Skip This
संक्रमण दर बढ्दै : कोभिड अस्पतालमा आइसियू बेडको अभाव, मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २६ मंगलबार
  • Friday, 26 July, 2024
कोभिडविरुद्धको दोस्रो खोप लगाउन लाइनमा बसेका ज्येष्ठ नागरिक । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
मञ्जु टेलर काठमाडौं
२o७८ श्रावण २६ मंगलबार १o:o५:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संक्रमण दर बढ्दै : कोभिड अस्पतालमा आइसियू बेडको अभाव, मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २६ मंगलबार १o:o५:oo

नेपालमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या सोमबारसम्म १० हजार एक सय १५ पुगेको छ । जुन कुल संक्रमितको १ दशमलव ५ प्रतिशत हो । पछिल्लो २४ घन्टामा देशभर तीन हजार ६ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । १६ हजार पाँच सय ९४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएका हुन् । नेपालमा अहिलेसम्म सात लाख ८७ हजार बढी संक्रमित भएका छन् । भने पछिल्लो २४ घन्टामा २२ जनाको मृत्यु भएको छ ।

पछिल्लो दुई सातायता संक्रमण दर बढ्न थालेको छ । असारपछि संक्रमण दर बिस्तारै ओरालो लागे पनि पछिल्लो सातादेखि संक्रमण दर र अस्पताल आउनेको संख्यामा वृद्धि भएको हो । काठमाडौं उपत्यकाका ठूला सरकारी अस्पतालमा कोरोना संक्रमितको भिड पुनः बढ्न थालेको छ । अस्पतालमा कोभिडका लागि छुट्याइएका बेडसमेत भरिन थालेका छन् । हाल उपचारको क्रममा रहेका ३६ हजार दुई सय ८८ जना सक्रिय संक्रमितमध्ये १० हजार तीन सय ९५ जना काठमाडौं उपत्यकामा मात्रै छन् । हाल सबैभन्दा बढी संक्रमित देखिने जिल्लामध्ये काठमाडौं पहिलो नम्बरमा छ ।

 इमर्जेन्सीमा बिरामीको चाप बढ्यो
हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ९० वटा जनरल बेड, ३० वटा भेन्टिलेटरसहितको आइसियू, १० एचडियू र १२ वटा इमर्जेन्सी बेड कोभिड बिरामीका लागि छुट्याइएको छ । इमर्जेन्सीमा बिरामीको चाप बढ्दै गएकाले जनरल बेडसमेत बिस्तारै भरिन थालेको चिकित्सकहरूले बताएका छन् । डा. निरजकुमार बमका अनुसार पछिल्लो सातादेखि इमर्जेन्सी वार्डमा कोभिडका बिरामीको फलो बढ्न थालेको छ । ‘आज जनरल वार्डका सात–आठ बेडहरू खाली छन्, तर इमर्जेन्सीका बिरामी वार्डमा सारिरहेका कारण जनरल वार्डमा पनि बेड संख्या थप्नुपर्ने अवस्था देखिएको छ । हालसम्म सामान्य बिरामीले अस्पतालमा सेवा लिइरहे पनि आइसियू खाली नहुँदा इमर्जेन्सीमा लामो समयसम्म कुर्नुपर्ने भएकाले अन्यत्र जानेको संख्यासमेत बढेको छ,’ उनले भने । अस्पतालमा दैनिक भर्ना हुन आउनेको संख्या १५ देखि २५ जनासम्म रहेको अस्पतालले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि सघन कक्षाका बेड भरिन थालेका छन् । अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार इमर्जेन्सी वार्डमा बिरामीको संख्या कम भए पनि जनरल वार्डका लगभग बेडहरू भरिएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अस्पतालमा हाल एचडियू र जनरल वार्डमा ४१ जना, आइसियूमा २४ र इमर्जेन्सीमा १६ जना उपचाररत छन् । 

आइसियूको संख्या थप्दै  सशस्त्र प्रहरी अस्पताल
सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा समेत कोभिडका बिरामीको संख्या बढ्दै गएकाले बेड संख्या अपग्रेड गर्नुपरेको चिकित्सकहरूले बताएका छन् । हाल कोभिडका लागि दुई सय बेड सञ्चालनमा छन् । १२ भेन्टिलेटरसहित २० वटा आइसियू सञ्चालनमा रहेको अस्पतालले संख्या बढ्दै गएपछि आइसियूको संख्या ३० वटा पुर्‍याउने तयारी गरिरहेको अस्पतालका कोभिड संयोजक डा. प्रवीण नेपालले बताए । ‘अस्पतालमा इमर्जेन्सी वार्ड कोभिड र ननकोभिडका लागि संयुक्त रूपमा सञ्चालनमा रहेकाले दैनिक कोभिडका बिरामी कति आउँछन् भन्ने यकिन तथ्यांक हुँदैन । तर, दैनिक १५ देखि १६ जना बिरामी वार्डमा भर्ना हुन आइरहेका छन्,’ उनले भने ।

वीर अस्पतालमा हाल दुई सय बेड मात्र कोभिडका लागि छुट्याइएको छ । ३५ वटा आइसियू बेड सञ्चालनमा रहेको अस्पतालमा बिरामीको चापअनुसार बेड संख्या अपग्रेड गरिँदै आइएको छ । काठमाडौंका ठूला सरकारी अस्पतालमा पछिल्लो साता बिरामीको चाप बढे पनि वीरमा भने इमर्जेन्सी वार्डमा कोभिडभन्दा ननकोभिड बिरामीको संख्या बढिरहेको बताउँछन्, डा. अच्युत कार्की । ‘कोभिडका बिरामी आठदेखि १० जना भर्ना हुँदा ननकोभिडका दैनिक ५० जनासम्म भर्ना हुन आइरहेका छन् । हाल अस्पतालमा जम्मा एक यि १७ जना सक्रिय कोभिड संक्रमित उपचाररत छन्,’ उनले भने ।

भक्तपुर अस्पतालमा पनि यो साता बिरामीको संख्यामा वृद्धि भइरहेको डा. सुमित्रा गौतम बताउँछिन् । उनका अनुसार हाल आइसियू र जनरल वार्डमा गरी ३६ जना बिरामी उपचाररत छन् । अस्पतालले इमर्जेन्सीमा बेड संख्या घटाएर १० पुर्‍याएको छ भने १५ वटा एचडियू बेड कोभिड बिरामीका लागि छुट्याइएको छ । ६ वटा आइसियू बेड बिरामीले भरिएका छन् । उनी भन्छिन्, ‘दैनिक आठदेखि १० जना बिरामी आइरहेकाले उपलब्ध बेड भरिन थालेका छन् ।’कोभिड संक्रमितको उपचार हुँदै आएको पाटन अस्पतालमा समेत उपलब्ध बेड बिरामीले भरिन थालेका छन् । मन्त्रालयको तथ्यांकअनुसार अस्पतालमा हाल एक सय ६ जना एचडियू र २१ जना आइसियूमा उपचाररत छन् । बिरामीको संख्या बढ्दै गएकाले बेड अपग्रेड गर्दै लगेको अस्पतालले जनाएको छ । 

 कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा  खोप लगाउने ७१ लाखभन्दा बढी 
नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ७१ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पहिलो र दोस्रो मात्रा खोप लगाउनेको संख्या ७१ लाख ३१ हजार चार सय ८१ छ । पहिलो मात्रा लगाउने ४५ लाख २५ हजार चार सय ३५ र दोस्रो मात्रा लगाउने २६ लाख ६ हजार ४६ जना छन् ।

कोरोना भाइरससँग लड्ने शक्ति प्राप्त गर्न दुई डोज खोप अनिवार्य लगाउनुपर्ने चिकित्सकहरूले बताउँदै आएका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोभिसिल्ड खोपको पहिलो मात्रा १८ लाख ६८ हजार चार सय २५ र दोस्रो मात्रा पाँच लाख २४ हजार ६ सय ५९ जनाले लगाएका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार भेरोसेलको पहिलो मात्रा २६ लाख ५७ हजार १० र दोस्रो मात्रा नौ लाख ३८ हजार २३ जनाले लगाएका छन् । जोन्सन एन्ड जोन्सनको पूर्ण खोप लगाउनेको संख्या ११ लाख ४३ हजार तीन सय ६४ जना छ । जोन्सन खोप १५ लाख डोज आएको थियो । जुन खोप एकपटक लगाए पुग्छ ।