Skip This
 न्यून बीजकीकरणको आरोपमा ४ कन्टेनर सिसा वीरगन्ज भन्सारको नियन्त्रणमा, ८० कन्टेनरमाथि आशंका
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत ८ आइतबार
  • Tuesday, 13 May, 2025
नवीन अर्याल वीरगन्ज
२o७७ चैत ८ आइतबार ११:१८:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

 न्यून बीजकीकरणको आरोपमा ४ कन्टेनर सिसा वीरगन्ज भन्सारको नियन्त्रणमा, ८० कन्टेनरमाथि आशंका

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७७ चैत ८ आइतबार ११:१८:oo

न्यून बीजकीकरण गरेर नेपाल भित्र्याउन लागिएका चारवटा सिसा बोकेका कन्टेनर वीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले समातेको छ । सिसाको थिकनेस (मोटाइ) कम देखाएर व्यवसायीले ठूलोे रकम राजस्व छली गर्न लागेको भन्दै भन्सार कार्यालयले पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा सुक्खा बन्दरगाहमा आइपुगेका सिसाका कन्टेनर चेकजाँच गर्दा गलत ‘डिक्लेरेसन’ गरेको भेटिएको भन्सार अधिकृतले बताएका छन् । 

नेपालमा सिसाको व्यापार गर्दै आइरहेका तिरुपति ग्लास र बालाजी ग्लासले कम मूल्यांकन गरेर सिसा भित्र्याउन लागेको वीरगन्ज सुक्खा बन्दरगाहका भन्सार अधिकृत चूडामणि कट्टेलले जानकारी दिए । चारवटा कन्टेनरमा ‘फल्ट’ देखिए पनि दुईवटा नियन्त्रणमा आइसकेका र दुईवटाको अनुसन्धान चलिरहेको छ । तिरुपति ग्लासले ५ मिलिमिटर (एमएम)को सिसा ४ एमएम र बालाजी ग्लासले ५ एमएमको सिसा ल्याएर ४.५ एमएम देखाई भन्सार छली गर्न लागेको उनले बताए ।

तिरुपति र बालाजी दुवै कम्पनीले भन्सार कार्यालयलाई बुझाएको प्रज्ञापनपत्रमा सिसाको वास्तविक मोटाइभन्दा कम मोटाइ उल्लेख गरिएका हुन् । सिसा भन्सार पास गराउन भन्सार अधिकृतलाई बुझाएको डकुमेन्टअनुसार चेकजाँच गर्दा दुवै कम्पनीले कर छली गर्न खोजेको भेटिएको हो । भन्सार ऐनअनुसार न्यून बीजकीकरण गर्ने आयातकर्तालाई ५ सय प्रतिशतसम्म जरिवाना गर्ने व्यवस्था छ । भन्सारले कन्टेनर नियन्त्रणमा लिएर कारबाही थालेपछि बालाजी ग्लासले ५ सय प्रतिशत जरिवाना तिर्ने घोषणा गरेर सम्पर्कमा आइसकेको भन्सार अधिकृत कट्टेलले जानकारी गराए । तिरुपतिले ५ सय प्रतिशत जरिवाना तिर्न सहमत भए पनि अझै सम्पर्कमा नआएको उनको भनाइ छ ।  

भन्सार अधिकृत कट्टेलका अनुसार ५ एमएमको सिसाको भन्सार दर ३ अमेरिकी डलर रहेको छ भने ४.५ एमएमको २.५० र ४ एमएमको २ अमेरिकी डलर भन्सार दर रहेको छ । आयातकर्ताले ठूलो परिमाणमा सिसा ल्याउँदा प्रज्ञापनपत्रमा थोरै मात्र अन्तर गराउन सके पनि भन्सार प्रवेश गराउँदा मोटो रकम जोगिने देखिन्छ । त्यसमाथि यसले अन्तःशुल्क र भ्याटमा पनि असर पार्ने उनले बताए । 

दुई कन्टेनर नियन्त्रण, दुईको अनुसन्धान
इसिएमयू २०६४३७२२ जी १ र टिइएमयू ३६८१२४२२ जी १ नम्बरका दुईवटा सिसा बोकेका कन्टेनरमा ‘डिक्लेरेसन’ फरक भेटिएको हो । अरू दुई कन्टेनरमाथि पनि अनुसन्धान भइरहेको वीरगन्ज सुक्खा बन्दरगाहका भन्सार प्रमुख लालबहादुर खत्रीले बताए । उनका अनुसार कन्टेनरमा चीनबाट सिसा ल्याइएको हो । ‘दुई कन्टेनरलाई ५ सय प्रतिशत जरिवाना गर्न प्रक्रिया अगाडि बढाइएको छ,’ उनले भने, ‘अहिलेसम्म ४ वटा कन्टेनर हाम्रो सम्पर्कमा आइपुगेका छन् ।’ भन्सार कार्यालय स्रोतका अनुसार बन्दरगाहमा ८० भन्दा बढी सिसाका कन्टेनरहरू आइपुगेका छन् । जसमा आयातकर्ताले एमएम फरक पारेको, रंगीन सिसालाई सादा भनेर डकुमेन्ट बनाएको आशंका गरिएको छ । भन्सार कार्यालयले सबै कन्टेनरहरूलाई शंकाको घेरामा राखेर अनुसन्धान गर्ने तयारीमा छ । 

सिसामा ३० प्रतिशत भन्सार
नेपालमा सिसा आयात गर्दा ३० प्रतिशत भन्सार तिर्नुपर्छ । त्यसैले व्यवसायीले बढी एमएमको सिसालाई कम एमएमको देखाएर भन्सार मूल्यांकन गराई नेपाल भित्र्याउन खोज्छन् । आयातकर्ताले प्रज्ञापनपत्रमा सिसाको एमएम र परिमाण घटाउनेदेखि रंगीन र टफन सिसालाई सस्तो सादा सिसा ल्याएको देखाएर कर छली गर्न प्रयास गर्ने एक भन्सार एजेन्टले नाम उल्लेख नगर्ने सर्तमा बताए । पछिल्लो समय ठूलो परिमाणमा न्यून बीजकीकरण भएर सिसा भित्रिन थालेको सूचानाकै आधारमा चारवटा कन्टेनर भन्सार कार्यालयले पक्रिएको हो । 

भन्सार कार्यालयका प्रमुख खत्रीले भने, ‘यहाँबाट अन्डर इन्भ्वाइस गरेर मालसामान भित्र्याउन खोजेको पछिल्लो डेढ–दुई वर्षयताकै नयाँ घटना हो, हामी कर छली गर्न खोज्ने व्यवसायीलाई उम्किन दिँदैनौँ ।’ भन्सार बिन्दुमा सिसामा मात्र होइन, अरू सामानमा पनि व्यवसायीले न्यून बीजकीकरणको प्रयास गरिरहेका हुन्छन् । तिरुपति र बालाजी ग्लासले चीनबाट आयात गरेको सिसा भन्सारबाट भित्र्याउन निकै प्रयास गरेका थिए । तर, भन्सारका अधिकृतले दुवै कम्पनीलाई उम्किन नदिएपछि जरिवाना तिर्न तयार भएको अर्का भन्सार एजेन्टले बताए । तिरुपति र बालाजी ग्लास नेपालका ठूला सिसा विक्रेता कम्पनी हुन् । 

‘पछिल्ला वर्षहरूमा न्यून बीजकीकरण गरेर सामान भित्रिएको खासै भेटिएको थिएन,’ एक भन्सार अधिकृतले भने, ‘सूचना प्रविधिको प्रयोग र भन्सार कार्यालयमा गरिएको सुधारका कामले पनि न्यून बीजकीकरणजस्ता गतिविधि कम हुँदै गइरहेका छन् ।’ कम मूल्यांकन गरेर सामान भित्र्याउँदा मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क पनि छली हुन्छ । व्यवसायीले जति मूल्यमा भन्सार तिरेर सामान भित्र्याएको छ, सोही मूल्यकै आधारमा भ्याट बिल बनाउँछ । नियन्त्रणमा लिएका कन्टेनरमा कति सामान छ भन्ने यकिन भइनसकेको भन्सार अधिकृतले जानकारी दिए । आयातकर्ता कम्पनीहरूले क्लियर ग्लास ल्याएको भन्सार कार्यालयले बतायो । टफन ग्लासको तुलनामा क्लियर ग्लासको मूल्य कम पर्छ । सादा ग्लासलाई प्रशोधन गरेर टफन ग्लास बनाइन्छ । 

टफन ग्लासमा बढी विकृति
टफन प्रशोधित सिसा हो । यो साधारण सिसाको तुलनामा महँगो हुन्छ । व्यवसायीले टफन ग्लास ल्याउँदा साधारण ग्लासको प्रज्ञापनपत्र बनाएर कम भन्सार मूल्यांकनमा भित्र्याउन खोज्ने भन्सार अधिकृतले बताए ।  नेपालमा ठूलो परिमाणमा टफन ग्लासको प्रयोग हुन थाले पनि भन्सार बिन्दुमा वास्तविक भन्सार र भ्याट नउठेपछि भन्सार विभाग र अर्थ मन्त्रालयले पनि चासो देखाउँदै आइरहेको छ । बजारमा ५ एमएम, ६ एमएम, ८ एमएम र १२ एमएमका टफन ग्लास बिक्री भइरहेका छन् ।