मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
टेकराज थामी काठमाडाैं
अमुल थापा तस्बिर
२०७८ बैशाख २१ मंगलबार ०६:१४:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज

मृत्यु बढ्न थालेपछि बागमती किनारमा शव जलाउन थालियो 

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
अमुल थापा, तस्बिर
२०७८ बैशाख २१ मंगलबार ०६:१४:००

रिपोर्ट भिडियोमा हेर्नुहोस् :

भष्मेश्वर घाटमा पाँच नयाँ ओदान थपिँदै

उपत्यकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि पशुपति क्षेत्र विकास कोषले भष्मेश्वर घाटमा पाँचवटा ओदान थप्ने भएको छ । केही दिनभित्रै थपिने ओदान विद्युतीय शव दहनगृहको पछाडि बागमती नदी किनारमा बनाइनेछन् । 

कोषका सदस्यसचिव डा. प्रदीप ढकालका अनुसार पशुपतिमा शवको चाप शतप्रतिशतले बढेको छ । ‘पछिल्ला दिनमा पशुपतिस्थित भष्मेश्वर घाटमा शवको चाप बढेको छ । अहिले हामीसँग भएका शव दहनगृहले नधान्ने भएपछि पाँचवटा नयाँ ओदान बनाउने तयारी गरिएको छ,’ उनले भने ।

कोषका अनुसार विद्युतीय शव दहनगृहमा अरू वेला दैनिक बढीमा १५ वटासम्म शव आउँथे । आइतबार यो संख्या ३१ पुगेको थियो । सोमबार शवको चाप झन् बढेपछि विद्युतीय शव दहनगृहले धानेन । त्यसपछि बागमती किनारमा अस्थायी ओदान बनाएर अन्त्येष्टि गरिएको थियो । ‘आज (सोमबार) विद्युतीय शव दहनगृहले चाप धान्न सकेन । त्यसमाथि मेसिनमा पनि थोरै समस्या आयो,’ कोषका सदस्यसचिव डा. ढकालले भने । 

कोरोनाबाट मृत्यु भएकाको शव सेनाले व्यवस्थापन गर्दै आएको छ । उपत्यकाभित्र मृत्यु भएका सबै शव पशुपतिस्थित विद्युतीय शव दहनगृहमा ल्याउने गरिन्छ । सेनाका अनुसार शुक्रबार २६ शव दहन गरिएका थिए । शनिबार यो संख्या बढेर ३१ पुग्यो । आइतबार पनि ३१ शव दहन गरिए । सोमबार साँझसम्म ३६ को अन्त्येष्टि गरिएको छ । राति १२ बजेसम्म यो संख्या अझ बढ्न सक्ने सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए । ‘पछिल्ला दिनमा शवको चाप बढेको छ । आज साँझसम्म सेनाले ३६ शव दहन गरेको छ । मध्यरातसम्म यो संख्या अझ बढ्न सक्छ,’ उनले भने ।

पशुपतिमा अहिले दुईवटा विद्युतीय शव दहनगृह छन् । तर, एकपटकमा एउटा मात्रै चलाउने गरिन्छ । ‘शव दहनगृह पालैपालो चलाउने गरिन्छ । एउटा शव दहन गर्न ४५ मिनेट लाग्छ । त्यसले पनि केही ढिला भएको हो,’ सैनिक प्रवक्ता पौडेलले भने ।

सेनाका अनुसार एक वर्षमा संक्रमणबाट मृत्यु भएका तीन हजार पाँच सय ३८ शव सेनाले दहन गरेको छ । काठमाडौं उपत्यकाभित्र मात्रै एक हजार सात सय ६४ वटा शव दहन गरिएका छन् । ती सबै शव सेनाले पशुपतिस्थित विद्युतीय शव दहनगृहमै व्यवस्थापन गरिएका थिए । ‘आज (सोमबार) शवको चाप बढी नै भयो । विद्युतीय शव दहनगृहले मात्रै नधानेपछि बागमती किनारमा अस्थायी ओदान बनाएर शव दहन गरियो,’ सैनिक प्रवक्ता पौडेलले भने ।

सेनाको तथ्यांकअनुसार उपत्यकामा गत वर्षको कात्तिकमा सबैभन्दा धेरै पाँच सय २८ शव दहन गरिएको छ । त्यस्तै, गत वर्षकै असोजमा तीन सय ४४, मंसिरमा तीन सय १२, भदौमा एक सय ३३, पुसमा एक सय १०, माघमा ५४, चैतमा ३०, फागुनमा २१, साउनमा १६, असारमा सात र जेठमा पाँच शव व्यवस्थापन गरिएका थिए । यो वर्षको १ देखि २० वैशाख (सोमबार)सम्म दुई सय चार शव दहन गरिएको सेनाले जनाएको छ ।