Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर १५ सोमबार
  • Monday, 30 November, 2020
ad
२०७७ भदौ १० बुधबार १३:०९:००
अर्थ डिजिटल संस्करण

दूतावास भवन निर्माण गर्न जग्गा प्राप्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर

२०७७ भदौ १० बुधबार १३:०९:००

नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल सरकार र ओमान सरकारबीच जग्गा प्राप्तिसम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ । ओमानको परराष्ट्र मन्त्रालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी उक्त सम्झौतामा हस्ताक्षर भएको हो । 

नेपाली दूतावास भएको देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीतिबमोजिम मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको छ । 

ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) महामहिम मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबी र नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत महामहिम शर्मिला पराजुली ढकालले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुरूप ओमानको कूटनीतिक हाताभित्र ४१०० वर्गमिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको छ भने उक्त अवधिपश्चात् आपसी सहमतिमा सम्झौताको अवधि बढाइनेछ । 

हस्ताक्षर कार्यक्रमपश्चात् भएको भेटमा महामहिम मोहम्मद विन नासिरले नेपाललगायत सम्पूर्ण मुलुकसँग ओमानले प्रगाढ सम्बन्ध राख्ने परराष्ट्र नीति रहेको बताउँदै नेपालसँगको सम्बन्धको विशेष महत्व रहेको बताए । 

महामहिमले जग्गा प्राप्तिसम्बन्धी सम्झौतामा नेपालसँग हस्ताक्षर भएकोमा महामहिम राजदूतज्यूलाई बधाई दिँदै आगामी दिनमा समेत यस्तो सहकार्यका लागि ओमान सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गरे । 

खाडी क्षेत्रमा ओमानको आफ्नै छुट्टै पहिचान र अस्तित्व रहँदै आएको छ । क्षेत्रीय शान्ति र विकासमा ओमानको भूमिकाको विश्वले सराहना गर्दै आइरहेको छ । समग्र खाडी क्षेत्रमै ओमानको उपस्थिति एक शान्तिप्रेमी राष्ट्रको रूपमा रहेको छ ।

ओमानको खाडी र हर्मुज स्ट्रेटजस्तो रणनीतिक तथा व्यापारिक मार्गसँग प्रत्यक्ष सरोकार राख्ने ओमानको भविष्यगत रणनीति र दीर्घकालीन योजनाले पनि यस राज्यसँगको दीर्घकालीन सुमधुर सम्बन्ध स्थापित गर्नु नेपालका लागि सामरिक तथा रणनीतिक हिसाबले पनि महत्वपूर्ण हुने देखिन्छ । दूतावासको आफ्नै भवन हुनुले पनि ओमानलगायत समग्र खाडी क्षेत्रमा नेपालको दीर्घकालीन सम्बन्ध राख्न चाहेको सकारात्मक सन्देश जाने देखिन्छ । 

यो सम्झौतासँगै समग्र खाडी क्षेत्रमा आफ्नै भवन हुने पहिलो नेपाली दूतावास हुने दिशामा नेपाली दूतावास ओमान अघि बढ्नेछ । त्यसैगरी आफ्नै भवन हुँदा दूतावासको बर्सेनि घर भाडामा हुने खर्चमा व्यापक कटौती भई दीर्घकालीन रूपमा मुलुकलाई आर्थिक रूपमा समेत बोझ कम हुने  दूतावासको धारणा छ । 
 

छुटाउनुभयो की ?