मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ चैत २३ सोमबार १०:४९:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

राजधानीका ‘पथेर’हरू

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ चैत २३ सोमबार १०:४९:००

‘पथेर’मा मधेसका मजदुरको जीवनकथा छन् । जो हिलोलाई इँटाको ‘सेप’ दिन्छन् । जसलाई थाहा हुनुपर्छ– कति र कस्तो माटो मुछ्ने, माटोमा के–के प्रयोग गर्ने, जो भट्टीमा पोल्दा चर्कनु भएन । घाममा सुकाउँदा फुट्नु भएन ।

हिउँदभर कलंकीको नैकापआसपास या भक्तपुरका खाली जग्गा भएतिर ठुल्ठूला चिम्नीबाट धुवाँको मुस्लो अनन्त आकाश उक्लिरहेको देखिन्छ । चिम्नीका फेदमा मजदुरहरू इँटाभट्टीमा कोइला हालिरहेका हुन्छन् । कोही काँचो इँटा ओसारिरहेका हुन्छन् । इँटाभट्टानजिकै हुन्छ, सुकेका इँटाले बनाइएका ससाना टहरा । सिंगो हिउँद त्यहीँ गुजार्छन् ती मजदुरहरू । कसैको ठेगाना पश्चिम बंगाल हुन्छ, कसैको उत्तर प्रदेश–विहार त कसैको मधेस र खोटाङ–उदयपुर, रुकुम–रोल्पा–डोल्पा इत्यादि ।

भट्टामा उनीहरूलाई ठेकेदारले ओसारेका हुन्छन् । उनीहरू भने ठेकेदारलाई ‘नाइके’ सम्बोधन गर्छन् । ‘नाइके’ले गाउँ–गाउँबाट मजदुर जम्मा गरेर ल्याएका हुन्छन् । जसबापत ‘नाइके’लाई कमिसन मिल्छ भने मजदुरहरूले न्युन ज्यालामा पसिना बगाउँछन् । त्यहीँ हुन्छन्– ‘पथेरहरू’, अर्थात् हिलो माटो मुछेर काँचो इँटा बनाउने मान्छे । ती ‘पथेर’कै कथा लेखेर कथा–किताब तयार पारे लेखक श्याम साहले । ‘पथेर’ उनको किताबको शीर्ष कथा अथवा पुस्तककै शीर्षक हो । 

‘पथेर’मा उनले मधेसका मजदुरको जीवनकथा उतारेका छन् । जो हिलोलाई इँटाको ‘सेप’ दिन्छन् । जसलाई थाहा हुनुपर्छ– कति र कस्तो माटो मुछ्ने, माटोमा के–के प्रयोग गर्ने । जो भट्टीमा पोल्दा चर्कनु भएन । जसलाई घाममा सुकाउँदा फुट्नु भएन । यही कथासँगै मधेसका भुइँमान्छेहरूको कथा ल्याए उनले । यसअघि उनले ०७१ सालमा ‘अब्बा’मार्फत भुइँमान्छेकै कथा ल्याएका थिए । यसमा पनि मधेसका कथा थिए ।

आमाको कथा हाल्ने शैलीबाट खिचिएँ । यसले कथाप्रति गहिरो अभिरुचि जगाउँदै गयो, मैले एकदेखि आठ कक्षासम्म एकै शिक्षकसँग ट्युसन पढेँ । ती शिक्षक पनि आफ्ना अनुभव कथात्मक शैलीमा सुनाउँथे । त्यो परिवेशले कथाप्रति एक खालको लगाव बढाइदियो । - श्याम साह, कथाकार

‘मधेस !’ मधेसमाथि कति साहित्य लेखिए ? खोज्दा पत्तो पाइन्छ, थुप्रै लेखिए । बिपी कोइरालादेखि ध्रुवचन्द्र गौतम र धच गोतामेसम्मले मधेसको परिवेशमा आख्यान लेखे । ती आख्यानको रोचक पक्ष यो पनि हो कि मधेसमा टन्न उब्जनी हुन्छ । आँपको बगान हुन्छ । मलिला खेत, लहलाउँदो धानका बालाहरू । महेन्द्र राजमार्गबाट पूर्व–पश्चिम सयर गर्ने हो भने देखिने मधेस यस्तै नै हो । तर, त्यहाँ अर्को मधेस पनि छ । जसले झाडी फाँडेर खेत बनाए, तर जमिन उनीहरूको भएन । ती थारू, मुसहर थिए अथवा आदिवासी थिए, तर उनीहरूको आफ्नो जमिन भएन । अहिले पनि छैन । 

मुसहरहरूमा एउटा मिथक छ, पुर्खा ‘दिनाबद्री’को । जसको इतिहास नै चार हजार वर्ष पहिलेको हो । तर, ती आदिवासीको जमिन छैन, माटो छैन । ‘मैले दाबी गर्ने भनेको त्यो मधेस हो, जहाँ विभेद छ । काठमाडौंबाट देखिने उर्वर मधेस होइन,’ लेखक साह सुनाउँछन्, ‘त्यहाँ सत्तालाई प्रयोग गरेर खाइरहेका मान्छे हिजो पनि थिए, आज पनि छन् । तर, तिनीहरूको कथा नआए पनि हुन्छ, यो मधेसको आदिवासी कथा जरुर आउनुपर्छ ।’ 

कमलपोखरीको एक चिया पसलमा कथा लेखनको अनुभव, विषय छनोटबारे विस्तारमा बताइरहेका थिए साह । कथा लेखनको स्रोत र ऊर्जाबारे पनि बोलिरहेका थिए । साह भनिरहेका थिए, ‘सानैतिर आमाको मुखबाट कथा सुनेर हुर्किएको हुँ ।’ त्यो श्रुति परम्पराको निरन्तरता थियो आमाको कथा वाचन । 

आफ्नै भाषा मैथलीमा पढ्न पाएनन् उनले । न उनकी आमाले नै पढ्न पाइन् । आमा लोककथा सुनाउँथिन् । उनी लोककथा मात्रै सुनाउँदिनथिइन्, आफ्नै अनुभव पनि लय हालेर सुनाउँथिन् रुचिपूर्ण तरिकाले । ‘आमाको त्यही कथा हाल्ने शैलीबाट खिचिएँ । यसले कथाप्रति गहिरो अभिरुचि जगाउँदै गयो,’ साह सुनाउँछन्, ‘मैले एक कक्षादेखि आठ कक्षासम्म एकै शिक्षकसँग ट्युसन पढेँ । ती शिक्षक पनि आफ्ना अनुभव कथात्मक शैलीमा सुनाउँथे । त्यो परिवेशले कथाप्रति एक खालको लगाव बढाइदियो ।’ 

तर, साहले मधेसको भुइँमान्छेको कथा भन्न खस भाषा रोजे ! ‘यो बाध्यता हो । मैथली लेख्न आउँदैन, पढ्न मात्रै आउँछ,’ साह स्विकार्छन्, ‘पढ्न नपाएपछि मेरो व्याकरण नै छैन । कसले दियो त मलाई मेरो भाषाको व्याकरण ? त्यसवेला पढ्न पाइनँ, अहिले ढिला भइसक्यो । यसकारण मैले खस भाषा रोजेँ ।’ 

साहले जसको कथा लेखे, कथामा जो–जो पात्र बनेर आएका छन्, उनीहरू उनको कथाभन्दा धेरै पर छन् । शाहले कथामा आफूलाई समेटे भन्ने पनि उनीहरूलाई थाहा छैन । भन्छन्, ‘आफ्नै पात्रहरूले उनीहरूमाथि के लेखियो भनेर थाहा नपाउनु दुःखद हो मेरा लागि ।’ कथाका ती वास्तविक पात्रहरूले पुस्तक छिचोल्न सक्दैनन् । तर, पढ्न सक्नेले पनि नपढिदिने उनको गुनासो छ । तर, पढ्नेहरू बिस्तारै आइरहेकोमा भने विश्वस्त छन् । मधेस आन्दोलनले राजनीतिक विषयलाई मधेसमा चासोको विषय बनाइदियो । सिकेलाल, तुलानारायण शाह, रिता साहका लेखहरूमा मधेसी पाठकको प्रतिक्रिया आउन थालेका छन् । त्यसले आफूमा ऊर्जा भर्ने उनको धारणा छ । ‘आन्दोलनले चेतना निर्माणमा ठूलो असर गर्छ । साथै तल्लो तहको चेतना बुुझ्न अख्यान, साहित्य चाहिन्छ,’ उनी भन्छन्, ‘राजनीतिक ‘मुभमेन्ट’ले कलेक्टिभ भाषाको निर्माण गर्छ । काठमाडौं नआएको मान्छेले पनि राज्यसत्ता मधेसविरोधी छ भन्ने बुझाइ आन्दोलनले निर्माण गरेको हो ।’

शाहको घर सिराहा गोलबजार हो । त्यहाँ सानो होटेल थियो उनको परिवारको । मान्छेहरू आउँथे, गफ गर्थे कथात्मक शैलीमा । होटेलमा चाहिने कागजका लागि किताब जोखेर किन्थे परिवारले । त्यतै पढे प्रेमचन्दहरू । उनले त्यसवेला बुझेको विषय हो– आफ्ना कुरा पनि कथामा सुनाउन पाइँदोरहेछ । गोलबजारमा हप्तामा दुईपटक हाट लाग्थ्यो । मंगलबार त कामले गर्दा स्कुलै भ्याउँदैनथे । बरु होटेलमा आएका पत्रिकामा खगेन्द्र संग्रौलाहरू पढ्थे । कहिले चिया, कहिले पुस्तक, कहिले के । चिया कतै पुर्‍याएर फिरेपछि हतार–हतारमा पढ्थे । अहिले पनि कथालेखनमा उनको कुनै रुटिन छैन । चार, पाँच, ६ महिना लगाउँछन् एउटा कथाका लागि । जतिवेला दिमागमा कथा तयार भयो, बसेर लेखिहाल्छन् । ‘चिया कतै पुर्‍यायो, आयो, फेरि पढ्यो । फुर्सद हुन्छ, खरखर लेख्यो । लेख्न–पढ्नकै लागि वातावरण कहिल्यै बनेन । जीवन पनि त्यसरी नै बाँचियो,’ साह सुनाउँछन् । 

भुइँमान्छेको कथाप्रतिको गहिरो रुचिमा आफूले बाँचेर आएको त्यस्तै जीवनलाई कारक मान्छन्, उनी । लेखनमा एक किसिमको आनन्द भेट्छन्, जसको तरिका यस्तो छ : ‘मजदुरी गर्ने एउटा मान्छे दिनभर काम गर्छ, साँझमा एक ‘ट्वाक’ लगाएर जमिन्दारलाई गाली गर्न जति मजा मान्छ, उसले अरू कुरामा त्यति मजा मान्दैन । हामी आनन्द खोजेर अन्त जान सक्दैनौँ । जे भोग्यो, जेलाई नजिकबाट नियाल्यो, त्यहाँ दुःख हुन्छ, रमाइलो पनि हुन्छ । आनन्द पनि त्यही हो ।’