीपुरलाई दसैँको राहत, होटेल अकुपेन्सी ७० प्रतिशत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ३१ आइतबार १७:२५:oo

पहाडकी रानी भनेर चिनिने पर्यटकीय नगरी तनहुँको बन्दीपुरका पर्यटन व्यवसायी दसैँसँगै उत्साहित भएका छन्। कोरोना कहरका कारण सुनसान बन्दीपुरमा दसैँ मनाउन जाने पर्यटकको भिडभाडले व्यवसायी उत्साहित भएका हुन्। होटेल एसोसिएसन बन्दीपुर शाखाका अध्यक्ष विपिन प्रधानका अनुसार दसैँसँगै पर्यटक आउने क्रम बढेको छ। उनका अनुसार विजया दशमीको भोलिपल्ट शनिबार पनि  होटेल अकुपेन्सी ७० प्रतिशत रहेको छ।

कोरोना कहरले थला पारेको पर्यटन क्षेत्रलाई चाडबाडले लयमा ल्याउने संकेत दिएसँगै व्यवसायीमा उत्साह थपिएको छ । शनिबार मात्र बन्दीपुरमा एक हजार २०० भन्दा धेरै पर्यटक पुगेका छन्। आइतबार पनि त्यति नै हाराहारीमा पर्यटक रहेकाे अध्यक्ष प्रधानले जानकारी दिए। ‘चाडबाडले हामीमा उत्साह ल्याएको छ। शनिबार होटेल अकुपेन्सी ७० प्रतिशत रह्यो। आज (आइतबार) पनि पर्यटक आउने क्रम जारी छ। शनिबारकै हाराहारीमा पर्यटक छन्। हामी उत्साहित छौँ’ उनले भने।
 
बन्दीपुरका अग्रज पर्यटन व्यवसायी अनिल प्रजापतीले पनि अब आफूहरूमा आशा जागेको बताए। पर्यटन वर्ष सन् २०२० मा धेरै पर्यटक भित्र्याउने भन्दै लगानी बढाएका पर्यटकहरूलगत्तै कोराना संक्रमण भित्रिएकाले आहतमा रहेको उनले सुनाए। ‘पर्यटन वर्षमा केही हुन्छ भन्दै लगानी गर्ने व्यवसायी निकै निराश भयौँ। राज्यले पनि पर्यटन क्षेत्रमा लगानी गर्न भन्दै उक्सायो। तर, कहरका वेला न सरकारले हेर्यो, न बैंक वित्तीय संस्थाहरूले नै पर्खन खोजे। निकै कष्ट झेल्यौँ। अब भने केही हुन्छ कि भन्ने आशा पलाएको छ,’ उनले भने। 

होटेलमा झन्डै दुई अर्ब लगानी
बन्दीपुरका होटेलमा झन्डै दुई अर्ब लगानी रहेको होटेल एसोसिएसन बन्दीपुर इकाइका अध्यक्ष प्रधान बताउँछन्। उनका अनुसार त्यहाँ साना ठूला गरेर होटेल एसोसिएसनमा आवद्ध ८५ वटा होटेल छन्। आवद्ध नभएका ४० होटेलसहित सबैमा गरी  १६०० जनालाई एक रातमा राख्न सकिन्छ। बन्दीपुरको वरपर २०० जना क्षमताका चारवटा होमस्टे रहेको उनले जानकारी दिए। बन्दीपुरमा पर्यटकीयस्तरका होटेलमा पाँच सय रुपयाँदेखि सात हजार रुपैयाँसम्ममा बास बस्न पाइन्छ। 

ह्वात्तै बढे स्वदेशी पर्यटक
बन्दीपुरको इतिहास भक्तपुरसँग जोडिएको छ। झन्डै दुई सय वर्षभन्दा पहिले भक्तपुरबाट नेवार समुदायका प्रधान र पिया बन्दीपुर भित्रिएको पुराना व्यवसायी पुस्कर प्रधान बताउँछन्। बन्दीपुर तनहुँको तत्कालीन सदरमुकामका साथै भोट र मधेसलाई जोड्ने व्यापारिक केन्द्र रहेको उनले बताए। ‘यो भोट र मधेस जोड्ने व्यापारिक केन्द्र हो। हाम्रा जिजुबाजेहरूले भोटबाट सामान ल्याउने र तराई झार्ने अनि मधेसबाट पहाड ल्याउने ऐतिहासिक व्यापारिक केन्द्र हो यो। त्यही व्यापार हुने देखेर भक्तपुरबाट केही प्रधान र पियाहरू यहाँ आएर स्थायी व्यापार गरेको पाइन्छ,’ उनले भने। 

कोरोना कहरका वेला आवतजावत शून्य भए पनि बन्दीपुरमा अब भने पर्यटक आउन थालेका छन्। विगतमा बन्दीपुरमा विदेशी र स्वदेशी पर्यटक उत्तिकै घुम्न आउँथे। तेस्रो मुलुकबाट खास गरी जर्मन, फ्रान्स, स्पेनिस, अमेरिका, थाइल्यान्ड, चीन, भारत, र कोरियाबाट विगतमा धेरै पर्यटक आउने गरेको प्रधानले बताए । अहिले भने विदेशीका अनुहार देख्न नै मुस्किल रहेको उनले सुनाए। ‘विदेशी यो वेला कहाँ देख्न पाउनु ? पहिले आन्तरिक र विदेशी बराबर हुन्थे । अहिले केही भारतीय पर्यटक पनि देखिन थालेका छन्। नत्र सबै आन्तरिक पर्यटक नै हुन्,’ उनले भने ।