• ePaper
  • वि.सं २०७५ फाल्गुण ६ सोमबार
  • Monday, 18 February, 2019
  • Archive

धनगढीले काठमाडौंको सामना गर्दै 

२०७५ माघ २८ सोमबार ०९:२९:०० | धनगढी

धनगढी स्टार्सले सोमबारदेखि हुने तेस्रो धनगढी टी–२० क्रिकेट लिगको उद्घाटन खेलमा काठमाडौं गोल्डेन्सको सामना गर्दै छ । फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेलमा दुवै टोलीका कप्तानले जित निकाल्ने दाबी गरेका छन् । धनगढीका रणनीतिक खेलाडी सोमपाल कामीले उपाधि रक्षा गर्ने चुनौती रहेको प्रतिक्रिया दिएका छन् । निरन्तर वर्षाका कारण राम्रो अभ्यास गर्न नपाएको कामीले बताए । ‘वर्षाले मैदानमा अभ्यास गर्न पाएनौँ, तर राम्रो तयारी छ,’ उनले भने ।

भारतीय युवा क्रिकेटरको साथ

युएईका राष्ट्रिय क्रिकेटर रोहन मुस्तफा र भारत मुम्बईका प्रथम श्रेणी क्रिकेटर सागर त्रिवेदीले धनगढीबाट पहिलो खेलमै मौका पाउने सम्भावना छ । मुस्तफाले युएईबाट २७ एकदिवसीय र २५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

 काठमाडौं गोल्डेन्सका उपकप्तान अनिलकुमार शाहले आफ्नो टोलीले राम्रो प्रदर्शनको तयारी गरेको बताए । ‘अनुभवी खेलाडी रहेकाले काठमाडौं सन्तुलित टोली हो,’ उनले भने । यस सिजनमा पोखरा तथा एभरेस्ट प्रिमियर लिगमा भारतीय खेलाडी गौरभ तोमरले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यसपटक उनी काठमाडौंबाट खेल्दै छन् । तोमरले काठमाडौं रोयल्सबाट पोखरा र ललितपुर प्याट्रियट्सबाट एभरेस्ट प्रिमियर लिग खेलेका थिए । यसैगरी काठमाडौंबाट अर्का भारतीय खेलाडी अंकित देबासाले पनि खेल्नेछन् । 

रुपन्देही–महेन्द्रनगर

सोमबार दुईवटा खेल हुनेछन् । वर्षाका कारण खेल मैदान हिलाम्य भएपछि प्रतियोगिता २ दिनपछि हुन लागेको हो । प्रतियोगिता २ दिन सार्नुपरेकाले उद्घाटकै दिन दुईवटा खेल राखिएको आयोजकले जनाएको छ । घाम लागेकाले खेलका लागि मैदान तयार भएको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए ।

सोमबार दोस्रो खेल रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीच हुनेछ । रुपन्देही च्यालेन्जर्सका उपकप्तान विक्रम सोबले टोलीको लक्ष्य राम्रो प्रदर्शन गर्दै ट्रफी जित्नु रहेको बताए । प्रतियोगिताका लागि रुपन्देहीले एक साता क्याम्प राखेको उनले बताए । 

विदेशी खेलाडीको भर

रुपन्देहीमा विदेशी खेलाडीका रूपमा हङकङका बाबर हयात र पाकिस्तानका राजा अलीले खेल्नेछन् । बाबरले गत सिजनको डिपिएलमा विराटनगर किंग्सबाट खेलेका थिए । राजा अलीले बंगलादेश प्रिमियर लिग, ढाका प्रिमियर लिग तथा पाकिस्तानको नेसनल टी–२० कप खेलिसकेका छन् ।

महेन्द्रनगरका उपकप्तान आरिफ सेखले अनुभवी खेलाडीका कारण आफ्नो टोली सन्तुलित रहेको बताए । महेन्द्रनगरमा तीव्र गतिका बलर मोहमद नाभिद र सुब्रमनियन आनन्द अनुबन्धित छन् । नाभिदले युएईबाट ३५ एकदिवसीय तथा २३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सुब्रमनियनले काठमाडौं किंग्स ११ बाट एभरेस्ट प्रिमियर लिग खेलिसकेका छन् । 

प्रतिकृया दिनुहोस