मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन अर्याल काठमाडौं
२०७७ चैत ११ बुधबार ०८:४९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

न्यून बीजकीकरण गर्ने श्रीबालाजी ग्लासलाई ५००% जरिवाना, २ करोड ३९ लाख तिनुपर्ने

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७७ चैत ११ बुधबार ०८:४९:००

कम भन्सार मूल्यांकन गरेर सिसा भित्र्याउन खोजेको श्रीबालाजी ग्लास प्रालिलाई वीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले ५ सय प्रतिशत जरिवाना लगाएको छ । भन्सार छली गर्न सिसाको मोटाइ (एमएम) र परिमाण घटाएर भित्र्याउन खोज्दा कारबाहीमा परेको हो ।

दुईवटा कन्टेनरलाई २ करोड ३९ लाख २० हजार ४ सय ९१ रुपैयाँ जरिवाना तिराएको वीरगन्ज सुक्खा बन्दरगाहका सूचना अधिकारी चूडामणि कट्टेलले जानकारी दिए । भन्सार अधिकृतहरूले सिसामा न्यून बीजकीकरण गरेको आशंकामा बालाजी र तिरुपतिका ४ कन्टेनर नियन्त्रणमा लिएका थिए । चेकजाँच गर्दा बालाजीका दुईवटा कन्टेनरमा ‘फल्ट’ भेटिएपछि ५ सय प्रतिशत जरिवाना तिराएको उनले बताए ।

बालाजीले ३० माघमा भन्सारलाई बुझाएको ३४७८ नम्बरको प्रज्ञापनपत्रमा सिसाको परिमाण ३५७२ स्क्वायर मिटर ‘डिक्लेरेसन’ देखाएको छ । तर, भन्सार अधिकृतले कन्टेनर चेकजाँच गर्दा ५ सय ३५ स्क्वायर मिटर बढी सिसा भेटिएको थियो । कम्पनीले प्रज्ञापनपत्रमा ४ एमएमको सिसा जनाए पनि चेकजाँच गर्दा ५ एमएमको भेटिएको सूचना अधिकारी कट्टेलले जानकारी दिए । भन्सार कार्यालयले परिमाण र एमएम दुवै फरक फेला पारेपछि १२ हजार ३ सय २४ डलर छुट्टै मूल्य कायम गरी ९२ लाख ९६ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

अर्को कन्टेनरको ५४३५ नम्बरको प्रज्ञापनपत्रमा ४.५ एमएमको ५ हजार ७ सय ४६ वर्गमिटर ग्लास रहेको घोषणा गरेको थियो । तर, भन्सार अधिकृतले चेकजाँच गर्दा ५ एमएमको सिसा फेला परेपछि जरिवाना तिराएको कट्टेलले जानकारी दिए । बालाजीले चारवटा प्रकारका सिसा ल्याएकोमा तीनवटा ठीक रहेको बताए । उनले भने, ‘प्रज्ञापनपत्रमा सिसाको एमएम घटाएर कर छली गर्न खोजेको भेटिएपछि १ करोड ४७ लाख २४ हजार ३ सय ८८ रुपैयाँ जरिवाना गरेका छौँ ।’

कम भन्सार मूल्यांकन गरेको आशंकामा वीरगन्ज सुक्खा बन्दरगाहले इसिएमयू २०६४३७२२ जी १ र टिइएमयू ३६८१२४२२ जी १ नम्बरका दुईवटा सिसा बोकेका कन्टेनरको भन्सार पास रोकेर अनुसन्धान थालेको थियो । भन्सार ऐन, २०६४ अनुसार न्यून बीजकीकरण गर्नेलाई ५ सय प्रतिशत जरिवाना गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बालाजीलाई जरिवाना लगाएको सूचना अधिकारी कट्टेलले बताए । वीरगन्ज सुक्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार बालाजीले चीनबाट सिसा आयात गरेको हो ।

 तिरुपतिको चेकजाँच हुँदै
भन्सारले बालाजी र तिरुपति ग्लास कम्पनीका ४ वटा कन्टेनरमा ‘फल्ट’ भेटिएपछि नियन्त्रणमा लिएको थियो । ‘हामीले बालाजीको अनुसन्धान पूरा गरेर जरिवाना लगाइसकेका छौँ,’ सूचना अधिकारी कट्टेलले भने, ‘अब तिरुपतिका सिसाका कन्टेनर चेकजाँच गर्छौँ, उसले हामीलाई बुझाएको प्रज्ञापनपत्र र कन्टेनरमा रहेको सिसाको एमएम वा परिमाण फरक परेमा ५ सय प्रतिशत जरिवाना तिराउँछौँ ।’ 

भन्सार स्रोतका अनुसार बन्दरगाहमा आइपुगेका थप ८० वटा सिसाका कन्टेनर पनि शंकाको घेरा राखिएको छ । यी कन्टेनरमा पनि आयातकर्ताले कम एमएम, कम परिमाण, रंगीनलाई सादा सिसा उल्लेख गरेर डकुमेन्ट बनाएको आशंका गरिएको छ ।

नेपालमा सिसा आयात गर्दा ३० प्रतिशत भन्सार तिर्नुपर्छ । बढी एमएमको सिसालाई कम देखाएर भन्सार मूल्यांकन गराई बढी मुनाफा कमाउन व्यवसायीहरू लागिपर्ने भन्सार अधिकृतहरू बताउँछन् । खासगरी आयातकर्ताले प्रज्ञापनपत्रमा कम एमएम, कम परिमाण, सिसाको रङ, टफन ग्लासलाई क्लियर ग्लास उल्लेख गरी कर छली गर्न खोज्छन् । सादा सिसाको तुलनामा रंगीन र टफन सिसाको मूल्य बढी पर्छ ।