Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ८ बिहीबार
  • Thursday, 24 September, 2020
नयाँ पत्रिका कन्चनपुर
२०७७ श्रावण २९ बिहीबार १४:२२:००
मुख्य समाचार डिजिटल संस्करण

सुरक्षाको कारण देखाउँदै नापी विभागको टोलीले भारतबाटै ‘स्ट्रिप नक्सा’ जारी गर्‍यो : पल्लवराज भट्ट

नयाँ पत्रिका, कन्चनपुर
२०७७ श्रावण २९ बिहीबार १४:२२:००

अन्तर्राष्ट्रिय सीमा सरोकार समिति, कञ्चननपुरका संयोजक पल्लवराज भट्टले द्वन्द्वकालीन समयमा नापी विभागका कर्मचारीहरूले गरेको कमजोरीका कारण नेपाली भूमिमाथि भारतीय पक्षले अतिक्रमण गरेको बताएका छन् । 

०५८ देखि ०६० को द्वन्द्वकालीन समयमा सुरक्षाको कारण देखाउँदै नेपाली नापी विभागको टोलीसमेतले भारततर्फबाटै नै सम्पूर्ण काम फत्ते गरेर ‘स्ट्रिप नक्सा’ जारी गरेको बताए । 

उनले भने, ‘नापी टोली भारतीय टोलीसँग भारततिर नै बस्यो । उतैबाट सरोकारवालसँग कसैसँग समन्वय नगरी उतैबाट नक्सा जारी भयो । भारततिरै नापी गरिएको हुनाले नापी विभागका मान्छे जो त्यतिखेर खटिएका थिए, उहाँहरूको कमजोरी हो । उहाँहरू चुकेको हो । नियतवश गरेको हो । या डिफेन्स गर्न नसकेर गरेको हो । उहाँहरूको कमजोरी छ ।’

बुधबार नक्सा सच्याउन माग गर्दै आएका कञ्चनपुरका स्थानीय र जनप्रतिनिधिहरूलगायत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री, नापी विभाग र परराष्ट्रका अधिकारीहरूसँग संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको थियो । 

दुवैतर्फको प्रतिनिधिमूलक संयन्त्रहरू बनाएर सीमा नक्सा तयार गर्ने क्रममा ०४५ देखि ०४६ सम्म कञ्चनपुर जिल्लाको नदी क्षेत्रको नक्सा तयार भएको थियो । ०५६ देखि ०६१ सम्म जमिन क्षेत्रको नक्सा तयारी गर्ने काम सम्पन्न भएको थियो । 

सीमा समस्या समाधानका लागि पुराना नक्सा, तथ्य र प्रमाणलाई आधार मान्दै भारतीय पक्षसँग वार्ता गर्नुपर्ने सुझाब उनको छ । नेपाली पक्षले नापनक्सा गर्ने समयमा दबाबमा परेर वा नियतवश जे भए पनि कमजोरी गरेको उल्लेख गर्दै उनले  त्यसलाई सच्याउँदै संलग्न कर्मचारीहरूलाई देशद्रोहीको मुद्दा लगाउनुपर्ने बताए ।

 उनले भने, ‘कमजोरी भएको छ । त्यो सच्याउनुपर्छ । कमजोरी गर्ने कर्मचारीलाई देशद्रोहीको मुद्दा लगाएर कारबाही गर्नुपर्छ । देशको सिमानामा राज्यको सर्वेक्षक गएर भूमि भारत गाँभ्ने कुरा सामान्य होइन । यहाँहरूलाई मुद्दा लगाएर जेलमा हाल्नुपर्छ । र, त्रृटि भएको नक्सा सच्याउनलाई भारतसँग कूटनीतिक ढंगले अगाडि बढ्नुपर्छ ।’

  स्ट्रिप नक्सामा दुवै देशबीच हस्ताक्षर गर्ने सहमति अझै बनेको छैन । कालापानी र सुस्ता क्षेत्रको विवाद समाधान गरेर मात्रै स्ट्रिप नक्सामा हस्ताक्षर गरी सम्झौता गर्ने नेपाल सरकारको अडान भए पनि नापी विभागका कर्मचारीहरूले भने हस्ताक्षर गरिसकेका छन् ।