
हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका– २ घ्यारूस्थित मुखुङ सामुदायिक वनमा आगलागी भएको छ । माघ २९ गतेदेखि लागेको आगो निभाउन स्थानीय र सुरक्षाकर्मी लागिपरे पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले स्थानीय र सुरक्षाकर्मी दुई दिनसम्म आगो नियन्त्रणका लागि खटिए पनि आगो नियन्त्रण गर्न नसकिएको बताए । उनले भने, ‘भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको छ ।’
स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त टोली दुई दिनदेखि घटनास्थलमै बसेर आगो निभाउने प्रयास गरिरहेको सशस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले बताए । उनले भने, ‘मानव बस्तीभन्दा दुई घन्टा टाढाको दूरीमा आगलागी भएकोले मानव बस्ती सुरक्षित छ, तैपनि जंगलमा आगो तीव्र रूपमा फैलिएकाले नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’
स्थानीय र सुरक्षाकर्मी आगो नियन्त्रणमा लिन निरन्तर लागिपरेको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए । उनका अनुसार मनाङको जंगलमा यसअघि दुई ठाउँमा आगो लागे पनि हिमपातपछि नियन्त्रणमा आएको थियो ।