मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २७ सोमबार
  • Monday, 10 May, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ६ बिहीबार ०९:२०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रेमिट्यान्स आप्रवाह लयमा, १४ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ६ बिहीबार ०९:२०:००

चालू आवको दुई महिनामा ८ प्रतिशतले वृद्धि भएर १ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स  भित्रियो, हाल मुलुकमा १४ खर्ब ३३ अर्ब विदेशी मुद्रा सञ्चिति छ

कोभिड–१९ संक्रमणका कारण वैदेशिक रोजगारीमा समस्या देखिए पनि रेमिट्यान्स आप्रवाहमा सोचेअनुरूप दबाब नपरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आवको दुई महिनामा ८ प्रतिशतले वृद्धि भएर १ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको यही अवधिमा १ खर्ब ५३ अर्ब रेमिट्यान्स भित्रिएको थियो । साउन महिनाको तुलनामा भने भदौमा रेमिट्यान्स भित्रने दरमा २१ प्रतिशतले कमी आएको छ । साउनमा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा भदौमा ७३ अर्ब १ करोड रुपैयाँ भित्रिएको हो । 

‘रेमिट्यान्सको आप्रवाह साउनको तुलनामा घट्नुमा नेपालीहरू मुलुक फर्कने क्रम बढेकाले पनि हो,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले भने, ‘विदेशबाट फर्केकाहरू सो समय सीधै घर गइहाल्न पाउने अवस्था नभएकाले साथमा नगद वा सुन ल्याउने प्रवृत्ति पनि घटेको हो ।’ विदेशी मुद्राको राम्रो स्रोतका रूपमा रहेको रेमिट्यान्समा कटौती हुँदा भने बाह्य व्यापारमा दबाब पर्न सक्छ । मुलुकको विदेशी मुद्रा आर्जनको अर्को राम्रो स्रोतका रूपमा रहेको पर्यटन क्षेत्रमा अझै सुधार भइसकेको छैन । विदेशबाट भ्रमणमा आउनेबाट मुलुकले दुई महिनामा ९७ करोड रुपैयाँ मात्रै कमाएको छ । तर, भ्रमण र शिक्षामा मुलुकबाट क्रमशः २ अर्ब ९२ करोड र २ अर्ब ४७ करोड रुपैयाँ बाहिरिएको छ ।  

हाललाई भने मुलुक विदेशी मुद्रा सञ्चितिमा सुविधाजनक अवस्थामा छ । हाल १४ खर्ब ३३ अर्ब विदेशी मुद्रा सञ्चिति छ । यसले १४ महिना ९ दिनको वस्तु तथा सेवा आयात गर्न पर्याप्त हुने देखिन्छ । यद्यपि, यस्तो पर्याप्तता सूचक हरेक महिना हुने आयातका आधारमा निर्धारण हुन्छ । मासिक रूपमा आयात बढ्न थालेकाले पर्याप्तता सूचक पनि खस्किँदै भने जान सक्छ । 

आयात गत वर्षको यही अवधिको तुलनामा भने २२ दशमलव १ प्रतिशतले घटेको छ । १ खर्ब ७८ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको हो । साउनको तुलनामा भने भदौमा आयात ८ प्रतिशतले वृद्धि भएको छ । साउनमा ८५ अर्ब रुपैयाँको आयात भएकोमा भदौमा ९३ अर्ब रुपैयाँको आयात भएको हो । 

कुल निर्यातमा भने गत आवको दुई महिनाको तुलनामा १० दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । २० अर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको हो । मुलुकको व्यापार घाटा भने १ खर्ब ५८ अर्ब रुपैयाँ छ । मुलुकको शोधनान्तर (भुक्तानी सन्तुलन) ६७ अर्ब रुपैयाँ पुगेको छ । साउन एक महिनामा भन्दा मात्रै यो १६ अर्बले वृद्धि भएको हो । 

आयात सुस्तिएको र उद्योग–व्यवसायले रफ्तार लिइनसकेकाले भदौमा बैंकहरूको निजी क्षेत्रतर्फको कर्जा लगानी १० दशमलव ३ प्रतिशतले बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ । गत आवमा निजी क्षेत्रतर्फ २९ खर्ब ६५ अर्ब कर्जा लगानी गरेकोमा चालू आवमा ३२ खर्ब ६५ अर्ब पुगेको छ । 

मूल्यवृद्धि  ४ दशमलव  ५२ प्रतिशत
चालू आवको दुई महिनामा मूल्यवृद्धिदर भने ४ दशमलव ५२ बिन्दुमा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो वृद्धिदर ६ दशमलव १६ प्रतिशत थियो । काठमाडौं उपत्यकामा भने यस्तो वृद्धिदर मात्रै ३ दशमलव ६६ प्रतिशत छ । तराई, पहाड र हिमालमा यो दर क्रमशः ४ दशमलव ७१, ४ दशमलव ७३ र ४ दशमलव ४१ प्रतिशत छ । खाद्यान्नतर्फ तरकारीमा १३ प्रतिशतको वृद्धि छ भने माछामासुको मूल्यवृद्धि ८ प्रतिशत ऋणात्मक छ । गैरखाद्यतर्फ १ प्रतिशतभन्दा कम वृद्धिदर छ ।