Skip This
Skip This

फुटबलर विक्रम लामाको फिटनेस सूत्र

२०७५ माघ २७ आइतबार १०:२२:००

राष्ट्रिय टिमका डिफेन्सिभ मिडफिल्डर विक्रम लामा नेपाली फुटबलमा पासिङ एबिलिटी र सटिक ट्याकल गर्नमा माहिर मानिन्छन् । ‘ट्याकल लामा’ उपनामले परिचित विक्रम गत वर्ष धरानमा आयोजना भएको बुढासुब्बा गोल्डकपको फाइनलमा पुलिस क्लबविरुद्ध थ्रीस्टार क्लबबाट खेल्ने क्रममा खराब ट्याकलका कारण घाइते भए । जसका कारण साफ च्याम्पियनसिपजस्तो ठूलो प्रतियोगिता खेल्नबाट २९ वर्षीय विक्रम विमुख भए । यद्यपि, उपचारपछि उनी पुनः पहिलाकै जसरी फुटबल खेल्न सक्ने भएका छन् । थ्रीस्टार क्लबका कप्तानसमेत रहेका उनी ए डिभिजन लिग खेल्दै गत मंसिरमा फुटबलमा फर्किए । फागुनको पहिलो सातादेखि भुटानमा सुरु हुन लागेको जिग्मे दोर्जी वाङचुक मेमोरियल कप खेल्न जाने तयारी गरिरहेका छन्, उनी । यसै परिपे्रक्ष्यमा लामो इन्जुरीपछिको रिकभरी र फिटनेस राजबारे उनले बताए । 

अभ्यास
खेलका लागि नियमित गरिने अभ्यासले शारीरिक रूपमा फिट राखेको छ । त्यस्तै, अभ्यासले इस्टामिना बढाउँछ, शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्छ । खेल नभएका समयमा पनि घरमै नियमित अभ्यास गर्ने गर्छु । यसले खेलमा दक्षता अभिवृद्धि गर्न सहयोग पु¥याउँछ ।

जिम 
फुटबलर धेरै मोटो वा पातलो हुनुहँुदैन । यसर्थ, शरीर सन्तुलित राख्न जिम जाने गरेको छु । समय मिलाएर दिनमा एक–दुई घन्टा जिममा बिताउने गरेको छु । खेल्नका लागि आवश्यक बलियोपना निर्माण गर्न जिमले सहयोग पु¥याइरहेको छ । 

सन्तुलित भोजन 
एउटा फुटबरले सन्तुलित भोजन गर्न जरुरी छ । शरीरमा तागत दिलाउन र खेल दौरान लागेको चोट छिटो निको हुन नियमित रूपमा सन्तुलित भोजन गर्न आवश्यक छ । म चिल्लो, पिरो र धेरै अमिलो खानेकुरा खान्न । त्यस्तै, शरीरमा केही नपुगेको जस्तो फिल भएमा वा पेट दुख्नेजस्ता  समस्या आएमा खानामा विशेष ध्यान दिन्छु । प्रशस्त मात्रामा फलफूल खान्छु । साथै, आजकल त दूधजन्य पदार्थ पनि धेरै खान थालेको छु ।

प्रशस्त पानी
खेल तथा अभ्यास दौरान प्रशस्त मात्रामा पानी पिउने गर्छु । जिम गइराखेको समयमा दैनिक ४ देखि ६ लिटरसम्म पानी पिउँछु ।     

रक्सी–चुरोट बन्देज
अल्कोहल र सुर्तीजन्य पदार्थबाट टाढा छु । त्यस्तै, पेप्सी, कोक, फ्यान्टाजस्ता सोडाजन्य पेयपदार्थ समेत पिउँदिन । शरीरलाई ध्यानमा राखेर खानेकुरा छनोट गर्छु । त्यसैले पनि स्वस्थ र फिट छु ।