सन् २०१९ डिसेम्बरमा चीनको वुहानमा कोरोना भाइरसको पहिलो संक्रमण देखिएयता विश्वभरि आतंक फैलाएको नोवल कोरोना भाइरसले हालसम्म साढे १५ लाख मानिसको ज्यान लिइसक्यो । अमेरिकामा मात्र दुई लाख ५० हजार यसैका कारणले मरिसके । नेपालमा पनि कोरोनाले दुई लाख ४३ हजारलाई संक्रमण गराइसकेको छ भने १६ सयभन्दा बढीको ज्यान लिइसकेको तथ्यांक छ । यो भयावह महामारीविरुद्ध खोपको विकासमा धेरै देशले तीव्रताका साथ काम गरे । यसमा चीन, अमेरिका, बेलायत, रुस अग्रपंक्तिमा छन् । जर्मनी, इजरायल, कोरिया, जापान, भारतले समेत गरेर सयौँ सम्भावित खोप विभिन्न चरणका परीक्षणमा छन् । तर, खोप विकास महामारीविरुद्धको युद्धको एउटा चरण मात्र हो । त्यसको वितरणको चुनौती त विश्वसामु छँदै छ ।
विश्व स्वास्थ्य संगठनको यही चुनौतीलाई एक हदसम्म सम्बोधन गर्न कोरोना खोपहरूको विकास भएपछि त्यसको न्यायसंगत पहुँचका लागि यही वर्ष ‘कोभ्याक्स’ नामको अन्तर्राष्ट्रिय सहयोगी पहल शाखा खोलिएको छ । जसको प्रमुख उद्देश्य मध्यम र कम आय भएका मुलुकमा सन् २०२१ को अन्तसम्म कम्तीमा दुई अर्ब खोपको वितरण सुनिश्चित गर्नु रहेको छ । यस पहलमा सामेल हुन विश्व स्वास्थ्य संगठनले सबै देशहरूलाई आमन्त्रित गरेको छ । कोरोना भाइरसका लागि सयौँ खोपहरू विश्वभरि विकसित भइरहेका छन्, जसमध्ये तीन सयवटा परीक्षणको विभिन्न चरणमा छन् । अहिलेको दृष्टिकोणअनुसार कोरोनाको खोप अर्को वर्षको प्रारम्भमा वास्तविकतामा परिणत हुनेछ ।
अहिले सयौँ सम्भावित खोप प्रयोगअघिको परीक्षणको चरणमा छन् । अहिले ३८ वटा सम्भावित खोप उम्मेदवारहरू चिकित्सकीय परीक्षणको पहिलो चरणमा छन् । यस चरणमा खोप सुरक्षित छ कि छैन भनेर निर्धारण गर्न र यसले प्रवद्र्धन गर्ने प्रतिरोधात्मक क्षमताबारे थप जान्नका लागि एउटा सानो समूहलाई जाँच गरिन्छ । त्यसपछि आउँछ दोस्रो चरण । अहिले १७ वटा सम्भावित खोप चिकित्सकीय परीक्षणको दोस्रो चरणमा छन् । परीक्षणको यो चरणमा खोप सयौँ मानिसलाई दिइन्छ । त्यस क्रममा वैज्ञानिकहरूले यसको सुरक्षा र सही खुराक वा कति मात्रामा (डोज) दिने भन्नेबारे परीक्षण गर्छन् । अहिले १३ वटा सम्भावित खोप चिकित्सकीय परीक्षणको सबैभन्दा महत्वपूर्ण तेस्रो चरणमा छन् । हजारौँ व्यक्तिलाई सम्भावित खोप दिएर त्यसको सुरक्षा र प्रभावकारिता यस चरणमा जाँचिन्छ । खोपको साइड इफेक्टलाई पनि होसियारीसाथ जाँच गरिन्छ । जसलाई परीक्षण गर्न एक नियन्त्रण समूह समावेश गरिन्छ, जसअन्तर्गत खोपको साटो शुद्ध पानी (प्लेसेबो) दिइन्छ । तीमध्ये मोर्डेनाको एआरएनए–१२३७, पिफाइजर तथा बायोएनटेकको बिएनटी १६२बी२, अक्सफोर्ड कोभिड–१९ र सिनोभ्याक खोपले उत्साहप्रद नतिजा देखाएका छन् । चीन र रुसका क्रमशः क्यान–सिनो–ब्लो र ग्याम–कोभिड–भ्याक नामका खोपलाई तेस्रो चरणको परीक्षणको नतिजा नआउँदै सीमित प्रयोगका लाागि चाँडै अनुमति दिइएको छ । खोप विकासको अन्तिम चरणमा पुगेका केही प्रमुख खोप र तिनको सामान्य परिचय तल दिइएको छ :
फाइजरको खोप : बेलायतले गत हप्ता अमेरिकन फाइजर र जर्मन बायोएनटेकद्वारा तयार गरिएको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति प्रदान गरेको छ र हिजो नै यसको पहिलो खेपको खोप लगाउन सुरु भएको छ । एमआरएनए प्रकारको यो कोरोना खोप नयाँ किसिमको हो, जुन पहिलोपटक मानिसमा रोग रोकथामका लागि प्रयोग गरिँदै छ । नयाँ प्रकारको एमआरएनए कोरोना खोपमा कोरोना भाइरसका विभिन्न प्रकारका स्ट्रैन्स र क्लेडसका जेनेटिक कोड (आनुवांशिक तत्व) हरूको टुक्रालाई शरीरमा सुई लगाई शरीरका हजारौँ कोषिका आफँैले खोप बनाउने मेसिनजस्तो काम गर्छन् । शरीरका हजारौँ कोषिकाले आफँै बनाउने खोपले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरलाई कोभिड–१९ विरुद्ध लड्न तयार पार्छ । वैज्ञानिक भाषामा भन्नुपर्दा यो खोपले प्रतिरक्षा प्रणाली बि–सेलले कोरोना भाइरससँग लड्नका लागि एन्टिीबडी बनाउन र टि–सेललाई सक्रिय बनाएर संक्रमित कोषिकालाई नष्ट गर्ने दिशानिर्देश दिई काम गर्छ ।
बेलायतले यो खोपको स्वीकृतिका लागि हतार गरेको तथा सबै नीतिनियम अनुमोदन नगरेको भन्दै युरोपियन युनिएनले त्यसको निन्दा गरेको छ । विश्व स्वास्थ्य संगठनले पनि आपत्कालीन प्रयोगका लागिबाहेक यो खोपलाई स्वीकृति दिएको छैन । त्यस्तै यो खोपको प्रतिकूल समस्याको अझै अनुसन्धान र परीक्षण गर्नुपर्ने सुझाब व्यक्त गरिएको छ । ९५ प्रतिशत प्रभावकारी र सुरक्षित देखिएको यो खोपको एक डोजको करिब १७ सय पर्ने र दुई डोज तीन हप्ताको अन्तरालमा लगाउनुपर्ने छ । माइनस–७० डिग्रीको बरफमा भण्डारण गर्नुपर्ने हुँदा यो खोप नेपालीको पहुँचभन्दा पर हुन सक्ने सम्भावना देखिन्छ ।
मोर्डना एमआरएनए–१२३७ खोप : यो खोप जसलाई भाइरसको आनुवांशिक टुक्रा सामेल गरेर बनाइएको छ, यसको खोज अमेरिकन कम्पनी मोडर्नाले गरेको हो । ९५ प्रतिशत प्रभावकारी र सुरक्षित देखिएको यो खोपको एक डोजको करिब ३५ सय पर्ने र दुई डोज एक महिनाको अन्तरालमा लगाउनुपर्ने हुन्छ । माइनस २० डिग्रीको बरफमा लामो समय भण्डारण गर्नुपर्ने, तर केही दिन २–८ डिग्रीको तापक्रममा पनि राख्न मिल्ने हुँदा यो नेपालजस्तो देशलाई उपयुक्त देखिन्छ । तर, यो खोप पनि धेरै महँगो भएका कारण आमनेपालीले खरिद गर्न सक्ने देखिँदैन ।
अक्सफोर्ड–एस्ट्राजेनिका खोप : चिम्पान्जीको गैरसंक्रामक र हानिरहित एडेनो भाइरस भेक्टरमा कोरोना भाइरसको स्पाइक प्रोटिनलाई जेनेटिकल्ली मोडिफाइड गरिएको छ । करिब ७०–९० प्रतिशत प्रभावकारी र सुरक्षित देखिएको यो खोपको एक डोजको करिब पाँच सय पर्नेछ र दुई डोज लगाउनु पर्नेछ । यसलाई सामान्य फ्रिजमा भण्डारण गर्न सकिने र भारतमा पनि उत्पादन हुन सक्ने हुँदा यो खोप नेपालीको पहुँचमा हुन सक्ने सम्भावना देखिन्छ ।
स्पुतनिक–५ खोप : रुसको गमलेया राष्ट्रिय अनुसन्धान केन्द्र र रुसी रक्षा मन्त्रालयले संयुक्त रूपमा विकसित गरेको र आधिकारिक नाम विश्वको पहिलो उपग्रहको सम्मानमा राखिएको यो खोप परिमार्जित गरिएको भ्याक्सिनमा आधारित छ । जुन प्रविधि पहिले पनि विभिन्न रोगका लागि प्रयोग गरिएको छ । यसले क्लिनिकल परीक्षण पूरा गरिसकेको छ । रुसी स्वास्थ्यमन्त्रीका अनुसार खोप ‘अत्यधिक (९० प्रतिशतभन्दा माथि) प्रभावकारी र सुरक्षित’ छ ।
सिनोभ्याक खोप : चीनको परिमार्जित भ्याक्सिनमा आधारित यो खोप ९२ प्रतिशत प्रभावकारी र सुरक्षित देखिएको छ । धेरै मानिसमा आपत्कालीन प्रयोग गरिएको समाचार पनि आएका छन् । चीनमा अधिक उत्पादन हुन सक्ने र सस्तो उत्पादन मूल्य र नजिक ढुवानीले गर्दा यो खोप नेपालीको पहुँचमा हुन सक्ने सम्भावना छ ।
खोपको विकासमा भएका पछिल्ला विकासक्रम हेर्दा कोभिड–१९ खोपको सम्भावित समयरेखा अनुमान गर्न सकिन्छ । यही महिना अर्थात् डिसेम्बरमा अमेरिकाको फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडिए) ले आपत्कालीन प्रयोगका लागि सीमित खोपलाई स्वीकृति दिने निश्चितजस्तै छ । त्यसपछि अर्को वर्षको पहिलो महिनामा सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले ‘जोखिमपर्णू’ जनसंख्या समूह भनेकालाई पहिलो चरणको खोप दिने सम्भावना छ । आगामी मार्च महिनादेखि अमेरिकाबाहिरका जोखिमपूर्ण अवस्थाका बिरामीलाई खोप उपलब्ध गराइने र जुलाईदेखि आमसर्वसाधारणका लागि खोप उपलब्ध हुने सम्भावना छ । सन् २०२२ सम्म विश्वका ७५ प्रतिशतभन्दा बढी जनसंख्यासम्म खोप पुग्ने र यससँगै स्थानीय हर्ड इम्युनिटी हासिल हुने सम्भावना छ । परीक्षण नतिजा सार्वजनिक भएका मार्डेना इन्क र पिफाइजरका दुईवटा खोपमा एमआरएनए नामक जिनमा आधारित प्रविधि प्रयोग भएको छ ।
यी खोपको एउटा समस्या ढुवानी गर्दा निकै बढी चिस्यान गर्नुपर्ने हुन्छ । भण्डारण तापक्रममा कुनै प्रकारको तलमाथि भएमा खोपको प्रभावकारिता घट्ने जोखिम छ । नेपालमा हालसम्म खोपका लागि एक मात्र ठूलो कोल्ड स्टोर छ । यहाँबाट देशका कुना–कुनामा खोप पु¥याउन केही अप्ठेरो हुन सक्ने अनुमान गर्न सकिन्छ । यसमा एउटा सकारात्मक पक्ष के छ भने ०७७ मसान्तसम्म सरकारले विभिन्न जिल्लामा खोप भण्डारणका लागि एक सय ८५ खोप भण्डारण निर्माण गर्ने लक्ष्य लिएको छ । माथिका महत्वपूर्ण खोप प्रयोगको अन्तिम चरणमा रहेको सन्दर्भमा ती खोप नेपालमा कहिले आउला भन्ने प्रश्न पनि महत्वपूर्ण हुन आउँछ । विश्व स्वास्थ्य संगठनको कोभ्याक्सले संसारभरका देशलाई खोपको समान वितरण हुने अवस्था सुनिश्चित गरेको छ । नेपाल सरकारले पनि खोप विकास गरिरहेका औषधी कम्पनी र देशहरूबाट औषधी खरिदको प्रक्रिया सुरु गरिसकेको छ । सरकारले भारत, चीन, संयुक्त अधिराज्य र रुसबाट खोप ल्याउने प्रक्रिया सुरु गरेको छ । यसरी हेर्दा नेपालले खोप पाउने सम्भावना उच्च छ ।
खोप विकास गरिरहेका कम्पनीका स्रोतअनुसार सन् २०२१ को अन्तिमसम्म विश्वका ८० प्रतिशत जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप लगाउन सकिनेछ । कोभिड–१९ को खोप भिœयाउन सरकार, खोप निर्माता कम्पनी तथा बहुपक्षीय सहायता नियोगले उपभोगमा ल्याएको स्रोतका आधारमा आगामी ६ महिनाभित्र नेपालका २० प्रतिशत जनसंख्याले कोभिड–१९ को खोप पाउने सम्भावना छ । २० प्रतिशतमा माथि उल्लेख गरेझँै वृद्ध उमेरका मानिस, स्वास्थ्यकर्मी र उच्च जोखिमका मानिस पर्नेछन् । नेपालमा अहिले वृद्ध मानिसको जनसंख्या लगभग २२ लाख, स्वास्थ्य क्षेत्रमा काम गर्ने सम्पूर्ण जनशक्तिको संख्या झन्डै १० लाख र सबैभन्दा बढी जोखिममा रहेको मानिसको संख्या १० लाख छ । कोरोनाको खोप साधारण नेपाली जनताको पहुँचसम्म पुग्न सन् २०२१ को जुनदेखि डिसेम्बरसम्म लाग्न सक्ने अनुमान गर्न सकिन्छ ।
(डा. दुलाल क्लिनिकल परीक्षणमा सामेल अनुसन्धानदाता हुन्)