Skip This
Skip This

पाथीभराको वार्षिकोत्सवमा स्टेसनरी सामग्री वितरण

२०७५ माघ २८ सोमबार ०९:४३:००

पाथीभरा एड्भरटाइजिङ प्रालि इटहरीले विविध कार्यक्रम गरी आफ्नो पाँचौँ वार्षिकोत्सव मनाएको छ । पाँचौँ स्थापना दिवसको अवसर पारेर इटहरी– २ शान्तिनगरमा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरिएको कम्पनीले जनाएको छ ।

श्रीपञ्चमीको दिन पारेर पाँच वर्षअघि स्थापना भएको कम्पनीले विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी भटराईमार्फत उक्त सामग्री हस्तान्तरण गरेको हो । कम्पनीका तर्फबाट कम्पनीका संस्थापक सल्लाहकार इन्द्रलाल अधिकारी, बोर्ड सदस्य गंगा गौतम अधिकारी र कार्यकारी प्रमुख पवन अधिकारीले संयुक्त रूपमा उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकाहरू वितरण गर्ने वितरकहरूलाई समेत स्टेसनरी सामान वितरण गरिएको छ । सो अवसरमा प्रधानाध्यापक भट्टराई, नेपाल प्रेस युनियनका पूर्वजिल्ला अध्यक्ष गणेश निरौला, शिक्षक प्रदीप केसी, विवेक रेग्मीलगायतले मन्तव्य राखेका थिए । 

यसैबीच, कम्पनीले पाँचौँ वर्ष पुगेको अवसरमा कार्यालयमा पूजा कार्यक्रम पनि सम्पन्न गरेको छ । उक्त कार्याक्रममा नेपाल पत्रकार महासंघ सुनसरी, विभिन्न मिडियामा आबद्ध पत्रकार एवं इटहरीमा क्रियाशील संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।