१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १९:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मनाङमा बाढीले पुल बगायो, सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १९:२o:oo

हिमाली जिल्ला मनाङमा बाढीले पुल बगाएको छ । बेंसीसहर–चामे सडकखण्डअन्तर्गत चामे गाउँपालिका– १ तिमाङखोला र स्यार्कुखोलाको काठेपुल बगाएको हो । बिहीबार दिउँसो भीषण वर्षासँगै एक्कासि आएको बाढीले पुल बगाउँदा सडक अवरुद्ध बनेको तिमाङका स्थानीय यज्ञबहादुर घलेले बताए । 

पुल बगाएपछि मनाङबाट लमजुङ आउँदै गरेको र लमजुङबाट मनाङ जाँदै गरेका अत्यावश्यक सवारीसाधन अलपत्र परेका छन् । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार बिहीबार दिउँसो ३ बजेतिर पुल बगाएको हो । उनका अनुसार तिमाङखोलाको अस्थायी काठे पुल र स्यार्कुखोलामा रहेको ह्युमपाइपसहितको काठेपुल बगाउँदा तिमाङ क्षेत्रबाट सवारीसाधन तल्लो क्षेत्र आउन र माथिल्लो क्षेत्र जान सकेका छैनन् । दुईवटा पुल बगाएपछि तत्कालका लागि आवतजावत बन्द भएको उनले बताए । 

तिमाङखोलाको काठेपुल गत वर्षको बाढीले पनि बगाएको थियो । उक्त पुल गत वर्ष चामे गाउँपालिका, प्रशासन र सुरक्षा निकायको समन्वयमा निर्माण गरिएको मनाङका डिएसपी सुवास खड्काले बताए । 

वर्षासँगै आएको बाढीले पुल बगाएपछि उक्त क्षेत्रको प्रजिअ लामिछानेसहित सुरक्षा निकायका प्रमुखसहितको टोलीले स्थलगत निरिक्षण गरेको सशस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले बताए । उनले भने, ‘निरन्तरको वर्षासँगै आएको बाढीले तिमाङखोलामा निर्माण गरिएको बेलिब्रिज पुलसमेत जोखिममा रहेको छ ।’ मनाङ सडकअन्तर्गत पर्ने अधिकांश खोलामा काठेपुलकै भरमा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
 

ad
ad