
प्रत्यक्षदर्शी भन्छन्, ‘अचानक चिच्याहट भयो’
मेरो बुबा चार दिनदेखि भीम अस्पतालमा उपचाररत हुनुहुन्छ । म दिनदिनै बुबाको रेखदेखका लागि अस्पताल आइरहेको छु । आज पनि बिहान ९ बजे म अस्पतालमै थिएँ, माथिल्लो तलामा चिच्याहट सुरु भयो । सबै यताउता दौडिए । अक्सिजन सकियो, बिरामी मरे भन्न थाले । पछि चारजनाले ज्यान गुमाएको सुनियो । करिब पाँच मिनेटजति अक्सिजन आपूर्ति अवरुद्ध भयो भनियो । बिहान मर्ने त मरेर गए । तर, अहिले राति १० बजे पनि उस्तै अवस्था छ । केहीबेर अगाडि इमर्जेन्सीको पनि अक्सिजन सप्लाई ‘डिस्टर्भ’ भएको थियो । नर्सहरू बिरामीको अक्सिजन लेबल घट्यो भन्दै दौडिएपछि अक्सिजन सिलिन्डर परिवर्तन गरिएको थियो । अस्पतालमा अक्सिजनको स्टक छ–छैन बताइएको छैन । उद्योगबाट आउँदा कति भयावह अवस्था हुने हो केही ठेगान छैन ।
- देव ज्ञवाली, सिदार्थनगर नगरपालिका–७
......
अक्सिजन अभावले बुधबार एकैदिन रुपन्देहीमा ९ र बाँकेमा ६ बिरामीले ज्यान गुमाएका छन् । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पाँच, भैरहवास्थित भीम अस्पतालमा चार र नेपालगन्जस्थित भेरी अस्पतालमा ६ जनाको मृत्यु भएको हो ।
समयमा अक्सिजन आपूर्ति नहँदा आइसियूमा उपचाररत चारजना पुरुष र एक महिलाको मृत्यु भएको प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । त्यस्तै, भीम अस्पतालमा उपचाररत चार कोरोना संक्रमितको अक्सिजन अभावमा ज्यान गएको स्रोतको बताएको छ ।
रुपन्देहीका पाँचवटा कोभिड अस्पतालमा दैनिक दुई हजार एक सय ५० सिलिन्डर अक्सिजन माग छ । तर, आपूर्ति एक हजार एक सय सिलिन्डर मात्रै भइरहेको छ । माग र आपूर्तिमा तालमेल नमिल्दा समस्या आएको जिल्ला जनस्वास्थ्य प्रशासक राजेन्द्र गिरीले बताए । रुपन्देहीमा तीनवटा अक्सिजन उद्योग छन् ।
बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदीले अक्सिजनको अभावमा ज्यान गुमाएको थाहा भएसँगै डिसिसिएमसीले हेलिकोप्टरबाट भए पनि अक्सिजन ल्याउने निर्णय गरेको बताए । ‘हामी मिटिङमै थियौँ । अक्सिजन अभावमा बिरामी मरेको जानकारी पाएपछि केन्द्र, प्रदेश र स्थानीय सरकार सबैसँग समन्वय गरेर हेलिकोप्टरमा सिमरा र चितवनबाट ४० सिलिन्डर अक्सिजन ल्याइएको छ । र, ती सिलिन्डर लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवास्थित भीम अस्पताललाई दिइएको छ,’ उनले भने ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बिहीबारबाट अक्सिजन सहज बनाउने तयारी भइरहेको बताए । पहिलो चरणमा लुम्बिनी प्रादेशिक र मेडिकल कलेज भैरहवामा रहेको अक्सिजन प्लान्टलाई मर्मत गरी नियमित बनाउने, भारतबाट लिक्विड अक्सिजन ल्याउने तथा स्थानीय उद्योगहरूबाट उत्पादित अक्सिजन सहज वितरण गर्ने निर्णय भएको उनले बताए ।
भैरहवास्थित भीम अस्पतालको अवस्था
अक्सिजन अभाव भएर निजी अस्पतालले नयाँ बिरामी भर्ना बन्द गरेसँगै भीम अस्पतालमा कोरोना संक्रमित बिरामी बढेका छन् । २५ बेड क्षमताको अस्पतालमा अहिले ९० जना उपचाररत छन् । भीम अस्पतालमा बेड अभाव भएपछि सिँढी, पेटी, पुरानो शवगृहको पेटीलगायत स्थानमा आफूखुसी बसेर बिरामीले उपचार लिइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शकुन्तला गुप्ताले बताइन् । अस्पतालमा बेडसँगै अक्सिजनको पनि समस्या छ । दुई दिनदेखि अक्सिजन नियमित हुन सकेको छैन । बुधबार बिहान अक्सिजन शून्य भएपछि मेडिकल कलेजले १२ सिलिन्डर अक्सिजन दिएर बिरामीको ज्यान बचाएको रुपन्देहीमा अक्सिजन वितरण हेर्ने प्रहरी निरीक्षक टेकबहादुर खत्रीले जानकारी दिए ।
सिलिन्डरको पिँधमा बचेको १० प्रतिशत अक्सिजन पनि खोसाखोस
भीम अस्पतालमा अक्सिजन सप्लाईपछि निकालिएको सिलिन्डर लिन पनि बिरामीका आफन्तले खोसाखोस गर्ने गरेका छन् । अस्पतालमा करिब ४० जना बिरामीलाई सप्लाईबाट अक्सिजन दिने गरे पनि बाँकी बिरामी सिलिन्डरबाट अक्सिजन लिइरहेका छन् । सिलिन्डरबाट अक्सिजन लिनेलाई अक्सिजन अभाव भए पनि त्यही १० प्रतिशत बचेको अक्सिजन लिन पनि तँछाडमछाड गरेको प्रहरी निरीक्षक टेकबहादुर खत्रीले बताए ।
मेडिकल कलेजको अवस्था पनि उस्तै, बिरामीका आफन्तले आत्मसर्मपण गरे
युनिभर्सल मेडिकल कलेजमा एक सय ९० जना कोभिडका बिरामीले उपचार गराइरहेका छन् । उनीहरू सबैलाई अक्सिजन आवश्यक छ । अन्य ३० भन्दा बढी ननकोभिड बिरामी आइसियू र भेन्टिलेटरमा छन् । मेडिकल कलेजमा रहेका दुई सय २० भन्दा बढी बिरामीलाई दैनिक सात सयको हाराहारीमा सिलिन्डर अक्सिजन आवश्यक पर्ने मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कोटा छुट्याएर स्थानीय उद्योगबाट दैनिक चार सय ५० सिलिन्डर ग्यास पाउने नियम बनाएको थियो । तर, प्रशासनले प्रतिबद्धता पूरा गर्न नसकेपछि कलेजले मंगलबार राति चितवनबाट एक सय ५० र पोखराबाट सय सिलिन्डर ल्याएर काम चलाएको थियो । बुधबार बिहानैदेखि अक्सिजन सकिएपछि कलेजले दिउँसो ४ बजेपछि अक्सिजन दिन नसकिने भन्दै सूचना जारी गरेको थियो । त्यसपछि बिरामीका आफन्तले बाहिर बिरामी लैजान नसक्ने बरु अक्सिजनका कारण बिरामीको उपचारमा समस्या भएर मृत्यु भएमा केही भन्ने छैन भन्ने कागजमा हस्ताक्षर गरी आत्मसमर्पण गरे । स्थानीय उद्योगबाट पाउनुपर्ने चार सय २० सिलिन्डरमा जम्मा ३० सिलिन्डर मात्र पाएपछि मेडिकल कलेजमा समस्या सिर्जना भएको हो ।
बिरामीका आफन्तले खोजे केही सिलिन्डर ग्यास
मेडिकल कलेजले दिउँसो ४ बजेपछि अक्सिजनको व्यवस्था गर्न नसक्ने र बिरामीका आफन्तले स्वयं व्यवस्था गर्ने सूचना प्रकाशित गरेपछि बिरामीका आफन्तले केही सिलिन्डर ग्यास ल्याएका थिए । केहीले इलोक्ट्रोनिक अक्सिजन कन्सनटेटर मेसिनसमेत ल्याएका थिए । सबै बिरामीका आफन्तले अक्सिजनका कारण बिरामी तलमाथि केही भए हामी राजी छौँ भनेर बिरामीको माया मारेर ल्याप्चेसमेत लगाएका थिए ।
अक्सिजन अभाव कायमै
मेडिकल कलेजले जिल्लाबाहिर चितवन, पोखरा, वीरगन्जलगायत क्षेत्रबाट अक्सिजन आयात गर्ने प्रयास जारी राखे पनि सफल हुन नसकेको कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए ।
अक्सिजन रोकिएर बाँकेमा ६ जना बिरामीले ज्यान गुमाए
बुधबार बिहान ८ बजे नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमितहरू अक्सिजनसहित बेडमा थिए । केहीका कुरुवाका उनीहरूलाई खाजा खुवाउँदै थिए भने कोही तयारी गर्दै थिए । अकस्मात् अस्पतालमा अक्सिजन आपूर्ति बन्द भयो । अक्सिजनको सहायतामा सास लिइरहेका बिरामी छटपटाउन थाले ।
केही स्वास्थ्यकर्मी अक्सिजन नियमित गर्न खटिए भने केही छटपटाउँदै गरेका बिरामीको हेरचाहमा अग्रसर भए । तर, ८ः३० बजेसम्म अक्सिजन नियमित भएन । र, ६ जना बिरामीले तड्पी–तड्पी ज्यान गुमाए । ‘मेरो बुबा माधवप्रसाद भण्डारी अक्सिजन–अक्सिजन भन्दै तड्पिनुभयो र हेर्दाहेर्दै देहत्याग गर्नुभयो,’ बर्दियाको मधुवन नगरपालिका– ७ दशरथबस्तीका राजकुमार भण्डारीले भने, ‘त्यो भयंकर दृश्य सिनेमामा देखाइने काल्पनिक दृश्यजस्तै थियो । एकसाथ धेरै बिरामीले ज्यान गुमाएको दृश्यले मुटु काँपिरहेको छ ।’
जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले जारी गरेको सूचनामा पनि बुधबार बिहान ८ देखि ८ः३० बजेसम्म ६ जना संक्रमितको ज्यान गएको उल्लेख छ ।
अक्सिजन अभावकै कारण आफ्ना पिताले पनि ज्यान गुमाउनुपरेको बर्दियाको बाँसगढी नगरपालिका– ९ का रामनरेश थारूले बताए । ‘अक्सिजन पाउँदासम्म बुबाको स्वास्थ्य अवस्था राम्रै थियो । अक्सिजन आउन बन्द भएपछि छटपटाउन थाल्नुभयो । हेर्दाहेर्दै उहाँले देहत्याग गर्नुभयो । हामी निरीह बनेर हेर्न विवश भयौँ,’ उनले भने ।
अस्पतालमा कार्यरत एक नर्सका अनुसार मंगलबार राति ८ बजे पनि करिब १५ मिनेट अक्सिजन आपूर्ति अवरुद्ध भएको थियो । त्यतिखेर पनि कम्तीमा पाँचजनाको मृत्यु भएको अस्पतालमा कार्यरत एक सुरक्षाकर्मीले बताए ।
अक्सिजन अवरुद्ध भएकै कारण बिरामीको मृत्यु भएको भन्ने आरोपमा कुनै सत्यता नभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । ‘अक्सिजन अवरुद्ध भएको समयमा क्रिटिकल बिरामी मात्र थिए । अक्सिजन सकिने र बिरामीको मृत्यु हुने समय मिल्न गएको मात्र हो,’ उनले भने ।
थापाले मंगलबार राति एक मिनेट र बुधबार बिहान दुई–तीन मिनेट मात्रै अक्सिजन आपूर्ति अवरुद्ध भएको दाबी गरे । ‘हावाहुरीले विद्युत् अवरुद्ध भई अक्सिजन उत्पादन हुन नपाउँदा समयमा ल्याउन सकिएन । जसका कारण केही मिनेट अक्सिजन अवरुद्ध हुन पुग्यो,’ उनले भने ।
एक सय ४२ जना बिरामीलाई पुग्ने अक्सिजन पाइपलाइन बनाइएको छ । त्यही अक्सिजन एक सय ७० जना बिरामीलाई दिइरहेको थापाले बताए । ‘एक सय ४२ जनालाई पुग्ने अक्सिजन एक सय ७० जनालाई दिइरहेका छौँ । सबै बिरामी २४सै घन्टा अक्सिजन चाहिने मात्र छन्,’ उनले भने ।