• ePaper
  • वि.सं २०७५ फाल्गुण ६ सोमबार
  • Monday, 18 February, 2019
  • Archive

रामचन्द्र पौडेल र गोविन्दराज जोशीको सम्बन्ध : जेलभित्र मेल बाहिर सधैँ बेमेल

रमेश सापकाेटा
बरिष्ठ स‌‌वाददाता

२०७५ माघ २६ शनिबार ०९:१३:०० | काठमाडाैं

ग्रेसमा रामचन्द्र पौडेल र गोविन्दराज जोशी स्थापित नेता हुन् । पद र उमेरका हिसाबले पौडेल सिनियर हुन् । उनी एकपटक कांग्रेस उपसभापति भए । सभामुख, उपप्रधानमन्त्री र धेरैपटक मन्त्री बनेर सधैँ सत्ताको वरिपरि रहे । तनहुँकै जोशी सहमहामन्त्री भए । दुवै नेताको प्रारम्भिक राजनीति पञ्चायती व्यवस्थाको सुरुआतसँगै कांग्रेसबाटै भयो । तर, एउटै पार्टीको एउटै गुटमा रहँदा पनि एकै जिल्लावासी पौडेल र जोशीबीच कहिल्यै पनि सौहार्दपू्र्ण सम्बन्ध रहेन ।  जिल्लामा बढी सक्रिय जोशी वकालती र शिक्षण पेसाबाट कार्यकर्तासँग जोडिए । तर, पौडेल केन्द्रमा नै सधैँ बलियो नेताका रूपमा रहन पुगे । बिपी, गिरिजा तथा सुशील हुँदै अहिलेसम्म कोइराला परिवारको विश्वासपात्रका रूपमा रहँदै आए पौडेल ।

किन खेद्छन् एकले अर्कोलाई ? 
शिक्षक भएर काम गर्दा तथा वकिल हुँदा ‘जय नेपाल’ दाइ भन्नेहरूको मुद्दा लडेर स्थानीय नेता–कार्यकर्तासँग नजिक भए, जोशी । कार्यकर्तामा आफ्नो सधैँ प्रभाव र पहुँच भएकोमा गर्व गरिरहन्छन् उनी । तर, पौडेल यसमा फरक देखिन्छन् । जन्म तनहुँमा भए पनि पञ्चायती व्यवस्था सुरु भएलगत्तै पौडेल बिपी कोइरालाको संगतमा पुगे । केन्द्रीय नेताहरूसँगको उठबसपछि उनले आफूलाई माथिल्लो स्तरको नेता मानिरहे । बनारसबाट नेपालमा राजनीतिक गतिविधि चलाइरहँदा पश्चिमी कमान्ड पौडेललाई दिएको मन पराउँदैनथे, जोशी । त्यतिवेला उनले ‘भूगोलमा राजनीति गरेको नेता म हुँ’ भन्दै बिपीसँग समेत गुनासो गर्ने गरेको कांग्रेस नेता बताउँछन् । त्यसयता पनि उनले पौडेललाई नेताका रूपमा कहिल्यै स्विकार्न नचाहेको कार्यकर्ता बताउँछन् । 

 पौडेल : जिल्लामा भन्दा केन्द्रको राजनीतिले बढी चिनिएका नेता हुन्, पौडेल । कांग्रेसका शीर्ष नेताहरूमध्ये तर्क–वितर्क, टिप्पणी गर्न सक्ने र विपक्षीसँग खरो उत्रिन सक्ने नेताका रूपमा पौडेललाई लिइने गरिन्छ । पौडेलको अर्को बलियो पाटो हो, स्वच्छ छवि । उनी लामो समय शक्ति र सत्तानजिक बसे पनि आर्थिक विवादमा मुछिएनन् । अन्तरपार्टी समन्वय गर्न सक्ने, राजनीतिक बहस गर्न सक्ने नेताका रूपमा चिनिन्छन् उनी । 

पौडेलले पनि केन्द्रमा ‘पावर’ र ‘पहुँच’का आधारमा निर्वाचनमा टिकट दिनेदेखि अरू गतिविधिमा जोशीलाई सधैँ पेलिरहे । यसकारण एउटै जिल्ला, छिमेकी गाउँ र एउटै गुटका भए पनि यी दुई नेताबीचको सम्बन्ध चिनजान भएको ५० वर्षसम्म पनि सौहार्द हुन सकेन । एउटालाई केन्द्रमा पहुँच भएको र अर्कोलाई जिल्लामा बसेर मिहिनेत गरेको इगोले नजिक हुन दिएन । त्यसैले जोशीलाई केन्द्रमा र पौडेललाई जिल्लामा एक–अर्कालाई जित्न नसकेको नेताका रूपमा लिइन्छ । 

खल्तीमा टिकट 
टिकट वितरणमा पौडेलले सधैँ अन्याय गरेको स्थानीय नेता–कार्यकर्ता बताउँछन् । ‘०४८ देखि नै काठमाडौंबाट टिकट खल्तीमा हालेर लग्नुभयो र जिल्लामा आफूलाई मन परेका नेतालाई दिनुभयो,’ स्थानीय एक नेता भन्छन्, ‘प्रतिनिधिसभाका सबै र दुइटै संविधानसभाको निर्वाचनमा उहाँले टिकटमा एकाधिकार देखाउनुभयो ।’ ०४८ को निर्वाचनमा पौडेल निर्वाचन क्षेत्र नं. १ बाट उठे । जोशीलाई उनको प्रभाव नै नरहेको क्षेत्र नं. ३ पठाए । तर, जोशी पनि के कम ? पदमबहादुर आलेसँग साँठगाँठ गरेर २ नम्बरमै चुनाव जिते । ०५१ को मध्यावधिमा पौडेलले पुरानो क्षेत्र नं. १ भन्दा २ सुरक्षित देखे । आफू २ मा र १ मा जोशीलाई उठाए । अमरराज कैनीलाई क्षेत्र नं. ३ मा पठाए । जब कि त्यो उनको क्षेत्र नै थिएन । ०५६ मा पनि टिकट वितरणमा उनको निकै विरोध भयो । क्षेत्र नं. ३ मा विष्णुवीर आले उम्मेदवार उठाउन बाध्य भए । ०६४ को निर्वाचनमा पनि क्षेत्र नं. ३ मा ताराराजरानालाई उम्मेदवार बनाएर २ नम्बरका मगरलाई फकाउनतिर लागे । 

०७० को संविधानसभा दोस्रो निर्वाचनमा तनहुँ २ बाट निर्वाचनमा उठ्दा झन् रोचक क्रियाकलाप देखिए । भ्रष्टाचारसम्बन्धी अदालतमा मुद्दा चलिरहेको भए पनि जोशी उम्मेदवार हुन पाउँथे । तर, प्रत्यक्षमा टिकट त दिएनन् नै, समानुपातिक उम्मेदवारका लागि आएको सिफारिससमेत पौडेलकै बलमा काटियो । उनको क्षेत्रबाट ६ जना समानुपातिक सांसद पर्दा १ र ३ बाट एकजनालाई पनि पारेनन् । 

०७४ मा शंकर भण्डारीलाई क्षेत्र नं. २ मा टिकट दिएपछि १ मा आफू सुरक्षित हुने गरी निर्वाचन लडे । तर, एकातिर जोशी भड्किने, अर्कोतिर एमाले र माओवादीबीच एकता भएर निर्वाचन लड्ने हुँदा तनहुँका प्रतिनिधिसभा २ र प्रदेश सभाका चारवटै सिटमा कांग्रेस पराजित हुन पुग्यो । पौडेल र जोशी कोइराला परिवारनिकटकै हुन् । तर, जोशी जिल्लामा बलियो हुँदासम्म पौडेलले केन्द्रमा बिपीदेखि गिरिजासम्म सम्बन्ध विकसित गरिसकेका थिए । ‘गिरिजा र सुशीलसँग जोशीको पनि सम्बन्ध राम्रो हो,’ एक नेता भन्छन्, ‘तर, जोशीसँग राम्रो ग-यौ भने देशभर म तिमीहरूलाई सहयोग गर्दिनँ भन्दै पौडेलले सधैँ गिरिजा र सुशीलसँग बार्गेनिङको राजनीतिक गरिरहनुभयो ।’

मुद्दाले कमजोर जोशी
शाही शासनकालका वेला पटक–पटक मन्त्री हुँदा पदीय आचरणविपरीत तीन करोड ९३ लाख ६२ हजार पाँच सय ७६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर ग-यो । ०६३ मा विशेष अदालतका न्यायाधीशहरू भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले अख्तियार म्याद गुजारेर आएको भन्दै मुद्दाको विषयवस्तुमा प्रवेश नगरी जोशीलाई सफाइ दिए । अख्तियार विशेषको आदेशविरुद्ध सर्वोच्चअदालत पुग्यो । 

विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासले जोशीलाई १० साउन, ०६६ मा भ्रष्टाचारी ठहर गरेको थियो । दुई करोड १६ लाख मात्रै स्रोत नपुगेको भन्दै बिगोसहित असुल गर्न र एक वर्ष ६ महिना मात्र कैद सजाय सुनाएको थियो । विशेषको फैसलाविरुद्ध जोशी सर्वोच्च पुगे पनि मुद्दा अझै किनारा लागेको छैन । उनको मुद्दाको ४४ पटक पेसी सरेको छ । 

यही मुद्दाले जोशी नैतिक रूपमा कमजोर देखिँदा पौडेलले मौका पाएको बताइन्छ । तनहुँमा पहिले जोशीको रवाफमा पौडेल पक्षका नेता–कार्यकर्तालाई सहनै नसक्ने व्यवहार हुन्थ्यो । जोशीलाई मुद्दा लागेपछि पौडेलका मान्छेले जोशीमाथि बदला लिन थाले ।  तिक्ततापूर्ण सम्बन्ध भए पनि ०६४ को निर्वाचनमा भने उनीहरू नजिक भएका थिए । संसदीय दलको नेताका लागि पनि जोशीले पौडेललाई  सघाएका थिए । तर, ०७० मा टिकट नपाएपछि फेरि दूरी बन्यो । जोशीले भ्रष्टाचार मुद्दा लाग्नुमा पनि पौडेलकै हात रहेको आफू निकटस्थहरूलाई बताउने गरेका छन् । 

टिकट नपाएपछि बागी 
०७४ को प्रतिनिधिसभा निर्वाचनमा जोशीले टिकट पाएनन् । यही झोकमा उनले पौडेलविरुद्ध निर्वाचन क्षेत्र नं. १ बाटै स्वतन्त्र उम्मेदवारी दिए । तर, पौडेलकै उजुरीपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज ग¥यो । त्यसपछि झन् आक्रामक बने जोशी । उनले पौडेललाई हराउन भिडियो नै बनाएर लागेको आरोप छ । तर, उम्मेदवारी दिनका लागि गरिएको कार्यक्रमको भिडियो भाइरल भएको जोशीको भनाइ छ । 

चुनाव लड्न नपाए पनि पौडेलविरुद्ध उम्मेदवारी दिएका जोशीलाई कांग्रेस केन्द्रले पाँच वर्षका लािग निलम्बन गरेको छ । उनका नाम नै नलिई कारबाही गरिएको पत्र जिल्लामा पठाएको छ । उनलाई महासमिति बैठकमा सहभागी हुनबाट पनि पौडेलले वञ्चित गराएको आरोप छ । ०७० को निर्वाचनमा बागी उम्मेदवारी दिएका विकास कोइरालाको अझै कारबाही फुकुवा भएको छैन । तर, पौडेलविरुद्ध नै बागी उम्मेदवारी दिएका पूर्ण गुरुङको कारवाही फुकुवा गर्दै पौडेलले उनलाई समानुपातिक उम्मेदवार बनाउन भूमिका खेलेको स्थानीय नेता बताउँछन् । 

 जोशी : जिल्लाको राजनीतिमा पकड बनाएर केन्द्रमा प्रभाव हुँदा पनि जोशी कोइराला परिवारनिकटकै नेता हुन् । तर, पौडेल केन्द्रमा हाबी हुँदासम्म जोशीले कोइरालाहरूलाई आफूअनुकूल प्रयोग गर्न सकेनन् । पौडेलको तुलनामा जोशी प्रभाव, पहुँच र सबै खालका शक्ति परिचालन गर्नमा माहिर मानिन्छन् । 

बोलचाल न भेटभाट
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक उम्मेदवारको विषयमा छलफल गर्न बोलाएका वेला प्रतिनिधिसभाको निर्वाचनका समयमा बालुवाटारमा भेट भएको थियो, पौडेल र जोशीको । तर, ‘तपाईंलाई समानुपातिकको १० नम्बरमा राख्ने हो’ भनेपछि नबोलेरै निस्किएका जोशी र पौडेलबीच फेरि भेट भएको छैन । उनीहरूबीच जिल्लाका राजनीतिक कार्यक्रममा पनि भेटघाट हुँदैन । उनीहरू सँगै नहुने गरी कार्यक्रम तय गरिन्छन् । उनीहरू नेता–कार्यकर्ताको निधनमा मात्रै सँगै हुन्छन् । ‘पहिले–पहिले केही कार्यक्रममा सँगै भयौँ होला, तर पछिल्ला वर्षहरूमा जिल्लामा एउटै मञ्चमा बसेको याद छैन,’ जोशी भन्छन्, ‘पार्टीका कोही नेता–कार्यकर्ताको निधन भयो भने घाट वा पार्टी अफिसमा सँगै भइन्छ अन्यथा अरू राजनीतिक कार्यक्रममा सँगै भएको याद छैन ।’ पौडेलले भने जोशीसँगको सम्बन्धबारे केही बोल्न चाहेनन् । 

पछिल्लो समय जिल्लाका नेता–कार्यकर्ता पनि उनीहरूप्रति सकारात्मक छैनन् । केन्द्रमा वर्षौंसम्म पकड र पहुँच भए पनि पौडेल र जोशीले जिल्लाका लागि सकेजति योगदान नगरेको अधिकांश नेता–कार्यकर्ताको गुनासो छ । ‘लामो समयसम्म दुवै नेताले केन्द्रको राजनीतिबाट अवसर लिए र पहुँचका आधारमा जिल्लाका लागि जति गर्नुपर्ने हो त्यति गरेनन्,’ तनहुँबाटै प्रतिनिधित्व गर्ने एक नेता भन्छन्, ‘अवसर लिइरहने, तर पार्टीलाई नै असर गर्ने गरी झगडा गरिरहे । यसकारण दुवै नेता कांग्रेसको राजनीतिबाट बाहिरिनुपर्छ भन्नेमा धेरै छन् ।’

समानान्तर जिल्ला समिति 
उम्मेदवार हुन नदिएको, महासमितिमा भाग लिन नदिएको र सधैँ पौडेलको पेलानमा पर्ने गरेको भन्दै जोशीकै अगुवाइमा डिल्लीराम अधिकारीको नेतृत्वमा समानान्तर जिल्ला समिति नै गठन गरिएको छ । माघको दोस्रो साता अरू केन्द्रीय नेता सहभागी नभए पनि जोशीले विशेष अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन भाषण गर्दै उनले ०४८ पछि पौडेलले तनहुँको विकास गर्न नसकेको भन्दै त्यहाँ रहेका दुईमध्ये एउटा वृद्धाश्रममा बसेर बाँकी जीवन गुजार्न आग्रह गरे । पौडेलकै कारण तनहुँका ६ वटै सिट गुमाउनुपरेको उनको तर्क थियो । १३औँ महाधिवेशनबाट निर्वाचित भएका बैकुण्ठनाथ न्यौपाने नभई विशेष अधिवेशनबाट निर्वाचित अधिकारी पार्टीको जिल्ला सभापति भएको जोशीको दाबी छ । 

तर, पौडेल भने विशेष अधिवेशन भनिएकोप्रति आपत्ति जनाउँछन् । ‘अधिवेशन भएको होइन । बेक्कारको कुरा हो । त्यहाँ कुनै कांग्रेस कार्यकर्ता छैनन् । विधानअनुसार हो भने महासमिति सदस्यले हस्ताक्षर गर्नुप-यो । अरू विधि पूरा गर्नुप-यो,’ पौडेलले नयाँ पत्रिकासित भने, ‘कसैले हामी नै वैधानिक हौँ भनेर हुँदैन । जोशीको मुख विधान होइन । सडकबाट जसले जे पायो त्यही भनेर हुँदैन । तनहुँमा राम्रो काम गरिरहेका छौँ । जिल्ला कमिटीले राम्रो काम गरिरहेको छ । यो विक्षिप्त मनस्थितिको द्योतक हो, अरू केही पनि होइन ।’

जोशी विक्षिप्त र अराजक : पौडेल
गोविन्दराज जोशीले लगाएको आरोपबारे बुझ्न खोज्दा नेता रामचन्द्र पौडेलले कुनै टिप्पणी नै गर्न चाहेनन् । ‘विक्षिप्त र अराजकहरूको कुरा गर्न चाहन्नँ,’ पौडेलले नयाँ पत्रिकासँग भने । तर, उनका सहयोगी चिरञ्जीवी अधिकारीले जोशीले जिल्लामा पकड भएको वेला अरूलाई टिक्नै नदिएको आरोप लगाए । ‘उहाँहरू जिल्लामा पहिलेदेखि नै मिल्नुभएन । जोशीले पौडेलका मान्छेलाई जिल्लामा अत्यधिक पेल्नुहुन्थ्यो । सहमहामन्त्री भएको वेला त त झनै बढी पेल्नुभयो,’ अधिकारीले भने, ‘उहाँले लगाएका आरोप सही छैनन् । परिस्थिति मिल्दा उहाँले टिकट पाएकै हो, नभए उहाँका मान्छेले पाएका छन् । तर, उहाँले धेरैपटक आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेल्नुभयो ।’

गत निर्वाचनमा पनि जोशीले पौडेल उठेकै तनहुँ १ ताकेको उनको भनाइ छ । ‘तनहुँ १ बाट उहाँ उठ्ने भएपछि दुईजनाले टिकट पाउने कुरै भएन । उहाँमाथि लागेको मुद्दाको कारण परिस्थिति पनि ठीक थिएन,’ अधिकारी भन्छन्, ‘कानुनमा मिल्ने भए समानुपातिकमा राख्न सकिन्छ । प्रदेशमा तपाईंका मान्छेलाई राख्न सकिन्छ भने पनि जोशी जसरी हुन्छ रामचन्द्रलाई हराउने भन्दै हिँड्नुभयो ।’ 

पौडेल खराब नियतका : जोशी
हाम्रो भेट ०२१ मा भएको हो । त्यहीवेलादेखि नै हाम्रो सम्बन्ध राम्रो छैन । ०२३ मा गण्डकी छात्र समितिको सभापति हुँदादेखि नै उनी मेरा विरुद्ध लागिरहे । उनको विरोधका बाबजुद पनि त्यतिवेला म सभापति भएँ ।  ०२७ मा नेविसंघको स्थापनाताकाकै समयमा हामी दुवैजना भद्रगोल जेलमा थियौँ । उनी र म २५ दिनजति एउटै खाटमा सुत्यौँ पनि । त्यतिखेर त्रिभुवन विश्वविद्यालयबाट ‘संक्रान्ति’ भन्ने पत्रिका निस्कन्थ्यो । तर, पौडेलले जेलमा परेकाहरूको सूचीमा मेरो नाम पत्रिकामा हालेनन् ।

अरू साथीहरूको नाम उल्लेख गरे पनि सँगै २५ दिन सुतेको साथीको नाम नियतवश हटाए । उनी सम्पादक थिए । जेलको एउटै खाटमा सँगै सुतेर पनि पौडेलले मेरो नाम पत्रिकामा छुटाएको प्रसंग ठूलो होइन, तर त्यसमा खराब नियत थियो । उनी र म ०२४ र ०२७ मा गरी भद्रगोल जेलमा दुईपटक सँगै बस्यौँ । ०३६ मा पोखरा जेलमा र ०४२ मा गोरखा जेलमा नौ–नौ महिना सँगै बस्यौँ । दमौलीमा पनि धेरैपटक सँगै जेल परेका छौँ । तर, जेलभित्र कहिल्यै नराम्रो भएन । जेलबाहिर कहिल्यै राम्रो भएन ।

पौडेलको राजनीतिक यात्रा
२००१ मा तनहुँको रिस्तीस्थित बाहुन पोखराको किसान परिवारमा जन्मिएका पौडेल राजा महेन्द्रले बिपीको निर्वाचित सरकारलाई हटाएर पञ्चायती व्यवस्था लागू गरेदेखि कांग्रेसको राजनीतिमा लागे । राजनीति थाल्दा उनी १७ वर्षका मात्रै थिए । ०२७ मा नेविसंघ स्थापना हुँदा संस्थापक सदस्य रहेका पौडेल ०४० देखि केन्द्रीय राजनीतिमा छाए । त्यतिवेला केन्द्रीय प्रचार समिति संयोजक थिए । 

पञ्चायती व्यवस्था उत्कर्षमा पुगेका वेला ०४४ मा कांग्रेस केन्द्रीय सदस्य भएका पौडेल ०४८ मा तनहुँ १ बाट निर्वाचित भए । र, गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा स्थानीय विकासमन्त्री भए । ०५१ को मध्यावधि निर्वाचनमा तनहुँ २ बाट निर्वाचित भएका उनी त्यसपछि प्रतिनिधिसभामा सभामुख भए । ०५६ मा पौडेल तनहुँ २ बाट निर्वाचित भए । कांग्रेसले बहुमत ल्याएर जेठमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा पहिलो रोजाइमै नपरे पनि फागुनमा मन्त्री हेरफेर हुँदा उपप्रधान एवं शिक्षामन्त्री भए । त्यसपछि भट्टराईलाई हटाएर गिरिजा प्रधानमन्त्री हुँदा पौडेलले उपप्रधानमन्त्री र स्थानीय विकासमन्त्री पाए । त्यही वर्ष मन्त्रिपरिषद्मा फेरबदल हुँदा उपप्रधानसँगै  गृहमन्त्रीको जिम्मेवारी पाए । त्यतिवेला स्थानीय विकास मन्त्रालय जोशीलाई दिएर उनले सम्हालेको गृह मन्त्रालय पौडेललाई दिइएको थियो । 

०६४ मै पार्टी उपसभापति भएका उनी ०७२ माघमा तत्कालीन सभापति सुशील कोइरालाको निधन भएपछि कार्यवाहक सभापति भएका थिए । ०७२ मा १३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका पौडेल गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा पनि पराजित हुन पुगे । त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्रीसम्मको अध्ययन गरेका उनी अध्ययनशील नेता मानिन्छन् । 

जोशीको राजनीतिक यात्रा
२००६ मा तनहुँको रुपाकोटामा जन्मिएका जोशी ०२४ मा गण्डकी विद्यार्थी मञ्च हुँदै राजनीतिमा प्रवेश गरेका हुन् । उनी मञ्च र स्वतन्त्र विद्यार्थी युनियन अध्यक्ष, २०२६ मा तरुण दल र कांग्रेस तनहुँ जिल्ला सदस्य, ०३० मा तनहुँ कांग्रेस उपसभापति र सचिव भए । राजनीतिसँगै जोशी शिक्षण र वकालतमा पनि लागे । त्रिभुवन मावि तनहुँको संस्थापक प्रधानाध्यापक भएर काम गरे । उनले ६ वर्षसम्म भोलिन्टियर शिक्षक भएर पढाएका थिए । उनले आदिकवि भानुभक्त क्याम्पसमा दुई वर्ष निःशुल्क प्राध्यापन गरे । १२ वर्ष वकालती पेसा गर्ने क्रममा तनहुँ बारको अध्यक्ष र पश्चिमाञ्चल बारको उपाध्यक्षसमेत भएका थिए । 

०४८ मा तनहुँ २ र ०५१ मा तनहुँ १ बाट निर्वाचित भएका जोशी शेरबहादुर देउवा नेतृत्वको सरकारमा शिक्षामन्त्री भए । ०५५ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा गृहमन्त्री भएका उनी ०५५ पुसमा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्न पुगे । ०५६ मा तनहुँ १ बाट निर्वाचित भएका उनी कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा जलस्रोतमन्त्री भए । त्यसपछि ०५६ मा भट्टराई हटाएर गिरिजा प्रधानमन्त्री हुँदा पनि गृहमन्त्री भए । तर, केही समयपछि हेरफेर हुँदा स्थानीय विकासमन्त्री भए । ०५७ मा पोखरामा भएको १०औँ महाधिवेशनबाट सहमहामन्त्री भए । उनले एमए, बिएल र बिएड गरेका छन् ।

ध्रुव वाग्ले,पूर्वसभापति, तनहुँ
व्यक्तिगत रूपमा म दुवैसँग छैन । टिकट पाउँदासम्म उहाँहरू मिलेरै लड्नुभयो । ०६४ मा जोशी हार्नुभयो । ०७४ मा जोशीको दाबी रामचन्द्र दाइ उठ्ने तनहुँ १ मै रह्यो । रामचन्द्र दाइले छाडिदिएको भए कुरा मिल्थ्यो । तर, १ बाट टिकट नपाएपछि माउ मात्र होइन चल्ला पनि हराउँछु भनेर खुलेआम लाग्नुभयो । तनहुँ २ मा त टिकट दिए नि जान्नँ भन्नुभयो ।

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस