• ePaper
  • वि.सं २०७५ फाल्गुण ६ सोमबार
  • Monday, 18 February, 2019
  • Archive

युवा र भिडको राजनीति

मध्यम र निम्नमध्यमवर्गीय चिन्तन र समुदायबाट जन्मेको निष्फिक्री दिशाहीन युवाजमात प्रायः सबै सहरी आन्दोलनमा भेटिन्छ

२०७५ माघ २८ सोमबार ०७:४४:०० | काठमाडाैं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुईमध्येका एक अध्यक्ष प्रचण्डले स्थानीय निकायको अधिकार कटौती र जनयुद्धकालीन मुद्दा फेरि चालू गरेर माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विषयमा असन्तुष्टि जनाउँंदै ‘यस्तै भइरहे अर्को माओवादी जन्मने’ कडा टिप्पणी गरिरहँदा माओवादी आन्दोलनको औचित्य र यसको असमय समापनप्रति अफसोसमिश्रित भाव पनि झल्केको देखिन्छ ।

यसमा उनी कति इमानदार र कति देखावटी छन्, उनैले जानून् । यसमा नेकपाको पहिलो अध्यक्ष केपी ओलीको हेपाइपूर्ण कटाक्षप्रतिको तीखोपना पनि थियो । तर, प्रचण्डको समर्थक पंक्तिका निम्ति यो यस्तो खबर थियो, मानौँ प्रचण्ड भोलि नै जनयुद्धमा उत्रनेवाला छन् ।

यसमा एउटा हिस्सा माओवादी जनयुद्धप्रतिको आसक्ति र यसबाट अलग भएकामा अपराधबोध मनमा लुकाएर बसेकाहरू पनि थिए । अर्को यस्ता पनि थिए, जो कि त ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जालमा पक्ष र विपक्षमा व्यस्त हुन्छन्, कि त पब, होटेल वा रेस्टुरेन्टमा दन्तबझानमा हुन्छन् । 

३ असोज ०७२ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा नेपालको गणतान्त्रिक संविधान घोषणा भइरहँंदा तराई–मधेस, खासगरी प्रदेश नम्बर २ मा यसको विरोधमा आगो बलेको थियो । सडकमा जनसमुदाय र प्रहरीबीचको झडपमा कैयौंँ नागरिक मारिएका थिए । सडक सत्ताविरोधी नाराले गुन्जायमान थियो ।

जुलुसमा युवाको यस्तो जमात पनि थियो, जो राजनीतिक नाराको साटो विभिन्न पार्टी नेतृत्वलाई अश्लील गाली गरिरहेको थियो । यहाँ रोचक के थियो भने संविधान घोषणाको नेतृत्व कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले गरेका थिए, तर कसैले यी युवाको ओठमा केपी ओलीको नाम झुन्ड्याइदिएका थिए, त्यसैले अश्लील गालीको केन्द्र ओली नै थिए ।

हुन त केही गाली सुशील कोइराला, प्रचण्ड र संविधान पक्षधर अन्यको जिम्मामा पनि परेको थियो, तर तारो ओली नै थिए । नारा जहाँबाट सुरु गरे पनि यस सदाबहार निष्फिक्री युवाजमातको आकासै थर्काउने समवेत स्वरले नारालाई ओलीमै पु-याइदिन्थ्यो ।

उल्टो क्याप लगाउने, चे ग्वेभारा, बब मार्ले, मधेसको नारा, मुठी आदि अंकित विभिन्न चिने–नचिनेको फोटो भएको भेस्ट, र जिन्स पाइन्ट लगाएर ल्याङफ्याङ देखिने यो युवाजमात आफ्नो एकजुटता र आक्रामक नाराका निम्ति लोकप्रिय थियो । यस जमातको एउटा विशेषता थियो, यिनीहरू स्पष्ट राजनीतिक चेतका थिएनन् ।

कुनै राजनीतिक पार्टीको प्रभावमा ग्रामीण क्षेत्रबाट आएका जमातभन्दा भिन्न यो जमात प्रहरी झडपका वेला बढी नै रमाएको देखिन्थ्यो ।

उपभोक्तावादी बजार र सहरीकरणको विस्तारसँगै यो युवाजमात अब गाउँतिर पनि पाइन्छ । केही महिनापहिले धनुषाको एउटा विद्यालयमा जन्ती राख्न नदिएकोमा युवाले विद्यालयमा धर्ना र नाराबाजी गरी प्रधानाध्यापकलाई कार्यालयमै थुनेको समाचार छापिएको थियो । सामान्यझैँ लाग्ने यस समाचारमा उल्लिखित युवाजमात पनि त्यसै गैरराजनीतिक जमातको स्थानीय हिस्सा हो, जो कुनै पनि निहुँँमा उद्वेलित र आनन्दित पनि हुन्छ । 

मध्यमवर्गीय र निम्नमध्यमवर्गीय चिन्तन र समुदायबाट जन्मेको यो निष्फिक्री दिशाहीन जमातलाई तपाईं प्रायः सबै सहरी आन्दोलनमा भेट्न सक्नुहुन्छ, जो भिडमा निष्फिक्री रमाइरहेको हुन्छ । नियन्त्रणहीन यो जमात कुनै पनि वेला सम्पूर्ण जुलुसमा हाबी भएर नेतृत्व गर्न सक्छ र आफ्नो चाहनाअनुसार जुलुसलाई परिणत गरिदिन सक्छ ।

राजनीतिमा बढ्दै गएको गैरवैचारिकता र वर्गसंघर्षबाट कटेको निष्कर्षहीन जातीय–क्षेत्रीय पहिचान आन्दोलनका नेता र विद्वान्को अनुकूलित इतिहास, विश्लेषण र विचार पढेर तथा मुक्त मिडियाको नाममा गैरवैचारिक टिप्पणीमूलक समाचारबाट प्रशिक्षित यो जमात वास्तवमा भिडको संस्कृति (मास कल्चर) हो ।

यो जमात हरेक राजनीतिक आन्दोलनमा ‘बिन बुलाये मेहमान’ जस्तै उपस्थित हुन्छ र आफ्नो चरित्रअनुसार राजनीतिक आन्दोलन र जुलुसलाई हुलमा बदल्दै अनपेक्षित अराजकता र हिंसा सिर्जना गर्छ । अहिले विश्वभरिकै आन्दोलनको हिस्सा बनेको यस हुलको उपस्थितिकै कारण अनपेक्षित हिंसा र अनियोजित र अनावश्यक मृत्यु हुने गरेको छ ।

भर्खरै कांग्रेसले सरकारविरुद्धको एकदिने शक्ति प्रदर्शनमा (यदि नेकाको इच्छा थिएन भने) अनावश्यक जलाइएका गाडी आन्दोलनमा यसै निष्फिक्री जमातको उपस्थितिको परिणाम हो । यो एकातिर वास्तविक एजेन्डा उपेक्षित हुँंदै जानु र अर्कातिर यसलाई सत्ताका निम्ति बार्गेनिङ कार्डका रूपमा प्रयोग गरेर राजनेताहरू अनैतिक हुँंदै जानुको कारण युवापुस्तामा जन्मेको निराशा र आक्रोशको परिणाम हो । 

नेपालमा पञ्चायती राजतन्त्रविरुद्धको संघर्षका वेला कम्युनिस्ट र प्रजातान्त्रिक राजनीतिक शक्तिले आफ्नो राजनीतिक अभीष्ट पूर्तिमा छात्र आन्दोलनको उपयोग गरेका थिए । राजनीतिक उद्देश्यसँग जोडिएको त्यतिवेलाको छात्र आन्दोलन पञ्चायती व्यवस्था समाप्तिको आन्दोलनमा सबैभन्दा प्रभावशाली हतियार साबित भएको थियो ।

०४६ सालको बहुदलीय व्यवस्था आगमनसँगै उचित भूमिकाविहीनताका कारण छात्र आन्दोलनमा क्षरण भएको देखिन्छ । जनमुखी राजनीतिभन्दा पनि सत्तामुखी उद्यममा लागेको राजनीतिक दलहरूका निम्ति सचेत छात्र समुदाय अथवा सचेत युवावर्ग आवश्यक रहेन । उसका निम्ति पिछलग्गु चरित्रको जमात आवश्यक भयो ।

प्रधानमन्त्री, मन्त्री र सांसदपदको प्राप्ति र सत्तासुख नै राजनीतिको अन्तिम अभीष्ट बन्दै गएपछि, राजनीतिक दलसम्बद्ध छात्र र युवा संगठनको विचार र जनराजनीतिप्रति समर्पित चरित्रमा क्षरण आउनु स्वाभाविक नै हो ।

सडकमा अराजक र उग्र देखिएको दिग्भ्रमित र अस्थिर युवाजमात कुनै पनि वेला अर्कोको प्रभावमा अर्कै आन्दोलनमा सामेल हुन पुग्छ भने कोही आन्दोलन चटक्कै छाडेर जागिर वा कुनै धन्दा–व्यवसायमा सामेल हुन्छ

दीर्घकालीन जनयुद्धका माध्यमबाट समाज परिवर्तनको सपना देखेका माओवादीले पनि जनयुद्धमा छात्र र युवाको उपयोग गरे । जनयुद्धकाल र माओवादी शान्तिप्रक्रियामा सामेल भएपछिको प्रारम्भिक कालमा समेत जनवादी शिक्षा र शिक्षाको जनवादीकरणका निम्ति संघर्ष गरेका वाम छात्रसंगठन निकै लोकप्रिय भएका थिए ।

तर, वाम पार्टीहरू विचार र जनप्रतिबद्धताबाट अलग्गिँंदै गएपछि वाम छात्र आन्दोलन पनि कमजोर हँुंदै गएको छ । अहिलेको छात्र आन्दोलनको अर्थ युनियनमा कब्जा गरेर सम्बन्धित पार्टीको वर्चस्व र छात्र युनियनको आर्थिक तथा सांगठनिक सत्ता भोग्नु भएको छ ।

कुनै वेला सम्पूर्ण युवावर्गको नेतृत्व गर्ने जनमुखी छात्र आन्दोलन समाप्तप्रायः भएको छ । यस्तै अवस्था युवा संगठनको पनि छ । प्रायः सबै राजनीतिक पार्टीको छात्र र युवा संगठन छ ।

तर, अहिलेका छात्र र युवा संगठन पार्टीको सत्तामुखी पोजिसनमा गडबड भएपछि मौसमी आन्दोलनमा मात्र देखिँदा रहेछन्, अन्यथा यिनीहरू पार्टीको सम्मेलनमा व्यवस्थापन र नेताहरूको स्वागत तथा गुटगत वर्चस्वको संघर्षमा ‘मसल पावर’ प्रदर्शनको भूमिका मात्रमा सीमित भएका छन् । 

मधेसकेन्द्रित दलहरूले आन्दोलनमा छात्रभन्दा पनि युवा समुदायलाई बढी प्रयोग गरे । यसरी नै अन्य क्षेत्रीय पहिचानवादी आन्दोलन (आदिवासी जनजाति र दलित आन्दोलन) मा समेत छात्रभन्दा युवा समुदायको प्रयोग नै बढी देखिन्छ ।

अब त राजनीतिक दलहरूको आन्दोलनमा समेत युवा संगठनको भूमिका बढी देखिन्छ । राजनीतिक दलहरू वैचारिकताबाट कट्दै जानुका कारण युवा संगठन पनि गैरवैचारिक हुँंदै जानु स्वाभाविक हो । गैरवैचारिकताले संवादहीनता जन्माउँंछ र संवादहीनताले टकरावको स्थिति सिर्जना गर्छ ।

यस स्थितिले वैचारिक, अनुशासित, सचेत र योजनाबद्ध समुदाय होइन, लक्ष्यहीन भिड जन्माउँंछ । आजको अराजक युवाजमात यसै संवादहीनताको उपज हो, जो हरेक आन्दोलनलाई भिडमा परिणत गरेर त्यसको नेतृत्व गर्छ ।

यो भिडको संस्कृति अथवा हुल्याहा संस्कृति विश्वसंस्कृतिजस्तै छ । उपभोक्तावादी बजारको नियन्त्रणमा रहेको विश्वराजनीतिमा यो हुल्याहा निष्फिक्री युवा जमात एउटा सांस्कृतिक उद्योगका रूपमा विकसित भएको छ । सत्ता समीकरणमा हेरेफेर गर्न र समग्र सत्ता राजनीतिमा उथलपुथल सिर्जना गर्न माहिर विशेषज्ञले यस गैरवैचारिक निष्फिक्री जमातलाई उपद्रो सिर्जना गर्न, बहुमतीय वर्चस्व देखाउन र जनताको मनस्थिति प्रभावित गर्न प्रयोग गर्छ । 

यस जमातभित्र एउटा गम्भीर हिस्सा पनि छ, जो गलत–सही त छुट्याउन सक्दैन, तर आक्रोशपूर्ण विचारबाट संवेदित हुने गर्छ । प्रायः जनमुखी र वर्गीय वैचारिकताबाट भिन्न जातीय, क्षेत्रीय, लैंगिक, दलित वा अन्य पहिचान अथवा अस्तित्ववादी आन्दोलनको भावनात्मक विचार, लेख वा प्रवचनबाट प्रभावित यी युवाको निष्फिक्री जमात जुलुसहरूमा गाली–गलोज गर्नु, विचारहीन भावनात्मक र आक्रोशपूर्ण लेख, कथा, गीत र नाटक लेख्नु, आन्दोलन र आक्रोशलाई रोमान्स र एडभेन्चरको रूपमा लिने गर्छ । 

सडकमा अराजक र उग्र रूपमा देखिएको यो युवा जमात दिग्भ्रमित र अस्थिर जमात हो, जसमध्ये कोही कुनै पनि वेला कुनै अर्कोको प्रभावमा अर्कै आन्दोलनमा सामेल हुन पुग्छ भने कोही आन्दोलनको क्षेत्र चटक्कै छाडेर जागिर वा कुनै धन्दा–व्यवसायमा सामेल हुन्छ । 

देशको राजनीतिक वातावरणमा निहित विचारहीनताको कारण दिशाहीन, बेकार, हतास, नकारात्मकताले भरिएको र विध्वंसक युवाको यो भिड खतरनाक हुन्छ । प्रायः दक्षिणपन्थी फासीवादी शक्तिहरूबाट बढी प्रयोग गरिने यो भिड धार्मिक र जातीय उन्मादीहरूको पछि–पछि हिँड्ने गर्छ । 

हाम्रो देशको राजनीतिमा गैरवैचारिकता बढ्दै गएसँगै यो दिशाहीन अमूर्त युवाभिड बढ्दै गइरहेको छ । यसरी नै संकीर्ण धार्मिक चिन्तन र संकीर्ण पहिचानवादी शक्तिबाट बढी प्रयोग हुने यो जमात वर्गचेतनाबाट घृणा गर्न सिक्दै छन् र अन्तिम अर्थमा आफ्नै खुट्टामा बन्चरो हान्दै छन् ।

किनभने हरेक जातीय–क्षेत्रीय र लैंगिक समुदायभित्र यो जमात हुन्छ र यस वर्गचेतनाविहीन पहिचानवादी संघर्षले अन्ततः समुदायभित्रको सम्पन्न र शक्तिशाली वर्गलाई फाइदा पु¥याउने गर्छ । यो सम्पन्न र शक्तिशालीवर्ग जुनसुकै समुदायको भए पनि वर्गीय स्वार्थमा सबै एकै ठाउँंमा हुने गर्छ ।

यस वर्गचेतनाहीन पहिचानवादी विचार र संघर्षको वैश्विक आधार भूमण्डलीकृत मानवीय मुकुन्डो ओढेको पुँजीवाद हो । यसले मानवतावादको वैश्विक चेतना तथा उत्पीडित वर्ग र समुदायको मानवीयता मार्ने प्रभावशाली तरिका जानेको छ– ‘टु बि किल्ड विथ काइन्डनेस ।’ मधुमेहको रोगीजस्तै गुलियो मृत्यु । कसैमाथि विश्वास नगर, आफ्नो लडाइँ आफैँ लड । 

राजनीतिक व्यवस्थाको अक्षमता, गैरजिम्मेवारीपना र असंवेदनशीलताको परिणाम यस निष्फिक्री युवाभिडलाई सचेत र जिम्मेवार बनाउन व्यवस्था र राजनीतिज्ञहरू गम्भीर, जिम्मेवार र जनप्रतिबद्धताप्रति संवेदनशील हुनु आवश्यक छ ।

प्रतिकृया दिनुहोस