१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ माघ १९ सोमबार ०२:३१:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पशुपतिमा १४१ किलो सुनको जलारी राख्ने निर्णय : मौलिकता मासेर महादेवलाई सुन चढाउन खोजेको भन्दै संस्कृतिविद्हरू विरोधमा

पशुपतिमा सांस्कृतिक अतिक्रमण सहँदैनौँ, प्रतिरोध गर्छौं : संस्कृतिविद् नरोत्तम वैद्य (अन्तर्वार्ता)

Read Time : > 3 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ माघ १९ सोमबार ०२:३१:००

सरकारले पशुपतिमा शिवजीको मूर्तिमा एक सय ४१ किलोको सुनको जलारी राख्ने तयारी गरेको छ । मौलिक, पुरातात्विक र सांस्कृतिक मूल्यविपरीत महादेवलाई सुनको जलारी चढाउन खोजिएको भन्दै संस्कृृतविद्हरूले विरोध गरेका छन् । 

महामारीका वेला जनतालाई पिसिआर टेस्ट गर्न नसक्ने सूचना जारी गरेको सरकारले मन्दिरमा सुन चढाउन भने एक अर्बभन्दा बढी खर्च गर्न लागेको छ । एकातिर जनताप्रति बेवास्ता र अर्कोतिर संस्कृतिमाथि अतिक्रमण गर्न खोजेको भन्दै सरकारी कदमको विरोध भएको हो । 

प्रधानमन्त्री केपी ओलीले पशुपतिमा गएर विशेष पूजा–आराधना गरेकै दिन ३० करोड रुपैयाँ तत्कालै दिने प्रतिबद्धता मात्रै जनाएनन्, सुनको जलारी निर्माणमा कुनै पनि कसर बाँकी नराख्न सरकारी निकायलाई दिर्नेशन पनि दिए । प्रधानमन्त्रीको निर्देशनबमोजिम पशुपति क्षेत्र विकास कोष यतिवेला सुनको जलारी निर्माणमा जुटेको छ । त्यसका लागि कोषका कोषाध्यक्ष मिलन थापाको संयोजकत्वमा कार्यदल नै गठन गरिएको छ । 

पशुपति क्षेत्र विकास परिषद्ले जलारी निर्माणका लागि औपचारिक निर्णय पनि गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको परिषद् बैठकले प्रधानमन्त्रीको निर्देशनबमोजिम जलारी राख्ने निर्णय गरेको हो । प्रधानमन्त्री ओली गत १२ माघमा पशुपतिमा पूजा गर्न गएका थिए । १३ माघमा परिषद् बैठक बसेर जलारी राख्ने निर्णय गरेको हो । 

अहिले भएको दुई सय वर्षभन्दा पुरानो चाँदीको जलारी हटाएर सुनको राख्न सरकारले बजेट पनि छुट्याएको छ । ‘चाँदीको जलारी पुरानो भएकाले नयाँ भने सुनको बनाउने गरी निर्णय भएको हो, अब छिट्टै प्रक्रिया अगाडि बढ्नेछ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री ढकालले भने । 

प्रधानमन्त्रीको निर्देशनअनुसार परिषद्मा अध्यक्षको हैसियतमा आफूले ठाडो प्रस्ताव लगेर निर्णय गराएकोसमेत मन्त्री ढकालले बताए । पशुपति पवित्र स्थल भएकाले यसका लागि सरकारले ३० करोड दिने र बाँकी रकम पशुपति कोषले व्यवस्था गर्ने गरी अगाडि बढाइएकोसमेत मन्त्री ढकालले जानकारी दिए । 

यता, पुरातत्व विभागलाई भने अहिलेसम्म कोषले जानकारी गराएको छैन । पशुपति क्षेत्र पनि विश्वसम्पदा सूचीमा रहेको छ । पशुपतिमा जलारीका विषय आइरहने गरेको विभागका महानिर्देशक दामोदर गौतमले बताए । अहिले चाँदीमाथि सुन राख्ने कुरा सुनेको, तर यस विषयमा कोषले विभागलाई जानकारी गराइनसकेको गौतम बताउँछन् । ‘पशुपति विकास कोषले जानकारी गराउन बाँकी नै होला, तैपनि हाम्रो चासो हुने स्वाभाविक विषय हो,’ गौतमले भने । 

उता संस्कृतिवद् तथा कोषका पूर्वपदाधिकारी नरोत्तम वैद्य भने महादेवलाई सुन चढाउने खोज्नु नै सांस्कृतिक अतिक्रमण भएको बताउँछन् । ‘हरेक मन्दिर र हरेक देउताको आफ्नो मौलिकता र पहिचान हुन्छ । महादेव र सुनको कुनै साइनो छैन । महादेवलाई सुन चढाउनु उनको अपमान हो । हामी पशुपतिको अपमान हुन दिनेछैनौँ,’ उनले नयाँ पत्रिकासँग भने ।

......

संस्कृतिविद् नरोत्तम वैद्य भन्छन्– पशुपतिमा सांस्कृतिक अतिक्रमण सहँदैनौँ, प्रतिरोध गर्छौं

जलारीको सांस्कृतिक र पुरातात्विक महत्व के छ ? 

पशुपतिको चाँदीको जलारी तत्कालीन राजा रणबहादुर शाहले बनाउन लगाएका हुन् । त्यसभन्दा अगाडि जलारी चाँदीको होइन, तामाको थियो । खासमा हुनुपर्ने तामाको नै थियो । तर, राजा–महाराजाले आफूलाई ठालु देखाउन चाँदीको बनाएका थिए । पछिका राजाहरूले पनि जलारीमा चाँदी थप्दै लगेका थिए । सांस्कृतिक र पुरातात्विक हिसाबले जलारीमा चाँदी राख्नु पनि उपयुक्त छैन । सुन त झनै राख्नै हँुदैन । पशुपति मन्दिर निर्माण हँुदैका कालमा तामालगायत धातुको जलारीसमेत बनेको हो । त्यसैले पुरातात्विक हिसाबले पछि अन्य धातु थप्नु नै गलत हो । झनै सुन राख्नु भनेको त पुरातात्विक हिसाबले हुनै सक्दैन । जलारी भनेको शिवलिंगमा पानी बगेर झर्ने भाग हो । लिंग प्रायः माटो, काठ, धातु, बालुवा, ढुंगा, चामलबाट खडा गरिन्छ । लिंगका चार रूपमध्ये ब्रह्म भाग जलारी हो । 

चाँदीको सट्टा सुनको जलारी राख्ने योजना गलत हो ?

चाँदी नै राख्नु नै गलत थियो । अब सुन राख्ने कुरा त झनै गलत हो । सामान्यतया भगवान् महादेव भनेको नांगै हिँड्छन्, बाघको छाला ओढ्छन् भन्ने आमबुझाइ छ । महादेव भनेका अहिलेको कालखण्डका समाजवादीजस्ता हुन् भन्ने गरिन्छ, जो आफू केही राख्दैनन्, सबै मानवलाई बाँड्छन् । सबै भगवानका आ–आफ्नै महत्व हुन्छ । त्यसैले शिव भगवान्लाई आफ्नै महत्वमा छाड्नुपर्छ । 

यो काम कानुनी रूपमा गलत छ कि छैन ? 

कानुनी रूपमा पशुपतिमा सुन राख्नै मिल्दैन । प्राचीन स्मारक संरक्षण ऐनको दफा १२ को खण्ड (ख)का अनुसार कुनै पनि सांस्कृतिक सम्पदाको स्वरूप बदल्न मिल्दैन । स्वरूप बदलेमा पाँच हजारदेखि एक लाख रुपैयाँसम्म जरिवानाको साथै पाँच वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ । अर्को कुरा सुन नै राख्ने हो भने पनि कसरी राख्ने ? पशुपतिभित्रको शिवलिंग चारजना भट्टले बाहेक अन्य कसैले छुन पाउँदैनन् । एक सय ४१ किलो सुनको जलारी भट्टहरूले कसरी लगाउन सक्छन् ? यो प्राविधिक रूपमा पनि मिल्दैन । पहिले पनि चाँदी राख्दा मूल भट्टहरूले नै राखेका हुन् । तर, यति ठूलो परिमाणको सुन कसरी भट्टहरूले मात्रै राख्न सक्छन् ?
 
यसमा सरोकारवालहरूसँग छलफल भएको थिएन ? 

पशुपति विकास कोषले यस विषयमा कुनै पनि सरोकारवाला निकायसँग छलफल गरेको छैन । अब छलफल गर्नुको कुनै तुक पनि हुँदैन । 

प्रधानमन्त्रीले निर्देशन दिएर काम नै अगाडि बढाइएको छ । अब तपाईंहरूको प्रतिक्रिया के हुन्छ ?

पहिलो कुरो त नेपाल धर्मनिरपेक्ष मुलुक भइसकेको अवस्था हो । यसमा प्रधानमन्त्री केपी शर्मा ओली कमचलाउ भएर निर्वाचन घोषणासमेत गरेको अवस्थामा मन्दिर धाएर ३० करोड दिन्छु भन्नु नै गलत छ । प्रधानमन्त्रीले खल्तीको पैसा दिने हो र ? त्यसमाथि राज्यको एक अर्बभन्दा बढी खर्च हुँदै छ । ओलीमा ठूलो धार्मिक आस्था भएर त्यो घोषणा गरेका पनि होइनन् । आस्थाका हिसाबले त गत वर्ष होलीवाइन खाएको जनताले बिर्सेका छन् र ? अर्को कुरा अहिले कोभिड– १९ को यत्रो महामारीमा भ्याक्सिन लगाएर जनतालाई राहत दिनुपर्ने वेला मन्दिरमा करोडौँ बाड्दै हिँड्न मिल्छ ? ओलीले घोषणा गरेको ३० करोड पशुपतिको सांस्कृतिक संरक्षण गर्न होइन, चुनावी स्टन्ट मात्रै हो । मन्दिर, मस्जिद र चर्चमा प्रधानमन्त्रीले पैसा बाँड्दै हिँड्ने पनि होइन । धार्मिक, पुरातात्विक र आर्थिक हिसाबले पनि नमिल्ने सुनको जलारी राख्ने विषय कुनै हालतमा पनि मान्य हुँदैन । हामीले यसको विरोध गर्छौँ । कुनै पनि हालतमा पशुपतिमा सुनको जालारी राख्न दिँदैनौ । प्रतिरोध गर्छौँ ।