
चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीमा रहेको मानसरोवर कैलाश तीर्थ नेपालबाटै दर्शन हुने भएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका– ६ लिमी लाप्चा भञ्ज्याङबाट दर्शन गर्ने सकिने भएको छ ।
मानसरोवर कैलाश दर्शन गर्ने एक नयाँ उत्कृष्ट गन्तव्य स्थलका रूपमा हुम्लाको लिमी लाप्चा सम्भावना बढेको छ ।
कोभिड–१९ संक्रमणका कारण सात महिनादेखि हिल्सानाका बन्द भएपछि बाह्य पर्यटक चीनको मानसरोवर कैलाश दर्शन गर्ने संख्या यो वर्ष शून्य भएको छ ।
लामो लकडाउनले गर्दा प्रत्येक वर्ष सातदेखि १० हजारसम्म हुम्लाको हिल्सा नाका हुँदै चीनको मानसरोवर कैलाश दर्शन गर्ने आउने भारतीय भक्तालु यो वर्ष शून्य भएको छ ।
चीनले मानसरोवर कैलाश जाने हिल्सानाकामा रोक लगाएपछि नेपालकै लिमी लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्ने आन्तरिक पर्यटकको संख्या बढेको छ ।
उत्तरी नाम्खा गाउँपालिका– ६ को लिमी लाप्चाबाट मानसरोवर कैलाश एकपटक दृश्यावलोकन गर्ने मिल्ने भएपछि आन्तरिक पर्यटकहरू घुइँचो लाग्ने गरेका छन् ।
केही दिन हुम्लाको लिमी लाप्चा दर्शन गर्ने पुगेका हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नामग्याल तामाङले लिमी लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्ने कुनै रोकतोक नभएको बताए ।
लिमी लाप्चालाई प्रचारप्रसार मात्रै गर्न सकेपछि आन्तरिक तथा बाह्य पर्यटकलाई सहजै मानसरोवर कैलाश दर्शन नेपालकै भूमिबाट हुने अध्यक्ष तामाङले बताए ।
पछिल्लो कोभिड– १९ संक्रमण बढेपछि हुम्ला जिल्लाका विभिन्न स्थानबाट लिमी लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्ने ठूलै भिड लाग्ने गरेको छ ।
के–के हेर्ने पाइन्छ लिमीमा
उत्तरी नाम्खा गाउँपालिका–६ मा एक हजार वर्ष पुरानो हल्जी गुम्बा छ । बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र गुम्बामा एक हजार वर्ष पुराना मूर्तिलगायतका सामान छन् ।
दुईतले मन्दिरको पहिलो तलामा प्रमुख मूर्ति छ । यहाँका सबै मूर्ति कलात्मक छन् । गुम्बामा पुर्खौंदेखिको सम्पत्ति छ । यो धनी गुम्बामध्येमा पर्छ ।
विश्वकै दुर्लभ र लोपोन्मुख चराहरू कालीकण्ठे सारस, चितुरमा भारद्वाज चरा यही उपत्यकामा फेला परेका छन् । उपत्यकाको माथिल्लो क्षेत्रमा ७० प्रजातिका चरा पाइन्छन् ।
च्याक्पालुङ, ग्याउखोला, छो, ल्याम्ज्योक र साक्यखोलाजस्ता विभिन्न स्थानबाट हिमाल नजिकै देखिन्छ ।
यी स्थानमा हिमाली रातो भालु, कस्तुरी मृग, हिमाली कालो भालु, नाउर, नायन, लिंकस, चितुवा, रातो फ्याउरो, तिब्बती फ्याउरो, फ्याउमुसो, जंगली कुकुर र वनचौँरी पनि देख्न सकिन्छ ।
वनचौँरी, वनघोडा, रातो भालु, चितुवा, वन कुकुरहरूको त बथान नै हेर्न सकिन्छ । हिमताल पनि यहीँ हेर्न सकिन्छ ।
पृथ्वीनारायण शाहको पालामा निर्माण गरिएको करिब एक सय ३० वर्ष पुरानो पाथी नाम्खा गाउँपालिका–६ हल्जी गाउँमा भेटिएको छ ।
यो पाथीमा आठ माना अटाउने गरेको वडाध्यक्ष पालजोर तामाङले बताए ।
वि.सं. १९४५ मा निर्माण गरिएको यो पाथीको नं. ८६ छ ।
उत्तरी हुम्लाको सुन्दर बस्ती, लिमी उपत्यका पनि हेर्न सकिन्छ । वरिपरि पहाड, बीचमा समथर मैदानी भाग यहाँ रहेको छ ।
मैदानको बीचबाट कर्णाली नदी बगेकोछ । अनि गुजुमुज्ज परम्परागत घरहरू रहेका छन् ।
यही भेटिन्छन् हजार वर्ष पुरानो गुम्बा । लिमी उपत्यका पुग्दा अर्कै संसार पुगेको भान हुन्छ ।
मानसरोवर देखिने गाउँ
चीनको तिब्बतस्थित मानसरोवर कैलाश पर्वत हुम्लाको लिमी लाप्चाबाट सहजै अवलोकन गर्न सकिन्छ ।
चीनको ताक्लाकोट हुँदै मानसरोवर यात्रा असहज भए पनि हुम्लाको लिमी लाप्चा नाकाबाट भने सजिलै गर्न सकिन्छ ।
कसरी पुग्ने ?
सदरमुकाम सिमकोटबाट चार दिनको पैदल यात्रापछि लिमी पुगिन्छ । सिमकोटबाट दुई दिनजति गाउँमा वास बस्दै जान सकिन्छ भने दुई दिन आफूसँग टेन्ट, खानेकुरालगायतका सामान बोक्नुपर्छ ।
यी दुई दिनमा रमणीय दृश्य अवलोकन गर्दै गोठालासँगै रात बिताउन पाइन्छ । छिटो सहजै रूपमा लिमी लाप्चाबाट कैलाश मानसरोवर दर्शन गर्न सकिने स्थान यही भएको टच कैलाश ट्राभल्स एजेन्सीका क्षेत्रीय प्रबन्धक विष्णु रावतले बताए ।
उनले हामीमा ‘सुनको सिरानी हालेर नुनको खोज्न गर्ने’ संस्कार भएकोले यो लिमी लाप्चा ओझेल परेको गुनासो गरे ।
यस वर्ष लकडाउनको वेला लिमी लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्ने झन्डै तीन सयजना आन्तरिक पर्यटक यहाँ पुगेका छन् ।
के–के बोक्नुपर्छ ?
लिमी उपत्यका जानेले खानेकुरा, टेन्ट, वाटरफ्रुप ज्याकेट, झोला, न्यानो कपडा, ट्रेकिङ सुज, लौरो, औषधि अनिवार्य रूपमा बोक्नुपर्छ ।
गाउँपालिकाको लाखौँ खर्च, उपलब्धि शून्य
नाम्खा गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्न भन्दै प्रत्येक वर्ष कहिले महाेत्सव, कहिले व्यापार मेला भन्दै गाउँपालिकाले लाखौँ रकम खर्च गरेपनि उपलब्धि शून्य रहेको छ ।
कहिले लिमी गाउँमा व्यापार मेलाको आयोजना गर्छ त कहिले याल्वाङ महाेत्सव भन्दै गाउँपालिकाको रकम खर्च गर्दै आएको छ ।
यति मात्रै होइन, कहिले सम्पूर्ण कर्मचारीलाई भ्रमण भन्दै लिमी लाप्चा भ्रमण गरेको छ । तर, गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि खासै चिन्ता र चासो नदिएपछि लिमी लाप्चा ओझेलमा परेको स्थानीयको दुःखेसो छ ।
गाउँपालिकाले नाम्खा गाउँपालिका अथाह पर्यटकीय सम्भावना बोकेको गाउँपालिका हुँदाहुँदै पनि चिन्न नसकेको स्थानीय जानकारले बताउने गरेका छन् ।
लिमी लाप्चाबाट मात्रै कैलाश मानसरोवर दर्शन गराउन गाउँपालिकाले महत्वपूर्ण भूमिका खेल्नेबित्तिकै गाउँपालिकाको आम्दानी मुख्य स्रोत बन्ने सम्भावना देखिन्छ ।