मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मञ्जु टेलर काठमाडाैं
२०७७ चैत २७ शुक्रबार ०६:०३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वायु प्रदूषणले धूमपान गरेभन्दा बढी असर

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ चैत २७ शुक्रबार ०६:०३:००

चिकित्सक भन्छन्– बर्सेनि वायु प्रदूषणको तह बढ्दै गए पनि नेपालमा यसको असरबारे अहिलेसम्म कुनै अध्ययन गरिएको छैन 

दुई सातायता देशभर वायु प्रदूषण खतराको तहभन्दा माथि छ । वायु प्रदूषण बढेसँगै अस्पतालमा श्वासप्रश्वासका बिरामी पनि बढ्न थालेका छन् । यसअघि गत पुसमा पनि काठमाडौंमा वायु प्रदूषणले खतराको तह पार गरेको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष पश्चिमी वायुको न्यून प्रभावका कारण प्रदूषणको मात्रा बढ्दो छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को वायु गुणस्तर मापदण्डअनुसार २४ घन्टामा प्रतिघनमिटर हावामा पिएम–२.५ को मात्रा २५ माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन । 

वातावरण विभागको तथ्यांकअनुसार वर्षमा करिब ६ महिना एक्युआई राष्ट्रिय मापदण्डभन्दा बाहिर छ । यद्यपि, ०७३ देखि वातावरण विभागले तथ्यांक संकलन गरेको छैन । ०७३ मा विभागले संकलन गरेको तथ्यांकमा पिएम–२.५ लाई वार्षिक औसतमा हेर्दा तीन सय १० दिनमा एक सय ५८ दिन एक्युआई मापदण्ड नाघेको छ । एक्युआईको तह यो वर्ष ०७३ को भन्दा निकै माथि पुगेको छ ।

चिकित्सकका अनुसार वायु प्रदूषण बढेसँगै अस्पतालमा श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । प्रा.डा. सन्तकुमार दासका अनुसार त्रिवि शिक्षण अस्पतालमा पछिल्लो समय अस्पतालमा दम र ब्रोङकाइटिसको समस्या लिएर आउनेको संख्या बढ्न थालेको छ । ‘प्रदूषण श्वासप्रश्वासको माध्यमबाट शरीरमा प्रवेश गर्ने हँुदा सुरुमा फोक्सो बढी प्रभावित हुन्छ । धेरै मसिना कण फोक्सो हुँदै रगतको माध्यमबाट अन्य अंगमा प्रवेश गर्छन् । अस्पतालमा श्वासप्रश्वाससम्बन्धी संक्रमणका समस्या लिएर आउने बिरामीको संख्या बढ्नुको कारण प्रदूषण भएको अनुमान गरिन थालिएको छ,’ उनले भने ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रत्येक दशमध्ये एकजनाको मृत्यु वायु प्रदूषणको असरका कारण हुने गर्छ । सन् २०१९ मा हेल्थ इफेक्ट इन्स्टिच्युटले तयार गरेको एक प्रतिवेदनमा विश्वभर वायु प्रदूषणका कारण मानिसको आयु २० प्रतिशतले घटेको उल्लेख गरिएको थियो । ग्लोबल बर्डन अफ डिजिज प्रोजेक्टबाट तथ्यांक संकलन गरेको अध्ययनले वायु प्रदूषणको असर दक्षिण एसियामा अझै भयावह भएको जनाएको थियो । 

वायु प्रदूषणले स्वास्थ्यमा दीर्घकालीन समस्या 
विषाक्त वायुको असरबारे गरिएका विभिन्न अध्ययनअनुसार प्रदूषणले श्वासप्रश्वाससम्बन्धी संक्रमण, मुटुमा समस्या, मधुमेह, दम र फोक्सोको क्यान्सर बढाइरहेको छ । बर्सेनि वायु प्रदूषणको तह बढ्दै गए पनि नेपालमा यसको असरबारे कुनै अध्ययन गरिएका छैनन् । वायु प्रदूषणबाट वृद्धवृद्धा बढी प्रभावित हुने गर्छन् । दक्षिण एसियामा ५० वर्षभन्दा माथि उमेरका दश व्यक्तिमध्ये नौजनामा मृत्युको कारण वायु प्रदूषणले निम्त्याएको स्वास्थ्य समस्याका कारण हुने गर्छ । 

वरिष्ठ छातीरोग विशेषज्ञ डा. नीरज बमका अनुसार वायु प्रदूषणले स्वास्थ्यमा तत्काल र दीर्घकालीन रूपमा असर गरिरहेको हुन्छ । हावामा प्रदूषणको मात्रा बढी हुँदा आँखा चिलाउने, आँखामा संक्रमण हुने, छालामा एलर्जी हुने, श्वासप्रश्वासमा संक्रमण हुने, रुघाखोकी लाग्नेजस्ता समस्या देखिन्छन् । जुन उपचारको माध्यमबाट तत्कालका लागि निको पार्न सकिन्छ । तर, प्रदूषण दीर्घरोगको मुख्य कारण बनिरहेको छ । उनी भन्छन्, ‘प्रदूषणको असर तत्काल त्यति महसुस हुँदैन, तर श्वासप्रश्वासको माध्यमबाट शरीरमा प्रवेश गरेका मसिना कणहरूले सिओपिडी, निमोनिया, उच्च रक्तचाप, पक्षघात, हृदयाघातको समस्या ४० प्रतिशतले बढाउँछ ।’

वातावरणविद्हरूका अनुसार हाल हावामा रहेको प्रदूषण विभिन्न ठूला र साना विषाक्त कणहरूबाट बनेको छ । धुवाँधुलो धेरै हँुदा प्रदूषण आँखाले देख्न सकिन्छ । अर्थात् हावामा पिएम–२.५ को मात्रा २५ माइक्रोग्रामभन्दा बढी हुनु स्वास्थ्यका लागि हानिकारक हो । चिकित्सकहरूका अनुसार हावामा रहेको अत्यधिक प्रदूषणले दिनहुँ धूमपान गर्ने व्यक्तिलाई जस्तै असर गरिरहेको हुन्छ । डा. बम भन्छन्, ‘धूमपानमा निकोटिनसहितका पदार्थले गर्ने असरभन्दा धेरै अहिले बढेको प्रदूषणले असर पु-याइरहेको छ ।’ 

वातावरणविद् भूषण तुलाधरका अनुसार वायु प्रदूषण सवारीसाधन, कलकारखाना, निर्माणस्थल, डढेलो आदिबाट निस्केको धुवाँधुलोको मिश्रणबाट बनेको छ । उनी भन्छन्, ‘हावामा सयभन्दा बढी विषाक्त कणहरू मिसिएका हुन्छन्, जसले स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको देखिन्छ । फरक स्रोतबाट निस्कने विभिन्न विषाक्त कणहरू हावामा लामो समयसम्म रहँदा क्यान्सरजस्ता रोगको जोखिम बढेको देखिन्छ ।’

एक्युआई बढ्दै जाँदा यसले स्वास्थ्यमा पार्ने असर पनि बढ्दै गइरहेको छ । यस वर्ष नेपालमा हालसम्मकै सबैभन्दा धेरै डढेलो लागेको वन विभागको तथ्यांकले देखाउँछ । यसबाहेक सवारीसाधनबाट निस्कने धुवाँ अर्को मुख्य स्रोत हो । काठमाडौं उपत्यकामा मात्र इन्धनबाट सञ्चालित सवारी १४ लाख छन् । उपत्यकाको वायु प्रदूषणमा टिएसपीमा ३१ प्रतिशत र पिएम १० मा ३० प्रतिशत प्रदूषण यातायातबाट निस्कने गर्छ ।

महालेखापरीक्षकको कार्यालयले ०७४ मा प्रकाशित गरेको एक प्रतिवेदनमा विशेष लेखापरीक्षणमा आधारित भएर काठमाडौं उपत्यकाको वायु प्रदूषणबारे गराएको अध्ययनमा प्रतिवर्ष ६ हजार नौ सय ५३ टन १० माइक्रोनभन्दा सानो कण (पिएम १०) प्रदूषण सवारीसाधनका कारण हुन्छ ।