मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ फाल्गुण २ आइतबार
  • Tuesday, 15 July, 2025
२o७७ फाल्गुण २ आइतबार १o:o७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ल्होसारका कारण रसुवागढी नाकाबाट आयात ठप्प

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ फाल्गुण २ आइतबार १o:o७:oo

चीनसँगको व्यापारिक नाका रसुवागढीबाट नेपालतर्फ हुने आयात ठप्प भएको छ । एकतर्फी नाका सञ्चालनमा ल्याएको चीनले बिहीबारदेखि सामान नल्याउँदा नेपालतर्फ हुने आयात ठप्प भएको हो । 

केरुङमा रहेका कामदार ल्होसार मनाउन घर गएकाले नेपालतर्फ हुने आयात बिहीबारदेखि रोकिएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए । ‘बुधबारसम्म दैनिक चिनियाँ ५ गाडी सामान आयात भइरहेको थियो, बिहीबारदेखि आउन छोड्यो,’ उनले भने, ‘चिनियाँ सरकारी कार्यालयहरू खुला रहेको जानकारी छ, तर केरुङमा काम गर्ने कामदार ल्होसार मनाउन घर गएकाले उनीहरू नफर्केसम्म सामान नेपाल आयात नहुने भन्ने आएको छ ।’ 

करिब १० दिन नेपालतर्फ सामान आयात नहुनेसमेत उनको भनाइ रहेको छ । चीनसँगको व्यापारिक नाका रसुवागढी नियमित सञ्चालनमा नआएको एक वर्ष भयो । गएको जेठ २२ गतेदेखि एकतर्फी नाका सञ्चालन गरेको चीनले कोरोनाको कारण देखाउँदै सहज रूपमा नियमित सञ्चालन गरेको छैन । 

सीमास्तरका दुई देशका अधिकारीबीच सामान आयात बढाउने सहमति भए पनि सुरुदेखिको कोटा प्रणाली नै कायम रहेको छ । गएको भदौ २४ मा दुई देशका सीमाका अधिकारीबीच भएको बैठकमा चिनियाँ पक्षले २ सिफ्टमा १६ घन्टा काम गर्ने भनेको थियो । १ सिफ्टमा ८ वटा आफ्ना गाडीमा नेपालतर्फ सामान ल्याइदिने र नेपालतर्फ व्यवस्थापन गर्न अनुरोध गरेको र सबै व्यवस्थापनको काम तत्काल सम्पन्न गर्ने भनेको चिनियाँ पक्षले हालसम्म भने कार्यान्वयन भएको छैन । 

पछिल्लो एक वर्षयता कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित बनेको छ । चीनले एकतर्फी नाका सञ्चालन गरेको छ । चीनले अहिले दैनिक आफ्नो ५ वटा गाडीमा नेपाली भूभागमा सामान झारिदिने गरेको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् ।

चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिकलगायतका सामग्रीहरू भित्रिने गरेको छ । नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्री जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्र्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ ।