अस्पताल, विद्यालय, सडक र नहर होइन, देशैभर भ्यु टावर बनाउने होडबाजी
प्रधानमन्त्रीकै गृहनगरमा बन्न थालेको भ्यु टावरमुनि सुकुम्बासी बस्ती छ, जहाँका जनता ट्युबेलको पहेँलो पानी पिउन बाध्य छन्, पूर्व झापादेखि पश्चिम कैलालीसम्म बनिरहेका भ्यु टावरको काम तीव्र छ, आधारभूत सुविधाका परियोजना भने अलपत्र छन्
झापामा चिरञ्जीवी घिमिरे, इलाममा ख्याम भुजेल, पाँचथरमा सरोज शर्मा, विराटनगरमा गणेश लम्साल, हेटौँडामा सुदीप सिवाकोटी, तनहुँमा उपेन्द्र खनाल, म्याग्दीमा कमल खत्री, नवलपरासीमा रामकुमार श्रेष्ठ, चितवनमा विवेक पोख्रेल, बुटवलमा विष्णु घिमिरे, रोल्पामा नवीन लोचनमगर, बाँकेमा विश्वराज पछल्डङ्ग्या, धनगढीमा तेजराज भट्ट
......
प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा सरकारले डेढ अर्ब लगानीमा सय मिटर अग्लो भ्यु टावर बनाउँदै छ । राष्ट्रिय गौरवको आयोजनामा समावेश १८ तले यो टावरको निर्माणले वरिपरिका सर्वसाधारणलाई भने हर्षभन्दा चिन्ता थपेको छ ।
भ्यु टावरको पश्चिमतिरको पर्खालसँगै जोडिएको टुकुरेबस्तीमा सय परिवार सुकुमबासीको बसोवास छ । ०२२ देखि त्यहाँ बसोवास गरिरहेका उनीहरूले अहिलेसम्म जग्गाधनी प्रमाण पुर्जा पाएका छैनन् । टावर बन्न थालेदेखि उनीहरूलाई त्यहाँबाट लखेटिने चिन्ताले मात्रै सताउँछ । सरकारले उनीहरूको व्यवस्थापनमा कुनै चासो देखाएको छैन ।
टुकुरेबस्तीकी ६५ वर्षीया भीमकुमारी विकले आँगनमै भ्यु टावर ठडिएपछि बस्तीबाटै हटाउँछ कि भन्ने चिन्ताले राति निद्रा पनि नलाग्ने बताइन् । यही बस्तीमा जीवनका पाँच दशक बिताइसकेकी उनले भोगचलन गरेको १२ कट्ठा जग्गाको फिल्डबुक भए पनि जग्गाधनी प्रमाणपुर्जा पाएकी छैनन् । ‘आँगनमा भ्यु टावर त बन्यो नि ! तर, हामीलाई हर्ष न विस्मात् ! जग्गा हुनेले जग्गाको भाउ पाए । उनीहरू धनी भए । हामी सुकुमबासीको के छ र !’ उनले भनिन्, ‘यहाँबाट पनि हटाउने रे भन्ने सुनेकी छु । यहाँबाट खेदायो भने यो उमेरमा कहाँ जानू ?’
स्थानीय राम भुजेलको चिन्ता पनि भीमकुमारीकै जस्तो छ । निर्माणाधीन भ्यु टावरको पर्खाल उनको घरसँगै जोडिएको छ । दमकका धेरै मान्छेले भ्यु टावरमा आर्थिक समृद्धि देख्दा उनीचाहिँ आफ्नै घर छोडेर हिँड्नुपर्ने हो कि भन्ने चिन्तामा छन् । ‘अस्ति पनि अलिअलि जग्गा भ्यु टावरमा प¥यो । अब घर बाँकी छ । यो पनि भ्यु टावरसँगै जान्छ कि भन्ने चिन्ताले मात्रै सताउँछ,’ उनले भने, ‘धेरैले हल्ला गर्छन्, यहाँबाट हामीलाई उठाउँछ भनेर । भ्यु टावर आएर जीवनस्तर राम्रो हुन्छ भन्थे, हामीलाई त चिन्ता मात्रै थप्यो ।’
वेलावेलामा बस्तीमा आउने अपरिचित व्यक्तिहरूका कुराले स्थानीयलाई झन् धेरै अत्यास बनाउँछ । उनीहरू त्यो क्षेत्रमा एउटै खालका होमस्टे बनाउने भन्दै गफ गर्छन् । ‘एउटैखाले होमस्टे बनाउने भन्छन् । हामी सुकुमबासीसँग त पैसा छैन, कसरी बनाउँला ? हामीले बनाउन नसके यहाँबाट लखेट्ने रे !’ स्थानीय रणबहादुर भुजेलले भने, ‘०२२ सालदेखि खुनपसिना बगाएर बसेका हामीलाई त्यत्तिकै लखेट्न पाइन्छ र ?’
टावर बनिरहेको आँपगाछी गाउँको अवस्था पनि उस्तै दयनीय छ । सडक धुलाम्मे छ । स्थानीयले पिउन शुद्ध पानी पाएका छैनन्, ट्युुबेलको पहेँलो पानी पिउन विवश छन् । स्वास्थ्य सेवा लिन ६ किलोमिटर पूर्व दमक बजार धाउनुपर्ने बाध्यता छ । जनसरोकारका यस्ता महत्वपूर्ण विषयभन्दा सरकारको प्राथमिकतामा भ्यु टावर परेको छ ।
‘हामीले भोट दिएका नेता प्रधानमन्त्री बने । यहाँ भ्यु टावर पनि बन्दै छ । तर, हाम्रो जीवनचाहिँ अभाव र चिन्तामै बितेको छ,’ स्थानीय दिलमा भुजेलले भनिन्, ‘न खानेपानी आएको छ, न त राम्रो बाटो नै बनेको छ । अहिले पनि हामी ट्युुबेलको पहेँलो पानी पिउन बाध्य छौँ । खुसी त जग्गा किनबेच गर्ने दलालहरू भएका होलान् । जग्गाको भाउ बढ्यो नि त !’
दमक– ३ का वडाध्यक्ष नवीन बरालले भ्यु टावरवरिपरिका सुकुमबासी विस्थापित नभएर स्थापित हुने बताए । ‘उहाँहरू त्यहीँ स्थापित हुनुहुन्छ । सहरी विकास कार्यालयमार्फत चलेको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत त्यहाँका विपन्नले अब घर छाउन चाँडै जस्तापाता पाउँदै छन्,’ उनले भने, ‘उहाँहरू ढुक्क भएर बसे हुन्छ । कसैले पनि उहाँहरूलाई हटाउँदैन ।’
भ्यु टावरको २५ प्रतिशत काम सकियो
१५ महिनाअघि निर्माण सुरु भएको भ्यु टावरको काम २५ प्रतिशत पूरा भएको छ । राष्ट्रिय गौरवको आयोजनामा समावेश यो टावरको लागत एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँ अनुमान गरिएको छ ।
अहिले टावरको तल्लो तला ढलाइको तयारी भइरहेको छ । लकडाउनमा सबै विकास निर्माणका काम रोकिए । तर, प्रधानमन्त्री ओलीको चासो रहेको यो टावरको काम केही दिन रोकिएपछि पुनः धमाधम थालियो । चिनियाँ कम्पनी जेडसिजिआइइसी र ललितपुरको आशिष ओम साइरामले टावर निर्माणको ठेक्का लिएका हुन् । भ्यु टावर सय मिटर अग्लो १८ तलाको हुनेछ । सघन सहरी तथा भवन निर्माण कार्यालयमार्फत निर्माण भइरहेको भ्यु टावर ०७९ पुससम्म सम्पन्न गर्ने योजना छ ।
भ्यु टावरको ७२ मिटरसम्म अवलोकन र व्यापारका लागि प्रयोग हुनेछ । त्यसभन्दा माथि मानिस जान नमिल्ने टावरको टुप्पो रहने सघन सहरी तथा भवन निर्माण कार्यालयका फिल्ड इन्चार्ज भूपेन्द्रकुमार यादवले बताए । ‘भ्यु टावरको १७औँ र १८औँ तलाबाट भ्यु हेर्न मिल्छ । अरू तला व्यापारिक प्रयोजनका लागि प्रयोग हुन्छन्,’ उनले भने, ‘साना पसलदेखि बैंक, रेस्टुरेन्ट, सेमिनार हलसम्म हुन्छन् ।’
दुई किलोमिटरको दूरीमा कोहलपुरमा नयाँ टावर बनाइँदै
कोहलपुर नगरपालिका– १२ रोहिनी खोलानजिक ७७ फिट अग्लो भ्यु टावर छ, जहाँ दैनिक सरदर दुई सय सर्वसाधारण अवलोकनका लागि पुग्छन् । बाँके राष्ट्रिय निकुञ्जको छेउमा रहेको यो टावरबाट बाँकेका मात्र नभएर सल्यानका केही भाग पनि देख्न सकिन्छ । तर, दुई किलोमिटरको दूरीमा नगरपालिकाले पाँच करोड ८९ लाख ९८ हजार लागतमा सहरको बीचमा अर्को भ्यु टावर पनि बनाउन थालेको छ ।
कोहलपुर नगरपालिका–११ गोलपार्कमा एक सय २० फिट अग्लो भ्यु टावर निर्माण भइरहेको नगर प्रमुख लुटबहादुर रावतले बताए । सुविधासम्पन्न १० तलाको घन्टाघरसहितको भ्यु टावर निर्माण हुने र त्यसबाट कोहलपुर र नेपालगन्जलगायतका ठाउँ अवलोकन गर्न सकिने उनले बताए । ‘टावरमा चढ्नका लागि लिफ्टको व्यवस्था गरिन्छ,’ उनले भने । १५ माघ ०७८ मा निर्माण कार्य सक्ने गरी जयभवानी निर्माण सेवाले ठेक्का पाएको छ । अहिले तीन तला निर्माण पूरा भई चौथो तलाको काम भइरहेको निर्माण कम्पनीका अर्जुन पनेरूले बताए ।
भ्यु टावरभन्दा आकासेपुल आवश्यक
नेपालगन्ज–कोहलपुर सडकखण्डअन्तर्गत कोहलपुर बजार क्षेत्रमा आकासेपुल नहुँदा सर्वसाधारण जोखिम मोलेर सडक पार गर्न बाध्य छन् । खास गरेर स्कुले बालबालिका र वृद्धवृद्धाले अझ धेरै सास्ती खेपिरहेका छन् । गत २१ मंसिरमा सडक काट्ने क्रममा ट्रकले ठक्कर दिँदा त्रिभुवन माविमा कक्षा सातमा अध्ययनरत प्रकृति चन्दले दाहिने खुट्टा गुमाइन् ।
जनसरोकारका यस्ता महत्वपूर्ण काम छाडेर नगरपालिकाको प्राथमिकतामा भने भ्यु टावर निर्माण परेको छ । जानकारहरूका अनुसार भ्यु टावरमा खर्च भइरहेको पैसामा झन्डै १० वटा आकासेपुल बन्छन् । भ्यु टावरभन्दा सडकमा आकासेपुल आवश्यक भएको कोहलपुर उद्योग व्यापार संघका पूर्वअध्यक्ष चिन्तामणि धितालले बताए । ‘राजमार्ग भएकाले सडकमा तीव्र गतिमा गाडी गुड्छन् । आकासेपुल नभएर सर्वसाधारणले अकालमा ज्यान गुमाउने खतरा छ । कोहलपुर–नेपालगन्ज सडकखण्डका साझा चोक, त्रिभुवन मावि, न्युरोड चोक र चप्परगौडीमा आकासेपुल अति आवश्यक भइसकेको छ,’ उनले भने ।
कोहलपुरका स्थानीय भुमबहादुर भण्डारी भ्यु टावर बनाउने रकम मुक्त कमैया, दलित, सुकुमबासीका छोराछोरीलाई प्राविधिक शिक्षा पढाउन खर्च गरेको भए राम्रो हुने बताउँछन् । ‘जनताका लागि बनेका स्थानीय सरकारले जनताका लागि भन्दा व्यक्तिगत फाइदा पुग्ने योजनामा जोड दिएको देखिन्छ,’ उनले भने ।
थाहा नगरमा तीन सरकारका तीन भ्यु टावर
मकवानपुरको थाहा नगरपालिकामा शिक्षा, स्वास्थ्य र खानेपानीका आधारभूत समस्यालाई नजरअन्दाज गर्दै तीनवटै तहका सरकारले भ्यु टावर निर्माणलाई प्राथमिकतामा राखेका छन् । संघीय, प्रदेश र स्थानीय सरकारको छुट्टाछुट्टै लगानीमा नगरपालिकामा तीनवटा भ्यु टावर निर्माण गर्दै छन् । नगरपालिकाको दामनमा करिब ५० वर्षदेखि भ्यु टावर सञ्चालनमै छ ।
नगरपालिकाले वडा नम्बर ४ नयाँगाउँमा भ्यु टावरसहितको पर्यटन पार्क, स्थानीय उत्पादन बिक्री पार्क, पिकनिक स्पर्ट निर्माण सुरु गरेको छ । साढे पाँच करोड लागतमा एक सय ५० रोपनी क्षेत्रफलमा पाँच वर्षभित्र सबै संरचनाको निर्माण सक्ने लक्ष्य रहेको नगर प्रमुख लवशेर विष्टले बताए । १८ मिटर अग्लो भ्यु टावरबाट हिमालसँगै नजिकका कुलेखानी, मार्खु, इन्द्रसरोवर र बज्रबाराही दृश्यालोकन गर्न सकिने उनले बताए ।
नगरपालिकाले बनाइरहेको टावरबाट करिब पाँच किलोमिटरको दूरीमा संघीय सरकारले भ्युप्वाइन्ट निर्माण गरेर सञ्चालन गरिसकेको छ । संघीय सरकारको आर्थिक सहयोग र नगरपालिकाको समन्वयमा बनाइएको भ्युप्वाइन्ट निर्माणमा ४२ लाख खर्च भएको थियो । दुई हजार तीन सय मिटर अग्लो स्थानमा एक सय ५७ खुड्किलाको फलामे भ¥याङ निर्माण गरेर भ्युप्वाइन्ट बनाइएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै, बागमती प्रदेश सरकारले थाहा नगरपालिका– ९ स्थित करिब २२ सय मिटर अग्लो चन्द्रागिरि डाँडामा २० मिटरको हिलस्टेसन निर्माणको योजना अघि सारेको छ । चालू आर्थिक वर्षमै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ प्रदेश सरकारले त्यसका लागि पाँच करोड छुट्याएर काम गरिरहेको छ ।
संघीय सरकारले भ्यु प्वाइन्ट बनाएको क्षेत्रका करिब ५० घरपरिवारले वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका छन् । मेयर विष्टले ९० प्रतिशत घरपरिवारका लागि खानेपानी आपूर्ति गरिए पनि एकीकृत खानेपानीको अभाव कायमै रहेको बताए । नगर क्षेत्रमा व्यवस्थित अस्पताल पनि छैन, जसका कारण यस क्षेत्रका बासिन्दा काठमाडौं, हेटौँडा र चितवन धाउनुपर्ने बाध्यता छ ।
चितवनमा वन क्षेत्रभित्र लजसहितको टावर
चितवनको सामुदायिक वन क्षेत्रभित्र बनाइँदै गरेको लजसहितको टावर निर्माणको काम अन्तिम समयमा रोकिएको छ । वन क्षेत्रभित्र अवैध रूपमा टावर बनाइएको चितवन राष्ट्रिय निकुञ्जको भनाइ छ । निर्माणमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।
चितवनको पर्यटकीय विकासका लागि भन्दै कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको नेतृत्वमा टावर निर्माण भइरहेको थियो । जसमा खैरहनी नगरपालिका र बुढीराप्ती उपभोक्ता समिति पनि साझेदार थिए । दुई करोड लागत अनुमान गरिएको टावरमा करिब डेढ करोड खर्च भइसकेपछि निर्माण कार्य रोकिएको छ । ०७५ को सुरुवातमा टावरको शिलान्यास गरिएको थियो ।
समितिले टावरलाई ‘इचानी टाप्पु कंक्रिट टावर’ नाम दिएको छ । डबल बेडसहितका १८ कोठा हुने टावरमा ३६ जना एकैपटक बस्न सक्ने क्षमता छ । टावरको झ्याल–ढोका राख्ने र रंगरोगनको काम मात्र बाँकी छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले वन क्षेत्रभित्र यस्तो टावर बनाउन नपाइने बताए । ‘वन क्षेत्रमा अप्राकृतिक खालको टावर बनाइएकाले निर्माण प्रक्रिया रोकिएको हो,’ उनले भने । निर्माणमा आर्थिक अनियमितताको उजुरी परेपछि १४ जेठ ०७६ मा अख्तियारले समितिका कागजपत्र नियन्त्रणमा लिएको थियो ।
तर, उपभोक्ता समितिका उपाध्यक्ष सन्तुकाजी कुँवर भने निकुञ्जकै प्रतिनिधिहरूको उपस्थितिमा टावरको शिलान्यास गरिएको भए पनि अहिले विभिन्न बखेडा झिकेर निर्माण कार्य रोकिएको बताउँछन् । उनका अनुसार टावरमा खैरहनी नगरपालिकाको ४० लाख, बुढीराप्ती उपभोक्ता समितिको दुई लाख र बाँकी सामुदायिक वनको छ ।
अख्तियारले कागजपत्र लगेपछि सामुदायिक वनको कार्यसमितिमा नयाँ नेतृत्व आएको छ । अध्यक्ष गणेशकुमार श्रेष्ठले नयाँ कार्यविधि बनाएर टावर निर्माणको कामलाई निरन्तरता दिने सोच समितिले बनाएको बताए । ‘टावर निर्माण सम्पन्न भएपछि वार्षिक २०–२५ लाख कारोबार गर्न सकिन्छ । उपभोक्ताको रकम खेर जानुहुँदैन, यसलाई सञ्चालनमा ल्याउनुपर्छ,’ उनले भने । समितिअन्तर्गत दुई हजार एक सय नौ घरधुरी छन् ।
रुपन्देहीको शंकरनगरमा १३४ फिट अग्लो भ्यु टावर बन्दै
रुपन्देहीको तिलोत्तमा नगरपालिका– २ स्थित शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) मा एक सय ३४ फिट अग्लो सुविधासम्पन्न भ्यु टावर बनाइँदै छ । अहिलेसम्म एक सय २० फिट निर्माण भइसकेको छ । ०७४ चैतदेखि निर्माण थालिएको ११ तले टावरमा नगरपालिका र अनुसन्धान केन्द्रको संयुक्त लगानी छ ।
तिलोत्तमा नगरपालिकाका इन्जिनियर गिरिराज डुम्रेका अनुसार सन् २०२२ मा निर्माण सक्ने गरी काम भइरहेको छ । उनका अनुसार टावर निर्माणमा साढे ११ करोड खर्च हुने अनुमान गरिएको छ । केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले ३० प्रतिशत लगानी केन्द्रको रहेको बताए । हालसम्म केन्द्रले एक करोड पाँच लाख लगानी गरेको र थप रकम पनि जुटाइरहेको उनले बताए ।
भ्यु टावर दुई कट्ठा क्षेत्रफलमा बनाइँदै छ । तर, त्यसअन्तर्गतका पर्यटकीय पूर्वाधार र संरचनाहरू भने दुई बिघामा बन्नेछन् । टावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म आँखाले सजिलै देख्न सकिने तथा दूरबिनको प्रयोगबाट भारतको गोरखपुर, नौतनवासम्मका सहरहरू देख्न सकिने केन्द्रका उपाध्यक्ष पाण्डेले बताए ।
म्याग्दीका तीन ठाउँमा भ्यु टावर
म्याग्दीका तीन स्थानीय तहले भ्यु टावर निर्माण गरेका छन् । मंगला गाउँपालिकाले झाँक्रीपानीमा, रघुगंगा गाउँपालिकाले रुइसेमा र बेनी नगरपालिकाले गुफाको डाँडोमा टावर निर्माण गरेका छन् । अग्लो डाँडोमा बनाइएका तीनवटै टावरबाट हिमशृंखला अवलोकन गर्न सकिने भए पनि सहज यातायातको सुविधा भने छैन ।
झाँक्रीपानीमा घेराबारसहितको टावर निर्माणमा संघीय सरकारको समेत गरी ३६ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ । १४ मिटर अग्लो तीनतले टावरमा दृश्यावलोकनका लागि रेलिङ बनाइएको छ । परिसरमा प्रतीक्षालय, खानेपानी, शौचालयलगायतका पूर्वाधार निर्माण गरिएका छन् । टावरनजिकै सभाहलसहितको सामुदायिक भवनसमेत निर्माण गरिएको छ ।
रुइसेमा बनाइएको टावर पनि तीनतले छ । गाउँपालिकाले ३५ लाख लगानीमा टावर निर्माण गरेको अध्यक्ष भवबहादुर भण्डारीले बताए । परिसरनजिकै तालिम केन्द्रको लागि भवन र वनभोज स्थलसमेत निर्माण गरिएको छ ।
बेनी नगरपालिकाले गुफाको डाँडोमा ३० फिट अग्लो भ्यु टावर बनाउँदै छ । त्यसका लागि पहिलो वर्ष पाँच लाख, दोस्रो वर्ष १० लाख र चालू आर्थिक वर्षमा पाँच लाख गरी २० लाख बजेट छुट्याइएको नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीले बताए ।
बुढीतोलाको भ्यु टावर निर्माण अलपत्र
कैलालीको गोदावरी नगरपालिका– ४ बुढीतोलामा निर्माणाधीन भ्यु टावरको कामले गति लिन सकेको छैन । आर्थिक वर्ष ०७५÷७६ देखि उपभोक्ता समितिमार्फत निर्माण सुरु भए पनि जग हाल्नेबाहेकका थप काम अगाडि बढ्न सकेको छैन ।
भ्यु टावर निर्माणका लागि डिपिआर बनाएको पर्यटन बोर्डले प्रदेश सरकार गठन भएपछि आयोजना प्रदेशलाई हस्तान्तरण गरेको थियो । आर्थिक वर्षको अन्त्यतिर मात्रै गएको बजेट गत वर्ष खर्च हुन सकेन । वडाध्यक्ष प्रेमबहादुर भण्डारीले सुरुको वर्ष फाउन्डेसन राख्ने काम भए पनि त्यसपछि थप काम हुन नसकेको बताए ।
‘गत वर्ष सुरुमा बजेट आएन । आर्थिक वर्ष सकिनै लाग्दा २० लाख रुपैयाँ आएको थियो, तर ढिलो भएकाले काम हुन पाएन,’ उनले भने, ‘यस वर्ष काम अगाडि बढाउनू भनेर प्रदेश सरकारबाट पत्र आएको छ ।’ यस वर्ष २० लाख बजेट आएको वडाध्यक्ष भण्डारीले बताए ।
चुरे पहाडबाट तराईको अवलोकन गर्न भ्यु टावर बनाउन लागिएको हो । तर, बुढीतोलाबाट तराई नदेखिने भन्दै त्यसभन्दा माथि चुरे गाउँपालिकाको कम्पासे धुरामा पनि टावर निर्माण गर्नुपर्ने माग पर्यटन व्यवसायी र स्थानीयले गर्दै आएका छन् । ठाउँको विवादले टावर निर्माण रोकिएको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले बताए ।
‘अहिले बनिरहेको ठाउँ होचो भएकाले त्यहाँबाट तराईको सबै क्षेत्र अवलोकन गर्न सकिने अवस्था छैन । माथि बनाउनुपर्छ भन्ने आवाज सबैतिरबाट उठेको छ । अघिल्लो वर्ष आएको पर्यटनमन्त्रीसहितको टोलीले पनि कम्पासे धुरामा बनाउनु उपयुक्त छ भनेको थियो,’ मेयर साउदले भने, ‘माथि बनाउने कि तल भन्ने विषयले पनि निर्माण प्रभावित भएको हो ।’ प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भने यस वर्ष भ्यु टावर निर्माणको थप काम हुने बताएको छ ।
फिदिममा तीन करोडको भ्यु टावर
पाँचथर सदरमुकामसहित वरपरका क्षेत्रका दृश्यावलोकनका लागि भन्दै फिदिम नगरपालिका– २ स्थित रमितेडाँडामा भ्यु टावर निर्माण गरिएको छ । नयाँ सहर आयोजनाको तीन करोड नौ लाख रुपैयाँमा नगरपालिकाले भ्यु टावर निर्माण गरेको हो ।
दृश्यावलोकनका लागि उपयुक्त ठाउँ भएकाले भ्यु टावर निर्माण गरिएको फिदिम– २ का वडाध्यक्ष सुकपाल तुम्बापोको भनाइ छ । भ्यु टावर बनेपछि अवलोकन जाने आन्तरिक पर्यटकको संख्या बढेको उनले बताए । ‘यसबाट नगरपालिकालाई आम्दानी पनि हुन्छ,’ उनले भने । तर, करोडौँ खर्च गरेर बनाएको भ्यु टावरबाट खासै आम्दानी नभएको नगरपालिकाका कर्मचारी बताउँछन् ।
रमितेडाँडाको ६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको भ्यु टावर परिसरमा चमेनागृह, ग्यालरी हाउस, पोखरी र बगैँचालगायत संरचना पनि निर्माण गरिएको छ । दृश्यावलोकनका लागि सहज हुने उद्देश्यले बनाएको भए पनि आन्तरिक पर्यटक भने खासै भ्यु टावरमा चढ्ने गरेका छैनन् । भ्यु टावरभन्दा माथि पहाड उक्लिँदा राम्रो दृश्य देखिने भएकाले अधिकांश पहाड नै चढ्ने गरेका छन् । ‘पैसा तिरेर किन भ्यु टावर चढ्नु ? त्योभन्दा राम्रो त अलिमाथि पहाडमा उक्लिँदा देखिन्छ, त्यहीँ जान्छन्,’ एक स्थानीयले भने ।
मुख्यमन्त्री राईको गृहजिल्लामा १४ करोडको भ्यु टावर बनाइँदै
स्थानीय मात्रै होइन, प्रदेश सरकार पनि भ्यु टावरका लागि अनावश्यक खर्च गर्न थालेका छन् । प्रदेश १ मुख्यमन्त्री शेरधन राईकै जिल्लामा झण्डै १४ करोड लागतमा भ्यु टावर निर्माण सुरु गरिएको छ ।
मख्यमन्त्री राईको गृहजिल्ला भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ४ टेम्केडाँडामा भ्यु टावर निर्माणका लागि यस वर्ष दुई करोड विनियोजन गरिएको छ । यसको २४ कात्तिकमा मुख्यमन्त्री राईले नै शिलान्यास गरेका छन् ।
बहुवर्षीय योजनाअन्तर्गत निर्माण सुरु गरिएको यो भ्यु टावर ०८२ सम्म सम्पन्न हुने जनाइएको छ । यसको लागत १३ करोड ६२ लाख ८१ हजार रुपैयाँ रहेको प्रदेश सरकारले जनाएको छ ।
यो मात्रै होइन, अन्य क्षेत्रमा पनि भ्यु टावर निर्माणका लागि प्रदेश १ सरकारले चालू आर्थिक वर्षमा ६ करोड २३ लाख रुपैयाँ विनियोजन गरेको छ । उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयअन्तर्गत दुई करोड ९८ लाख र भौतिक पूर्वाधार विकास योजना मन्त्रालयअन्तर्गत तीन करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको हो ।
कतिपय गाउँमा त खानेपानी, सडक, स्वास्थ्य उपचारको समस्या छ । तर, त्यहाँ प्रदेश सरकारले भ्यु टावर निर्माणका लागि बजेट विनियोजन गरेको छ । जस्तो, उद्योग मन्त्रालयले मोरङको मिक्लाजुङ गाउँपालिकास्थित रमितेडाँडा भ्यु टावरका लागि २० लाख र मिक्लाजुङ डाँडा भ्यु टावरका लागि ३० लाख विनियोजन गरेको छ । यो ठाउँमा खानेपानी अभाव छ । तर, प्रदेश सरकारले खानेपानीका लागि बजेट छुट्याएको छैन ।
त्यस्तै, प्रदेश सरकारले नै ओखलढुंगाको चम्पादेवी गाउँपालिकास्थित मालिङो भ्यु टावरका लागि ४० लाख, ताप्ली रूपाटार भ्यु टावरका लागि ४० लाख, सोलुको पातले भ्यु टावरका लागि २५ लाख र शैलुङ डाँडामा सगरमाथा भ्यु टावरका लागि ३० लाख विनियोजन गरेको छ । यो क्षेत्रमा खानेपानी, यातायात र स्वास्थ्य उपचारको समस्या छ । त्यसका लागि भने प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।
रोल्पाको अग्लो डाँडोमा ६ करोडको भ्यु टावर
रोल्पा नगरपालिकाले खुमेलस्थित यस क्षेत्रको अग्लो सातदोबाटो डाँडामा सय १० फिट अग्लो भ्यु टावर निर्माण गरिरहेको छ । यसका लागि पाँच करोड ७८ लाख १२ हजार एक सय ९८ रुपैयाँ छुट्याइएको छ ।
यो भ्यु टावर १० तलाको बनाइँदै छ । सुरुवातमा नौ तला बनाउने योजना भए पनि पछि दशवर्षे जनयुद्धको सम्झनामा १० तला बनाउन लागिएको रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले बताए । भ्यु टावर निर्माणपछि यो क्षेत्र पर्यटकीय गन्तव्य बन्ने उनको विश्वास छ ।
त्यस्तै, रुन्टीगढी गाउँपालिकाले गढी लेकमा भ्यु टावर निर्माण गरिरहेको छ । ५५ लाखमा भ्यु टावर निर्माण भइरहेको उपभोक्ता समितिका अध्यक्ष ऋषिराज श्रेष्ठले बताए ।
बन्दीपुरमा भ्यु टावरका लागि दुई करोड विनियोजन
तनहुँको बन्दीपुर गाउँपालिकाले भ्यु टावर निर्माणका लागि दुई करोड विनियोजन गरेको छ । भ्यु टावर निर्माणका लागि गाउँ सभाबाट नै निर्णय भएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले बताए । आन्तरिक पर्यटकलाई आकर्षित गर्न भ्यु टावर निर्माण गर्न लागिएको उनको भनाइ छ । यो ३९ मिटर अग्लो हुने उनले बताए ।
भ्यु टावरको डिपिआर निर्माण गरिएको छ । डिपिआरमा मात्रै १२ लाख रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए । पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भएकाले भ्यु टावर निर्माण गर्न लागिएको उनको भनाइ छ ।
बन्दीपुरमा खानेपानी, स्वास्थ्य उपचारका लागि स्थानीय बासिन्दाले समस्या भोग्दै आएका छन् । वैशाख र जेठमा त पानी पाउनै मुस्किल हुन्छ । तर, गाउँपालिकाले खानेपानी आपूर्तिका लागि योजना बनाएको छैन । बरु भ्यु टावर निर्माणको टेन्डर आह्वान गर्ने तयारी गरेको छ । ‘पानीको समस्या छ । बिस्तारै पानीका लागि पनि मुहानहरू खोज्दै छौँ,’ अध्यक्ष थापाले भने ।
सिद्धिथुम्कीमा खानेपानीको चरम अभाव, तर भ्यु टावरका लागि बजेट विनियोजन
इलामको देउमाई नगरपालिका–७ स्थित सिद्धिथुम्की चुलीमा खानेपानीको चरम अभाव छ । स्थानीय बासिन्दा दुई–तीन दिनमा पानी पाउँछन् । तर, गाउँपालिकाले भने खानेपानीका लागि नभएर भ्यु टावर निर्माणका लागि बजेट वियिनोजन गरेको छ ।
स्थानीयका अनुसार दुई–तीन दिनमा वितरण हुने पानी पनि ३० लिटरभन्दा बढी पुग्दैन । यहाँका ८० परिवारले एक किलोमिटर तलबाट पानी बोकेर ल्याउने गरेका छन् । तर, खानेपानीको समस्यालाई बेवास्ता गरेर प्रदेश सरकारले भ्यु टावर निर्माणका लागि ३८ लाख विनियोजन गरेको छ । ‘खानेपानीका लागि पनि बजेट माग गरेका छौँ, तर अहिले भ्यु टावर निर्माणका लागि बजेट आएको छ,’ देउमाई नगरपालिका– ७ का वडाध्यक्ष भक्तबहादुर एत्तेनले भने ।
माइजोगमाई गाउँपालिका– ६ को प्याङस्थित थुम्केडाँडामा पनि भ्यु टावर निर्माण सुरु भएको छ । यो भ्यु टावर एक करोडमा निर्माण गर्न लागिएको हो । अहिले भने प्रदेश १ सरकारले १५ लाख विनियोजन गरेको छ ।
भ्यु टावर निर्माण गरिने ठाउँनजिकैका बासिन्दाले पनि वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । तर, प्रदेश सरकारले भने त्यसका लागि बजेट विनियोजन गरेको छैन ।
कावासोतीमा बाटो आवश्यक, तर भ्यु टावर बनाइँदै
पूर्वी नवलपरासीको कावासोती नगरपालिका– १ बालुवाडाँडा क्षेत्रका बासिन्दाले कच्ची बाटोका कारण आवतजावत गर्न सास्ती भोग्दै आएका छन् । तर, बालुवाडाँडामा ६२ लाखमा भ्यु टावर निर्माण गर्न थालिएको छ ।
‘धुलैधुलो भए पनि हिउँदमा त आवतजावत हुन्छ, वर्षामा त हिलोले हिँड्नै मुस्किल हुन्छ,’ वडाध्यक्ष नारायण पन्तले भने । बाटोको समस्याका कारण यहाँका कृषि उत्पादन पनि बजारसम्म पुग्न नसकेको वडाध्यक्ष पन्तको भनाइ छ । ‘वर्षामा बाटो बन्द हुन्छ । यहाँका बासिन्दाको अर्को गाउँ र बजारसँग सम्बन्धविच्छेद नै हुन्छ,’ उनी भन्छन् ।
तर, नगरपालिकाले भने यही गाउँको बालुवाडाँडामा भ्यु टावर निर्माण सुरु गरेको छ । भ्यु टावर निर्माण गर्न तीन चरणमा ठेक्का सम्झौता भएको छ । पहिलो चरणमा २८ लाख, दोस्रो चरणमा १९ लाख र तेस्रो चरणमा १५ लाख गरी ६२ लाखमा निर्माण हुने कावासोतीका इन्जिनियर पवन रूपाखेतीले बताए ।
कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनिया भने भ्यु टावर निर्माणपछि यस क्षेत्रमा आन्तरिक पर्यटक आउने र आर्थिक विकास हुने बताउँछन् । ‘पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न उपयुक्त ठाउँ छ । त्यसैले भ्यु टावर निर्माण गर्न थालेका हौँ,’ उपमेयर मर्दनिया भन्छन् । यस क्षेत्रमा बाटोको समस्या रहेको बताउँदै अर्को वर्ष बाटो निर्माण गरिने उनको भनाइ छ ।